हामीले वर्लिनबाट सिक्नुपर्ने कुरा स्पष्ट छ, शहरको डिजाइन जब मानवमैत्री हुन्छ, त्यसले वातावरण मात्र होइन, सम्बन्ध पनि सुधार्छ। साइकलले तिमीलाई स्वतन्त्रता दिन्छ। स्वास्थ्य दिन्छ, प्रकृतिसँगको सम्बन्ध बलियो बनाउँछ। यसले ट्राफिक घटाउँछ, ध्वनि प्रदूषण कम गर्छ, र सहजीवनको सम्भावना बढाउँछ।
शुक्रबारको त्यो बिहान झिसमिसेमै घामका किरणहरूले अजङ्गका भवनका टुप्पाहरू नचुम्दै म ट्रेन चढ्न डोर्ट्मन्ड स्टेशन आइपुगेँ। गहिरो सास तानेँ अनि सम्झे —आज वर्लिन जाने हो!
वर्लिन भन्ने बित्तिकै याद आउने एउटा शहर, जहाँ भित्ताले दुई राष्ट्र मात्रै होइन, दुई जीवनशैली छुट्याएको थियो। एउटै आकाश, एउटै भूमिमा जन्मेका मानिसहरूबीच एउटै शहरमा अपरिकल्पनीय सीमा कोरिएको थियो। त्यो पर्खाल केवल ईँट, काँडेतार र सशस्त्र सिपाहीले मात्रै बनेको थिएन—त्यो बनाइएको थियो डरले, विभाजनले, र सत्ता-केन्द्रित सोचले।
पहिले दुईपल्ट गैसकेको भएपनि उतिबेला प्राथमिकता अरु नै भएकोले राम्ररी नियाल्न र इतिहास अनि शहरी योजनाको आँखाले हेर्ने पाएको थिइन। त्यसैले यसपाली भने छुट्टै उत्साह थियो — एक दिन, एक्लो यात्रा, थुप्रै सपना ।
नेपालको एउटा छेउबाट जर्मनीको अर्को छेउसम्म पुगेको म, यो यात्रामा एउटा बाल्यकालीन रोमाञ्च सहित आफैले बटुलेका इतिहासका पानाहरूसँग गफिँदै, शहरको आत्मालाई छुने प्रयासमा ।
वर्लिन जानु केवल शहर हेर्नु होइन, त्यो शहरको भाषा बुझ्नु थियो— जहाँ सडकहरूले शहरका चोटहरू बोकिरहेका छन्, पुलहरूले टुक्रिएका भावनाहरू जोडिरहेका छन्, जहाँ पर्खाल ढलेको छ, तर सम्झना अझै उभिएको छ र त्यो दिनको यात्रा— सस्तो टिकटमा यात्रा गर्न विहानै हिड्नु पर्ने बाध्यता जस्तै थियो । यात्रा भर्खर सुरू भएको थियो, तर मन भने पहिले नै वर्लिनका गल्लीहरू डुलिरहेको थियो।
तर प्रश्न उब्जिन्छ—किन वर्लिन? किन यसपालि एक्लै?
त्यसको उत्तरमा सायद म भन्न सक्छु—कहिलेकाहीँ एक्लोपन नै सबैभन्दा ठूला कुरा बुझ्ने माध्यम बन्छ। वर्लिन बुझ्न, आफैंसँग संवाद गर्नु आवश्यक थियो। र त्यो संवादको साक्षी बन्यो यो यात्रा।
एक त युरोप ट्रेनहरूको जालोले चिनिइन्छ, त्यसमाथि जर्मनी । साँच्चिकै, जर्मनीको जीवनरेखा जस्तो लाग्छ—यो ICE ट्रेन। डोर्ट्मन्डबाट बिहान सबेरै छुटेको त्यो ट्रेन जति गति मा थियो, त्यो भन्दा बढी गहिराइमा चलिरहेको थियो मेरो सोच।
रेल त तीव्र गतिमा दौडिँदै थियो, तर म चाहिँ गहिरो स्मृतिमा बिस्तारै पग्लिरहेको थिएँ। झ्यालबाट देखिने दृश्यहरू—पहेला बाला झुलिरहेका गहुँका खेत, खेतीले भरपुर खुल्ला फाँटहरू, दुवैतिरको हरियाली जंगल, घामको सुनौला किरणमा स्नान गर्दै उभिएका रूखहरू, अनि विच विचमा स-साना देखि ठूला-ठूला बस्तीहरू… हरेक दृश्यले मलाई गाउँ सम्झाइरहेको थियो। छनत म जर्मनीमा थिएँ, तर कताकता हाम्रै तराईको कपिलवस्तुको झल्को आइरहेको थियो।

बाटोमा कहीँ ट्रेन ढिलो भयो, कतै नरोकिएर दौडियो। कति स्टेशनहरूमा जामका कारण केही समय रोकियो। जताततै निर्माण कार्य भैरहेकाले, अहिले यो सामान्य जस्तै बनेको छ। अनि बेलाबेलामा चालकको आवाज आउथ्यो— “Wir bitten um Entschuldigung…” साथै, उनले क्षमा मागे।
यात्रुहरू पनि दुईचार शब्द गुनासो गर्दै फेरि मोबाइलमै हराए। विस्तारै त्यही ट्रेनभित्र अनेक अनुहार मिसिए, अनेक भाषा मिसिए, अनेक रङ घुलिए। ट्रेन सबैलाई समेटेर अगाडि बढिरह्यो।
त्यो ट्रेन आफैमा हराएको यात्रु जस्तै लागिरहेको थियो—कहिले पुलमाथि उफ्रिन्थ्यो, कहिले सुरुङभित्र हराउँथ्यो, अनि बिच–बिचमा सास फेर्दै, नयाँ शहरहरूमा हल्का झल्को दिँदै अगाडि बढ्थ्यो।
त्यसैबीच मेरो मनले तुलना गर्न थाल्यो,
नेपालको पूर्व–पश्चिम रेलमार्ग कस्तो हुन सक्ला?
के यसरी खेत, जंगल, शहर र गाउँ जोड्न सक्ला?
के त्यहाँ पनि गुनासोपछि क्षमा माग्ने संस्कार बस्न सक्ला?
के त्यहाँ पनि सहयात्रीहरू पनि यत्तिकै शहनशील होलान?
हो, सपना साँचो हुन समय लाग्छ, तर योजना आजै हुनुपर्छ। किनकि रेलमार्ग केवल एउटा गन्तव्यको सवाल होइन, त्यो एउटा पुल हो—जनता र शासनबीच, भूत र भविष्यबीच।
वर्लिन झर्नेबित्तिकै, एक प्रकारको अनौठो तर गहिरो ऊर्जा महसुस भयो—जसरी कुनै गीतको पहिलो पंक्तिले नै तपाईंलाई बाँधेर राख्छ, त्यस्तै। ट्रेनको गेट खुल्नेबित्तिकै गर्मीको लप्काले स्वागत गर्यो तर, त्यो तातोपनलाई टक्कर दिइरहेको थियो शहरको अव्यक्त तर प्रभावशाली आत्मा—एकैपटक प्राचीन पनि, प्रविधिमय पनि।
प्ल्याटफर्म छाड्दै गर्दा एक गहिरो सोच उर्लिएजस्तो लाग्यो। वर्लिन, त्यो शहर जहाँ हरेक इन्चले इतिहास बोल्छ, हरेक भवनले द्वन्द्व र मिलनको कथा बोक्छ। अनि त्यो CITY MAP, जसमा भविष्य र विगत एउटै स्पेसमा अटाएर बसेका देखिन्छन्।
वर्लिनमा झर्ने बित्तिकै सबैभन्दा पहिले म नेपाली दूतावास तिर लागें, जहाँ मेरो केही औपचारिक कार्य थियो। त्यहाँ म मुस्कानसहित पर्खिरहेका केही नेपालीहरू भेटें, जसको आतिथ्यताले मन गदगद भयो। त्यहाँ केही युवा नेपाली साथीहरू आवेदन लेखिरहेका थिए—नेपाली भाषामा। उनीहरू ChatGPT को सहयोग लिँदै थिए। यो देखेर मैले सोचें—यो पुस्ता प्रविधिको कति घनिष्ठ प्रयोगकर्ता बनिसकेको रहेछ। प्रविधि अब उनीहरूको कलम, साथी र दार्शनिकजस्तै भएको छ। मैले आफैंसँग सोधेँ—के हामी पुराना पुस्ताले पनि प्रविधिलाई यति सहजै आत्मसात गर्न सक्छौं त?

त्यहाँको काम सक्काएपछि शहर नियाल्ने मेरो पैदल यात्रा Futurium र Cube Berlin बाट सुरु भयो। पहिलो भेटमै यी भवनहरूले मलाई भविष्यको शहर कस्तो हुनसक्छ भन्ने कल्पनातर्फ डोर्याए। Futurium सफा, तापक्रम सन्तुलित, ऊर्जा संकलन प्रणालीसहितको गज्जबको भवन हो—प्रविधि र दर्शनको संगम। यहाँ प्रस्ट थियो—शहर केवल इन्फ्रास्ट्रक्चर होइन, त्यो प्रयोगशाला हो, जहाँ भविष्यको परिकल्पना परीक्षण हुन्छ। “हामी प्रविधिका दास बन्ने कि साझेदार?” जस्ता प्रश्नहरू केवल ज्ञान होइन, चेतना झल्काउने प्रयास थिए।
Futurium नजिकै उभिएको थियो Cube Berlin—एक स्मार्ट, ऐना जस्तो चम्किलो भवन। यो केवल कार्यालय थिएन, यो एउटा जीवित प्रणालीजस्तो लाग्थ्यो, जहाँ हरेक पर्खाल, बत्ती, ढोका कृत्रिम बुद्धिले चलाइन्थ्यो। यस्तो स्मार्ट भवनले देखाउँछ—जब प्रविधि आत्मामा रूपान्तरण हुन्छ, तब शहरहरू पनि प्राणवान बन्न थाल्छन्। यी भवनहरूले देखाउँछन्—सहर केवल बाँच्नको थलो होइन, सोच्ने र सपना देख्ने स्थान हुन सक्छ। प्रविधि केवल efficiency को साधन होइन, संवेदनशीलता र समावेशिताको भाषा पनि बन्न सक्छ।
Reichstag, अर्थात् जर्मन संसद भवन, झनै प्रेरणादायी थियो। पुरानो संरचना जस्तै देखिए पनि भित्र अत्याधुनिक छ। विशेष गरी त्यसको गुम्बज र भवनका भित्ताहरूबाट भित्र समेत हेर्न मिल्ने गरी काँचबाट बनाइएका रहेछन् —जनताले आफ्ना प्रतिनिधिलाई बाहिरबाट हेर्न सकून् भन्ने सन्देश। यो केवल डिजाइनको कुरा थिएन, पारदर्शिताको गहिरो प्रतीक थियो। नागरिकहरूले नेताहरूमाथि ‘नजर’ राख्न सकून्, त्यही भाव बोकेको छ यो वास्तुकला।
Berlin Wall Memorial पुग्दा इतिहास सजीव बन्यो। त्यो बाँचेको पर्खाल, जसले कुनै समय दुःख दिएको थियो, आज एकताको साक्षी बनेको छ। विभाजनलाई एकताले जितेको थियो, र त्यो स्मृति अब साझा चेतनाको अंश बनेको छ। सन १९६१ देखि १९८९ सम्मको लगभग ३० वर्ष, वर्लिन यही पर्खालले दुई भागमा बाँडिएको थियो—East Berlin (सोभियत-नियन्त्रित) र West Berlin (पश्चिमी मुलुकद्वारा समर्थित)। यो पर्खालले शीतयुद्धको ऐतिहासिक प्रतीक बोकेको छ। यसले घरहरू छुट्यायो, परिवारहरू टुक्रायो, स्वप्नहरू कुचल्यो। र, यही पर्खालको नजिकै १४० जना भन्दा बढीले आफ्नो जीवन गुमाए—पार गर्न खोज्दा, स्वतन्त्रताको खोजीमा।
Checkpoint Charlie मा भने शीतयुद्धको रोमाञ्चले समातेको थियो। जहाँ जहिल्यै डर र अविश्वासको चिसोले छोपिरहेको हुन्थ्यो, अहिले भने फोटो खिच्दै हाँसिरहेका पर्यटक छन्। समय बग्यो, तर स्मृतिहरूले सन्देश दिइरहेका छन्। यही सीमा बिन्दु थियो, जहाँ शीतयुद्धको समयपूर्वी जर्मनी (GDR) र पश्चिमी जर्मनी (FRG) बिच कडाइपूर्वक आवत जावत गर्न पाइन्थ्यो । यहाँबाट पूर्वी जर्मनहरू पश्चिमतिर भाग्ने सपना देख्थे। यहाँ इतिहासलाई केवल किताबमा होइन, शहरकै भित्ता, चोक र चोकमा बाँच्न दिइन्छ।
विहानीको यस यात्राले मलाई बुझायो, भविष्यको शहर केवल प्रविधिले होइन, सोच र संस्कृतिले बनिन्छ। नेपालका शहरहरूमा यस्ता सोच सम्भव छन्—यदि हाम्रो नेतृत्वमा दृष्टिकोण, योजनामा सहभागीता, र संरचनामा दीर्घकालीन सोच छ भने। भलै हाम्रो शहरमा उहिलेको इतिहास सम्झाउने सम्पदाहरू सबै राजनैतिक आग्रह पूर्वाग्रहले भत्काइसक्यो।
दिउँसो म Spree नदीको क्रुज यात्रामा निस्कें। पानीमाथिबाट शहरको इतिहास हेर्नु, गाइडको आवाजमा युद्ध, विभाजन, एकीकरण र शान्तिको कथा सुन्नु, अनि सँगसँगै हरियाली, सुन्दर भवन, पुलहरू, संग्रहालयहरू, साँघुरा गल्ली र आधुनिक संरचनाहरू नियाल्नु—यो अनुभव केवल दृश्यको थिएन, भावनाको पनि थियो। Spree नदी प्रवाह मात्र थिएन, त्यो शहरको भावनात्मक भूगोल हो। यो शहरको धड्कन जस्तै बगेको छ Spree नदी। त्यसको किनारमा हिँड्न मिल्ने सजिलो बाटो, क्याफेहरू, रेस्टुरेन्टहरू, साइकल लेन, बच्चा खेल्ने ठाउँ—सबै केही। यही किनारबाट मैले क्रुज यात्रा पनि गरें। नदीबाट शहर हेर्दा ऊ झनै खुला, झनै समावेशी लाग्यो। यहाँ प्रविधि र प्रकृति बीच द्वन्द्व छैन, सहजीवन छ।
त्यसपछि म टेगेल ताल (Tegeler See) पुगें—जहाँ प्रकृति, शान्ति र मानव जीवनको सहज सौन्दर्य एकै ठाउँमा लयबद्ध थिए। चारैतिर हरियाली, पानीमा खेलिरहेका हाँसहरू, एक अर्काको अङ्गालोमा हराइरहेका प्रेमिल जोडीहरू, छायाँमा किताब पढिरहेका वृद्धहरू, र पिकनिकमा रमाइरहेका परिवारहरू—सबैसँग समय एक प्रकारको संवादमा थियो। मलाई लाग्यो, यस्तै हो जीवनको सन्तुलन—जहाँ शहरको गतिशीलता र प्रकृतिको शान्ति एकअर्कामा मिसिन्छन्। काठमाडौंको रानीपोखरी, माछापोखरी, टौदह, अनि पोखराको फेवातालले पनि यस्तै आत्मा बोकेका छन्, तर त्यहाँ यस्तो सहज पहुँच, व्यवस्थित खुलापन र समावेशीपन अझै खाचो छ।

त्यसपछि साँझतिर म यहुदी स्मारक (Memorial to the Murdered Jews of Europe) पुगें। खैरा रंगका अग्ला, चुपचाप उभिएका ब्लकहरूको बीचबाट हिँड्दा एक प्रकारको मौन भय, पीडा र ऐतिहासिक बोझ महसुस भयो। त्यो मौनता बोलेजस्तै लाग्थ्यो—हजारौं निर्दोष जीवनहरूको स्मृति बोकेको। यो केवल स्मारक थिएन, एक चेतना थियो, जसले मलाई सम्झायो—शहरका सुन्दर भवनहरूबीच पनि पीडाको कथा गुन्जिरहेको हुन्छ।
वर्लिनले आफ्नो कालो अतीतलाई ढाकछोप गरेन, बरु त्यसलाई सार्वजनिक रूपमा स्वीकार गर्दै त्यसबाट पाठ सिक्ने आँट गर्यो। के हामी पनि यति खुला, यति ईमानदार भयौं त? युद्ध, महामारी, जलवायु संकट र विस्थापनजस्ता मुद्दामा हाम्रो इतिहाससँग हामी अझै जुध्न सकिरहेका छैनौं। हाम्रो ताजा इतिहास बनेको राजदरवार हत्याकाण्ड भएको भवन नै भत्काई सकिएको छ। इतिहाससँग हामी डराउने भएका छौं।
ब्राण्डेनबर्ग गेट (Brandenburger Tor) पुग्दासाथ लाग्यो—मानौँ इतिहासले वर्तमानसँग हात समातेको छ र भविष्य त्यही चौकबाट झुल्किन थालेको छ। त्यो क्षण साँच्चै जादुमय थियो। सूर्य पश्चिमतिर बिस्तारै लम्किँदै थियो र त्यसका मधुर सुनौला किरणहरू गेटका विशाल स्तम्भहरूमा पोखिदैं थिए। उज्यालो क्रमशः गोधुली प्रकाशमा रुपान्तरित हुँदै गर्दा गेट वरपरको वातावरण अझै गहिरो, रोमान्टिक र रहस्यमयी हुँदै गयो।
त्यो समयमा सयौं मानिसहरू त्यहाँ उपस्थित थिए—कोही सेल्फीमा व्यस्त, कोही प्रोफेशनल क्यामेरामा भिडियो खिचिरहेका, र धेरैजसो आफ्ना साथीभाइसँग रमाउँदै त्यो मनमोहक क्षणको स्वाद लिइरहेका। कतिपयले मोबाइलको स्ट्यान्ड राखेर टिकटक र इन्स्टाग्रामका लागि रील बनाइरहेका थिए, भने कतिपय प्रेमीहरू चुपचाप हात समाएर गेटतर्फ टकटक हेरेर बसेका थिए। शहरको भीडभाडबीच पनि त्यहाँको ऊर्जा अलगै थियो—न त केवल उत्सवको, न त केवल इतिहासको, तर दुबैको संगमको।
गेटको वरिपरि साना-साना स्ट्रीट परफर्मरहरू गितार बजाउँदै थिए, कोही चिठ्ठी लेखिदिने कवि बसिरहेका थिए, त कोही चित्र कोर्दै थिए। साँझपख गेटमा बत्ती बालियो—रङ फेर्दै, आकृति नफेरेको त्यो ढोका अझ चमत्कारी लाग्यो। एकछिन त्यहाँ बसेर मलाई लाग्यो, शहरको मुटु यहीँ धड्किरहेको छ।
ब्राण्डेनबर्ग गेट केवल ऐतिहासिक गेट होइन, वर्लिनको आत्मा हो। यो गेट द्वितीय विश्वयुद्ध, शीतयुद्ध, र वर्लिन पर्खालको पतन सबैको साक्षी बनेको थलो हो। यही गेट हो जहाँबाट जर्मनीले आफ्नो एकता पुनः प्राप्त गर्यो। यसैले यहाँ आइपुग्दा केवल फोटो खिच्नु हुँदैन, त्यसको गहिरो इतिहास र आशाको भाव पनि महसुस गर्नुपर्छ। वर्लिन आउँदाको यात्रा तब मात्र पूर्ण हुन्छ, जब तपाईंले यो गेटसँग संवाद गर्नुभएको हुन्छ। यही कारण ब्राण्डेनबर्ग गेट वर्लिनको सबैभन्दा पुग्नै पर्ने स्थल हो—जहाँ समय स्थिर हुन्छ, र आत्मा हलचलमा।
हुनत हामीसँग भौतिक पर्खाल छैन होला, शहरभित्र देखिँदैन पनि तर अनुभूत हुने पर्खालहरू प्रशस्त छन्—धनी–गरिब, शहरी–ग्रामीण, सुविधा–वञ्चित, सत्ताशिन वर्ग–जनसाधारणबीच। शहरी योजनामा को समावेश छ र को छुटेको? यस्ता असमानता पनि त्यस्तै मानसिक पर्खाल हुन्, जसलाई तोड्न सकिएन भने त्यो शहर कहिल्यै समावेशी बन्न सक्दैन।
