बडीमालिका धाम नेपालका सुदूरपश्चिम प्रदेशका नौवटा जिल्ला मध्ये बाजुरा जिल्लामा अवस्थित एक प्रमुख धार्मिक स्थल हो। पर्यावरणीय र पर्यटकीय रूपमा भन्नुपर्दा उच्च पहाडमा अवस्थित एक सुन्दर पाटन स्थल हो। समुद्री सतहबाट ४२०० मिटर उचाइमा रहेको बडीमालिका नौबहिनी भगवती मध्येकी एक हुन्।
पहिलेदेखि बडीमालिका दर्शन गर्न जानुपर्छ भन्दै अनुकुल समय मिलेको थिएन। यो वर्ष भने बडीमालिका जानकै लागि बडीमालिका भगवतीले मेरो सरुवा बुटवलबाट जिल्ला सरकारी वकील कार्यालय डोटी गराएको हुनुपर्छ। मैले बडीमालिका जाने भनेर के कुरा सम्झाएको थिएँ, धर्मपत्नी पुर्णलक्ष्मी र छोरीहरू बशन्ती र दिपशीखाले हामी पनि जान्छौँ बाबा भनेर २०७९ साल श्रावण २१ गते मात्र कोहलपुरबाट डोटी सिलगढी आइपुगे। गुरु गोविन्द नाथले कोहलपुरबाट गाडीबाट ल्याइपुर्याएका थिए। हामी सहित कार्यालय सहयोगी श्याम भट्ट श्रावण २२ गते बडीमालिका जान बिहानै बाजुरातर्फ लाग्यौँ।
हामी बिहानको करिव ११:०० बजेतिर बाजुराको फालासेन बजारमा पुगे। बाजुरा मार्तडीबाट जान एकदिन ढिला भईसकेकोले अन्य कुरा नसोची फालासेनमा दिउँसोको खाना खाएर करिव १२:१५ बजेतिर बडीमालिकाको मन्दिर प्रवेश द्वारबाट झोलुङ्गे पुल हुँदै पैंमको गाउँको ठाडो उकालो लाग्यौं। श्रावण महिना गर्मी याम र रुखबृक्ष थिएनन्। अत्यन्त गर्मी थियो।
मैले जाने भनेपछि उच्च सरकारी वकिल कार्यालय, महेन्द्रनगरका सहन्यायधिवक्ता दमन बिष्ट, सहायक कम्प्युटर अपरेटर र गुरुजी पाण्डे, जिल्ला सरकारी वकिल कार्यालय डडेलधुराका सरकारी वकिल मोहनी जोशी र गुरुजी, यसैगरी उच्च सरकारी वकिल कार्यालय दिपायलका उपन्यायधिवक्ता प्रकाश भण्डारी, उच्च अदालत दिपायलका माननीय न्यायाधीश अर्जुन कोईराला र जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भोला बोहरा र साथमा २ जना प्रहरी जवान पनि सँगसँगै लाम लागेर गएका थियौँ।
पैंमको गाउँमा बडीमालिकाको पूजा गर्ने बाजुराका पुजारीको घर रहेछ। सो कुरा त्यहाँ पुगेपछि थाहा भयो। बडीमालिकाको पुजारी बस्ने र पूजा गर्ने ठाउँलाई मालिकाथान पाण भन्ने गरिंदो रहेछ। हामी सबै टोली त्यहाँ पुग्दा पुरानो संरचनाको दरबार जस्तो पाणमा अखण्ड दियो बलिरहेको थियो। मन्दिरको दर्शन गर्यौँ। हामीले पुजारीको घरका सदस्यसँगको साक्षात्कारपछि कागती र चिनी सहितको सर्वत पानी धीत मर्ने गरी पिइ पैंमको पुजारीको घरबाट मना गाउँतर्फ लाग्यौँ।
बडीमालिका धाम नेपालका सुदूरपश्चिम प्रदेशका नौवटा जिल्ला मध्ये बाजुरा जिल्लामा अवस्थित एक प्रमुख धार्मिक स्थल हो। पर्यावरणीय र पर्यटकीय रूपमा भन्नुपर्दा उच्च पहाडमा अवस्थित एक सुन्दर पाटन स्थल हो। समुद्री सतहबाट ४२०० मिटर उचाइमा रहेको बडीमालिका नौबहिनी भगवती मध्येकी एक हुन्।
पौराणिक किंवदन्तीलाई आधार मान्दा श्री स्वस्थानी कितावमा उल्लेख गरिए अनुसार दक्ष प्रजापतिले यज्ञ गर्दा भगवान महादेव र सतीदेवीलाई निमन्त्रणा गरेनन्। यदि निमन्त्रणा गरेको खण्डमा महादेव यज्ञ स्थल आएमा बाघको छाला पहिरी भाङधतुरो सेवन गरी यज्ञमा बसेका देवताहरूलाई अशोभनीय हुने हुँदा नबोलाएको भनी दक्ष प्रजापतिले उनकी छोरी सतीदेवीलाई भनेपछि सो कुराले आफ्नो श्रीमान महादेवको अपमान भएको ठानी सो कुरा सहन नसकी सतीदेवीले दक्ष प्रजापतिद्वारा तयार गरिएको यज्ञकुण्डमै हाम फाली प्राण त्याग गरेकी थिइन्।
यो कुरा थाहा पाएर पत्नी वियोगमा छट्पटाइ रहेका महादेवले मृत पत्नीको शरीर बोकेर पृथ्वीका विभिन्न स्थानमा घुम्दै गर्दा भगवान विष्णुले आफ्नो सुदर्शन चक्र प्रहारबाट सतीदेवीको मृत शरीरलाई कुहाइदिएपछि शरीरका विभिन्न भाग विभिन्न स्थानमा पतन हुँदै गए।
मल्लगिरि पर्वतमा मृत सतीदेवीको बायाँ घुँडा पतित भएको र सो मल्लगिरी पर्वतनै बाजुराको यही पाटन रहेको मानिएबाट यिनै बडीमालिकाले शक्तिपिठको रूपमा धारण गरेकी हुन् भन्ने स्थानीय बासिहरूको भनाइ सुन्न पाइन्छ।
श्रावण महिना धार्मिक महिना भएको र श्रावण पूर्णिमामा विभिन्न देव-देवीको पूजा हुने भएकोले यस महिनामा भगवान शिवको पूजा गर्दा माता पार्वतीको समेत पूजा हुने र विभिन्न तिर्थ चुली, मालिका, घाट, ताल, कुण्ड, तलाउ पुगेर जल छरेर पुण्य मिल्ने र सोचेको कामना पूरा हुने धार्मिक विश्वासले बडीमालिकामा सरकारी पेटारासहित श्रावण पूर्णिमाको अघिल्लो दिन पुगि रातभर पूजा आरती सहित जाग्राम बस्ने चलन छ।
पूर्णिमाको बिहान सरकारी पेटारो डोटी, जुम्ला र कालिकोटबाट चढाई पूजा-आरती गरे पश्चात् सर्वसाधारणले समेत दर्शन गरी चाहेको मनोकांक्षा मागी पहिले गएको बाटो नभई सकेसम्म नयाँ बाटोबाट फर्कने चलन समेत रहेको छ। यस बडीमालिका मन्दिरमा बाजुरा पैंमका र कालिकोटका ब्राह्मण रहने परम्परा रहिआएको छ।
बडीमालिकाको पूजामा सरकारी पूजासामग्री सहितको पेटारो डोटीको शैलेश्वरीबाट राणाकालीन समयदेखि डोटी गौंडा हाल जिल्ला प्रशासन कार्यालयबाट बाजागाजा सहित पठाउने चलन रहिआएको छ। यसैगरी सरकारी पेटारो (पूजा सामग्रीको पोको) जुम्ला गौंडाबाट समेत धेरै वर्ष अघिबाट प्रचलन रहेको पाइन्छ।
२०७९ सालदेखि बाजुरा जिल्लाबाट पनि पेटारो ल्याउने परम्पराको थालनी भएको रहेछ। यस्तो पेटारो जुम्ला खलंगाबाट नागपञ्चमीका दिनमा नेपाली सेनाको सलामी सहित सरकारी टोली बडीमालिका तर्फ प्रस्थान गर्दछ। निश्चित ठाउँमा बसेर पूजाआजा गर्दै पूर्णिमाको अघिल्लो दिन पुग्ने गर्दछ। सरकारी टोलीभन्दा अगाडि कसैले जान नहुने परम्परा पनि रहिआएको छ। श्रावण शुक्ल त्रयोदशीका दिन डोटी बाजुरा बाट गएको टोलीले त्रिवेणी पाटनको घाटमा पूजाअर्चना गरी सकेपछि मात्र साँझ बडीमालिका थानमा पुग्ने चलन रहेको छ।
साउन शुक्लचतुर्दशीका दिन मूल पूजा हुने गर्दछ। सर्वसाधारणले सामान्यतया एकादशीदेखि अर्थात् एक-दुई दिन अघि जतिबेला पनि मन्दिर दर्शन गर्न पाउँदछन्। सरकारी पूजा डोटीको पेटारे टोलीबाट सुरु हुन्छ, त्यसपछि अरुले पूजा गर्न पाउने प्रचलन छ। सरकारी पूजा टोलीमा डोटी, जुम्ला, कालिकोट र बाजुरा जिल्लाबाट खटिएका प्रतिनिधिहरुले पूजाआजा गर्ने परम्परा छ।
अत्यन्तै विकट थुम्को रहेको भौगोलिक स्थानमा अवस्थित यी बडीमालिका देवी शक्तिपीठको दिव्य दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले लौरोको सहाराले लिएर भएपनि पाउडण्डीको बाटोमा देशभरीका हजारौं भक्तजन श्रावण शुक्ल चतुर्दशीको मौका पारेर कठिन साधनाका साथ खुकुरीको धारमा कमिलाको ताँती जस्तै यात्रा गर्दै त्यहाँ पुग्ने गर्दछन्।
मनागाउँको बाटो बडीमालिका जानलाई छोटो बाटो मानिदो रहेछ। हामी लठ्ठीको सहारामा सल्लाघारी हुँदै उकाली चढ्दै मनागाउँ र गोठ खर्क हेर्दै घामसँगै डाँडामाथि हिँड्दै थियौँ। घामले लगभग नेटो काट्दै थियो, अगाडि धर्मशाला, बाटो बनाउने मजदुरका पाल र भैंसी खर्क छन् भन्ने सूचना पाएपछि हामी अगाडि बढ्यौँ।
जङ्गलको बीचमा धर्मशाला त भेटियो न पानी न त व्यवस्थित। गोधूलि साँझ, अलिकति भए पनि बाटो काटिएला भन्ने आशाले अगाडि बढ्यौँ। फरक यहीँ पर्यो—उकालो लाग्नुपर्नेमा तेस्रो बाटो लाग्यौँ। अँध्यारो छिप्पिदै गयो, फर्किन पनि सकेनौँ। व्यवस्थित बास भेटाउन सकेनौँ। अब हामीले आफूहरू हराएको निश्चित गर्यौँ र बासका लागि ओभानो छाँया परेको ठाउँ खोज्न लाग्यौँ।
बिहान पैंमबाट हिँड्दा वृद्ध आमाले कोही पनि बाटो देखाउने मान्छे नभएकोले ‘आज तिमी हराइजाँदा भयो बा, अब कसो गरौं’ भनी गहिरो चिन्ता व्यक्त गरेको कुरा सम्झिरह्यौँ। मिठो आतिथ्यता र आत्मीयपनसँगै हामी यहाँबाट बाटो सोध्दै अगाडि बढेका थियौँ। १२ घण्टा जति अनकन्टार जंगलमा हरायौँ। जंगलमा झ्याउँकिरीहरू एकोहोरो कराउँदै थिए।
कोही गोठाला छौ कि हो भन्दै ठूलो स्वरले कल्ला हालेर करायौँ, कतैबाट आवाज आएन। बरु हामीसँगसँगै छुटिएको बसन्त भाइको समूहको आवाज सुनियो, बल्ल बाँचिन्छ भन्ने सोचे। एकएक गरी हात समाउँदै भीरको बाटो अनकन्टार जंगलमा टर्चलाइटको सहाराले माथि उकाले। अत्यन्तै अप्ठेरो, निगालाको भीरमा निगालोका बुटामा झुण्डिदै खुल्ला ओभानो चौर जस्तै डाँडामा पुगेर त्यहीं बस्ने निधो गर्यौँ, रातीको ९ बजिसकेको थियो।
एकनासले खोला सुसाइरहेको थियो, बसन्तको टोलीले खुकुरी बोकेका रहेछन्, त्यसैले सबै मिलेर मोबाइल टर्चको सहारामा पाल टाग्यौँ। दुखसँग प्लास्टिक सल्काई आगो बाल्यौँ, खोलाबाट बसन्त र समीरले पानी ल्याए। सबैसँग भएको खानेकुरा बाँडेर खायौं। साथमा भएका म्याट ओछ्याइ, स्लिपिङ ब्याग ओढेर सुत्यौँ।
सुत्दा मौसमले साथ दिएपनि राति पानी पर्यो। म्याडम जाडोले काम्न लागिन्, केही भएको भए मेरो परिवारको उठिबास हुन्थ्यो। अरुलाई पनि हामी सुतेको ठाउँमा कसैको चिहान रहेछ कि भन्ने लाग्यो। राति प्रकाश भण्डारीलाई डरलाग्दो अनौठो सपना परेछ। भेडीगोठाला वा ठेकी कार्ने फुरुवाला मध्ये कोही सोही स्थानमा मरेर गाडेको हुनुपर्छ भन्ने हाम्रो अड्कल रह्यो।
भोलीपल्ट बिहानै झोला तयार गरी दुई घण्टा जति बाटो खोज्दैमा समय बित्यो, तर बाटो पत्ता लागेन। अघिल्लो दिन जुन बाटो हिँडेका थियौँ त्यहीबाटो फिर्ता जाउँ भन्ने सोच्दा अलमल भइरह्यो। पत्ता लगाउन कठिन भयो। फेरि पनि पैंम गाउँकी पुजार्नी बज्यैले ‘आज तिमी हराइझाँदा भयो, कसो गरौं’ भनेको स्मरण गर्यौँ।
जुकाले टोकेका थिए। बल्लतल्ल अर्को यात्रा टोलीका सदस्यलाई फोन गरी स्थानीयसँग कुरा गर्दा फिर्ता आइ ठाँडो उकालो लाग्ने भनियो। बडीमालिका र कुलदेवता सम्झिदै बल्ल हिजो आएको बाटो पत्ता लगाइ उकालो लाग्यौँ। एकै छिनमा पदमार्ग बनाउने मजदुरहरूको पाल आयो। सरकारी वकिल, न्यायाधीश र प्रहरीको टोली हराएको सबै यात्रुले थाहा पाइसकेछन्। हामीले त्यही पालमा खाना खायौँ। त्यहीँ पदमार्गको काम गर्ने नुवाकोटका माइला तामाङले “अब पुलिस, न्यायाधीश, सरकारी वकिल नै पो हरायो” भन्दै पेट मिची मिची हाँसाउन सफल भए।
राति कल्ला हालेको आफैले सुनेको तर मेलाका बेला भूत आउने डरले चुपचाप सुतेको एक स्थानीय मजदुरले पालमै बताए। उनले आफ्नो बाबुलाई केही वर्ष पहिले यस्तै मालिकाको बेला यसरी नै कल्ला हालेको सुनी, मालिका जाने यात्रु होलान् भनी राति उद्धार गर्न जाँदा भूतले तीन डाँडा पारि लगेर बेहोश बनाई फालेको भोलिपल्ट मात्र फेला पारेको रोचक प्रसंग सुनाए। त्यो प्रसंगले मन चिसो भयो, शरीर शिरिङ्ग भयो।
छोरी बशन्ती, दिपशीखा र पुर्णीमा थकेकीले तिनजना तामाङ भाइलाई झोला बोकेर मालिका पुर्याउन आग्रह गरे। उनीहरूले स्वीकार गरे।
हामीले माइला तामाङलाई पनि लिएर सँगै गयौँ। हाँसाउन सिपालु रहेछन्। उकालो बाटोमा हाँसाउँदै बाटो कटायौँ। श्याम भट्ट, दमन बिष्ट सर र मोहनी सर बल्ल भेटिए। अलि उकालो हिँडेपछि खर्क भेट्यौँ, टिमका सबैले दही किनेर धीत मर्ने गरी खायौँ। यही दही-दूध खाएर रमाउँदै बास बस्नुपर्छ भनेर हिंड्दा बाटो बिराउन पुगेका थियौँ। अब अगाडि बढ्दै गर्दा हरिया अग्ला पाटन र चुचुरा देखिन थाले। अब भने हिजो हराएको पीडा बिर्सिदै जान थाले। पाटनमा घोडाहरु बुकी घाँस चरिरहेका रमाइला दृश्यले मन चंगा हुँदै जान थाले।
पाटनको तल्लो भागमा पुग्दा सेता बादलका गुच्छा सँगै पानी दर्किन थाल्यो। बर्षादी, रेनकोट ओढ्दै अग्ला टाउको र नाक ठोक्किने उकालो बाटोमा कमिलाको ताँतीझैँ लामबद्ध भएर हिँड्यौँ। दायाँ-बायाँ नहेरी चुचुरो-चुचुरोको गोरेटो बाटोको आडमा अगाडि बढ्यौँ। झरी निरन्तर परिरहेकै थियो, छाता ओढ्न मिल्ने थिएन। मालिकामा आयो भन्दै असंख्य चुचुरा पार गर्दै प्रकृतिसँग लुकामारी गर्दै हिँडिरह्यौँ।
अरू चुचुरा चढ्दै थिए। बशन्ती छोरीलाई लेख पनि लागेको थियोे होला। तर हिँड्दै हिँड्दै रुन थालिन्। नआत्तिन खुव सम्झाएँ। तिर्थ जान लागेको बेला कुनै पिर्ति कुल देवतालाई ध्वजा खुट्टो भेटि धुप नैबेध्य बोक्न बिर्सिएछ क्यारे, पछि मैले र पुर्णीमाले भाकल गरेपछि बिस्तारै रुन कम गर्दै उकालोमा हिँड्न थालिन्। कान्छी छोरी दिपशीखालाई पनि गाह्रो भएको रहेछ तर पनि कुलदेव सम्झेर हिँड्दा केही भएन।
हामीहरु बिहान ५ बजे उठेर हिँड्दै बस्दै गरेर साँझ ७ बजे बडीमालिकाथान पुग्यौँ। थानमा पुग्दा भने पानी दर्केर परेको थियो, भक्तजन र पसलेका रङ्गीविरङ्गी पालले खुट्टा राख्ने ठाउँ थिएन। बाटोमा हिलो थियो। हामीले एक पालमा रात कटायौँ। रातभरि पाल नै उडाउने पानी र हावाहुरी चलेको थियो। पाल उडाउला कि भन्ने डरले मुटु पिपलको पातझैँ काँपीरह्यो।
भोलीपल्ट बिहान मानिसहरूले रातभरि हावाहुरी चलेको र अविरल जोडले पानी परेको विभिन्न अनुमान गरिरहेका थिए। हिजो राति अनिष्ट भएर बेजोड हावाहुरी र पानी परेको हो भन्दै थिए। अनिष्ट को कसबाट के कस्ता कार्यहरू भएका थिए भन्ने खुलेको भने थिएन।
हामीसँग गएका माइला तामाङ कहाँ सुते थाहा भएन। हामीलाई भने केही अगाडि पुगेका प्रकाश भण्डारी सर र बसन्त पाध्या भाइले एउटा राम्रो पालभित्र सुत्न प्रति व्यक्ति रु ८०० का दरले आठजनालाई व्यवस्था मिलाइदिएर धेरै ठूलो गुन देखाएका थिए। त्यसैगरी पालभित्रै चिनजान भएका कैलालीका मानबहादुर बिष्टले पैसा अभाव हुनसक्छ चिन्ता नमान्नुहोला भनेर देखाउनु भएको त्यो गुन र सहयोगलाई म कहिले भुल्ने छैन।
दुई छोरी, म र पुर्णीमा, सहयोगी मेरो स्टाफ श्याम भट्ट भाइ र तिनजना भरिया भाइले त्यही ठूलो पालमा ओत लाग्न ठाउँ पाए। पुर्णी, म र दुई छोरी भिजेका कारण राति तातिन धेरै मुस्किल भयो। लगाएका चिसा कपडा निकालेर नयाँ कपडा फेरेपछि बल्ल तातिएका थियौँ।
हामीले पनि एउटा कम्मल निथुक्क भिजाएकोले भोलिपल्ट बोक्न नसकिने भएपछि उहीँ छोडेर आएका थियौँ। प्रकाश भण्डारी सहितको टोली अर्कै पालमा सुत्यो। हामीले लिएको पाल टाँग्ने न ठाउँ थियो न हिलोले म्याट ओछ्याउने ठाउँ थियो।
भोलिपल्ट पुर्णीमाको दिन बिहानै नित्यकर्म सकेर हातमुख नुहाई हामीले झोला तयार पारेर सुतेका ठाउँमा राख्यौँ। पानी पर्न रोकियो र छ्याङ्गै आकाश खुलेको थियो। पारी तिरका डाँडाबाट झरना झरेका देखिन्थे। मालिकाबाट टाढासम्म पारीतिर देखिने डाँडाका लस्कर र क्षितिजले विशाल आकाश देखिन्थ्यो। भूमण्डल पूरै बिछट्ट सुन्दर र स्वर्गनै देखिन्थ्यो। वास्तबमा त्यहाँबाट छिट्टै फर्किने मन थिएन।
बिहान बडीमालिका दर्शनका लागि हामी सबै मन्दिरतर्फ लाग्यौँ। डोटीको सरकारी पेटारो सहितको टोलीले पूजा गरेपछि क्रमशः अन्यत्रबाट आएका सरकारी पेटाराहरूको पूजा गर्ने क्रम अघि बढ्यो। सर्वसाधारणहरू अघिल्लै दिनदेखि लाइनमा बसेर दर्शन गरिरहेका थिए। म डोटीको सरकारी पेटारो सँगै गएकाले त्यसमै मिसिएर मन्दिरको ढोकाबाट भित्र दर्शन, पूजाआजा गरी बडीमालिकाको प्रसाद र टीकाग्रहण गरी फर्केँ।
छोरीहरू र पुर्णीमाले बाहिरबाटै दर्शन गरे। चिनेजानेका र आफन्तहरू सँग भेटघाट गरी फर्किंदै गरेका तीर्थालुका रोचक दृश्य निकै आकर्षक देखिन्थे। मेरो भेट जुम्लाको सरकारी पेटारो लिएर जाने श्रीढुस्काका ज्योतिष भाई विष्णुप्रसाद उपाध्याय रेज्मीसँग भयो।
हामी करिब ८:३० बजेतिर मन्दिर परिसरबाट नाट्यश्वरी मन्दिरतर्फ फर्किदै थियौँ। रङ्गीविरङ्गी पालहरूबाट आगोको धुँवा उठिरहेको थियो। मन्दिर दर्शनपछि पाल पनि उठाउँदै थिए।
चुच्चो परेको ठाउँमा मालिकाथान छ। मन्दिरमा डोटी र जुम्लाका टोलीबाट सरकारी लिङ्गा गाडिने रहेछन्। लिङ्गा पूर्वतिर जुम्लाले झुकाउन खोज्ने र पश्चिम डोटी तिर झुकाउनलाई पनि प्रतिस्पर्धा भएको रहेछ। सेना र प्रहरी नहुने भएपछि लाइन तछाडमछाड हुने रहेछ। मन्दिर वरिपरि भीर र चट्टान थिए। मन्दिर गएका र फर्किने गोरेटो बाटोमा शान्त र शालिन भई कछुवाको गतिमा हिँड्नुपर्थ्यो। रातीमा हिँडडुल गर्दा चिप्लियो उछिट्टियो भने बाँच्ने आशा नराखे पनि भयो। त्यसैले हडबड गर्न नहुने ठाउँ थियो।
मालिकामा समस्या देखियो। पिउने पानी र सरसफाई गर्ने पानीको समस्या, ट्वाइलेटको समस्या, व्यवस्थित पाल हाल्न समस्या, नजिकै काठ र किला नहुने, दाउरा र ओढ्ने ओछ्याउने कपडाको समस्या, खानेकुरा समस्या, लेख लागेर बिरामी हुँदा औषधी उपचारको समस्या, बस्न ठाउँ नभएपछि चर्को पैसा तिरेर पालको आश्रय लिनुपर्ने बाध्यता, कहिलेकाहीँ पैसा तिरेर पनि बस्ने ठाउँ नमिल्ने। मैले अनेक अनुरोध गरेर भरिया भाइहरूलाई सुत्ने व्यवस्था मिलाउनु पर्यो। तिनीहरूको सुखी र खुशी बनाउने प्रयास गरें। सीमित बजेट लिएर जाने भएकाले पैसाको समस्या आइरहने।
अलि तल बाजुरा साइडबाट आउने ठाउँ तर्फ पानी, काठ र दाउरा पाइने रहेछ। त्यही खोंचबाट बोकेर ल्याएको पानीले एकाध होटलमा चना, चिया र सुख्खा रोटी खान पाइने र थोरै पिउने पानी कतैकतै मिल्ने रहेछ।
हामी फर्किने ठाउँ बाजुराको नाट्यश्वरी हुँदै फर्किने भएकाले बेलैमै फर्कियौँ। कालिकोट, मार्तडी र नाट्यश्वरी भएर फर्किने मानिसका अलग-अलग बाटा भएकाले फर्किदा बाटोमा भिड अलि कम थियो। फर्किदा सफा आकाश, सुन्दर क्षितिज भएकोले लोभलाग्दा हरियाली चुचुराका दृश्य, गुच्छा गुच्छा सेता बादलले मन पाटन वरिपरि थियो।
ओर्लिदा सजिलो होला भनेको त उहीँ मानिसहरूको कमिलाको ताँतीझैँ लाम थियो, ओरालो बाटोमा चिप्लिने उत्तिकै डर थियो। चिप्लो हरियो लेउ लागेको बाटोमा खुट्टा अड्याई अड्याई लौरी र बुकीघाँसको सहाराले फर्कियौँ।
बाटोमा कतै हिलो त कतै खुट्टै नबस्ने चिप्लो बाटो, पिउने पानीको भने नाट्यश्वरी हुँदै झर्दा अत्यन्त समस्या देखियो। न त होटेल न त धर्मशाला न पाल न अस्थायी चिया पसल। बाटोभरि दुई ठाउँमा होटेल थिए तर पिउने पानीको भने समस्या। फर्किंदै गर्दा बडीमालिकाले धन्य तिर्थयात्रीहरूलाई बचाउने रहेछिन् भन्दै मालिकाको नाम लिँदै फर्कियौँ। धन्य बडीमालिका भगवती।
वर्षौँ आउने हजारौं तीर्थयात्रीहरूलाई कुनै न कुनै किसिमले खुशी बनाई पठाउन सफल भएकामा निकै आत्मगौरव गरेको छु।
पाटनमा स्थानीयहरूले घरेलु औषधोपचारका लागि जडीबुटी आक्लेका ठाउँ, पदमचाल टिप्दै थिए, कोही फोटो खिच्दै थिए, भिडियो र टिकटक बनाउँदै थिए। वर्षात्का बेला बाजुराका लेक र पाटनमा भेडा, खसी र च्याङ्ग्राहरू बुकीपाटनमा चरिरहेका देखिन्थे। साँच्चै बैकुण्ठ नै हो भन्ने अनुभूति हुन्थ्यो। हामी तल पुगुञ्जेल पनि घरीघरी माथि फर्केर चुचुरा र लेक हेर्दै नाट्यश्वरीतर्फको ओरालो बाटोमा हिँडिरहेका हुन्थ्यौँ।
बिहान ८:३० बजे बडीमालिका बाट फर्केका थियौँ। विष्णुपानी हुँदै नाट्यश्वरी पुग्दा करिब ११ घन्टाको ओरालो यात्रा गर्यौँ। जुन बाटो गयो त्यही बाटो भएर फर्किनु हुँदैन भन्ने मान्यतालाई पालन गरेका थियौँ। नाट्यश्वरीमा बिकासले छोएको रहेछ, बाजुरा देखिको सडक पुगेको रहेछ। अझै मालिका जाने बाटोको माथि सम्म कच्ची सडक पुगेको रहेछ। पक्की घरहरू केही बनेका र केही बन्दै गरेको पनि पाइयो।
श्याम भट्ट अघिल्लो दिन मालिकामा आफ्नो पालमा सुत्न पाइन भनेर नाट्यश्वरीमा आरामले सुत्नको लागि किलाकाँटा र पाल हाल्न लठ्ठी ल्याई सकेका रहेछन्। साथमा सानो चक्कु पनि बोकेका रहेछन्। मैले उनलाई पाको काम गरेकाले धन्यवाद दिएँ। दुई दिनदेखि सुताइ राम्रो नभएकाले बेलैमा खाना खाएर सुत्यौँ। सँगै आएका सरहरू पनि बेलैमा खाएर सुते।
सँगै गएका दमन सर र मोहनी सर बिहान बडीमालिका पुगेर दर्शन गरी राति तिर नाट्यश्वरी पुगे। बिहान फर्किदा मोहनी सरको कतिलागेरी हिँड्न नसक्ने भएका थिए। हामीलाई भने स्वास्थ्य समस्या भएन। नाट्यश्वरी पुगेको राति पनि दर्शन गरिसकेका थियौँ। भोलिपल्ट मैले, पुर्णीमा र बशन्तीले दर्शन गर्यौँ। जनैपूर्णिमाको भव्य मेला लाग्ने दिनमा नाट्यश्वरीमा हिन्दु परम्पराअनुसार जनै फेरी, रक्षा डोरो बाँधी फेरि ओरालो लाग्यौँ। दिपुले भने बिहान दर्शन गर्न पाइएन।
नाट्यश्वरी मन्दिरमा खुव घुँईचो भएपनि मेला खेलमाल देउडा केही देखिएन। विगतका वर्षमा धेरै देउडा खेल र रमिता हुने भएपनि पछिल्ला वर्षमा हराएको हो कि भन्ने लाग्यो। बरु संस्कृति भन्दा विकृति भएको स्थानीयहरूले बताइरहेका थिए। हाम्रो टोलीलाई भने नाट्यश्वरी जस्तो धाममा पुगेर न नाच्न गाउन पाइयो न त देउडा खेलका लागि को पाइला मिलाउन र घुम्नै पैतालासम्म चाल्न नपाउँदा सबैलाई खल्लो खल्लो लाग्यो।
यसरी बुझ्दै जाँदा बुढा, वृद्ध, महिला, युवती देउडा खेल गाउन र हेर्न भनी गए पनि युवा पुस्ताको चासो भने देखिएन। मानिसहरू युवा युवती होटेलको खानपानमा मस्त देखिन्थे।
हामी बिस्तारै नाट्यश्वरीबाट चार/पाँच घन्टा लगाएर ओरालो झरेपछि बुढीगंगा नदी पार गर्दै बाजुराबाट अछामस्थित साँफे जाने सडकमा चौथो दिनमा आइपुगे। एकपल्ट पुनः बडीमालिका तर्फ फर्केर यात्रा सफल र मनोरञ्जनपूर्ण बनाउन सफल भएकामा कृतज्ञता व्यक्त गर्यौँ र त्यहीँ एउटा होटेलमा पुगेर खाना खायौँ।
दमन सर पुग्नु भएको थिएन। अरू सबै टिमका साथी सकुशल फर्केका थियौँ। साँफे सम्म सार्वजनिक गाडीमा आएर साँफेबाट समयमै गोविन्दनाथ गुरुजि आईसकेका थिए। दमन सर पनि साँझसम्म घर फर्केको खबर पाएपछि मन अत्यन्त खुसी भएको थियो। समयमै चौखुट्टे हुँदै डोटी सिलगढी पुगेर शैलेश्वरी माताको दर्शन गर्न पाउँदा मन प्रफुल्ल भैरहेको थियो।
निष्कर्ष:
बडीमालिका जाँदा धेरै कुराको योजना बनाएर मात्र जानु पर्दछ। ठीक मन मिल्ने साथी, जहाँबाट गए पनि समयमै निश्चित ठाउँबाट यात्राको थालनी गर्नुपर्ने। बाटोमा समूहका साथीहरूबीच बढिमा एक घण्टा डेढ घण्टाको मात्र फरकपारी हिँड्नु पर्ने, बेलुकी समयमै ठाउँमै बास बस्नुपर्ने, पाल टाँग्ने र खाने बस्नेको व्यवस्था गर्नुपर्ने, यात्रा थाल्नु पूर्व सबै सरजामको जोहो पुरा गर्नुपर्ने हुन्छ।
मन्दिर दर्शन गर्न जाँदा सामूहिक रूपमा जाने र सबैले दर्शनको अवसर पाउनुपर्ने व्यवस्थाको चाँजो पाँजो मिलाउनुपर्ने, फर्कँदा पनि आवश्यक बासस्थानको चाँजो पाँजो मिलाउनु पर्ने, खाने कुरा, लुगाकपडा, पाल, म्याटको बन्दोबस्त राम्ररी गरेर जानुपर्ने, अनुभवी ब्यक्तिलाई पनि साथमा लिएर जाँदा राम्रो हुन्छ। भौगोलिक जटिलताले सबैको सहज प्रयास र कर्तव्यको विषय नहुने भएपनि धार्मिक आस्था तथा विश्वास राखी यस्ता तिर्थस्थल जाँदा पर्यटकीय सबै व्यवस्थापन मिलाएर यात्रा गरे अवश्य मनोरम र स्मरणीय हुने कुरामा दुईमत छैन।
(२०८२/४/२३ शुक्रबार, खलंगा प्यूठान)