राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गर्ने केपी ओली कप जस्तो प्रतिष्ठित घरेलु फुटबल प्रतियोगिताको प्रचार गरिएको दृश्य अनौठो र प्रेरणादायी देखिएको थियो।
कर्णाली नदीको बगैंचाजस्तै प्रवाहलाई साक्षी राख्दै राष्ट्रिय युवा सङ्घ नेपाल दैलेखका सचिव निरज कुमार माझीको विशेष उपस्थितिमा केपी ओली कप २०२५ फुटबल च्याम्पियनसिपको ब्यानर प्रदर्शन गरिएको छ।
आठबिस नगर कमिटी र राकम कर्णाली वडा नम्बर ४ वडा कमिटीको आयोजनामा गरिएको यस विशेष कार्यक्रममा कर्णालीको सांस्कृतिक एवं ऐतिहासिक महत्त्वलाई जोड्दै खेलकुद प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
कर्णाली नेपालकै सबैभन्दा लामो नदी मात्र नभई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको जलधारा पनि हो। समुद्र सतहबाट झन्डै तीनदेखि चार हजार मिटर उचाइमा रहेको “माप्चोचोङ्गो” हिमनदीबाट निस्केर मानसरोवर ताललाई रक्षा गर्न बनेको रक्षक तालसहित मयुरको मुखबाट उत्पत्ति भएको कर्णालीको आफ्नै मौलिकता छ।
त्यही कर्णालीमा राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गर्ने केपी ओली कप जस्तो प्रतिष्ठित घरेलु फुटबल प्रतियोगिताको प्रचार गरिएको दृश्य अनौठो र प्रेरणादायी देखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि माझीले केपी ओली कप फुटबल च्याम्पियनसिप नेपाली खेलकुद क्षेत्रमा एउटा महत्वपूर्ण अभियानका रूपमा अघि बढिरहेको बताए।
पहिलो संस्करणदेखि तेर्सो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले विभिन्न चरणहरू पार गरेको उल्लेख गर्दै उनले यसलाई अझ व्यवस्थित र रूपान्तरण गर्दै लाने प्रतिबद्धता व्यक्त गरे।
“हामी संगठनले दिएको हक, अधिकार र जिम्मेवारीलाई प्रत्याभूत गर्दै आफ्नो क्षेत्रबाट खटिरहेका छौं। यसमा सबैको निरन्तर सहयोग आवश्यक छ,” उनले भने।
माझीले मानसरोवर ताललाई रक्षा गर्न बनेको रक्षक ताल जस्तै आफूहरू पनि आफ्नो संगठनको संरक्षण र प्रवर्द्धनमा समर्पित रहेको बताए।
खेलकुदको माध्यमबाट युवाहरूलाई ऊर्जावान बनाउन तथा समाजलाई सकारात्मक सन्देश दिन केपी ओली कप निरन्तर आयोजना गरिने उनले उल्लेख गरे।
कार्यक्रम विशेष रूपमा कर्णाली नदीमा स्थानीय डुङ्गाबाट प्रचार–प्रसार गरिएको थियो, जसले झनै शोभा बढाएको थियो।
फुटबल प्रतियोगितालाई राष्ट्रिय स्तरको ब्रान्डका रूपमा विकास गर्ने लक्ष्यसहित गरिएको यो प्रदर्शनले खेलकुद र सांस्कृतिक धरोहरलाई जोड्ने प्रयास गरेको समाजसेवी एवं सामाजिक अभियानता भरत साउदले बताए।