शुक्रबार, २२ चैत्र, २०८१

घुस खुवाउन नसक्दा उपभोक्ताले दुःख पाउने अवस्था

पहिले-पहिले विद्युत् प्राधिकरणका कर्मचारीले घुस नलिई लाइन जोडिदैनथे। नेपाल दूरसञ्चार संस्थानका कर्मचारीले पनि घुस नदिई टेलिफोनको लाइन जोड्दैनथे। त्यस्तै अहिले काठमाडौं उपत्यका खानेपानीका कर्मचारीले घुस नखाई धारामा चाहिए जति पानी नछोडिदिने देखियो।

नेपालमा केही भ्रष्ट कर्मचारीहरूका कारण समग्र कर्मचारीतन्त्र बदनाम छ। आकर्षक निकाय रोजेर जानेहरूले सामान्य प्रशासनको सेटिङ संयन्त्रमा घुस बुझाउनै पर्छ। घुस बुझाएर घुस खाने निकायमा गएपछि उसले घुस नखाएर बस्न सक्दैन र सेवाग्राहीहरूलाई दुःख दिइरहन्छ।

त्यस्ता कर्मचारीहरूको पहुँच पार्टी कार्यालय र ठूला नेताहरूसम्म हुने गरेको छ। २०७५ सालमा मलाई मालपोत कार्यालय सिम्रौनगढमा सरुवा गराइयो। मालपोत मेरो रुचिको निकाय नभएको हुँदा म अन्यत्रै काजमा अल्झिएर बसेँ।

साथीहरूले भन्थे, “दुई वर्षको अवधिमा करोड कमाइ हुन्छ, जानुस्।” तर मैले “जीवनभर ऋण बोकुँला, तर त्यस्ता कार्यालयमा म जाँदिनँ” भनेर अड्डी लिएँ। तत्पश्चात् मलाई मालपोत कार्यालय रोल्पामा मालपोत अधिकृत बनाएर पठाइयो।

“आफ्नै जिल्ला हो, घर व्यवहार पनि हेर्न सजिलो हुन्छ” भनेर २०७६ फागुन २७ गते रोल्पामा हाजिर हुन गएँ। हाजिर भएको केही दिनमा कोरोना संक्रमणका कारण लकडाउन भयो। केही अवधिसम्म कार्यालय खोल्न सक्ने अवस्था पनि भएन।

कार्यालय खुलेपछि मेरो कार्यकक्षमा आएर एक जना वृद्ध सेवाग्राहीले कोटको भित्री गोजीबाट हजारका नोटका बिटा दिन खोज्दै “हाकिमसाब! मेरो काम टुङ्ग्याइदिनुपर्‍यो” भने। तत्कालै मैले उनलाई “यस्तो काम नगर्नुस्, प्रक्रिया पुर्‍याएर आउनुस्! काम भइहाल्छ!” भनेपछि उनी फर्किए।

त्यस्तै धनीमानी एक जनाले लकडाउनकै अवस्थामा कार्यालय नखुलेको बखत “सिडिओसाबसँग कुरा गर्छु, मेरो काम गरिदिनुपर्‍यो, म सरको टिमलाई चिया-खाजाको व्यवस्था गर्छु” भने। म किन पो गर्थें र त्यस्तो अनैतिक किसिमले काम?

२०७९ असार २२ सम्म रोल्पा मालपोतमा बस्नुपर्नेमा मैले सो कार्यालयमा हाजिर भएको एक वर्ष पनि नबिताई २०७७ चैतमा कमजोर निकायमा गनिने अर्थात् घुसखोरी नचल्ने निकाय खेलकुद मन्त्रालयमा सरुवा मागेर आएँ।

इमानदार भएकै कारण मैले जागिरे अवधिमा खाएका हण्डरहरू मेरो आत्मकथा ‘ओगिल्ज’मा पनि उल्लेख छन्। सञ्चार माध्यमहरूबाट समेत प्रकाशन हुने मेरा लेखहरूमा ती कुराहरू उल्लेख गरेको छु। नेपालमा निजामती कर्मचारीवृत्तमा मात्र होइन, संस्थानहरूमा पनि घुसखोरी चल्छ।

उपभोक्ताले सहज रूपमा खानेपानी नपाउँदा तमाम समस्याहरू पैदा हुन्छन्। बर्खा लागेदेखि पुससम्म काठमाडौंमा पानीको खासै समस्या हुँदैन। तर माघदेखि असार आधाआधीसम्म पानीका लागि निकै तनावको सामना गर्नुपर्ने अवस्था आइपर्छ।

केही दिनअघि हाम्रो टोलवासीको समूह महाँकालस्थित खानेपानीको कार्यालयमा डेलिगेसन गएर समस्या बताए। प्रमुखबाट “पुग्ने जति पानी उपलब्ध हुन्छ” भन्ने आश्वासन पाइयो। तर गुनासो गरेपछि पानीको समस्या झन् बल्झियो।

पानी खोल्ने कर्मचारीले प्रमुखको आदेश टेरेको देखिएन। कसै-कसैले भन्ने पनि गर्छन्, “हामीले त पानी खोल्नेलाई बेलाबेलामा पैसा दिने गरेका छौं, त्यसैले पानीको समस्या भएको छैन।”

पहिले-पहिले विद्युत् प्राधिकरणका कर्मचारीले घुस नलिई लाइन जोडिदैनथे। नेपाल दूरसञ्चार संस्थानका कर्मचारीले पनि घुस नदिई टेलिफोनको लाइन जोड्दैनथे। त्यस्तै अहिले काठमाडौं उपत्यका खानेपानीका कर्मचारीले घुस नखाई धारामा चाहिए जति पानी नछोडिदिने देखियो।

त्यसैले मैले पसलबाट काँधमा राखेर ४५ रुपियाँको एक जार (२० लिटर) पानी आफैं घरमा ल्याउने गरेको छु। कसै-कसैले भन्नुहुन्छ, “हाकिम भएर काँधमा जार बोक्ने?”

म हाँसीहाँसी जवाफ दिन्छु, “आफ्नो काम गर्नका लागि लजाउने परम्पराले नै देश बर्बादीतिर गइरहेको छ। ठालु पल्टिएर काम छैन, झन् समस्या बढ्छ।”

मन्त्रालयमा छँदा मैले रातीसम्म पनि काम गर्नुपरेको थियो। विभागमा रहँदा सार्वजनिक विदाका दिनमा पनि खटेर काम गर्दा समेत मैले निजामती सेवा पुरस्कार पाउनेहरूको सूचीमा आफ्नो नाम देख्दिनथें। सूचीमा केही फटाहा, कामचोर र भ्रष्ट कर्मचारीको नाम चाहिँ देखिन्थ्यो।

इमानदार र कर्तव्यनिष्ठ कर्मचारीले सरकारी सेवाको सिलसिलामा निकै दुःख भोग्नुपर्छ। दुःखहरू भोगेकै कारण मलाई साहित्य-लेखनमा लाग्न सजिलो भएको छ। किनकि देशमा व्याप्त विसंगति र विकृतिका कुराहरूलाई लेख-रचनामा उतारिहाल्छु।

मैले देशभक्ति र प्रकृतिप्रेमका कुराहरू रचें। मलाई कसैले “हाकिमसाब” नभनिदिए हुन्थ्यो जस्तो लाग्छ। “सहरवासी” पनि नभनिदिए हुन्थ्यो जस्तो लाग्छ। किनकि मलाई सहरभन्दा गाउँ नै ठीक लाग्छ।

सहरमा बस्नु भनेको विषादी खानु भन्ने बुझिन्छ। यहाँ बजारमा उपलब्ध तरकारी, फलफूल र अनाज सबैमा टिकाउका लागि केही न केही मात्रामा विषादी प्रयोग गरिएको हुन्छ। मैले गाउँबाट सहर नपस्न पाठकहरूलाई लेखहरूमार्फत सुझावहरू पनि दिँदै आएको छु।

फोहोर वागमती नदी देख्दा गाउँको लुंग्री नदी सम्झेर दिग्दारी मेटाउँछु। गाउँको केतुकेधाराको पानी सम्झेर सहरमा पानीको अभावलाई बिर्सन्छु। काठमाडौंको प्रदूषणका कुरा गरेर साध्य नै छैन।

प्रदूषणमा काठमाडौं कहिलेकाहीं विश्वमा एक नम्बरमा पर्छ। रातारात कालो धन छाप्ने जाली फटाहाहरूको धन्दा पनि यहाँ चलिरहेको छ।

(खुंग्री, रोल्पा। हाल: बूढानीलकण्ठ, काठमाडौं।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार