आजका दिनमा शिक्षाको बजार छ, प्रमाणपत्रको प्रतिस्पर्धा छ, तर ‘राम्रो अभ्यास’को थालनी छैन। कसैले राम्रो अभ्यासको विकास पनि गरेका छैनन्। गुरु शिष्य सम्बन्ध पनि कतै व्यावसायिक, कतै औपचारिक र कतै त स्वार्थले भरिएको छ।
यो दिन हामी गुरु–शिष्य परम्परालाई सम्झने, आफ्नो जीवनको मार्गदर्शन गर्ने व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गर्ने विशेष अवसर हो। म पनि प्रत्येक वर्ष यो दिनलाई केही गहिरो भावनासँग सम्झिन्छु कहिले मिठो त कहिले केही तितो अनुभूतिहरूको संगालो लिएर।
मेरो जीवनमा पहिलो गुरु त मेरी आमा हुन् । जसले जन्म दिनुभयो, बोल्न र हाँस्न सिकाउनुभयो। त्यसपछि परिवार, आँगन र परिवेशले नै मलाई दौडिन सिकायो, लड्न सिकायो अनि उठ्न पनि। बाल्यकालका ती निश्चल दिनहरूमा जस्तोसुकै पीडा आए पनि त्यो आँगनले सान्त्वना दिन्थ्यो, त्यो माया नै मेरो पहिलो पाठशाला बन्यो।
विद्यालय पुगेपछि किताब पढाउने गुरुहरू भेटिए। ती गुरुहरूले अक्षर चिनाए, वाक्यहरू बनाउन सिकाए र जीवन बुझ्ने आँखीझ्याल खोलिदिए। केही गुरुहरू साँच्चै स्मरणीय छन् । जसको आत्मीयता, सहानुभूति र मार्गदर्शनले आज पनि मेरो स्मृतिमा उज्यालो बनेर बसिरहेछन्। तर सबै अनुभव यति नै सकारात्मक थिए भन्ने चाहिँ होइन।
केही यस्ता शिक्षक पनि थिए जसले विद्यार्थीलाई एउटै दृष्टिकोणले हेर्न सक्दैनथे। कसैलाई आफन्त भएर विशेष व्यवहार, कसैलाई जात रङ रुप हेरेर भिन्न दृष्टिकोण, अनि कसैलाई अनावश्यक मोह वा हेपाहा प्रवृत्तिले व्यवहार गरिन्थ्यो। कुनै न कुनै स्वार्थ, लोभ वा पूर्वाग्रहले प्रेरित व्यवहार देख्दा मनमा चोट लाग्थ्यो। शिक्षा मात्र होइन, त्यो व्यवहारले पनि मान्छे कमजोर बन्न सक्थ्यो, तुच्छ बन्न सक्थ्यो।
म आज पनि ती शिक्षकमध्ये कसैलाई अपमान गर्दिन। बरु सम्मान दिन्छु । ताकि भविष्यमा त्यस्ता शिक्षकहरूले पनि आफ्नो व्यवहारमार्फत सकारात्मक उदाहरण प्रस्तुत गर्न सकून्। किनभने गुरु भनेको केवल किताब पढाउने मात्र होइन, व्यवहारले पनि जीवन बाँच्न सिकाउने पात्र हो।
आजका दिनमा शिक्षाको बजार छ, प्रमाणपत्रको प्रतिस्पर्धा छ, तर ‘राम्रो अभ्यास’को थालनी छैन। कसैले राम्रो अभ्यासको विकास पनि गरेका छैनन्। गुरु शिष्य सम्बन्ध पनि कतै व्यावसायिक, कतै औपचारिक र कतै त स्वार्थले भरिएको छ।
तर म आज पनि सबै गुरुहरूलाई नमन गर्न चाहन्छु
जसले मलाई पढाए, सिकाए, लडाउन, उठाउन सिकाए। जसले प्रेम दिए, आलोचना गरे, चेतना दिए। उनीहरू सबै मेरो जीवनपथका अविभाज्य पाटा हुन्।
गुरु पूर्णिमाको यो पवित्र अवसरमा,मैले बटुलेका ती अनुभवहरूलाई सम्झेर मिठो सम्झना टक्र्याउँछु शिक्षा सधैँ ज्ञान मात्र होइन,व्यवहारको ऐना पनि हो।