आईतवार, ८ चैत्र, २०८२

डोटीका रोचक लोकगित भित्र लुकेको मायाप्रेम

समग्रमा भन्नुपर्दा हाम्रा गाउँघर डाँडाकाँडा, पाखा, पखेरा, ताल-तलाउ नजिक गएर एकले अर्कोलाई अर्थात् प्रेमीले प्रेमिकालाई, प्रेमिकाले प्रेमिलाई लक्षित गरी भनिने यस्ता लोकगीत विगतमा एकान्तमा केटाले केटीलाई र केटिले केटालाई भन्ने गरिन्थे।

लोकगीत एउटा साहित्यको विधा हो, जसमार्फत सर्वसाधारण मानिसहरूले पनि अलिखित तरिकाबाट आफ्ना भावना व्यक्त गर्दछन्। सुनिदिने मानिस कोही छैन भने पनि बनपाखा, गह्रापाखा, देउरालीमा गएर पनि ठाडो भाका हालेर, लय हालेर पनि गरलोकगीत गाउने गरिन्छ।

प्रस्तुत लेखमा लोकगीत सम्बन्धी सामान्य परिचय उल्लेख गर्दै सुदूरपश्चिमको डोटीको बोग्टान चवरा चौतारातर्फ गाइने लोकगीतलाई कसरी गाइन्छन् र सवाल जवाफ कसरी गरिन्छन् भन्ने सन्दर्भमा संक्षिप्तमा विवेचना गर्न गैरहेको छु।

लोक शब्द भन्ने बित्तिकै सर्वसाधारण आम जनता भनेर बुझ्न सकिन्छ। संस्कृतमा जन र अंग्रेजीमा फोकको रूपमा बुझिने लोक शब्द नेपाली तथा हिन्दी भाषामा पर्यायवाची शब्दको रूपमा बुझिन्छ। लोकसँग जोडिएको गीत तत्सम शब्द अर्थात् व्युत्पत्तिको आधारमा भन्नुपर्दा तत्सम शब्द मानिन्छ अथवा लय हालेर गाउन सकिने सिर्जना मान्न सकिन्छ। मानिसहरूले अंग्रेजीमा ‘लिरिक/लिरिक्स’ भनेर बुझ्ने गर्दछन्। समाजमा परिपक्क अनुभवले खारिएर आफ्नो या अर्काको जीवनमा घटेको, परेको, व्यहोरेको, देखेको वा स्पर्श गरेको कुरा वा भावलाई बिम्बको रूपमा वा चित्रको रूपमा वा अभिनयका माध्यमबाट प्रस्तुत गरिने पद्यात्मक भावलाई लय भनाइ गीत हो।

कुनै मानिस कुनै खास ठाउँमा जन्मी हुर्की या नयाँ ठाउँमा गई देखेको, भोगेको कुराको लयात्मक सुनिने गरी आवाज संगीत दिई प्रस्तुत गरिने सिर्जनालाई नेपाली भाषामा लोकगीत भनेर बुझ्ने गर्दछौं। कसैले स्थानीय भाषामा गाना भन्दछन्, कसैले चुट्किला, कसैले न्याउल्या भाका पनि भन्ने गर्दछन्। न्याउल्या भाषा खासगरी जीवन व्यवहार र पीडा भोगेर बेखुसी रहेको अवस्थामा गाउने गरिन्छ। जुम्लातिर गाइने लोकगीत जस्तै:

धनीकि बुह्वारीले लाउन्या सुनको तिलहरी
धनी भन्नु मात्रै रैछ ज्यानको बिलहरी।

लागिको चैतको मैन्हा को लाग्यो कुल्लुन
बाजलाई सम्झेका बेला मन लाग्यो उल्लुन।

साविक कर्णाली अञ्चल, हालको कर्णाली प्रदेश र सुदूरपश्चिममा बाज भनेर केटीले बाज चराको रूपमा केटालाई सम्बोधन र केटाले केटीलाई सुवा मैनाचरीको रूपमा सम्बोधन गर्दछन्। यहाँका मानिस बहिनी भनेर गीत गाउने चलन छैन। नास्तिक मान्दछन्।

विभिन्न स्थान र अवसरमा आफ्नो संस्कृति र आवश्यकता अनुसार गाइने गीतहरूलाई लोकगीत भनिन्छ। लोकगीत जुनसुकै बेला गाउन सकिन्छ। लोकगीतलाई पुरुष, महिला, विद्यार्थी, प्रेमी, प्रेमिका, भरिया र किसानले गाउने गर्दछन्। घाँसपात, सोत्तर, दाउरा, मेलापात जाँदा या थकाइ मेट्नका लागि पनि गाउने गर्दछन्।

लोकगीतको लोकप्रियता सरल भाव र गायनशैलीमा निर्भर रहन्छ। लोकगीत ऐतिहासिक क्षेत्रसँग सम्बन्धित विषयमा माया प्रेमसँग स्वागत र भलाकुसारीसँग सजिव र निर्जिव वस्तुबीच पनि गाइन्छ। सामाजिक विषयका विविध पक्षमाथि घटेका घटनाहरूलाई सुन्दर कलात्मक ढंगमा कलाकारले प्रस्तुत गर्दछन्।
जस्तै: प्रेमी र प्रेमिका भेट भएर भलाकुसारी गर्नुपर्दा गाइने गीत-
हाती बस्यो हात्तिसार बाज बस्यो पाउटी
पहिलोचोटि भेट भयो फूल चढाउँकि पाती।

स्याउ नास्पति अंगुर खेति राजीकोट फाराम
पहिले म सोधनी गर्छु गाथ छक्या आराम।

जुम्लातिर केटा या केटीले आफ्नो मायालुलाई गहिरो स्मरण गर्दै एक आपसमा एकले अर्कोलाई देख्न पाएन भने यसरी गीत गाउने गर्दछन्-
नेपाल हनुमान ढोका चुईँकुन्या दुवार
श्वर सुन्दछु गैह्रो गैर्हो देख्दैन मुहार।

अब म सुदूरपश्चिमको डोटी बोग्टान चवरा चौतारा क्षेत्रमा गाइने गीत मात्र नभई समग्र डोटीमा गाइने गरिएका लोकगीतलाई प्रस्तुत गर्न गैरहेको छु।

केटा- पानीखान्या लोटा छुटि भातखान्या थाल छुटि
मैले निकै मान्या हुँकि हिराहै लाल छुटि।

यी हरफका सर्जक हुन् – डोटी बोग्टान गाउँपालिकाका मीन बिक्रम चन्द। यो लोकगीतमा मार्मिक भाव लुकेको देखिन्छ।

यसमा केटाले केटीलाई सम्बोधन गर्दै आफूले प्रेम गरेकी प्रेमिकासँग सँगै बसेर एउटै लोटा अंखोरामा पानी पिउने गरेको भाँडा पनि छुट्यो, सँगै बसेर एउटै थालमा भात खाने अवसर पनि छुट्यो, मेरो लागि अत्यन्तै मन परेकी हिरा जस्तै थियौ, तिमीसँग रगत जस्तै गाढा सम्बन्ध थियो त्यो पनि छुट्यो भन्दै लालिगुँरास फुलिरहने यो सिजन र ऋतुमा काँफल पाक्ने कोइली जस्तै बिरक्तिएर फेसबुकमा यो गीत सार्वजनिक गरेका छन्।

मीन बिक्रम चन्दको गीतको जवाफ टेकराज साँउदले केटीको तर्फबाट यसरी जवाफ दिएका छन्-

पानी ठुलो कर्णालीको पाइलको गाउँ ठूलो
उपचार कैलै न हुन्या पिर्थिको घाउ ठूलो।

प्रस्तुत गीतको पहिलो हरफमा वास्तविक अर्थ छैन। सामान्य दोर्षो पंक्तिको बान्की मिलाउन, रहनी मिलाउनलाई कि त कर्णाली नदीमा बग्ने पानी धेरै छ, अर्थात् नदी ठुलो छ, कि त पाइल भन्ने गाउँ ठुलो छ, तर दोर्षो पंक्तिमालाले क्षणिक अर्थ दिनेगरी केटा र केटीबीच मायाप्रेम यति धेरै गाँजिएर बसेको हुन्छ, जुन प्रेम/पिरति छुटिदिँदा मन मष्तिष्कमा नै उपचारै गर्न नसकिने घाउ बन्न सक्ने देखिन्छ। यस्तो घाउ र पीडाले कुनै पनि मानिसलाई कहिले पनि कुनै पनि कुराले न त खुसी बनाउँछ न त हाँसाउन सक्छ, सदावहार एउटा पीडादायी घाउ बनिदिन्छ। टेकराज साँउदको यो लोकगीत भित्रको भाव पनि कम मार्मिक छैन।

टेकराज साँउदको यो लोकगीत भित्रको भाव बुझेर फेरि मीनबहादुर चन्द केटा बनेर यसरी यस्तो गीत लेख्छन्-

ओखति मसंग छैन पिर्ति घाउ भलाउने
जन लाया बाउला झल्का हृदय गलाउने।

आफूसँग त्यस्तो विशेष खालको ओखति या औषधी छैन जसले प्रेम रोग लागेको भलो हुने अर्थात् सञ्चो/निको पार्ने कुनै औषधी छैन, भन्दै दोर्षो पंक्तिमा के थप्छन् भने अहँ? नलगाउ अब धेरै झल्का या सम्झना आउने गरी प्रिति, नजर नलगाउ, सम्झनामा रहने गरी मलाई हेर्यौ/नजर लगायौ भने हृदय मन मस्तिष्क नै गलेर छिया छिया हुनेछु भन्दै यो प्रस्तुतिमा रचनाकारले प्रेम के हो र प्रेमबाट अलग हुँदा भोग्नु पर्ने कठिन अवस्थाको बोध गराउँछन्।

फेरि मीनबहादुर चन्दको माथि लेखिएको गीतको जवाफ केटी बनेर टेकराज साँउद यसरी लेख्छन्-

रेल चल्लिन् बिजुली बल्लिन् बम्बैका शहर
कि भुल्ने ओखति दिजा कि दिजा जहर।

लोकगीतका दुई पंक्ति अर्थात् १४/१४ अक्षरका दुई हरफमध्ये पहिलो पंक्तिले दोर्सो पंक्तिको भनाइलाई साथ दिन बनेको हुन्छ। वास्तविक अर्थ पहिलो पंक्तिले नदिएर दोर्सो पंक्तिले दिएको हुन्छ। यस गीतको दोर्सो पंक्तिले खास अर्थ दिएको छ, यसमा प्रेमिका प्रति कडा रोष वा आवेग पोखिएको छ, कि त तिमी प्रति गढेको माया भुल्ने औषधी देउ, सक्दिनौं भने तिमीबिना बाँचेर के साध्य छ र? बरु तिम्रो यादमा तड्पेर जिउँदै मर्नु भन्दा जहर (विष) देउ, त्यो लियो भने बारम्बार तड्पिनु पर्दैन भनेर भाव व्यक्त गरेका छन्।

केटीतर्फबाट जहर देउ भन्ने उत्तर आएपछि केटातर्फबाट मीन बिक्रम चन्द फेरि लेख्छन्-

नलाउनु जन्जाले पिर्ति जीउ मात्रै झुलाउने
यै देश ओखत्ति छैन मायाजाल भुलाउने।

यस लोकगीतको माथिल्लो पंक्तिमा पंक्तिकार केटा बनेर भन्छन् – कसैले पनि जन्जाले मायाप्रति नलगाएको राम्रो, जुन माया र प्रेमले जिउ ज्यान मात्रै झुलाउँछ या दुब्लाउँछ, मेहनत गरी लिएको गाढा मायाजाललाई भुलाउने हामीकहाँ औषधी नै छैन। मायाप्रेमले छटपटिदा निको पार्ने औषधी भेटिन्न भने त्यति कडा नशादार प्रेम नगाँसेकै राम्रो भन्ने भाव व्यक्त गर्दछन्।

समग्रमा भन्नुपर्दा हाम्रा गाउँघर डाँडाकाँडा, पाखा, पखेरा, ताल-तलाउ नजिक गएर एकले अर्कोलाई अर्थात् प्रेमीले प्रेमिकालाई, प्रेमिकाले प्रेमिलाई लक्षित गरी भनिने यस्ता लोकगीत विगतमा एकान्तमा केटाले केटीलाई र केटिले केटालाई भन्ने गरिन्थे।

आजभोलि सामाजिक सञ्जाल फेसबुक, च्याट, मेसेन्जर, म्यासेज, भाइबर, हट्सप्, रेडियो, टिभी, एफएम आदिका माध्यमबाट मायाप्रीति साँटासाट गरिनुले एकातिर मनका भाव व्यक्त भएका छन् भने अर्कोतिर मनमा लागेका कुरा प्रकट गरिनुले मनलाई शान्त पार्न कोशिश गरिएको छ।

यति भन्दै सर्जकहरूबाट प्रत्यक्ष कोही कसैलाई लक्षित नगरी कसैको मान-प्रतिष्ठामा आँच नआउने गरी यसरी लोकगीत, लोक-भाका प्रस्तुत गरिए हाम्रो लोकसाहित्य मजबुत र सुरक्षित हुँदै जाने कुरामा दुई मत छैन् ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार