शिविरमा १०८ जनाको खकार नमुना संकलन गरिएको छ, जुन परीक्षणका लागि कुडारी स्वास्थ्य चौकीको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा पठाइएको छ।
जुम्लाको तिला गाउँपालिका–८ स्थित जुम्लाकोट स्वास्थ्य चौकीमा हालै क्षयरोग स्क्रिनिङ शिविर सम्पन्न भएको छ। गाउँमा दुई जना संक्रामक क्षयरोगी फेला परेपछि अन्यमा पनि रोग सर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यो शिविर आयोजना गरिएको हो।
तिला गाउँपालिका स्वास्थ्य शाखाको नेतृत्वमा सञ्चालित यो कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाका स्वास्थ्यकर्मीहरूको टोली सहभागी भएको थियो।
शिविरमा १०८ जनाको खकार नमुना संकलन गरिएको छ, जुन परीक्षणका लागि कुडारी स्वास्थ्य चौकीको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा पठाइएको छ। परीक्षणको नतिजा आउन दुई दिन लाग्ने अनुमान गरिएको छ।
क्षयरोग फोकल पर्सन उत्तम देवकोटाका अनुसार, गाउँमै पुगेर सम्भावित बिरामीको पहिचान गर्न र उनीहरूलाई निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श प्रदान गर्न यो माइक्रोस्कोपी शिविर आयोजना गरिएको हो।
“हामीले गाउँपालिकालाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ हरेक वर्ष यस्ता शिविरहरू सञ्चालन गर्दै आएका छौँ,” उनले भने, “अहिलेसम्म ८ जना क्षयरोगी पहिचान भई स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गरिरहेका छन्।”
जुम्ला जिल्लामा चालु आर्थिक वर्षको माघसम्म २७ जना क्षयरोगी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका फोकल व्यक्ति अमरसिंह रावलले जानकारी दिए। उनका अनुसार सबै बिरामीले नियमित औषधि सेवन गरिरहेका छन्, तर औषधिको अनियमितता र पोषणको कमीले रोग झन् जटिल बन्ने गरेको छ।
सूक्ष्म जीवाणुबाट सर्ने यो रोग नेपालमा स्वास्थ्य सचेतना र गरिबीका कारण बढ्दो क्रममा रहेको उनको भनाइ छ। यो शिविरले स्थानीय स्तरमा क्षयरोगको जोखिम पहिचान र नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। स्वास्थ्यकर्मीहरूको सक्रियताले गाउँमै सेवा पुग्दा बिरामीहरूलाई समयमै उपचार र परामर्श प्राप्त हुने अवसर मिलेको छ।