०८१ वैशाख १९ गते जिल्ला समन्वय समिति जुम्लाका प्रमुखको अध्यक्षतामा आयोजित बैठक र मंसिर २० गते माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरूको बैठकले यस्तो माग गर्ने निर्णय गरेको थियो।
हिमाली जिल्ला जुम्लामा शैक्षिक सत्रका कारण पठनपाठनमा समस्या उत्पन्न भएको भन्दै साविकको फागुन १ गतेबाट शैक्षिक सत्र सुरु गर्न माग गरिएको छ।
शिक्षा विकास तथा समन्वय समिति जुम्लाका प्रमुख रमेश मल्लले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरलाई पठाइएको पत्रमार्फत शैक्षिकसत्र संसोधनको माग गरिएको हो।
“०८१ वैशाख १९ गते जिल्ला समन्वय समिति जुम्लाका प्रमुखको अध्यक्षतामा आयोजित बैठक र मंसिर २० गते माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरूको बैठकले यस्तो माग गर्ने निर्णय गरेको थियो। बैठकमा आठवटा स्थानीय तहका प्रमुख, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख लगायत अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो,” मल्लले भने।
बैठकका सहभागीहरूले वैशाख १ गतेबाट सुरु हुने शैक्षिक सत्रले जुम्ला लगायत हिमाली क्षेत्रमा पठनपाठन तथा शैक्षिक गतिविधिमा कठिनाइ ल्याउने राय राखेका थिए। यस कारण, जाडो महिनामा सहज रूपमा पठनपाठन सुनिश्चित गर्न साविककै फागुन १ गतेबाट शैक्षिक सत्र सुरु गर्नुपर्ने सुझाव राखिएको हो।
पत्रमा शैक्षिक सत्र संशोधनका लागि बैठकको निर्णयसमेत संलग्न गरी आवश्यक कार्यान्वयनका लागि केन्द्रमा अनुरोध गरिएको छ।
इकाइ प्रमुख मल्लका अनुसार, “जुम्लाको भौगोलिक र मौसमी परिस्थितिका कारण वर्तमान शैक्षिक सत्रले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा अवरोध पुर्याइरहेको छ। यसलाई ध्यानमा राख्दै केन्द्रलाई निर्णय कार्यान्वयनका लागि अनुरोध गरिएको हो।”
अब शिक्षा मन्त्रालय र मानव स्रोत विकास केन्द्रले यस विषयमा के निर्णय लिन्छ, त्यसपछि शैक्षिकसत्र के गर्ने भन्ने टुंगो लाग्ने उनको भनाइ छ।