वर्लिनले देखाउँछ—जब शहरले आफ्नो विगतलाई वियोग होइन, पाठशाला बनाउँछ; त्यतिबेला त्यो शहर भविष्यमा आशावादी रूपमा हिंड्न सक्छ। हामीले पनि, काठमाडौंदेखि वीरेन्द्रनगर, जुम्ला हुँदै समृद्ध शहरहरू बनाउने हो भने, हामीले विगतका गल्तीहरू नदेखेझैं गर्नुहुँदैन—हामीले ती सम्झेर, सिकेर, त्यसको आधारमा नयाँ संरचना बनाउनु पर्छ।
तर कुरा त्यत्तिमै सकिँदैन…।
वर्लिन—सिर्फ राजधानी होइन, एउटा खुला प्रयोगशाला हो जहाँ मानवता, प्रकृति, प्रविधि र इतिहासको सहअस्तित्व पाइन्छ। यो शहरलाई पैदल हिँडेर बुझ्न सकिन्छ, तर साइक्लिङ गरेर बाँच्न सकिन्छ। साँचो कुरा के हो भने, वर्लिनजस्तो शहरले मलाई ‘शहर के हो?’ भन्ने प्रश्नको पुन:परिभाषित गर्न बाध्य बनायो।

शहरको गति गाडीको इन्धनबाट मापन हुँदैन, बरु त्यो मान्छेको खुट्टा, साइकलको पाङ्ग्रा र सहअस्तित्वको तालबाट नापिन्छ भन्ने कुरा मैले यहीँ आएर अनुभव गरेँ। पैदलयात्रा त रमाइलो लाग्थ्यो नै, तर वर्लिनमा साइकल चढ्नु भनेको केवल यातायातको साधन प्रयोग गर्नु मात्र होइन, एक सामाजिक संस्कृति, एक चिन्तन, र एक गहिरो प्रतिबद्धता थियो—प्रकृतिप्रति, स्वास्थ्यप्रति, र शहरप्रति।
जता हेर्यो, त्यता साइकल। चोक, गल्ली, अफिस, पार्क—शहरमा साइकल नदेखिने ठाउँजस्तो लागेन। अझ रमाइलो कुरा त के भने, यहाँका अधिकांश सडकमा सफा र सुसंगठित व्यवस्थित साइकल लेन छन्—हरियालीबाट घेरिएको, चित्रकला जस्तो सुन्दर। यो लेनहरूमा साइकल चलाउँदा लाग्थ्यो—शहर तिमीलाई अँगालो हाल्दैछ।
तर यो दृश्य आकस्मिक छैन। यसका पछाडि एउटा योजनावद्ध सोच, दूरदृष्टि, र जलवायु–संवेदनशील नीति छ। वर्लिनको परिवहन प्रणालीले मान्छेलाई मात्र होइन, प्रकृति र भविष्यलाई पनि ध्यानमा राखेर बनाइएको छ। जलवायु परिवर्तनबाट सुरक्षा अभियानअन्तर्गत शहरले गाडीभन्दा साइकल र सार्वजनिक यातायातलाई प्राथमिकता दिइरहेको छ। कार-फ्री जोनहरू बढ्दै छन्, साइकल लेनहरू विस्तार भइरहेका छन्, अनि बाईक-शेयरिंग एपहरू—जस्तै Nextbike, Lime, Tier—बाट त छोटो यात्राका लागि तुरुन्तै साइकल पाइन्छ। शहरको योजना यति सूक्ष्म छ कि, साइकल चलाउनेहरूलाई प्राथमिकता दिँदा पनि गाडीवालालाई अन्याय भएको महसुस हुँदैन।
सम्मानपूर्वक सह-अस्तित्व हुन सक्छ भन्ने वर्लिनले प्रमाणित गर्यो। यो केवल ट्राफिकको कुरा होइन—यो त सामाजिक न्यायको कुरा हो। शहरभित्रको यातायात नीति जनताको स्वास्थ्य, वातावरणको संरक्षण र सामाजिक पहुँचलाई कसरी समावेशी बनाउन सकिन्छ भन्ने विमर्शको मूर्तरूप हो। शहरले साइकल प्रयोगकर्तालाई ‘नागरिक’ मात्र होइन, ‘आवश्यकता’ र ‘साझेदार’को रूपमा हेरेको छ। ठाउँ ठाउँमा साइकल पार्किङ बनाइएको थियो । वर्लिनले ‘शहरमा लोकतन्त्र भनेको यातायातमा पनि बराबरी हो’ भन्ने विचारको अभ्यास गरिरहेको छ।
अब फर्केर हेरौँ—हाम्रा शहरहरू कता छन्?
काठमाडौं, वीरेन्द्रनगर, जुम्ला, तीनै शहरमा साइकल संस्कृति जन्मन थालेको छ। तर त्यो संस्कृति फस्टाउन नसक्नुको कारण योजनाको अभाव हो, प्राथमिकताको अस्पष्टता हो। कतिपय स्थानमा साइकल लेन भत्काएर बस कुर्ने प्रतिक्षालय पनि बन्दै गरेका छन् । चावहिल–गौशाला, लैनचौर–भृकुटीमण्डप, माइतिघर, ललितपुर जस्ता खण्डमा बनाइएका साइकल ट्र्याकहरू गाडीको पार्किङ स्थलमा परिणत हुनु हाम्रो योजनाविहीनताको ज्वलन्त उदाहरण हो।
हामीले वर्लिनबाट सिक्नुपर्ने कुरा स्पष्ट छ, शहरको डिजाइन जब मानवमैत्री हुन्छ, त्यसले वातावरण मात्र होइन, सम्बन्ध पनि सुधार्छ। साइकलले तिमीलाई स्वतन्त्रता दिन्छ। स्वास्थ्य दिन्छ, प्रकृतिसँगको सम्बन्ध बलियो बनाउँछ। यसले ट्राफिक घटाउँछ, ध्वनि प्रदूषण कम गर्छ, र सहजीवनको सम्भावना बढाउँछ।
मेरो लागि यो यात्राले एउटा गहिरो शिक्षण दिएको छ, शहर भनेको केवल भवनहरूको जमघट होइन; त्यो त हिँड्ने बाटो, सास फेर्ने ठाउँ, र मान्छेले जिन्दगी जिउने शैली हो। शहरको रूप, चाल, गति र गन्तव्य जनताको रोजाइ र व्यवहारबाट निर्मित हुन्छ।
हाम्रा शहरहरूमा अहिले विकासको नाममा कंक्रिटकै प्रतिस्पर्धा सुरु भएको छ। स्थानीय परामर्श, सह-निर्माण र जैविक शहर निर्माणभन्दा ठेक्कापट्टा र नक्कल बढिरहेको छ। हामीले शहरलाई निर्माण साइट सम्झ्यौं, मानिसलाई प्रयोगकर्ता बनायौं। तर शहर भनेको “साझा सपना” हो, जहाँ आकाश सबैका लागि समान हुन्छ, जहाँ बाटो सबैतिर जान्छ, जहाँ बालक, वृद्ध, महिला, दलित, अपाङ्ग, विदेशी, पशु, चराचुरुंगी सबै एकसाथ सास फेर्छन्।

धनी होस कि गरिब, महलमा बस्ने होस कि फुटपाथमा खुल्ला आकाशमा, स्थानिय होस कि बाहिरिया, स्वदेशी होस कि विदेशी, सडकमा भिख माग्ने देखि लिएर सबैभन्दा महँगो होटलमा खाने र सपिङ मलमा किनमेल गर्ने सबैलाई समेट्ने शहर जहाँ विगत, वर्तमान र भविष्य अनि प्रकृति र प्रविधिको मिश्रण भएको शहर नै सच्चा शहर हो।
जाँगर छ भने समय अझैं घर्केको छैन, सबै मिलेर साझा योजना तयार पारौं। तर चमत्कारको पछि लागेर अन्धभक्त बन्ने हो भने अहिले हाम्रा शहर पहिले भन्दा कुरुप भएका छन्, ती अझै नरक झै बन्न बेर लाग्दैन।
