सबै तस्बिरहरु राज अधिकारीले खिचेका हुन
चेपाङ समुदायकी किशोरी आमा र उनकी छोरीको तर्फबाट सम्पूर्ण नेपाली नारीहरूमा हरितालिका तीजको शुभकामना। यीनै नारीहरूका वेदना सुन्ने सुनाउने यस पर्वको मौलिकता आजका दिनसम्म कायमै छ। यो कति टिक्छ हेर्न बाँकी नै छ।
पञ्चमीका दिन सम्मलाई पुग्ने गरि घाँसका भारी ल्याएर गोठमा पल्टाएपछि बल्ल तीज सुरू हुन्छ, ग्रामीण चेलीहरूको।
एकहाते भैंसी, मेला र पात, अर्म र पर्मले,
म दुःखी चेली, छोडेर हिँड्न दिएन कर्मले।
ससुरा छैनन्, बिरामी सासु छोडेर घरमा,
कसरी बिदा मागुँला आमा, छिन् मेरै भरमा।
भाग्यमा भए अर्को साल तीजमा, भेटौंला आएर,
वेदना सारा पोखौंला आमा, गीतैमा गाएर।
तीजमा महङ्गा सारी, गरगहना र पार्टी प्यालेसका दरले मात्र होइन, वर्षौं पछि टेकेको माइतीको आँगन र आमाले प्रेमसँग पस्किएको दरले बढी महत्त्व राख्दछ।