ऋषि पञ्चमी विशेष
पञ्चमीको व्रतका नाममा नारीहरूको अपमानका साथै यी पर्वको व्यापारीकरण भइरहेको छ, महिला मौन छन्। अपमानित र व्यापारीकरण भएको उनीहरूलाई पत्तै छैन।
महिलाहरू विचार गर्नुस् त; रजस्वला भएर तपाईंले कुनै पवित्र वस्तुलाई छुनुभयो भने तपाईंहरू पापको भागीदार ठहरिनुहुन्छ।
यदि रजस्वला भएकी स्त्रीले छोएको कुराले नै महिलाहरू पापी हुने भएको भए त सम्पूर्ण मानव जातिको अस्तित्व नै पापमय भयो भन्ने मान्न सकिन्छ। किनभने गर्भ रहँदा त्यही रज रोकिन जान्छ र भ्रूण आमाको पाठेघरभित्र बढ्दै जान्छ। त्यही रजबाट बनेको बच्चा कसरी पवित्र भयो होला त?
१४ वर्ष वनवास बस्दा सीताले ऋषिपञ्चमीको व्रत लिएर ‘पाप’ पखालेको कथा कतै पढिएको छैन। न त द्रौपदीले १२ वर्ष वनवास एक वर्ष गुप्तवास बस्दा ‘छुई’ भएर बसेको र पाण्डवहरूले उनलाई भिन्दै कोठामा राखेका कथा सुनिन्छ। त्यो बेलामा कि उनीहरूले कुनै औषधि खाएर महिनावारी सुकाएका थिए ?
पञ्चमीको व्रतका नाममा नारीहरूको अपमानका साथै यी पर्वको व्यापारीकरण भइरहेको छ, महिला मौन छन्। अपमानित र व्यापारीकरण भएको उनीहरूलाई पत्तै छैन।
यो प्रश्न मैले आफैंलाई शायद १२ वर्षको उमेरमा गरेकी थिएँ कि क्या हो। मैले कहिले महिनावारीलाई पापको रुपमा हेरेकी छैन र नजानेर एउटा क्रान्ति नै गरेकी थिएँ।
१२ वर्षको उमेरमा म पहिलो पटक महिनावारी हुँदा, भोलिपल्ट घटस्थापना थियो। यदि मैले आफूले महिनावारी भएको कुरालाई जानकारी दिए भने आमाले १२ दिनसम्म अँध्यारो कोठामा राखिदिनुहुनेछ, अनि मेरो दशैंमा मीठो खाने, नयाँ लुगालगाउने, दक्षिणा पाएर अनेक थरी चिज किन्ने, तास खेल्ने, चंगा उडाउने सबै कुरा हराउँछन् भन्ने डरले मैले भन्नै भनिनँ।
त्यो बेलाको महिनावारीमा मैले मन्दिर गएको, श्राद्धमा भाग लिएको पाप पखाल्न ऋषिपञ्चमीको व्रत मैले कति जन्मसम्म बस्नुपर्ने हो मलाई कुन धर्मगुरुले भनिदिनुहोला होला?
यदि साँच्चै नै रजस्वला हुँदा भगवानको मन्दिर छोएर रोग लाग्ने भए त मलाई कति धेरै रोग लागिसकेको हुने थियो होला?
एक धर्मगुरुले मलाई भनेका थिए, “रजस्वला हुँदा जुन रगत जान्छ त्यसमा कीटाणु हुन्छन् रे, दूषित कीटाणुका कारण नै मन्दिर र भान्साको प्रवेशमा पनि रोक लगाइएको हो। शास्त्रमा लेखिएको कुरा साँचो हुन्छ।”
कसले गुरुलाई यस्तो पाठ पढायो? यदि दूषित कीटाणु रजस्वलाको रगतमा हुन्छ भने त्यही रजबाट सृजित पण्डितजी पनि दूषित हुने हो कि?
हिन्दु संस्कृतिभित्र महिलाको पाप पखाल्न ऋषिपञ्चमीको व्रत लिन लगाउने पण्डितजीले पुरुषको पाप पखाल्न के व्रत लिन सल्लाह दिन्छन् होला?
“महिलाहरूको महिनावारी हुनु भनेको पाप हो र यो बेलामा महिलाले कुनै वस्तुलाई छोएको पाप पखाल्न पञ्चमीको व्रत बस्नुपर्छ” भनेर सानैदेखि सिकाइएकाले होला हिन्दु महिलाहरू पण्डितजीको भयको कारणले थरथर काँप्दै पञ्चमीको व्रत बस्छन्।
फेरि कस्तो अचम्म छ, महिनावारी बेलामा छोएको पाप केवल हिन्दु महिलालाई मात्र किन लाग्ने होला? अन्य धर्मका महिलाहरूको रगत र शरीर नै भिन्दै थरीको हुन्छ कि के हो? हिन्दु महिलालाई रजस्वला हुँदा छोएको पाप पखाल्नु पर्ने तर मुस्लिम, क्रिश्चियन महिलालाई नपर्ने? नेपालका पनि विभिन्न जातजस्तै तामाङ, गुरुङ, शेर्पा, मगर, माझी समुदायका महिलाहरूको रजस्वला हुँदा चाहिँ पाप नलाग्ने? उनीहरूले ऋषिपञ्चमीको व्रत बस्न नपर्ने?
भारतको आसामको कामाख्या मन्दिरकी देवी पनि असारमा रजस्वला हुन्छिन् भन्ने मान्यता छ। त्यो बेलामा उनले प्रयोग गरेको कपडा चाहिँ अति शुभ मानेर भक्तजनले लैजान्छन् रे। कामाख्या देवी नै महिनावारी हुँदा चाहिँ पण्डितजीको भनाइ अनुसार मन्दिर अपवित्र भएन त भनेर प्रश्न गर्ने बेलामा भएन र?
यस्तो प्रश्न पण्डितजीलाई कसले गर्ला? ऋषिपञ्चमीमा व्रत बसेर शहरका महिलाले पाप पखाल्नु पर्छ भन्नु र महिनावारी हुँदा महिलाहरू छाउगोठ बस्नुपर्छ भन्ने मानसिकता एउटै हो?
लेखकको फेसबुक वालबाट
















