रेडक्रसबाट प्राप्त २५ हजार रुपैयाँको अनुदानलाई सदुपयोग गर्दै चन्दननाथ नगरपालिका जुम्लाले विद्यालयलाई उपलब्ध गराएको सेनेटरी प्याड डिस्पोजल मेसिन जडान गरिएको छ भने खानेपानी शुद्धिकरणका लागि फिल्टर राख्ने र शौचालय सरसफाईको कार्य सम्पन्न भएको छ।
जुम्लाको बोहरा गाउँस्थित रत्नचुनेश्वर माध्यमिक विद्यालयमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाको सहयोगमा एउटा सानो तर प्रभावकारी पहलले विद्यालयको स्वरूप नै फेरिएको छ।
रेडक्रसबाट प्राप्त २५ हजार रुपैयाँको अनुदानलाई सदुपयोग गर्दै चन्दननाथ नगरपालिका जुम्लाले विद्यालयलाई उपलब्ध गराएको सेनेटरी प्याड डिस्पोजल मेसिन जडान गरिएको छ भने खानेपानी शुद्धिकरणका लागि फिल्टर राख्ने र शौचालय सरसफाईको कार्य सम्पन्न भएको छ। यो पहलले विद्यार्थी, शिक्षक र समुदायमा स्वच्छता र स्वास्थ्यप्रति नयाँ चेतना जगाएको छ।
विद्यालयमा छात्राहरूको सुविधा र स्वच्छतालाई ध्यानमा राखेर आधुनिक सेनेटरी प्याड डिस्पोजल मेसिन जडान गरिएको छ। यो मेसिनले प्रयोग गरिएका सेनेटरी प्याडलाई सुरक्षित र स्वच्छ तरिकाले व्यवस्थापन गर्न सहयोग पुर्याउँछ भने महिनावारी स्वच्छता र वातावरण सफा राख्न मद्दत गर्छ।
नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला परियोजना अधिकृत इस्वरा सुवेदीले यो पहलको महत्त्वबारे बताउँदै भनिन्, “छात्राहरूलाई विद्यालयमा सहज र स्वस्थ वातावरण प्रदान गर्न यो मेसिन जडान गरिएको हो। यसले उनीहरूको आत्मविश्वास बढाउनुका साथै स्वच्छता कायम राख्न ठूलो योगदान दिनेछ।”
यो सुविधाले विशेषगरी किशोरीहरूको महिनावारी व्यवस्थापनमा सहजता ल्याएको छ, जसले उनीहरूलाई नियमित विद्यालय आउन प्रेरित गरेको छ।
त्यस्तै, विद्यालयमा स्वच्छ र सुरक्षित पिउने पानीको पहुँच सुनिश्चित गर्न खानेपानी शुद्धिकरण फिल्टर स्थापना गरिएको छ। पहिले पानीको गुणस्तरमा समस्या झेलिरहेको यो विद्यालयमा अब विद्यार्थी, शिक्षक र कर्मचारीले ढुक्कसँग स्वच्छ पानी पिउन पाउँछन्।
रेडक्रसका सामुदायिक सहजकर्ता करबिर बहादुर चन्दले यो परिवर्तनको प्रभावबारे भने, “फिल्टर जडानपछि पानीजन्य रोगको जोखिम कम भएको छ। विद्यार्थीहरूको स्वास्थ्यमा सुधार आएको हामीले महसुस गरेका छौँ।”
यो कदमले विद्यालयको आधारभूत आवश्यकतामाथि ध्यान दिएको मात्र होइन, दीर्घकालीन स्वास्थ्य लाभको ढोका पनि खोलेको छ।
शौचालय सरसफाईको कार्यले भने विद्यालय परिसरको समग्र वातावरणलाई स्वच्छ बनाएको छ। नियमित सफाई र व्यवस्थापनले शौचालय प्रयोग गर्न सहज भएको छ भने विद्यार्थीहरूमा सरसफाईप्रतिको सचेतना पनि बढेको छ।
जुनियर तथा युवा रेडक्रस सर्कल, रत्नचुनेश्वर माविका शिक्षक नायक जीवन बुढथापाले यो कार्यको सामुदायिक प्रभावबारे उत्साहित हुँदै भने, “शौचालय सफा भएपछि विद्यार्थीहरूले स्वच्छताको महत्त्व बुझ्न थालेका छन्। यो अभियानले हाम्रा विद्यार्थीलाई स्वास्थ्य र सरसफाईप्रति जिम्मेवार बनाएको छ।”
नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाको यो सानो लगानीले ठूलो परिवर्तनको सुरुवात गरेको छ। २५ हजार रुपैयाँको अनुदानले विद्यालयमा भौतिक सुधार मात्र भएको छैन, यहाँका छात्राहरूको आत्मसम्मान, विद्यार्थीहरूको स्वास्थ्य र समुदायको चेतनास्तरमा समेत सकारात्मक प्रभाव पारेको विद्यालयका प्रधानाध्यापक कृष्ण रोकायाले बताए।
“यो पहलले अन्य विद्यालय र समुदायका लागि पनि एउटा उदाहरण बनेको छ,” उनले भने, “हाम्रो स्कुलमा सुरु भएको यो स्वच्छताको नयाँ पाइलाले जुम्लाको शैक्षिक वातावरणमा दीर्घकालीन सुधारको सम्भावना बोकेको छ।”















