के हामीले त्यस्ता बुढाबुढीलाई लिफ्ट दिन्छौं? कसैले दिन्छन् होला, कसैले दिँदैनन् होला। तर हाम्रो पुरानो धर्म संस्कृतिले आफूभन्दा जेष्ठ नागरिकलाई सकेसम्म मद्दत गर्नुपर्छ भन्ने सिकाएको छ।
सामान्यतया मोटरसाइकल सबैभन्दा सहज र सजिलै प्रयोग गर्न सकिने लोकप्रिय सवारी साधन हो। कर्णाली प्रदेशमा भर्खरै राष्ट्रिय तथा ग्रामीण सडकहरू बनिरहेका छन्। केही पक्की छन् भने केही कच्ची सडकहरू छन्। सडकको अवस्था जस्तो भए पनि मोटरसाइकल हरेक ठाउँमा गुडिरहेका छन्।
गुडिरहेका अधिकांश मोटरसाइकलमा दुई जना यात्री सवार हुन्छन्। यसरी डबल यात्रा गर्दा चालकलाई कस्तो महसुस हुन्छ होला? यहाँ प्रस्तुत गरिएको आलेखमा बुढाबुढी, युवती र गर्लफ्रेन्डलाई यात्रा गराउँदा वा लिफ्ट दिँदा कस्तो अनुभव हुन्छ भन्ने कुरालाई केलाउने प्रयास गरिएको छ।
बुढाबुढीसँगको यात्रा: सेवा र आशीर्वादको अनुभूति
बाटोमा हिँड्दै गरेका, लठ्ठी टेकेका र सानो भारी बोकेका वृद्धवृद्धाहरू हामीले धेरै पटक देखेका छौं। उनीहरूको हिँडाइको गतिभन्दा स्वासको गति तीव्र भएको हुन्छ, तर पनि उनीहरू आफ्नो गन्तव्यमा पुग्न थकाइ नमानी हिँडिरहेका हुन्छन्।
के हामीले त्यस्ता बुढाबुढीलाई लिफ्ट दिन्छौं? कसैले दिन्छन् होला, कसैले दिँदैनन् होला। तर हाम्रो पुरानो धर्म संस्कृतिले आफूभन्दा जेष्ठ नागरिकलाई सकेसम्म मद्दत गर्नुपर्छ भन्ने सिकाएको छ। त्यसैले उहाँहरूलाई सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो। यसरी सहयोग गर्दा वा बुढाबुढीसँग यात्रा गर्दा कस्तो महसुस हुन्छ?
जब हामी बुढाबुढीलाई मोटरसाइकलमा लिफ्ट दिन्छौं र गन्तव्यमा पुर्याउँछौं, अधिकांशले हामीलाई आशीर्वाद दिन्छन्। यो आशीर्वादले हाम्रो जीवनमा सुख, समृद्धि र शान्ति ल्याउन मद्दत गर्दछ।
यो समाजका लागि पनि एउटा राम्रो उदाहरण बन्छ, जसले अरूलाई पनि प्रेरणा दिन्छ र पारिवारिक तथा सामाजिक सद्भाव बढाउँछ। हाम्रो धर्म अनुसार असल कर्मको फल अवश्य मिल्छ। बुढाबुढीलाई सेवा गर्नु सत्कर्म हो, जसको फल भविष्यमा पक्कै पाइन्छ।
बुढाबुढीसँगको यात्रामा सुरुमा उहाँहरूलाई मोटरसाइकलमा चढ्न अप्ठ्यारो हुन सक्छ, डराउन पनि सक्नुहुन्छ र तीव्र गतिमा यात्रा गर्न नसक्ने पनि हुन्छ। यी सबै कुराहरूलाई ख्याल गरेर यात्रा गर्दा बुढाबुढीसँगको यात्रा निकै सुरक्षित हुन्छ।
अझ बुढाबुढीसँग गफ गर्दै यात्रा गर्दा बाटो कतिखेर सकिन्छ थाहै हुँदैन। तसर्थ, बुढाबुढीलाई लिफ्ट दिनु भनेको आफ्नो मोटरसाइकलको गति सीमित राख्दै रमाइलो यात्रा गर्नु हो।
युवतीसँगको यात्रा: मनमा तरंग र समाजको दृष्टि
यात्राकै क्रममा बाटोमा कहिलेकाहीँ युवतीहरू पनि भेटिन्छन्। अधिकांश मोटरसाइकल चालकले यो मौका गुमाउन चाहँदैनन्। बरु बुढाबुढीलाई लिफ्ट नदेलान्, तर युवतीले हात उठाउँदा मोटरसाइकल तुरुन्तै रोकिन्छ।
चालकले उनीभन्दा अगाडि सोधिहाल्छन्, “कहाँ जाने? कता जाने? म पुर्याइदिन्छु नि, जता लगे पनि।” यस्तो बेलामा मोटरसाइकल चालकले कस्तो महसुस गर्छन् होला?
कतिपयको मनमा केवल सहयोग गर्ने भावना हुन्छ। कुनै बहिनी, साथी वा छरछिमेकीको रूपमा हेरेर मद्दत गर्न खोजिएको हुन्छ। तर बाहिरबाट हेर्ने मान्छेको नजर गलत भइदिँदा नकारात्मक अर्थ लाग्न सक्छ।
कहिलेकाहीँ युवतीको नजरमा आफूलाई राम्रो देखाउन, प्रभावशाली देखिने सोच पनि आउँछ। यदि युवती आकर्षक लाग्छिन् भने मनमा चासो, जिज्ञासा वा कुनै प्रकारको रोमान्टिक सोच पनि आउन सक्छ।
कतिपयले यस्तो बेला समाजले के भन्छ, अरूले के भन्लान् भनेर डर पनि महसुस गर्छन्। यदि मनमा गलत नियत छ भने त्यसको आधारमा विकृत सोच पनि पैदा हुन्छ। अझ कसैले अफरोडमा शरीरको स्पर्श लिनका लागि पनि खाल्डाखुल्डीमा मोटरसाइकल चलाउँछन्, जुन गलत हो।
अन्ततः युवतीसँगको यात्रा गर्दा मनमा के चल्छ भन्ने कुरा त्यस मानिसको स्वभाव, चरित्र र परिस्थितिमा भर पर्दछ। तर अधिकांश चालकले बुढाबुढीभन्दा युवतीलाई लिफ्ट दिने गर्दछन्।
हाम्रो समाजमा युवतीलाई लिफ्ट दिई सवारी साधन चलाउने कार्यलाई नराम्रो मान्ने गरिन्छ। सँगै दुर्घटनाको मुख्य कारण पनि यसैलाई मान्ने गरेका छन्।
गर्लफ्रेन्डसँगको यात्रा: प्रेम, भरोसा र भावनाको संगम
अब यस लेखको अन्तिम पाटो, जब मोटरसाइकलमा गर्लफ्रेन्डलाई लिफ्ट दिइन्छ, तब मनमा धेरै कुराहरू एकै पटक घुम्छन्। जुन कुरा भावनात्मक, रोमान्चक र कहिलेकाहीँ हल्का डरले पनि भरिएका हुन्छन्।
“उ मसँग खुसी छ कि छैन?” उसको अनुहार हेरेर भाव बुझ्ने कोसिस गर्दै मोटरसाइकलको गति पनि फरक फरक हुन्छ। त्यहाँको तत्कालिन अवस्था र वातावरण अनुरूप मोटरसाइकलको गति निर्धारण हुन्छ।
“उसले कति माया गर्ने रहेछ?” भनेर अनुमान गर्ने कार्य पनि हुन्छ। त्यो पछाडिबाट समात्दा मन भित्रको मिठो कम्पनले पनि आनन्द दिन्छ।
कसैले देख्ला कि भन्ने डर पनि मोटरसाइकलको गतिसँगै दौडिरहेको हुन्छ। अलि अलि लाज, घमण्डसँगै अलिक रोमान्चक र माया खुलेरै देखाउने व्यवहार दुवै यात्रीको हुन्छ।
अधिकांश गर्लफ्रेन्डसँगको यात्रा कहिले नसकियोस् भन्ने जस्तो लाग्छ। मोटरसाइकलको गतिभन्दा मनको गति तेज हुन्छ। यात्रामा गरिने मीठा मीठा कुरा, भावी योजना, थोरै डर त्रासले यात्रालाई थप रोमान्चक बनाएको हुन्छ।
त्यसैले गर्लफ्रेन्डलाई लिफ्ट दिने कुरा केवल मोटरसाइकलको यात्रा मात्र होइन, त्यो त प्रेम, भरोसा र भावनामा गरिएको रमाइलो यात्रा हो।
निष्कर्ष: यात्रा भित्रको जीवन दर्शन
जीवन भनेकै यात्रा हो। हरेक यात्रामा फरक साथी हुन्छ—कहिले बुढाबुढी, कहिले युवती, कहिले प्रेमिका। तर प्रत्येक यात्रा अनुभूतिको अर्को अध्याय हो।
हामी सबैले कुनै न कुनै समयमा कसैलाई लिफ्ट दिएको छौं। यस कार्यले हामी कस्ता छौं भन्ने पनि देखाउँछ। समाजको सोच, हाम्रो व्यवहार र हाम्रो नियत, तीनवटै कुराको संयोजनबाट मात्र यात्रालाई “सकारात्मक अनुभव” बनाइन्छ।
तसर्थ, सधैं सहृदयताका साथ, सद्भावका साथ, अनि सकारात्मक नियतका साथ यात्रा गरौं। हरेक लिफ्ट केवल सवारी होइन, त्यो त सम्बन्ध र संस्कारको सन्देश हो।
यात्रा चलिरहोस्, सम्बन्धहरू बलिया बनिरहुन्, शुभकामना!