सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रमले यस्ता समस्याहरूलाई उजागर गर्न र समाधानका लागि मार्गचित्र तयार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। यो कार्यक्रमको मुख्य उद्देश्य समुदायको स्वास्थ्य स्थिति बुझ्नु, प्रमुख स्वास्थ्य समस्याहरू पहिचान गर्नु र सुधारका लागि योजना बनाउनु हो।
दैलेखको आठबीस नगरपालिका, वडा नम्बर १ र २ का गाउँहरू–सात्तला, डाडागाउँ, फर्तला, झुज, सिमगाउँ, सुखीपिपल, असाराघाट, खम्मडाँडा, रातमाता, मानाकोट, आरसेन, रामघाट, चिनेखोला, कोषबजार, मुग्राटोल, डाब, सिंगौडी, बेताला, सिस्ने, देवकोटाटोल, श्रीकोट, झिंगेतल्ला, डाडाकोट, हुलाकडाँडा र बुदबुदे–यी गाउँहरूको सौन्दर्य र सादगीले जोकोहीको मन लोभ्याउँछ।
तर, यी गाउँहरुको सतहभित्र लुकेको छ एउटा भयावह सत्य। जो हो, छाउगोठको अमानवीय अवशेष। यहाँका महिलाहरूले महिनावारीको समयमा कष्टकर र असुरक्षित अवस्थामा बस्नुपर्ने बाध्यता छ, जुन जनस्वास्थ्यका लागि ठूलो चुनौती बनेको छ।
यही सत्यलाई उजागर गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालय अन्तर्गत दोस्रो वर्षका विद्यार्थीहरूले सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रममार्फत अध्ययन गरे। जसले छाउगोठको भयानक अवस्था र जनस्वास्थ्यको महत्त्वलाई एकसाथ उजागर गरेको छ।
जब विद्यार्थीहरू यी गाउँहरूमा पुगे, उनीहरूले देखेको दृश्यले उनीहरूलाई स्तब्ध बनायो। साँघुरा, अँध्यारा र असुरक्षित छाउगोठहरूमा महिलाहरूले दिनरात बिताउनुपर्ने बाध्यता, स्वच्छ पानी र सरसफाइको अभाव, र सर्प, कीरा, जंगली जनावरको डरले त्रसित जीवन–यो दृश्यले विद्यार्थीहरूलाई गहिरो छोयो।
“म जनकपुरको मान्छे, मैले अहिलेसम्म यस्तो छाउपडी प्रथा देखेको थिइनँ। यो देखेर म छक्क परेँ। यो हाम्रो समाजका लागि राम्रो होइन,” सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रममा सहभागी विद्यार्थी वैभव ठाकुरले भावुक हुँदै भने।
उनले थपे, “हाम्रो एकमहिने कार्यक्रमले यहाँको जनचेतना बढाउन सहयोग गरेको छ, तर यो पर्याप्त छैन।” वैभवको यो अनुभवले छाउगोठको गहिरो सामाजिक र स्वास्थ्य समस्या उजागर गर्छ, जुन शताब्दियौँदेखि जरा गाडेर बसेको छ।

यी गाउँहरूमा छाउगोठको अवस्था भयावह छ। विद्यार्थीहरूले देखे–धेरैजसो छाउगोठहरू पशुको गोठभन्दा पनि खराब अवस्थामा छन्। कतिपय ठाउँमा त सानो, हावा नआउने कोठामा महिलाहरूले खाना, पानी र शौचालयको आधारभूत सुविधाबिना दिनहरू बिताउनुपर्छ।
यस्तो अवस्थाले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ। रक्तअल्पता, संक्रमण, मानसिक तनाव र कतिपय अवस्थामा मृत्युसम्मको जोखिम छाउगोठले निम्त्याउँछ।
विद्यार्थीहरूले संकलन गरेको तथ्यांकले पनि यही तथ्यलाई पुष्टि गर्छ। उनीहरूले आय, जनसांख्यिक स्थिति, आर्थिक अवस्था र स्वास्थ्यसँग सम्बन्धित तथ्यांकहरू विश्लेषण गरे, जसले छाउपडी प्रथाले समुदायको समग्र स्वास्थ्यमा पारेको नकारात्मक प्रभावलाई प्रष्ट्याउँछ।
सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रमले यस्ता समस्याहरूलाई उजागर गर्न र समाधानका लागि मार्गचित्र तयार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। यो कार्यक्रमको मुख्य उद्देश्य समुदायको स्वास्थ्य स्थिति बुझ्नु, प्रमुख स्वास्थ्य समस्याहरू पहिचान गर्नु र सुधारका लागि योजना बनाउनु हो।
प्राध्यापक सेशानन्द सञ्ज्याल भन्छन्, “विद्यार्थीहरूले तथ्यांक संकलन, विश्लेषण, प्राथमिकीकरण, सूक्ष्म स्वास्थ्य परियोजना र सामुदायिक प्रस्तुतीकरणमार्फत समुदायको स्वास्थ्य अवस्था सुधार्न योगदान गर्छन्।”
यो कार्यक्रमले विद्यार्थीहरूलाई समुदायको वास्तविक स्वास्थ्य चुनौतीहरू बुझ्ने अवसर मात्र दिएको छैन, उनीहरूलाई जनस्वास्थ्यको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि प्रेरित गरेको छ।
“सामुदायिक निरूपण कार्यक्रम पब्लिक हेल्थका विद्यार्थीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण छ। विद्यार्थीहरूको ल्याब भनेको नै समुदाय हो,” उप-प्राध्यापक ओम प्रकाश काफ्लेले जोड दिए। उनको यो भनाइले जनस्वास्थ्यको आधारभूत सिद्धान्तलाई प्रष्ट पार्छ–जनस्वास्थ्य भनेको केवल व्यक्तिको उपचारमा सीमित नभई समग्र समुदायको स्वास्थ्य प्रवर्द्धन, रोग रोकथाम र दीर्घकालीन स्वास्थ्य सुधारका लागि गरिने प्रयास हो।
यो कार्यक्रमले विद्यार्थीहरूलाई समुदायसँग प्रत्यक्ष जोडेर उनीहरूको स्वास्थ्य समस्यालाई नजिकबाट बुझ्ने र समाधानका लागि पहल गर्ने अवसर प्रदान गर्छ।

आठबीस नगरपालिकाको वडा १ मा रोशन ताम्रकार र वडा २ मा विकास महतोको नेतृत्वमा विद्यार्थीहरूले गरेको अध्ययनले स्थानीय बासिन्दाहरूमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान दिएको छ।
सहप्राध्यापक निशान्त लामाले भने, “यो कार्यक्रमले त्यहाँका जनताको स्वास्थ्यसम्बन्धी चेतना स्तर बढाएको छ। हाम्रा विद्यार्थीहरूको भूमिका यहाँ महत्त्वपूर्ण छ।”
विद्यार्थीहरूले गाउँलेहरूसँग छलफल, स्वास्थ्य शिविर र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरे, जसले छाउपडी प्रथाका हानिकारक प्रभावबारे स्थानीयलाई बुझाउन सहयोग गर्यो। यस्ता प्रयासहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याउन थालेको छ, यद्यपि यो लामो यात्राको सुरुवात मात्र हो।
जनस्वास्थ्यको दृष्टिकोणले छाउपडी प्रथा केवल सामाजिक कुरीति मात्र होइन, यो एउटा गम्भीर स्वास्थ्य संकट पनि हो। यो प्रथाले महिलाहरूलाई शारीरिक र मानसिक रूपमा कमजोर बनाउँछ, जसले समग्र समुदायको स्वास्थ्य सूचकांकमा नकारात्मक प्रभाव पार्छ।
जनस्वास्थ्यको लक्ष्य भनेको यस्ता हानिकारक प्रथाहरूलाई निर्मूल गर्दै समुदायमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नु रहेको उपप्राध्यापक काफ्लेले बुझाई छ।
यसका लागि शिक्षा, सचेतना, नीतिगत सुधार र सामुदायिक सहभागिता आवश्यक छ। आठबीसका गाउँहरूमा विद्यार्थीहरूले गरेको अध्ययनले यही दिशामा काम गरेको छ।
उनीहरूले छाउगोठको अवस्था मात्र उजागर गरेनन्, स्थानीय बासिन्दाहरूलाई यो प्रथाको हानिबारे बुझाउन र वैकल्पिक उपायहरूबारे छलफल गर्न पनि प्रेरित गरे।

यो कार्यक्रमले विद्यार्थीहरूमा पनि गहिरो प्रभाव पारेको छ। वडा १ र २ मा अध्ययनका लागि खटिएका विद्यार्थीहरूले समुदायको यथार्थसँग साक्षात्कार गर्ने अवसर पाएको बताए।
उनीहरूले छाउगोठमा बसेका महिलाहरूको कथा सुने, उनीहरूको पीडा बुझे र समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरे। यो अनुभवले उनीहरूलाई जनस्वास्थ्यको क्षेत्रमा थप जिम्मेवार र संवेदनशील बनाएको छ।
“हामीले यहाँ धेरै कुरा सिक्यौँ। समुदायको स्वास्थ्य सुधार गर्न किताबी ज्ञान मात्र पर्याप्त हुँदैन, यहाँको वास्तविकता बुझ्नुपर्छ,” विद्यार्थी रोशन ताम्राकारले भने।
आठबीसका गाउँहरूमा छाउगोठको भयावह अवस्थाले हाम्रो समाजको पछौटेपन र जनस्वास्थ्यप्रतिको बेवास्तालाई उजागर गर्छ। तर, सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रममार्फत विद्यार्थीहरूले गरेको प्रयासले आशाको किरण देखाएको छ।
यो कार्यक्रमले समुदायमा जनचेतना फैलाउन, स्वास्थ्य समस्याहरू पहिचान गर्न र समाधानका लागि योजना बनाउन महत्त्वपूर्ण भूमिका खेलेको प्रध्यापक सञ्ज्याल बताउँछन्।।
“जनस्वास्थ्यको यो प्रयासले छाउपडीजस्ता हानिकारक प्रथालाई अन्त्य गर्न र समुदायको समग्र स्वास्थ्य सुधार गर्न बलियो आधार तयार गरेको छ,” उनले भने।
विद्यार्थीहरूको अध्ययन र उनीहरूको पहलले एउटा महत्त्वपूर्ण सन्देश दिएको सहप्राध्यापक लामाको बुझाई छ।
“जनस्वास्थ्य केवल उपचारको विषय होइन, यो समुदायको जीवनस्तर उकास्ने र सामाजिक न्याय सुनिश्चित गर्ने अभियान हो,” उनले थपे।
आठबीसका गाउँहरूमा विद्यार्थीहरूले छरेको जनचेतनाको उज्यालोले छाउगोठको अँध्यारोलाई विस्तारै हटाउने विश्वास गर्न सकिन्छ। यो यात्रा लामो छ, तर सुरुवात भइसकेको छ।
