बुधबार, ४ असार, २०८२

जुम्लामा पाठेघरको मुखको क्यान्सर विरुद्ध सचेतना र्‍याली सम्पन्न

सचेतना र्‍यालीले पाठेघरको मुखको क्यान्सरबारे आम नागरिकमा जागरूकता फैलाउने तथा एचपिभी खोप अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

विश्व क्यान्सर दिवसको अवसर पारेर जुम्ला जिल्लाको सदरमुकाम खलंगामा पाठेघरको मुखको क्यान्सर विरुद्ध सचेतना र्‍याली सम्पन्न भएको छ। र्‍यालीको आयोजना कास एमआए क्लबले गरेको थियो भने कार्यक्रम जनस्वास्थ्य कार्यालय, जुम्ला, युवा अभियान, र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको हो।

र्‍यालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्नातकोत्तर र स्नातक तहका जनस्वास्थ्य, फार्मेसी, नर्सिङ, एमबीबीएस अध्ययनरत विद्यार्थीहरूको साथै जनस्वास्थ्य कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख, सम्पूर्ण स्वास्थ्यकर्मी, तिला गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक तथा चन्दननाथ नगरपालिकाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

सचेतना र्‍यालीका क्रममा पाठेघरको मुखको क्यान्सर रोकथामका उपाय, यसको कारण, जोखिम न्यूनीकरण तथा एचपिभी खोप अभियान २०८१ को महत्वबारे जानकारी प्रदान गरिएको थियो। सहभागीहरूले खलंगा बजार परिक्रमा गर्दै सचेतनामूलक नाराहरू लगाएका थिए।

कार्यक्रमका विषयमा जानकारी दिँदै बीपीएच तेस्रो वर्षका विद्यार्थी दिदीप प्रसाद हरिजनले पाठेघरको मुखको क्यान्सर रोक्न एचपिभी खोप प्रभावकारी रहेको बताउँदै समुदायमा यसको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।

यस सचेतना र्‍यालीले पाठेघरको मुखको क्यान्सरबारे आम नागरिकमा जागरूकता फैलाउने तथा एचपिभी खोप अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार