सोमबार, ९ भाद्र, २०८२

दलितहरूसँगै चिया-नास्ता गर्दा मलाई केही पनि फरक परेन

दलित सहकर्मीहरूसँगै बसेर चिया, नास्ता, पानी सेवन गर्न मलाई अप्ठ्यारो पनि लागेन। यस विषयमा मेरो पुस्तक ‘ओगिल्जा’मा स्पष्ट रूपमा वर्णन गरिएको छ। कतिपय साथी तथा आफन्तहरूले मलाई प्रश्न पनि गरे, “दलित मन्त्रीको सचिवालयमा रहेर दलितहरूसँग खानपिन गर्न अप्ठ्यारो लागेन?”

मैले करिब २३ वर्ष निजामती सेवा गर्ने क्रममा छवटा मन्त्रालय वा तिनका मातहतमा रहेर सरकारी सेवा गरेँ। यसै क्रममा दलित भनिएका नेताहरू पनि मन्त्री हुनुभयो।

पञ्चायतकालमा हीरालाल विश्वकर्मा मन्त्री भएको मलाई राम्ररी सम्झना छ भने लोकतन्त्र प्राप्तिपछि जीतु नेपाली गौतम र महेश्वरजंग गहतराजले मन्त्रालय सम्हालेको मलाई ताजा स्मरण छ। जीतु नेपाली गौतमको निजी सचिव ब्राह्मण नै हुनुहुन्थ्यो। हामी उहाँको कार्यकक्षमा निर्धक्कसँग चिया-नास्ता गर्थ्यौँ।

कतिपय सांसद पनि भए भने प्रशासक पनि भए दलितहरू। सिंहदरबारमा दलित मन्त्रीले खाए-पिएका खाजा तथा चियाका प्लेट, कचौरा, चम्चा र काँटाहरू ब्राह्मण, क्षेत्री तथा वैश्य जातका श्रेणीविहीन कर्मचारीहरूले सफा गर्थे।

यो कुनै नौलो कुरा थिएन र हुनेछैन पनि। किनकि हाम्रो संविधानले जातीय भेदभावलाई निषेध गरेको छ। सबै जातजातिको रगत रातो नै हुन्छ। त्यसैले जातीय भेदभाव गरिनु उचित ठानिँदैन।

२०७८ असोज २६ गतेदेखि २०७९ असार २३ गतेसम्म मेरो अन्तिम निकाय युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत रहँदा मलाई करिब छ महिना खेलकुद मन्त्रीको निजी सचिवालयमा खटाइयो।

दलित कोटाबाट खेलकुद मन्त्री बन्नुभएका महेश्वरजंग गहतराजको सचिवालयमा विश्वकर्मा, सुनार, परियार लगायतको समूह थियो। दलितहरूको बीचमा रहेर मलाई काम गर्न कत्ति पनि हिचकिचाहट महसुस भएन।

दलित सहकर्मीहरूसँगै बसेर चिया, नास्ता, पानी सेवन गर्न मलाई अप्ठ्यारो पनि लागेन। यस विषयमा मेरो पुस्तक ‘ओगिल्जा’मा स्पष्ट रूपमा वर्णन गरिएको छ। कतिपय साथी तथा आफन्तहरूले मलाई प्रश्न पनि गरे, “दलित मन्त्रीको सचिवालयमा रहेर दलितहरूसँग खानपिन गर्न अप्ठ्यारो लागेन?”

म संविधानको अक्षरशः पालना गर्नेहरूमा गनिन्छु जस्तो लाग्छ। तर दलितहरूले बदलिँदो परिस्थितिमा आफ्नो संस्कार, रहनसहन तथा चालचलनमा सुधार गर्नुपर्ने अवस्था देखिन्छ।

सरकारी सेवा गर्दैगर्दा मैले कतिपय दलित सहकर्मीहरू सचेत र संस्कारित भएको पनि पाएको छु। दलितहरू उच्च पदमा पुगेपछि अरू जातजातिहरूलाई जस्तै सम्मान र सद्व्यवहार गर्नुपर्छ भन्ने मेरो ठम्याइँ छ।

कुनै पनि नागरिकबाट जातीय विभेदका कुराहरू गरेमा त्यो विवादको विषय बन्न सक्छ। मुद्दा-मामिलाको झमेलामा पर्न सकिन्छ र सजायको भागीदार हुनुपर्ने अवस्था आउँछ।

त्यसैले सबै जातजातिहरूलाई समान रूपमा हेरिनु र व्यवहार गरिनु उचित ठहरिन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार