सोमबार, २८ पुष, २०८२

सुर्खेतमा निर्माणाधीन रंगशाला दशौं राष्ट्रिय खेलकुदको केन्द्रबिन्दु (तस्बिरहरू)

कुल लागत १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रूपैयाँ रहेको यो रंगशाला कर्णाली प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा चिनिएको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रादेशिक रंगशाला अन्तिम चरणमा छ। क्षेत्रीय खेलकुदको आधारस्तम्भ निर्माण गरिरहेको यो रंगशाला आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलताका साथ सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्दैछ।

२०७८ मंसिर २० मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेको यस रंगशाला अब करिब ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको छ। रंगशाला निर्माण कार्यको जिम्मा एमएसी-जीएसएल कम्पनीले लिएको छ।

कुल लागत १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रूपैयाँ रहेको यो रंगशाला कर्णाली प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा चिनिएको छ।

कर्णालीका लागि यो आयोजनाले खेलकुद मात्र नभएर पर्यटन, सामाजिक-आर्थिक विकास र क्षेत्रीय पहिचानलाई समेत अगाडि ल्याउने अपेक्षा गरिएको छ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि रंगशाला समयमै पूर्ण हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार अहिलेसम्म १ अर्ब ४४ करोड रूपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिसकिएको छ।

रंगशाला आधुनिक शैलीमा निर्माण भइरहेको छ। १० हजार दर्शक क्षमताको प्याराफिट स्टेडियम लगभग तयार छ। फुटबल मैदान र आउटडोर भलिबल, बास्केटबल जस्ता खेलकुद संरचना पूरा भइसकेका छन्।

तर, केही कामहरू अझै बाँकी छन्। छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउनुपर्ने, झ्याल-ढोका, बाथरूम फिटिङ, कम्पाउन्डिङका सटर र गेट निर्माणको काम अन्तिम चरणमा छन्। स्वीमिङ पुललगायतका भौतिक संरचना लगभग पूर्ण भए पनि फिनिसिङका काम बाँकी रहेको निर्माण पक्षले जनाएको छ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ देखि ९ सम्म गर्ने तयारी भएपनि विभिन्न कारण देखाएर फागुनमा सारिएको छ।

विभिन्न जिल्लामा कराँते, तेक्वान्दो, कबडी, एथलेटिक्स, रग्बी, उसु र बक्सिङजस्ता खेलकुदका लागि प्रशिक्षण शिविरहरू सञ्चालनमा छन्।

मुख्य प्रशिक्षक मेघराज कठायतका अनुसार, १९० जना खेलाडी प्रशिक्षणमा सहभागी छन्। जसमध्ये कराँतेका २३, तेक्वान्दोका १४, कबडीका ३५, एथलेटिक्सका २६, रग्बीका ३६, उसुका ३१, र बक्सिङका १४ जना खेलाडी छन्।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संघीय सरकारले ६० करोड रूपैयाँ छुट्याएको छ। यसबाहेक कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा १२ करोड रुपैयाँ विनियोजन गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले १ करोड ४२ लाख ७५ हजार रुपैयाँ व्यवस्थापनका लागि छुट्याएको छ।

नगरपालिकाका मेयर मोहनमाया ढकालका अनुसार, प्रतियोगितामा पदक विजेतालाई पुरस्कृत गरिनेछ। व्यक्तिगत खेलमा स्वर्ण, रजत, र कांस्य पदक विजेताले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। टोलीगत खेलमा विजयी टिमले २ लाखसम्म पाउने व्यवस्था गरिएको छ।

यो प्रतियोगितामा २२ खेलका विभिन्न इभेन्ट सञ्चालन हुनेछन्। प्रतियोगिताका लागि कर्णाली प्रदेशले आफ्नो तयारीलाई तीव्र बनाएको छ।

स्थानीय स्तरमा खेलकुदको संस्कृति प्रवर्द्धन गर्नुका साथै कर्णाली क्षेत्रका सम्भावित खेलाडीलाई राष्ट्रिय स्तरमा अघि बढाउने यो प्रतियोगिताको मुख्य उद्देश्य हो।

सुर्खेतको रंगशाला न केवल खेलकुदको केन्द्रका रूपमा विकसित हुँदैछ। यसले क्षेत्रीय विकास र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आधार तयार गर्नेछ। यो परियोजना पूरा भएपछि कर्णाली प्रदेश खेलकुदको नयाँ युगतर्फ अघि बढ्नेछ।

यसरी निर्माणाधीन प्रादेशिक रंगशाला कर्णालीको गौरवका रूपमा उभिने तयारीमा छ। यो केवल भौतिक संरचना मात्रै नभएर प्रदेशको समग्र पहिचान, सामूहिक भावना र राष्ट्रिय खेलकुदको केन्द्रबिन्दु बन्नेछ।

(सबै तस्बिरहरू शिलापेपर अनलाइनबाट लिइएको हो।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार