मंगलवार, ३ असार, २०८२

खेल क्षेत्रमा दिपेन्द्रले निर्माण गरेको फराकिलो आयतन

फुटबल मैदानमा गोल गर्ने, जित्ने खेलाडीहरू आउँछन्, जान्छन्। तर, खेल अनुशासनको जग राख्ने पात्र सधैं मैदानको किनारामा उभिइरहन्छन्। उनी पनि त्यही किनाराबाट खेल हेर्छन्, खेलाडीहरूलाई अघि बढ्न प्रेरित गर्छन्।

कहिलेकाहीँ जीवनले तोकिदिएको बाटोभन्दा विपरीत दिशामा लाग्दा नै साँचो परिचय भेटिन्छ। दिपेन्द्र विक्रम हमाल(३७)को यात्रा यही तथ्यको एउटा जिउँदो उदाहरण हो।

सेतो कोट लगाएर बिरामीहरूमा देखिने रोगको ल्याबबाट चेकजाँच गरि निदान गर्ने उनको भाग्यको लेखाइ हुन सक्थ्यो, तर उनले हरियो मैदान रोजे। सेतो कोटको साटो, उनले मैदानमा अनुशासनको प्रतीक बनेर उभिने बाटो रोजे।

२०५४ सालमा जिएमडी मोर्डन पब्लिक बोर्डिङ स्कुलको चौरमा सुरु भएको उनको फुटबल यात्रालाई टुँडिखेलको मैदानसम्म लैजान महेन्द्र कार्कीले महत्त्वपूर्ण भूमिका खेले। त्यही कारण दिपेन्द्रले जुम्लाको फुटबलमा गहिरो छाप छोडेका छन्।

बाल्यकालमा, जब ससाना खुट्टाहरू बलको पछि कुद्थे, उनलाई थाहा थिएन कि फुटबल खेल्ने रहरले नै जीवनको बाटो निर्धारण गर्नेछ। साना प्रतियोगितामा भाग लिँदै, खेल मैदानमा समय बिताउँदै जाँदा, हमाल बिस्तारै स्थानीय स्तरका उत्कृष्ट खेलाडीमध्ये एक बने।

२०५५ साल भाद्र ४ गते बाल दिवसको दिन उनी सर्वोउत्कृष्ट खेलाडी बनी टेबुल घडी पाउँदै गर्दा हर्षले भावविभोर भएका उनका बुबा सर्पानन्द हमालले छोराको मनोबल बढाउन पाँच सय थप पुरस्कार दिए। त्यसपछि उनले फुटबलमा झन् बढी मन लगाए। दिपेन्द्रको फराकिलो स्पेस बन्दै गयो।

२०६८ सालमा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी चर्चित फुटबल खेलाडी भरत खत्रीको कप्तानीमा उपकप्तान भएर खेले। त्यो बेला जुम्लामा आधुनिक फुटबल संरचना थिएन। न त राम्रो प्रशिक्षक, न खेल मैदान। तर, खेलाडीहरूको समर्पण नै सबथोक थियो।

खेललाई जीवन बनाइसकेका हमालले क्लब फुटबल खेल्न थाले। उनी जुम्लाको चर्चित नमुना युवा क्लबबाट खेल्दै अघि बढे। पछि, विनायक इन्टरग्रेटेड क्लबका संस्थापकहरूमध्ये एक भए। यही क्लबले पछिल्लो वर्ष प्रतिष्ठित एनेफा जिल्ला लिग जित्यो।

२०७०/०७१ सालमा बुढानिलकण्ठ वडा कप जितेपछि उनको यात्राले नयाँ मोड लियो। खेलाडी मात्र भएर सीमित बस्ने होइन, व्यवस्थापनको जिम्मेवारी पनि लिनुपर्छ भन्ने उनको सोच अझ प्रष्ट भयो।

उनी म्याच कमिसनरको भूमिकामा देखिए। खेल व्यवस्थापनमा उनले देखाएको क्षमताले फुटबल संघका पदाधिकारीहरूको ध्यान तान्यो। यसका लागि भरत बुढथापाले उनलाई सहयोग गरे। आज पनि हमाल आफ्नो करियरको सबैभन्दा महत्त्वपूर्ण व्यक्तिका रूपमा बुढथापालाई सम्झिन्छन्।

खेलाडी, व्यवस्थापक, म्याच कमिसनर— यी भूमिकाबाट बाहिर आएर उनले फुटबल संरचना निर्माणमा नयाँ अध्याय सुरु गरे। हाल उनकै नेतृत्वमा जुम्लामा टिपटोय एकेडेमीको हाइ अल्टिच्युड ब्रान्च स्थापना भयो, जसले जुम्लामा १४ वर्ष मुनिका छात्र, छात्रा इनडोर र आउटडोर फुटबल सीप सिकाउने योजना बनाएको छ।

उनको सक्रियता यत्तिमा मात्र सीमित छैन। उनी इन्टरनेशनल स्पोर्ट्स स्कूल फेडेरेसनका सदस्य पनि छन्। खेलकुदको संरचना सुधार गर्ने उद्देश्यका साथ काम गरिरहेका छन्।

आज दिपेन्द्र जुम्ला जिल्ला फुटबल संघका महासचिव छन्। उनी फुटबल म्याच कमिसनरको रूपमा खेल अनुशासन कायम राख्ने भूमिकामा खटिएका छन्। खेलाडीहरूको प्रदर्शन सुधार्नु मात्र होइन, खेललाई व्यवस्थित बनाउनु उनको प्राथमिकता हो।

उनको नियम पालन गराउने कडा शैली सबैलाई मन पर्छ भन्ने छैन। मैदानमा उनी कठोर देखिन्छन्। कहिलेकाहीँ उनको स्वर चर्को हुन्छ। तर, उनी भन्छन्, “अनुशासनबिना फुटबल केवल मनोरञ्जन मात्रै हुन्छ, प्रतिस्पर्धा बन्दैन।”

खेलाडीहरू गोलका लागि मैदानमा दौडिन्छन्, तर उनी नियम कार्यान्वयन गर्न मैदानमा उभिन्छन्। किनभने खेललाई न्याय दिनु, खेलाडीको भविष्य बनाउनु, अनि अनुशासनको महत्त्व स्थापित गर्नु नै उनको वास्तविक जित हो।

आज उनले आफ्नो जीवन खेलमै बिताउने संकल्प गरिसकेका छन्। उनी फुटबललाई जुम्लाबाट राष्ट्रिय स्तरमा पुर्‍याउन चाहन्छन्। खेल जुम्लाको भविष्य हो। यसले जुम्लाको पर्यटन विकासमा पनि टेबा पुर्‍याउने उनको दाबी छ।

बाल्यकालमा फुटबल खेल्न थालेका ती खुट्टाहरू अझै दौडिरहेका छन्। फरक यत्ति हो, अहिले उनी खेलाडी मात्र होइनन्, खेल व्यवस्थापक, प्रशिक्षक, संरक्षक र अनुशासनका प्रतीक पनि हुन्।

फुटबलको मैदानमा गोल गर्ने, जित्ने खेलाडीहरू आउँछन्, जान्छन्। तर, खेल अनुशासनको जग राख्ने पात्र सधैं मैदानको किनारामा उभिइरहन्छन्। उनी पनि त्यही किनाराबाट खेल हेर्छन्, खेलाडीहरूलाई अघि बढ्न प्रेरित गर्छन्, अनि मैदानभर घन्किन्छ उनको स्वर, “खेल भावना कायम राख, नियम तोड्न पाइँदैन!”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार