सोमबार, ९ भाद्र, २०८२

काठमाडौं यात्रा र सरकारी वकीलहरूको चौथो राष्ट्रिय सम्मेलन

काठमाडौँको राष्ट्रिय सभागृहको हलमा तीन दिन चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको थियो । सम्मेलनमा देशभरिका ४६५ जना सरकारी वकील सहभागी भएका थियौँ ।

एकाएक मनोनयन गरिएको खबरको मेल पत्र आयो । मिति २०७९ पौष ८–१० गतेसम्म सञ्चालन हुने सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलनमा भाग लिन काठमाडौँमा आउनु भन्ने । सिलगढीबाट पौष ६ गते धनगढी हुँदै साँझ ७.०० बजे कोहलपुर पुगेँ । परिवारसँगको अत्यन्तै छोटो बसाइसँगै भोलिपल्ट ७ गते बिहान ७.१० बजे एयरपोर्ट टाइममा राँझा एयरपोर्टतर्फ सबेरै कुदिहालेँ । प्लेन भने समयमै उडेन ।

करिब १२.०० बजे आकाश खुलेर घाम लागेपछि यात्रुलाई बोलाउन थाल्यो । दिनको १२.०० बजेतिर यात्री प्रतिक्षालयमा भरिन थाल्यौँ । बिहान ७.०० बजेदेखि काठमाडौँका उडानका लागि पर्खेका यात्रुलाई यस बोलावटले खुसीको खबर दियो । केही छिनमा यात्रुलाई प्लेनमा प्रवेश गर्न बोलायो । हामी यात्री क्रमशः खचाखच भरियौँ । एयरहोस्टेसले सबैलाई सिट बेल्ट बाँध्न र मोबाइल स्विच अफ गर्न अर्थात् हवाई मोडमा राख्न सूचित गरिन् । यसका साथै मौसमको अवस्था र सुरक्षाका नियमसमेत बताइन् । प्लेनमा हामी सबै यात्रीहरू एयरहोस्टेसको निर्देशन र नियममा बाँधिन पुगेका थियौँ । हामीले बागेश्वरी माता, कुलदेवता एवं मष्टोलाई यात्रा सफलताको कामना गर्दै सम्झिरहेका थियौँ, एकछिनमै प्लेन उड्यो ।

मैले टिकट चेक गर्ने क्रममा झ्यालको साइडमा ४/६ जना पछि सिट मिलाइदिन भनेको थिएँ, तर पछि पसेछु प्लेनमा । सिटमा त डोल्पाको साथी गोबिन्दबहादुर शाही अगाडि गएर झ्याल नजिकको सिटमा बसिहालेछन् ।
संयोगले आफ्नै साथी छेउमा परेछन् । गफ गर्दै बाहिरका दृश्यको फोटो र भिडियो खिचेँ, थोरै झ्यालको साइड मागेर आँखीझ्यालबाट केही थान फोटो खिचेँ । प्लेन डिले उडानमा उडिरहेको थियो । मौसम भने अत्यन्तै सफा थियो । उत्तर साइडतिर सिट मिलेकोले उत्तरतर्फका अग्ला–अग्ला थुम्का, टाकुरा, पहाड र हिमालहरू सबै देख्न पाइयो । सिस्ने हिमालदेखि धवलागिरी, माछापुच्छ्रे, गोरखामा पर्ने हिमालदेखि नुवाकोट र रसुवा सम्मका हिमालहरू देख्न पाइयो । दक्षिणतर्फ भने कतै हुस्सु, बादलका घुम्टा र कतै–कतै घाम लागेको देखिन्थ्यो ।

काठमाडौँ उपत्यका प्रवेश गरेपछि एयरहोस्टेसले १५ मिनेट एयरजाम हुने भनेर सुनाइन् । तर हामी आधा घण्टा नै आकाशमा घुम्यौँ । बल्लतल्ल प्लेन सुरक्षित अवतरण भएपछि प्लेनबाट ओर्लियौँ ।

७ गते काठमाडौँमा फुर्सदिलो समय बितायौँ । काठमाडौँ पढ्न गएका छोराछोरीसँग भेट्ने अवसर मिलेको थियो । सम्मेलन पौष ८ देखि सुरु भएको थियो । सरकारी वकीलहरूको चौथो राष्ट्रिय सम्मेलन २०७९ मा देशभरिका विभिन्न श्रेणीका ४६५ सरकारी वकील विस्तृतरूपमा छलफलका लागि उपस्थित भएका थियौँ । यस सम्मेलनमा फौजदारी अपराधको अनुसन्धान गर्ने जिम्मेवारी रहेको नेपाल प्रहरी, नेपाल बारका प्रतिनिधि, सरकारी वकील कार्यालयका विभिन्न कर्मचारीहरूसहित थप एक सय जनालाई महान्यायाधिवक्ताको कार्यालयले आमन्त्रितसमेत गरेको थियो ।

प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने सरकारी वकीलहरूको २०७९ सालको सम्मेलनको नारा, “फौजदारी न्यायको प्रभावकारिता, कानूनी शासनको सुनिश्चितता” रहेको थियो । यसपटक सम्पन्न हुने राष्ट्रिय सम्मेलन पाँच वर्षअघि देखि लागू भएको मुलुकी अपराध संहिता लगायत नयाँ कानून र कार्यान्वयनको अवस्था, पछिल्ला समयमा भोग्नु परेका चुनौती तथा सुधारका विभिन्न विषयमा छलफल गर्ने मनसायले आयोजना गरिएको थियो ।

सम्मेलनमा सरकारी वकीलहरूको व्यावसायिकताको विकास, जनतामा गरिने सेवाप्रवाहमाथि विश्वसनीयता र बहस पैरवीलाई प्रभावकारी बनाउन थालिएका विभिन्न उपाय, मानव अधिकारको संरक्षण एवं अनुसन्धानमा सूचना प्रविधिको प्रयोग के–कसरी गर्ने भन्ने लगायतका विषयमा केन्द्रित रही कार्यपत्रहरूमाथि छलफल गर्ने उद्देश्य राखिएको थियो । सम्मेलनले महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयनको समीक्षा, प्रभावकारिताका लागि पहल, महान्यायाधिवक्ताको कार्यालयको संस्थागत सुधार, भौतिक पूर्वाधारको विकास र भावी योजनाका लागि मार्गदर्शन खोजेको थियो ।

काठमाडौँको राष्ट्रिय सभागृहको हलमा तीन दिन चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको थियो । सम्मेलनमा देशभरिका ४६५ जना सरकारी वकील सहभागी भएका थियौँ । मुख्य न्यायाधिवक्ताको कार्यालय, सरोकारवाला निकाय नेपाल बार एसोसिएसन, नेपाल प्रहरी, अनुसन्धान निकाय, सरकारी वकील कार्यालयका कर्मचारी र पर्यवेक्षकको सहभागिता रहेको थियो । महान्यायाधिवक्ता कार्यालयको ७२औँ स्थापना दिवस र चौथो राष्ट्रिय सम्मेलनको एकसाथ उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट भएको थियो । उद्घाटनपछिको मन्तव्यमा प्रधानमन्त्रीज्यूले विद्यमान कानूनको निष्पक्ष र प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिँदै सरकारी वकीलहरूको व्यावसायिकताले मुलुकमा कानूनी राज्यको अवधारणा व्यवहारमा रुपान्तरण हुने कुरालाई थप जोड दिनु भएको थियो ।

मन्तव्यको क्रममा वर्षौंदेखि छलफलमा आइरहेको विषय सरकारी वकीलको सेवा तथा शर्तसम्बन्धी कानून जारी गरिने प्रतिबद्धता समेत उहाँले गर्नुभएको थियो । आफ्नो मन्तव्यमा मुलुकमा फौजदारी न्याय प्रशासनलाई कायम राख्न सरकारी वकीलहरूले मुलुकका प्रचलित विद्यमान कानूनको निष्पक्ष रूपमा कार्यान्वयन गर्ने र आफूले सम्पादन गर्नुपर्ने कार्यहरू कानूनबमोजिम कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष र स्वतन्त्र रूपमा सम्पादन गर्न सबै सरकारी वकीलहरूलाई आग्रह गर्दछु भन्दै सबैको ध्यान त्यसतर्फ आकर्षित गर्नुभएको थियो ।

सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनु भएका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अनुसन्धान, अभियोजन तथा न्याय निरूपण गर्ने निकायबीच सधैँ समन्वय र सहकार्य हुनुपर्ने विषयमा जोड दिँदै फौजदारी न्याय प्रणालीलाई विश्वसनीय बनाउने कार्यमा न्याय प्रशासनको मेरुदण्डका रूपमा रहेका सरकारी वकीलहरूको भूमिका प्रशंसनीय रहँदै आएको कुरा बताउनुभएको थियो ।

सम्मेलनमा उपस्थित गृहमन्त्री बालकृष्ण खाँणले अनुसन्धानलाई आधुनिक बनाउँदै अपराध अनुसन्धानमा नयाँ प्रविधि भित्र्याउनुपर्ने आवश्यकता रहेको कुरा व्यक्त गर्नुभएको थियो । साथै उनले महान्यायाधिवक्ताको कार्यालयलाई आगामी दिनमा अझ प्रभावकारी बनाउन संवैधानिक र कानूनी जिम्मेवारी बहन गर्न सक्ने गरी विशिष्टिकृत र व्यावसायिक बनाउनु पर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा माननीय महान्यायाधिवक्ता खम्बबहादुर खातीज्यूले यस सम्मेलनले सरकारी वकीलको व्यावसायिकता विकास र संस्थागत सुदृढीकरणका लागि आवश्यक सेवा शर्त कानून तर्जुमाका लागि आधार तयार गर्ने लगायतका विषयमा आफ्ना अमूल्य विचार प्रस्तुत गर्नुभएको थियो ।

उद्घाटनपछि पौष १० गतेसम्म विज्ञ सरकारी वकीलबाट प्रस्तुत कार्यपत्रमाथि छलफल, सरकारी वकीलको कार्यसम्पादन, प्रचलित कानूनमाथि छलफल, चुनौती, नयाँ प्रविधिको प्रयोग, रणनीतिक योजना, सरकारी वकीलको व्यावसायिकता तथा सेवा शर्त र सुविधा लगायत कानूनको प्रभावकारिता सम्बन्धी विषयमा घनीभूत छलफल गरी जोरदार तालीसहित १४ बुँदे घोषणापत्र समेत पारित गरेका थियौँ ।

तत्पश्चात सम्मेलन सकेर पौष १३ गते २.२० बजेको उडान टाइम लिएर श्रीएयरको प्लेन टिकट काटेँ । दिउँसो १३.२० बजे आइपुग्ने समय दिइएको थियो, समयमै त्रिभुवन विमानस्थल पुगिहालेँ, ट्याक्सी लिएर । सामान अलि बढी थियो, त्यसै पनि ट्याक्सी लिनै पर्ने थियो । सामान बढी भयो भन्दै थिए, काउन्टरका भाइले, कनभिन्स गरेपछि सजिलै सामान भित्र पठाइदिए । सुरक्षाजाँच कडाइ गरिएको रहेछ, बेल्ट, पर्स, मोबाइल, ब्याग, घडी सबै बक्समा राखेर जाँचका लागि भित्र पस्यौँ । चेकजाँचको क्रममा कुनै समस्या नआएपछि आफ्ना सामानहरू बेल्ट, पर्स, मोबाइल, ब्याग, घडी र हाते लगेज साथमा लियौँ ।

यात्री प्रतिक्षालयमा गएर बुझ्दै जाँदा प्लेन तोकिएको समयमा उड्न नसक्ने भएर ३.१५ बजेको लागि डिले भइसकेछ । भित्र समय बिताउन धेरै गाह्रो भयो । लगभग १.३० बजेदेखि ३.३७ बजिसकेको थियो, हिउँदको समय थियो, जाडो पनि उत्तिकै थियो । भरतपुरका यात्रुलाई बिहानदेखि पर्खाएर दिउँसो २.३० तिर प्लेन प्रतिकूल मौसमका कारण जान सकेन, काउन्टरमा गएर सम्पर्क राख्नु होला, यात्रुहरुलाई पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौँ भन्ने सूचना भएपछि भरतपुरका यात्रु निराश भएर एयरपोर्टबाट फर्किए ।

देशभरिका उडानहरू प्रतिकूल मौसमका कारण प्रभावित भइरहेका रहेछन् । भद्रपुर, राजविराज, सिमरा, भरतपुर, पोखरा, नेपालगञ्ज र धनगढी उड्ने बुद्ध एयर, श्री एयरलाइन्स र यति एयरका उडानहरू समयमै उड्न सकेका थिएनन् । धनगढी उड्ने एकजना महिलालाई जरुरी काम रहेछ, समयमा उड्न नसकेपछि नेपालगञ्जको टिकट लिनुभएछ । नेपालगञ्ज उड्ने प्लेन पनि समयमा उडेन् । पछि धनगढी जाने भयो भनेर डिले दिएपछि उनी धेरै पछुताइरहेकी थिइन् । धनगढीतर्फ जाने यात्रुले आज उड्न नपाइने भनेर आशा मारेका थिए । पछि यात्रुले जान पाइने भयो भनेर खुसीले गदगद भए ।

त्यो बेला तराईको मौसम हुस्सुले ढपक्कै ढाकिदिएको थियो । दिउँसो १२ बजेदेखि हुस्सु खुल्ने थाहा हुँदाहुँदै बिहानै ७.०० बजेदेखि टिकट काट्न लगाएर एयरलाइन्सवालाले अत्यन्तै दुःख दिएको पाइयो । महेन्द्रनगर जाने एकजना ढाडको नसाको अपरेशन गरेकी यात्रु समयमै घर जान नपाएकोमा दुःखित थिइन् । उनका श्रीमान् उठ्न–बस्न सघाइरहेको देखिरहेका थियौँ । धनगढीका लागि समयमै जान नपाएका यात्रु यत्रतत्र छरिएपछि एकजना महिला कर्मचारीले यात्रुलाई प्लेन भएको स्थानतर्फ जान माइकिङ गरिरहेकी थिइन् ।

दिउँसो १५.१५ बजेको डिले फेरि १६.१५ बजे सर्यो । भद्रपुर र भैरहवाका यात्रुलाई प्लेन उड्ने भयो भनेर माइकिङ भइरहेको थियो । नेपालगञ्जका यात्रुहरू भने निन्याउरा अनुहार लगाएर छटपटिरहेका थिए ।

त्रिभुवन विमानस्थलको डोमेस्टिक यात्री प्रतिक्षालयमा बस्दा–बस्दा थाकेको ज्यान अलि असरल्ल थियो । दिउँसो १३.०० बजे एयरपोर्टतर्फ लागेको ज्यान दिनभरि खाजा नखाई १६.३० बज्यो । प्रतिक्षालयमा क्यान्टिन नभएको होइन, तर सामान छोई नसक्नु मूल्य थियो । ५०० मिलि पानी रु.१००, पोटेटो चिप्स रु.१५०, बिस्कुट रु.१५०, कफी रु.१५०, डोनट रु.१००, साध्य थिएन ।

अन्ततः श्रीएयरको दिउँसो १४.२० बजे उड्ने प्लेन क्यान्सिल भएर छोड्यो । माइकिङ भयो, काउन्टरमा सम्पर्क राख्न जानु भन्यो । यात्रुप्रति कोही जिम्मेवार देखिएन । मैले सामान बुझेर ट्याक्सी समात्दै नयाँबसपार्कतर्फ लागेँ ।

नयाँबसपार्क जान पनि कम्ती समस्या थिएन, त्यो स्कुल–कलेज छुट्टी हुने समय, अफिस छुट्टी हुने समय र हाटबजार सकेर घर तथा डेरातर्फ जाने समय, गाडी जामको लस्कर । बल्लबल्ल जाम छिचोल्दै १८.३० बजे नेपालगञ्ज बागेश्वरी समितिको बस समाउँदै सिटमा बसेँ । गाडी स्टार्ट भइरहेछ तर हिँड्दैन । १८.३० बजे हिँड्नु पर्ने नाइटबस १८.५० भइसक्यो, गाडी गुड्दैन ।

स्टाफहरू भनिरहेका थिए, टिकटवाला यात्रुहरू कता गए, अझै आइपुगेका छैनन्, फोन लगाउँदै थिए । कोही यात्रुहरू अझै खोजिरहेका थिए । स्टाफ कराउँदै थिए, बुटवल–बुटवल, नेपालगञ्ज/नेपालगञ्ज । हाँस्नु कि रुनु ।

आकाशबाट जान खोज्दा मौसम प्रतिकूल, प्लेनवालाको मनपरी, गाडीबाट जाँदा गाडीवालाको मनलागी । न कोही जवाफदेही, न कसैलाई सेवाग्राहीप्रति मतलब ! अब भने रोक्न मिल्ने समय नभएपछि गाडीले बसपार्क छोड्यो ।

धन्य मेरो देश – धन्य मेरो यात्रा । समयमै टिकट लिएर एयरपोर्ट गए पनि अव्यवस्थित हवाई व्यवस्थापनले दिक्क बनायो । भविष्यमा टिकट काटिसकेपछि यात्रुलाई न हवाई उडानबाट होस् वा गाडी–मोटरको यात्राबाट होस्, कतैबाट पनि तकलीफ नहोस् । शास्तीको सीमा कति धेरै ? यात्रु सबै आत्तिएका थिए । विदेशमा समयमा प्लेन उडेन् वा सार्वजनिक गाडी चल्ने भएन भने क्षतिपूर्ति तिर्नुपर्छ । हामीकहाँ जिम्मेवारीबोध नै छैन । यात्री समयमा गन्तव्यमा पुग्न सकेन भने त्यसबाट हुने हानी–नोक्सानी कसले बेहोर्ने ? यसतर्फ सम्बन्धित निकायको अबदेखि ध्यान जाओस् । अब भने बस अगाडि बढ्न थाल्यो, पश्चिम नेपालगञ्जतर्फ जय बागेश्वरी, शुभयात्रा र बाइ काठमाडौं भन्दै हात हल्लाउँदै यात्रुहरू निदाउन थाले । गाडीमा भने गीत बजिरहेको थियो, हर्न बजाउँदै घुम्ती मोडेर ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार