सोमबार, २ असार, २०८२

डोल्पाको त्रिपुरा सुन्दरी मन्दिर: एक मनमोहक र अनौठो शक्तिपीठ

किम्बदन्तीअनुसार, परापूर्वकालमा यो ठाउँमा विक्रम शाही महाराजको दरबार थियो। दरबारनजिकैको धान कुट्ने ओखलमा अनौठा घटनाहरू देखिन थालेपछि उत्खनन गर्दा तामाको षट्कोण यन्त्र, नवदुर्गा भगवतीका नौ स्वरूप र अन्य पवित्र वस्तुहरू भेटिए।

चार चट्टानको थाप्लोमा ठिङ्ग उभिएको त्रिपुरा सुन्दरी मन्दिर चारैतिर होचो भूभाग र विशाल ठूली भेरी नदीले घेरिएको अनौठो ठाउँमा अवस्थित छ।

मन्दिरबाट तल हेर्दा जिउ सिरिङ्ग हुने भीर र चारैतिर ठडिएका विशाल काठका ध्वजावाहक लिङ्गाहरूले यो प्राचीन संरचनालाई झनै आकर्षक बनाएका छन्।

मन्दिरको वरिपरि नागबेली आकारमा बग्ने ठूली भेरी नदी, हिउँले सेताम्मे मुकुटेश्वर र कागमारा हिमाल, आँखैमा ठोक्किने उराठ लाग्दा नाङ्गा डाँडाहरू र लहलह झुल्ने धान, मकै, गहुँ, जौका खेतहरूले यहाँको प्राकृतिक सौन्दर्यलाई जीवन्त बनाउँछन्।

मन्दिरको तल समथर उब्जाउ फाँट छ, जहाँ रंगीचंगी जस्ताले छाएका घरहरूको बस्ती बिस्तारै फैलिँदैछ। यी दृश्यहरूले त्रिपुरा सुन्दरी मन्दिर पुग्ने जोसुकैको मन लोभ्याउँछ।

मन्दिरको अनौठो सौन्दर्य र महत्व
नेपालका अधिकांश मन्दिरभन्दा फरक शैली र संरचनामा बनेको त्रिपुरा सुन्दरी मन्दिरको भौगोलिक अवस्थिति नै अनुपम छ।

मन्दिरबाट देखिने गाउँबस्ती, हिमाल, पहाड र नदीहरूको मनोरम दृश्यले भक्तजनलाई पूजापाठपछि तस्बिर खिच्न लालायित बनाउँछ।

मन्दिरका पूजारी निर्मलप्रसाद उपाध्यायका अनुसार, चारैतिर होचो भूभागको बीचमा अग्लो टाकुरामा बनेको यो मन्दिरबाट देखिने दृश्य अवलोकन गर्न मात्रै वर्षेनी हजारौँ भक्तजन आउँछन्।

मन्दिरमा दैनिक पूजापाठ गर्ने भक्तजनको घुइँचो लाग्छ। व्यवस्थापकीय सुधारका कारण भक्तजनको चाप दिनानुदिन बढ्दै गएको छ।

यो मन्दिर नेपाल र भारतमा समेत शक्तिपीठका रूपमा प्रख्यात छ। भारत सरकारले मन्दिर निर्माणमा ३ करोड ३३ लाख सहयोग गरेको इतिहास छ।

विशेष चाडपर्वहरू जस्तै नयाँ वर्ष, दसैँ, तिहारमा त यहाँ तस्बिर खिच्न पालो कुरेर बस्नुपर्ने अवस्था आउँछ।

विशिष्ट व्यक्तित्वहरूको गन्तव्य
त्रिपुरा सुन्दरी मन्दिर पूर्वराजा, साधुसन्त, प्रधानमन्त्री, मन्त्री, राजदूत, सुरक्षा निकायका प्रमुखलगायत उच्च व्यक्तित्वहरूको प्रमुख गन्तव्य बनेको छ।

पछिल्लो एक वर्षमा मात्र नेपाली सेनाका प्रमुख, राजदूत र प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ दर्शन गरेका छन्।

३० चैत्रमा प्रधानमन्त्री ओलीले डोल्पाको इतिहासमै पहिलोपटक वहालवाला प्रधानमन्त्रीका रूपमा मन्दिरमा पूजापाठ गरे।

त्यस्तै, २९ चैत्रमा भारतीय तीन पूर्वराजदूतहरू रणजित राय, श्यामशरण र देव मुखर्जीले पनि मन्दिरको दर्शन गरे।

पूजारी रवीप्रसाद न्यौपाने भन्नुहुन्छ, “यो मन्दिर नेपालकै प्रमुख शक्तिपीठ हो। सतीदेवीको कन्ड्याउ (ढाड) पतन भएको पवित्र स्थल र दश महाविद्याको उत्पत्तिस्थल भएकाले यसको धार्मिक महत्व अनौठो छ।”

तर, उचित प्रचारप्रसारको अभावमा यो मन्दिरले आफ्नो सम्भावनालाई पूर्ण रूपमा उजागर गर्न नसकेको उनको गुनासो छ।

ऐतिहासिक र धार्मिक पृष्ठभूमि
इ.स. १११४ मा स्थापना भएको मानिने त्रिपुरा सुन्दरी मन्दिरको इतिहास रोचक छ। मन्दिरको पश्चिममा ताम्रा वणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगा र बीचमा त्रिपुरा सुन्दरीको मन्दिर अवस्थित छ।

किम्बदन्तीअनुसार, परापूर्वकालमा यो ठाउँमा विक्रम शाही महाराजको दरबार थियो। दरबारनजिकैको धान कुट्ने ओखलमा अनौठा घटनाहरू देखिन थालेपछि उत्खनन गर्दा तामाको षट्कोण यन्त्र, नवदुर्गा भगवतीका नौ स्वरूप र अन्य पवित्र वस्तुहरू भेटिए।

यी स्वरूपहरूमध्ये केही पुतलीरूपी देवीहरू बाँके, जुम्ला, सल्यान, बैतडी र बाजुराका शक्तिपीठमा पुगेको विश्वास छ।

बाँकी चार देवी—महाकाली, महालक्ष्मी, महासरस्वती र त्रिपुरा सुन्दरी—यहाँ विराजमान छन्। न्यौपाने थरका पूजारीहरूले परापूर्वकालदेखि यहाँ पूजापाठ गर्दै आएका छन्।

बहादुर शाहको कथा
नेपाल एकीकरणका क्रममा बहादुर शाहको टोली डोल्पाको तारगाउँ पुग्दा बादरफड्को खोलामा पुल बनाउन नसकेर रोकियो।

स्थानीयको सल्लाहमा त्रिपुरा सुन्दरीमा पूजापाठ गरेपछि पुल निर्माण सफल भएको र डोल्पाका नौ टुक्रे राज्य एकीकरण भएको कथा प्रचलित छ। यो कथाले मन्दिरको शक्तिलाई झनै उजागर गर्छ।

हिन्दू धर्मग्रन्थ स्वस्थानीमा उल्लेख भएअनुसार, सतीदेवीको कन्ड्याउ पतन भएको यो पवित्र स्थल हो। यहाँ दर्शन गर्नाले मुक्ति प्राप्त हुने विश्वास छ।

पूजारी देवीकृष्ण उपाध्याय भनन्नुहुन्छ, “यो मन्दिरको भौगोलिक अवस्थिति र यहाँको शक्ति अनुपम छ। यहाँ भाकल गरेका कुरा पूरा हुने भएकाले उच्च व्यक्तित्वहरू आकर्षित हुन्छन्।”

खडेरीमा पानी पार्ने शक्ति
किम्बदन्तीअनुसार, सतीदेवीको कन्ड्याउ पतन हुँदा मेघ वर्षाले यहाँ पूजापाठ गरेर देवीलाई प्रसन्न पारेका थिए।

त्यसैले खडेरी परेका बेला गाउँलेहरू यहाँ विधिवत् पूजापाठ गर्छन् र पानी पर्ने जनविश्वास छ। यहाँ भैरबेश्वर महादेवको मन्दिर पनि छ, जसले यो स्थलको महत्वलाई थप बढाउँछ।

कसरी पुग्ने त्रिपुरा सुन्दरी?
त्रिपुरा सुन्दरी मन्दिर डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका-१, त्रिपुराकोटमा पर्छ। डोल्पा पुग्न नेपालगञ्जबाट जुफाल विमानस्थलसम्म हवाई यात्रा गर्न सकिन्छ।

नेपालगञ्जबाट जुफाल २५–३५ मिनेटमा पुगिन्छ। हवाई भाडा करिब ९,००० र सेडुल उडानको भाडा छ हजार चार सय २३ रुपैयाँ छ। सीता, सम्मिट र तारा एयरलाइन्सले हप्तामा दुईपटक उडान भर्छन्।

जुफालबाट सुँपानीसम्म जिपमा ३० मिनेट लाग्छ। सुँपानीबाट ठूली भेरीको पुल तरेर बगरबजार पुगिन्छ, जुन डोल्पाको मुख्य व्यापारिक केन्द्र हो।

बगरबजारबाट मन्दिरसम्म १० मिनेटको पैदल यात्रा गर्नुपर्छ। सडक मार्गबाट पनि नेपालगञ्ज, सुर्खेत, जाजरकोट, रुकुम हुँदै डोल्पा पुग्न सकिन्छ।

सम्भावना र प्रचारको अभाव
धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको त्रिपुरा सुन्दरी मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

भारतीय पूर्वराजदूत रणजित रायले डोल्पाको सौन्दर्य र सम्भावनाको प्रशंसा गर्दै यातायात र प्रचारप्रसारमा सुधार भए यहाँ पर्यटनले फड्को मार्ने बताएका थिए।

यो मन्दिर केवल पूजापाठको लागि मात्र होइन, प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्वका कारण पनि सबैको मन जित्ने गन्तव्य हो।

त्रिपुरा सुन्दरीको दर्शन र यहाँको मनोरम दृश्यले जोसुकैलाई मन्त्रमुग्ध बनाउँछ।

(लेखक हिमा गाउँपालिका जुम्लाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार