सोमबार, २ असार, २०८२

डेरावाल सचेत बनेपछि घरधनीको उड्यो होस्, न रातमा निद्रा न दिनमा भोक!

यता पनि ठग्ने, उता पनि ठग्ने, मोटाउने चाहिँ घरधनी। त्यसैले डेरावालले प्रमाण खोजेका हुन्। घरधनीबाट डेरावाल धेरै नै शोषित भएका छन्। यो कुरा सञ्चारमाध्यममा आयो।

अहिले घरधनीहरूलाई ‘रातमा निद्रा न दिनमा भोक’ भएको छ। सटर, फ्ल्याट, कोठा महँगोमा भाडामा लगाएर बसीबसी खाइरहेकाहरूको सातो गएको छ। कारण हो– समयमै भाडा नपाउनु र कोठा, फ्ल्याट र सटर धमाधम खाली हुनु। घरधनीहरूले तीन महिनादेखि ६ महिनासम्मको भाडा पाएका छैनन्।

भाडा माग्दा डेरावालले निहुँ खोज्ने गरेको घरधनीहरू बताउँछन्। कि भ्याट बिल लेऊ, कि सरकारले निर्धारण गरेको भाडा सूची देखाऊ, कि राज्यलाई हामीले पहिले तिरेको घरबहाल करको रसिद देखाऊ, कि वडा, नगरपालिका वा प्रहरी चौकी हिँड्, त्यही पुगेर भाडा तिर्छौँ भन्ने गरेको घरधनीहरूको गुनासो छ।

भाडामा बस्नेहरूले कानुनअनुसार बोलेका छन्। विगतमा घरधनीले डेरावाललाई धेरै ठगेका छन्। त्यसैले पनि डेरावालहरू सचेत भएका हुन्। घरधनीहरूले दशकौँदेखि आफूखुसी भाडा निर्धारण गर्ने, पुरानालाई निकालेर नयाँलाई दोब्बर भाडामा लगाउने, पैसा लिने तर सेवा–सुविधा नदिने र घरबहाल कर पनि नतिर्ने जस्ता कार्य देशैभरका घरधनीहरूबाट हुँदै आएको थियो।

घरधनीले ठाउँ हेरेर एउटा कोठाको पाँच हजारदेखि १५ हजारसम्म लिँदै आएका छन्। फ्ल्याटको १५ हजारदेखि पचासौँ हजारसम्म लिन्छन्। सटरको भाडा त लाखौँसम्म छ। लाखौँमा सटर खरिद–बिक्री हुँदै आइरहेको छ। डेरावालबाट मोटो रकम लिने अनि राज्यलाई कर नतिर्ने।

यता पनि ठग्ने, उता पनि ठग्ने, मोटाउने चाहिँ घरधनी। त्यसैले डेरावालले प्रमाण खोजेका हुन्। घरधनीबाट डेरावाल धेरै नै शोषित भएका छन्। यो कुरा सञ्चारमाध्यममा आयो। र, त्यसपछि डेरावाल सचेत भए, घरधनीको विरोधमा बोल्न थाले। घरधनीले डेरावाललाई आफ्नो ‘दासी’जस्तै सोचेका थिए।

उनीहरूबाट डराइ–डराइ बस्नुपर्ने अवस्था थियो। एक जना पाहुना आयो भने पनि चिह्याउन आउने, भाँडाकुडा खस्यो भने पनि कराउन आउने। आफूलाई जति मनलाग्यो, त्यति नै भाडा लिन्थे। तिर्न सक्दिनँ भन्नेबित्तिकै कोठा खाली गराउन भन्थे। सरोकारवालाले आँखा चिम्लिँदा घरधनीको दादागिरी बढ्दै गएको थियो।

पैसा तिरेपछि राम्रो सेवा–सुविधा पाउनु हरेक डेरावालको अधिकार हो। त्यो अधिकार घरधनीले दबाउँदै आएका थिए। डेरावाल ठग्ने मनोबल घरधनीमा बढ्नुमा राज्यकै हात छ। घरधनीहरू घरलाई आफ्नो निजी सम्पत्ति भन्छन्, तर भाडामा लगाउँछन्। राज्य पनि उनीहरूको निजी सम्पत्तिमा जेसुकै गरुन् भनेर ‘छाडा’ छोडिदिन्छ।

जसका कारण डेरावाल मर्कामा परे। खाइ–नखाइ भाडा तिर्नुपरेको छ, सेवा–सुविधा केही छैन। न पानीको व्यवस्था हुन्छ, न कपडा सुकाउने ठाउँको। अब राज्यले नै भाडा निर्धारण गरिदिनुपर्छ। देशमा तीन तहको सरकार छ, एउटा भाडा निर्धारण गर्नसमेत सक्दैनन्। अरू उनीहरूले के गर्छन्?

आगामी दिनमा सरकारले कर्मचारी खटाएर भाडा उठाउने र कर कटाएर घरधनीको खातामा हाल्ने व्यवस्था गर्नुपर्छ। यसो गरिएमा धेरैले रोजगारी पाउँछन्। राज्यको ढुकुटीमा राजस्व पनि आउँछ। महिनौँदेखि भाडा नपाउँदा पनि घरधनीहरू वडा, नगरपालिकामा उजुरी दिन गएका छैनन्।

घरधनीहरू सरोकारवाला निकाय गुहार्न नजानुको कारण हो– वर्षौँदेखि घरबहाल कर नतिर्नु। एउटै व्यक्ति एक वर्षदेखि १५ वर्षसम्म एउटै घरमा भाडामा बसेका छन्। घरधनीहरू वडा, नगरपालिकामा गए भने डेरावालले पोल खोलिदिहाल्छन्। घरधनीले लामो समयदेखि घरबहाल कर छली गर्दै आएका छन्।

बहालको १० प्रतिशत कर तिर्नुपर्छ। वडा पुग्नेबित्तिकै पुरानो कर पनि तिर्नुपर्छ। त्यसैले घरधनीहरू बरु भाडा नतिर्नुस्, कोठा छोड्नुस् भनिरहेका छन्। आएको भाडाले कर तिर्न नपुग्ने अवस्था भएपछि उनीहरूले त्यो विकल्प खोजेका हुन्। पुरानालाई निकाल्ने अनि नयाँलाई महँगोमा लगाएर बाँकी पैसा उठाउने।

अधिकांशले कोठा छोडेर हिँडेका छन् भने केहीले हामी भाडा तिर्दैनौँ भनेर त्यही बसिरहेका छन्। कानुनले दर्ता नगरिकन व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था गरेको छ। बोर्ड राख्न पनि स्थानीय निकायमा दर्ता गर्नुपर्ने र कर तिर्नुपर्ने प्रावधान छ। घरधनीहरूले घरबहाल कर छल्नका लागि पसल दर्ता गर्न दिइरहेका छैनन्।

घरधनीहरू आफू त कर तिर्दैनन्, अरूको बाटोमा पनि अवरोध बनिरहेका छन्। अहिले घरधनीहरूलाई डेरावाल टाउको दुखाइको विषय बनेका छन्। तैपनि उनीहरू कतै गुहार्न जान सक्ने वातावरण छैन। कोठा खाली गराउनका लागि प्रहरी वा स्थानीय सरकारकहाँ उजुरी दिए पनि ३५ दिनदेखि तीन महिनासम्मको अवधि दिनुपर्छ।

तर, उनीहरूलाई स्थानीय सरकार गुहार्ने आँट छैन। आफू नै फस्ने भय उनीहरूमा छ। बूढापाकाले भन्थे, ‘ढिलो भए पनि पाप धुरीबाट कराउँछ।’ अहिले घरधनीलाई त्यस्तै भएको छ। यत्रो वर्ष राज्य र डेरावाल दुवैलाई गुमराहमा राखेर ठगेका थिए। अहिले उनीहरू डेरावाल र राज्य दुवैको चेपुवामा परेका छन्।

जुनसुकै जिल्लाको भए पनि भाडामा बस्नेहरू नेपाली नै हुन्। शिक्षा, रोजगारी, व्यापार, औषधि–उपचारका लागि एउटा जिल्लाको बासिन्दा अर्को जिल्लामा भाडामा बस्न पुगे। तर, घरधनीहरूले उनीहरूलाई ‘सुकुम्बासी’जस्तै ठाने। कहिल्यै राम्रो बोली–वचन गरेनन्। घरधनीहरूले हाम्रो अगाडि भाडामा बस्नेहरू केही होइनन् भन्ने सोचेका थिए।

त्यो उनीहरूको भ्रम मात्र थियो। जब अन्याय–अत्याचारले सीमा नाघ्छ, त्यसपछि आवाज उठ्छ। घरधनीले धेरै नै अन्याय–अत्याचार गरेका थिए, त्यसको क्रमिक रूपमा विस्फोट भइरहेको छ। पाँच वर्षअगाडिको कुरा गर्ने हो भने घरधनीहरू महिना मर्नुअघि नै भाडा माग्थे। बसेको तीनदेखि छ महिनामै भाडा बढाउँथे।

अहिले त महिनौँ बित्दा पनि भाडा माग्न सक्दैनन्। डेरावाललाई केही भन्न नसकेका उनीहरू कानुनको ढोका ढक्ढकाउन बाटो बन्द छ। हिजो घरधनीले देशमा सरकार छैन, हामीले जे गर्दा पनि हुन्छ भन्ने भ्रममा परेका थिए। जबसम्म जनताको आँखाबाट पट्टी खुल्दैन, तबसम्म मात्र ठगहरूले ठग्ने हुन्।

जनता सचेत भएपछि ठगहरू भाग्नुपर्ने स्थिति आउँछ। घरधनीको हकमा त्यही भएको हो। भनिन्छ नि, ‘हात्तीलाई लामखुट्टेले टोकेर रुवाउँछ।’ यसको अर्थ हात्ती जति नै ठूलो भए पनि लामखुट्टेसँग सक्दैन भन्ने हो। आफूलाई हात्ती सोच्ने घरधनीहरू लामखुट्टेजस्ता डेरावालसँग डराउनुपरेको छ।

भनिन्छ नि, ‘अतिले खति गर्छ।’ घरधनीलाई ठ्याक्कै त्यस्तै भएको छ। गरिब, एकल महिला, विद्यार्थी, बूढाबूढीलाई घरधनीहरूले कोठा नै दिँदैनथे। अब डेरावालहरू एकजुट हुनुपर्छ। माग्दा हक–अधिकार नपाएमा खोस्नुपर्छ। पैसा तिरेपछि भ्याट बिल पाउनु डेरावालको अधिकार हो।

आफूले तिरेको पैसाबाट राज्यले घरबहाल कर पाएको छ कि छैन? त्यो पनि खोज्नुपर्छ। घरधनीको अगाडि अब निरीह बनेर बस्नुहुँदैन। घरधनीको विरोधमा भाडावालले अब उजुरी दिनुपर्छ। भाडामा बस्नेमा चेतना आउनेबित्तिकै घरधनीहरूको ठगीधन्दामा ब्रेक लाग्छ। राज्यले राजस्व पाउँछ।

दुख–जेलो गरेर कमाएको पैसा फगटमा नउडाऔँ। सरकारलाई भनेर भाडा तिर्नुपर्छ। एउटा भाडामा बस्ने मान्छे सचेत भए भने विस्तारै अरू पनि सचेत हुन्छन्। अरूलाई ठगेर सुकिलामुकिला भएर हिँड्नेहरूको अब पर्दाफास गरौँ। शोषक घरधनीहरूको विरोधमा भाडामा बस्नेले अब आवाज उठाउनुपर्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार