हामी बुझ्छौँ, यो आन्दोलनले तिमीहरूलाई कति पीडा दिएको छ। तिमीहरूको पढाइमा भएको क्षति हामीलाई उत्तिकै चिन्ता छ। हामी आफैँ पनि तिमीहरूसँग कक्षाकोठामा पढाउने, हाँस्ने, रमाउने र सिकाउने समयको पर्खाइमा छौँ।
प्रिय विद्यार्थी भाइबहिनीहरू,
आज तिमीहरू हामी शिक्षकहरूसँग पक्कै पनि रिसाइरहेका छौ। तिमीहरूको रिस स्वाभाविक छ र हामी त्यसलाई पूर्ण रूपमा बुझ्छौँ। विगत २४–२५ दिनदेखि हामीले विद्यालय बन्द गरेर सडकमा आन्दोलन गरिरहेका छौँ। तिमीहरूले स्कूल गएर पढ्ने, सिक्ने र रमाउने समयमा घरको काममा व्यस्त हुनुपरेको छ, धूलोमा खेलिरहेका छौ, या त यताउता बरालिँदै हिँडिरहेका छौ।
सायद कसैले अभिभावकलाई पनि दु:ख दिइरहेका होला। यी सबै कुरा थाहा हुँदाहुँदै पनि हामी आफ्नो अस्तित्वको लडाइँमा होमिएका छौँ। यो लडाइँ केवल हाम्रो लागि मात्र होइन, तिमीहरूको उज्ज्वल भविष्य र समग्र शिक्षा प्रणालीको सुधारका लागि पनि हो।
सानो उमेरदेखि हामीले तिमीहरूलाई ज्ञान, सीप र सकारात्मक धारणाहरू दिएर असल नागरिक बनाउने पवित्र दायित्व बोकेका छौँ। तर, समाजमा शिक्षक पेशालाई घृणाको दृष्टिले हेरिन्छ, र हाम्रो मेहनतलाई अवमूल्यन गरिन्छ।
त्यसैले, यसपटक हामी सबै शिक्षकहरू एकजुट भएर तिमीहरूको लागि, हाम्रो लागि, र समग्र शिक्षा प्रणालीलाई व्यवस्थित बनाउन अघि बढेका छौँ। हाम्रो यो आन्दोलन अस्तव्यस्त सामुदायिक विद्यालयहरूलाई सही मार्गमा ल्याउने, शिक्षकहरूको मनोबल वृद्धि गर्ने र शिक्षण पेशालाई समाजमा सम्मानित स्थान दिलाउने उद्देश्यले प्रेरित छ।
तिमीहरूले सायद सोचिरहेका होलौ, “शिक्षकहरू त आफ्नै स्वार्थका लागि आन्दोलन गरिरहेका छन्, हाम्रो पढाइको चिन्ता कसले गर्छ? सबै शिक्षकका छोराछोरी त निजी स्कूलमा पढ्छन्, हाम्रो भविष्यको चिन्ता कसलाई छ? हामी निमुखा विद्यार्थीको बारेमा कसले सोच्छ?”
तिमीहरूको यो सोचाइ जायज छ र हामी त्यसलाई स्वीकार गर्छौँ। अहिलेको समय र परिस्थिति पनि यस्तै छ। तर, म विश्वास दिलाउन चाहन्छु, हाम्रो यो लडाइँ तिमीहरूको लागि पनि हो। हामी चाहन्छौँ कि हरेक सामुदायिक विद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्ने थलो बन्न सकोस्, जहाँ तिमीहरू गर्वका साथ पढ्न सक।
हामी बुझ्छौँ, यो आन्दोलनले तिमीहरूलाई कति पीडा दिएको छ। तिमीहरूको पढाइमा भएको क्षति हामीलाई उत्तिकै चिन्ता छ। हामी आफैँ पनि तिमीहरूसँग कक्षाकोठामा पढाउने, हाँस्ने, रमाउने र सिकाउने समयको पर्खाइमा छौँ।
यो आन्दोलन छोटो समयको पीडा सहेर लामो समयको उज्यालो भविष्य निर्माण गर्ने सपना हो। हामी चाहन्छौँ, हरेक शिक्षकले गर्वका साथ आफ्नो पेशा अँगालोस् र हरेक विद्यार्थीले गर्वका साथ आफ्नो विद्यालयलाई चिनोस्।
यो आन्दोलनले केही गम्भीर प्रश्नहरू उठाएको छ। सामुदायिक विद्यालयहरू किन कमजोर छन्? किन शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी निजी स्कूलमा पढ्छन्? हामी यो अवस्थालाई बदल्न चाहन्छौँ।
हाम्रो माग छ– सामुदायिक विद्यालयमा सबै सरकारी शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी अनिवार्य भर्ना गर्ने नियम ल्याइयोस्। यो नियमले मात्र सामुदायिक विद्यालयप्रति सबैको जवाफदेहीता बढ्नेछ। साथै, म सबै शिक्षक साथीहरूलाई यो शैक्षिक सत्रदेखि नै आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियान सुरु गर्न अनुरोध गर्छु। यो हाम्रो नैतिक जिम्मेवारी हो।
न त यो वर्ष भर्ना अभियान हुन सक्यो, न त विद्यालय खुल्ने अवस्था नै छ। छिमेकका साथीहरू स्कूल ड्रेसमा सजिएर गाडीमा स्कूल जाँदा तिमीहरूको मन कति खिन्न हुन्छ, त्यो हामीले गहिरोसँग महसुस गरेका छौँ।
सरकारले हामी शिक्षकहरूलाई पटक–पटक ठग्ने र बेवास्ता गर्ने गरेको छ। यस्तो अवस्थामा तिमीहरूले हामीलाई थोरै समय र साथ दिनेछौ भन्ने हाम्रो विश्वास छ। यो सरकारसँगको अन्तिम लडाइँ हो, र हामी तिमीहरूको सहयोगको अपेक्षा गर्छौँ।
प्रिय विद्यार्थीहरू,
म त तिमीहरूसँग धेरै घुलमिल हुने शिक्षक हुँ। कहिले विद्यालय खुल्छ र तिमीहरूसँग रमाइलो गर्दै पढाउने समय बिताउन पाउँला भनेर दिन गनिरहेको छु। गत वर्ष हामी कक्षाकोठामा सँगै बसेर पढ्थ्यौँ, परियोजना कार्यअन्तर्गत ऐतिहासिक ठाउँहरूको अवलोकन गर्थ्यौँ, खेल खेल्थ्यौँ, र रमाउँथ्यौँ।
तर अहिले समय अलि फरक छ। तिमीहरूले यो समयमा जे–जति समस्या र क्षति भोग्नुपरेको छ, त्यसको पूर्ति गर्न हामी प्रतिबद्ध छौँ। आउँदो समयमा हाम्रा बिदाहरू कटौती गरेर भए पनि तिमीहरूको पढाइको क्षति पूरा गर्नेछौँ। यो हाम्रो वाचा हो।
अन्तमा,
अबको केही समयमा विद्यालयहरू खुल्नेछन्। त्यतिन्जेल तिमीहरू घरमै स्व–अध्ययनमा जुटिरहनु। आफूसँग भएका किताबहरू पढ, नयाँ कुरा सिक्ने कोसिस गर, र आफ्ना अभिभावकलाई अनावश्यक दु:ख नदिनु।
तिमीहरूले यो समयलाई रचनात्मक बनाउन सक्छौ– कथा लेखेर, चित्र कोरेर, या घरमा साना–साना जिम्मेवारी लिएर। हामी तिमीहरूसँग छिट्टै स्कूलमा भेट्नेछौँ। फेरि सँगै पढ्नेछौँ, हाँसखेल गर्नेछौँ, र विद्यालय प्राङ्गण रमणीय बनाउनेछौँ।
तिमीहरूको उज्ज्वल भविष्यको कामना गर्दै,
तिम्रै मायालु शिक्षक,
महेश रावल
हिमा आधारभूत विद्यालय, कोइरेली, जुम्ला