बुधबार, ४ असार, २०८२

झुटा आश्वासनको जाल नतोडे कर्णालीको नियति फेरिदैन

जनताले के पाए? बारम्बार गाउँ छिरेर झुटा आश्वासन बाँड्ने, कर्णालीको दु:ख बेचेर सरकारमा पुग्नेहरूले यहाँका जनतालाई कहिल्यै माफी पाउने छैनन्।

कर्णाली, जहाँ पहाडका काखमा बस्तीहरू टुक्रिएर बसेका छन्, जहाँ सपनाहरू सडकको अभावमा डाँडाबाट हेर्दाहेर्दै थाकेका आँखाहरूमा हराउँछन्।

सिंहदरबारबाट टाढा रहेको यो भूगोल राज्यको सौतेनी व्यवहारको सधैं शिकार बन्दै आएको छ।

“गाउँगाउँमा सिंहदरबार” भन्ने नारा यहाँका सोझासाझा जनताका लागि बारम्बारको धोका र झुटो आश्वासनको पर्याय बनेको छ।

समृद्धिको कुरा गर्नेहरूले आफ्नो र आफ्नाहरूको अवस्था बदले, तर कर्णालीको अवस्था जस्ताको तस्तै छ।

जनताले यो पीडा बिर्सेका छैनन्। अस्पतालको अभावमा सुत्केरी आमाले गुमाएको बच्चाको खबर र यातायातको अभावमा बिरामी बोकेर हिँड्नुपर्ने बाध्यता अझै छ।

कति मुख्यमन्त्री बने, कति मन्त्री, कति सांसद र माननीयहरूले “सुखी कर्णाली, समृद्ध कर्णाली” को नारा बेचे, तर परिवर्तन कहाँ छ?

सडक कहिले पुग्छ भन्दै डाँडामा उभिएर हेर्ने बुढापाकाका आँखा भित्रसम्म पसेका छन्, तर सडक पुगेको छैन।

बिरामी भएर थला परेका, आर्थिक अवस्था कमजोर भएकाहरूलाई अस्पताल बनाउने आश्वासन दिँदै भोट मागियो, उपचारको अभावमा सन्तान गुमाएर सेतो कपडामा बसेकाहरूलाई झुटा सपना बाँडियो।

अपांगहरूलाई सेवा दिने भन्दै उनीहरूको कमजोरीको फाइदा उठाइयो, छोराछोरीको भविष्य बनाउन दिनरात मिहिनेत गर्ने आमाबुबालाई राम्रो शिक्षाको लोभ देखाइयो।

तर, जनताले के पाए? बारम्बार गाउँ छिरेर झुटा आश्वासन बाँड्ने, कर्णालीको दु:ख बेचेर सरकारमा पुग्नेहरूले यहाँका जनतालाई कहिल्यै माफी पाउने छैनन्।

“गाउँगाउँमा सिंहदरबार” कहाँ आयो? आए त साना महाराजहरू आए, आफैं रमाए, आफैं कमाए। जनताको अवस्था उस्तै छ, पीडा उस्तै छ।

शासन फेरियो, प्रणाली फेरियो, नेता फेरिए, तर कर्णाली फेरिएन। यो प्रश्न अब केवल प्रश्न होइन, यो त यहाँका जनताको चित्कार हो।

आफ्नो दु:खको व्यापार गर्नेहरूप्रति उनीहरूको आक्रोश हो। कर्णाली कहिले फेरिन्छ?

यो प्रश्नको जवाफ खोज्ने जिम्मा अब नेताहरूको मात्र होइन, हामी सबैको हो। तर जबसम्म यी झुटा आश्वासनको जाल तोडिँदैन, कर्णालीको नियति फेरिने छाँट देखिँदैन।

यो लेख कर्णालीको वास्तविकताको ऐना हो, जहाँ आशा र निराशा सधैं जुधिरहन्छन्।

अब समय आएको छ, कर्णालीको पीडालाई केवल नारा होइन, साँचो परिवर्तनको आधार बनाउने। प्रश्न यो हो, के यो सम्भव छ, कि यो पनि अर्को झुटो सपना मात्र बन्नेछ?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार