बुधबार, २७ फाल्गुन, २०८२

हिन्दू धार्मिक रुढीवादमा दलित समुदाय

एकातिर एकथरी (शासक) वर्ग धर्मको आडमा निरन्तर रूपमा आफ्नो अहंकारी शासन कायम राख्न चाहन्छ भने अर्कोतिर उत्पीडित वर्ग झन् झन् रुढीवादी, पुरातनवादी, आध्यात्मिक, प्रतिगामी र परनिर्भर बन्दै गएको छ।

नेपाल लगायत दक्षिण एशियाली समाजहरूमा हिन्दू धर्मले सामाजिक संरचनाको मेरुदण्डको रूपमा लामो समयदेखि काम गरेको छ। समाजमा श्रम विभाजन प्रक्रिया सुरु भएपछि श्रम गर्ने र नगर्ने, सजिलो काम गर्ने र अप्ठ्यारो काम गर्ने, फोहरमैला र धुलो असम्मानित क्षेत्रमा र अन्य क्षेत्रमा काम गर्ने तथा काम गर्ने र गराउने मानिसबीचको विभेद सिर्जना गरियो।

त्यस्तै लवाई, खुवाई र सरसफाइको अभाव र बेफुर्सदी आदिका कारण क्रमशः दलित असमानता, विभेद, चेतनाको स्तर, विभाजित क्षेत्र विकसित हुँदै गएको पाइन्छ। सामन्त वर्गका मनु लगायत बौद्धिक नायकहरूले शूद्र (अहिलेकाको दलित) लाई अछूत र हेयका रूपमा मनुस्मृतिमा उल्लेख गरी सामाजिक व्यवस्थाकै रूपमा विकास गरे। यो शोषण प्रक्रिया पछि गएर ज्ञान, चेतना, अध्ययन बोधबाट समेत दलितलाई वञ्चित गर्ने तहसम्म विकसित भयो।

ऐतिहासिक पृष्ठभूमि : धर्मको नाममा विभेद
दलित समुदायमाथिको अन्यायको ऐतिहासिक जरो हिन्दू धर्मका ग्रन्थहरूमा पाइन्छ। मनुस्मृति जस्ता ग्रन्थहरूले समाजलाई चार वर्णमा विभाजन गरेका छन्, जसअन्तर्गत ब्राह्मण, क्षत्री, वैश्य र शूद्र हुन्।

यी चार वटै वर्णको पिँधमा रहेको वर्ण शूद्र हो जसले यी तीनवटै वर्णको सेवा गर्नुपर्ने र अपमानित जीवन जिउन विवश हुनुपरेको अवस्था देखिन्छ। नेपालमा २००७ सालमा प्रजातन्त्र आयो तर यसको नेतृत्व सामन्त र ब्राह्मणका हातमा रह्यो।

धेरैजसो कालखण्डमा दास/दलितहरू सामन्ती वर्णाश्रम व्यवस्थाद्वारा निर्धारित गरिएको पाइन्छ। सामन्ती राजा महाराजाहरूले नै यस्तो व्यवस्था बसालेका छन्।

वैदिककाल वा त्यसपछि धेरै सहस्राब्दीसम्म पनि जातपात, छुवाछुत, उच-नीच सामाजिक विभेद पाइँदैन। त्यसैले यसको उत्पत्ति दास-मालिक व्यवस्था पछि नै भएको पाइन्छ।

धार्मिक विभेदको विद्यमान अवस्था
आज पनि नेपाली समाजमा विद्यमान धर्म र संस्कृतिको आधारमा चरम रूपमा विभेद हुने गरेको पाइन्छ। एकातिर एकथरी (शासक) वर्ग धर्मको आडमा निरन्तर रूपमा आफ्नो अहंकारी शासन कायम राख्न चाहन्छ भने अर्कोतिर उत्पीडित वर्ग झन् झन् रुढीवादी, पुरातनवादी, आध्यात्मिक, प्रतिगामी र परनिर्भर बन्दै गएको छ।

अझ दुःखको विषय त के छ भने उत्पीडित समुदायका नयाँ पुस्ताका युवा युवतीहरू पनि यो खाल्डोमा चुर्लुम्म डुब्न पुगेका छन्। उनीहरू विज्ञानलाई भन्दा बढी हिन्दू धर्ममा विश्वास गर्ने गर्दछन्।

उनीहरू हिन्दू धर्मलाई गौरवका साथ स्वीकार गरी गर्व गर्न बाध्य भएका छन्। यस्तो बेलामा वर्तमान नेपालको शैक्षिक र राजनीतिक प्रणालीले पनि चेतनाको विकास कसरी गर्ने भन्ने कुराको निर्धारण गर्दछ।

हाम्रा विद्यालय तथा विश्वविद्यालयमा यी विषयहरूमा कहिल्यै पनि गहन रूपमा अध्ययन गर्न लगाइएन, न त यस्ता विषयहरूलाई कहिल्यै प्राथमिकताको रूपमा लिने गरियो। राजनीतिक स्वरूपका आधारमा अहिले हामी संघीयतामा छौं, गाउँ गाउँमा सरकार पुगेको छ, समावेशी सहभागिताको अवलम्बन गरेको छ तर चेतनाको विकास गर्ने खालका कार्यक्रमहरू सञ्चालन हुन सकेका छैनन्।

चुनावका समयमा दलितलाई भोट बैंकका रूपमा प्रयोग गरिएका छन्। अहिले पनि अधिकांश दलित जनप्रतिनिधिलाई आफ्नो अधिकार, प्रतिनिधित्व र संवैधानिक अधिकारका विषयमा जानकारी हुन सकिरहेको छैन।

उनीहरू समुदायको प्रतिनिधि नभई बरु पार्टीको प्रतिनिधि भएर काम गरिरहेका जस्तो देखिन्छ। दलितका नाममा आएको पैसा गैरदलित र केही टाठाबाठा दलितकै नाममा घुम्छ।

दलितले प्राप्त गर्नुपर्ने कोटा, छात्रवृत्ति पार्टी र सरकारका नजिकका वर्णवादीको पक्षमा पारिन्छ। त्यसैले शैक्षिक र राजनीतिक रूपमा चेतनाको विकास वास्तविक रूपमा हुन सकेमा धार्मिक, सांस्कृतिक र आर्थिक विद्रोहलाई पनि अगाडि बढाउन सहयोग पुग्छ।

दलित मुक्तिको प्रश्न र अबको बाटो
१. ब्राह्मणवादी हिन्दू जातीय उत्पीडन र धार्मिक शोषणबारे दलित समुदायले पूर्ण ज्ञान प्राप्त गर्नुपर्छ र त्यसको प्रतिरोध गर्नुपर्छ।

२. धार्मिक परम्परा, संस्कार, चेतना र धर्मको आदर्शको स्खलन जरुरी छ।

३. आध्यात्मिक, रुढीवादी, जातिवादी, अन्धविश्वास, धार्मिक व्यवस्था र बन्धन तोडेर भौतिकवादी विचारको विकास हुनुपर्छ।

४. पुराना असामाजिक, अमानवीय र अन्यायपूर्ण परम्परा र चाहनाका साङ्ला तोड्नुपर्छ र पुराना सांस्कृतिक मान्यता भत्काई नयाँ परम्परा बसाल्नुपर्छ।

५. आर्थिक अधिकारको संघर्ष चलाउनुपर्छ।

६. बौद्धिक जागरण, सचेतना, शिक्षा, क्षमता र योग्यताको विकाससँगै सीप र कार्यमा प्रतिस्पर्धाको विकास नभई दलितको आत्मसम्मान माथि उठ्दैन।

७. दलितमाथिको उत्पीडन सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक उत्पीडन हो, वर्गीय उत्पीडन हो भन्ने बोध गर्नुपर्दछ।

अन्तमा
दलित समुदाय वर्गीय दृष्टिले भूमिहीन वर्ग, सामाजिक दृष्टिले बहिष्कृत, अपेक्षित, अपमानित, प्रताडित, बाधित र पीडित समूह हो। दलित समुदाय हिन्दू वर्ण व्यवस्थाको उपज हो।

जबसम्म दलितहरू राजनीतिक रूपमा स्वतन्त्र, आर्थिक रूपमा उत्पीडनबाट मुक्त, सामाजिक हिसाबले समान हुँदैनन्, जबसम्म पुरानो रुढीवादी धार्मिक मान्यताको अन्त्य गरिँदैन, तबसम्म दलित समस्याको समाधान हुन सक्दैन।

यसर्थ, दलितमाथि भएको उत्पीडनको समस्या आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक समस्या हो। यो मुक्तिको प्रश्न धर्मको आध्यात्मिक मान्यतासँग होइन, बरु भौतिकवादी मान्यतासँग जोडिएको छ। त्यसैले धर्म रहेसम्म दलितहरू रहिरहन्छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार