शुक्रबार, २९ चैत्र, २०८१

राजतन्त्र र लोकतन्त्रको लडाइँले परिवारमा विग्रह, देश नै नरहे यी व्यवस्थाको के अर्थ?

आठ कक्षा पढेको व्यक्ति अहिले देशको प्रधानमन्त्री छन् । उनीभन्दा धेरै पढेका र क्षमतावान् जनता यहाँ छन् । तर, जनताका छोराछोरी धमाधम बाहिर गइदिँदा यिनीहरूलाई मोजमस्ती गर्न सहज भयो । फेरि यो नियति जनताले नै बनाएका हुन् । उनीहरू झोले नबनेको भए आज आफ्ना सन्तानसँग बस्न पाइन्थ्यो कि ।

जनता आफू दुःख गर्छन्, आफ्नो परिवारजनसँग रमाउँछन् । तर, व्यवस्थाप्रतिको झुकावले जनताको परिवार दुई फ्याक बनेको छ । परिवारमै राजावादी र गणतन्त्रवादीको भिडन्त सुरु भइसकेको छ । साथीभाइको हकमा पनि त्यही छ । राजावादीले गणतन्त्रको विरोध गर्दा गणतन्त्रवादी आक्रोशले चुरचुर हुन्छ र त्यही झगडा सुरु हुन्छ ।

भूपू राजा ज्ञानेन्द्र होस् वा लोकतान्त्रिक व्यवस्थाका नेताहरू, जनताले तिरेकै करबाट तलबभत्ता खाइरहेका छन् । तर, उनीहरू आनन्दसँग बसिरहेका छन् । ऋण स्वीकृत गरेर अहिले पनि मोजमस्ती गरिरहेका छन् । त्यस्ताका लागि जनता लडिरहेका छन्, के भन्ने ? आफ्नो टाउकोमा ९२ हजार वैदेशिक ऋण पुगेको जनता देख्दैनन् ।

आफ्ना छोराछोरी विदेशमा बेच्नुपरेको छ । जनतालाई हिजो पनि खान-लाउन धौधौ थियो, अहिले पनि धौधौ छ । देशले राजतन्त्र र गणतन्त्र दुबैको स्वाद चाखिसकेको छ । दुबै व्यवस्थाले सिध्याउनेबाहेक केही गरेनन् । अझै पनि त्यस्तो व्यवस्थाका लागि घरभित्रै विग्रह गर्नु मूर्खता हो कि होइन ?

बूढाले भन्थे, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको बनेको घर पनि भत्काउँछ ।’ अहिले त्यस्तै अवस्था बनेको छ । जनतामा अहिले पनि चेतना आएको छैन । जुनसुकै व्यवस्था आए पनि जनताले के पाए ? रोजगारी पाए ? बिहान-बेलुका सहज रूपमा छाक टार्न सके ? अहिले पनि फिस तिर्ने पैसा नभएर छोराछोरीलाई विद्यालयले निकालिरहेको छ ।

नेपाली भूभाग विदेशीले कब्जा गर्दै गएका छन् । विडम्बना, जनता आँखामा पट्टी बाँधेर बसेका छन् । न राजतन्त्रको विकल्प गणतन्त्र हो, न गणतन्त्रको विकल्प राजतन्त्र । हिजो त्यत्रो लडाइँ लडेर गणतन्त्र ल्याएको होइन ? राजाले मोजमस्ती गर्‍यो, देशमा विकास गरेन, जनताले तिरेको कर लुट्यो भनेर जनता लडे ।

देशमा परिवर्तन ल्याउँछौँ भनेर हिँडेका नेताहरूलाई साथ दिए । छातीमा गोली खाए । तर, के पाए ? सत्तामा पुगेपछि नेताहरूको रूप नै फेरियो । उनीहरूले जनतासँग गरेको वाचा बिर्सिए । एउटा राजाले खायो भनेर जनता उत्रिए, बदलामा हजारौँ साना राजाहरू जन्मिए । त्यसैले अब जनता कसैको बहकावमा आउने होइन ।

देश सिध्याउने राजतन्त्र र गणतन्त्रको पक्षमा वकालत गर्न छोडेर जनता अब जनता बनिदिनुपर्छ । यी दुई तन्त्रले केही उखाल्ने वाला छैनन् । यस्ताका लागि आफ्नो परिवारजनसँग लडाइँ लड्नुको के औचित्य ? जो आए पनि खाने मात्रै हुन् । आफ्नो व्यक्तिगत स्वार्थ मात्र हेर्छन् ।

तिनीहरूले ल्याएर भाँडोमा चामल हालिदिने होइनन् । आफैले दुःख नगरे खान नपाइने भएपछि यस्ताको आन्दोलनमा किन पक्ष ? किन बोल्नु ? अहिले जनताका छोराछोरी धमाधम खाडी गइरहेका छन् । त्यसैले यहाँ भएको परिवारले खान पाइरहेका छन् । यिनीहरूले रोजगारी दिन सकेको भए, आफ्ना सन्तानबाट छुट्नुपर्थ्यो ?

व्यर्थमा आफ्नो समय खेर नफालौँ । यस्ताको पछि लागेर केही हात पर्ने छैन । बरु देशका लागि लडौँ । राजावादी र गणतन्त्रवादीको नारा लिएर लड्नु बेकार छ । पूर्वराजा ज्ञानेन्द्र होस् वा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका नेता, नेपालको भूभाग उनीहरूले चीन र भारतलाई बेचे ।

२७ खर्ब विदेशी ऋण ल्याएर मोजमस्ती गर्ने त राजा र नेता नै हुन् । जनताले त त्यो पैसा पाएका छैनन् । जनताले तिरेको कर पचाए, रेमिट्यान्स कहाँ गयो भन्ने जानकारी छैन । यिनीहरूका कारण देश ऋणको दलदलमा फसेको छ । सरकारले पैसा नदिएपछि व्यवसायीहरू धरधर रुँदै हिँडेका छन् ।

यो स्थितिमा पुर्‍याउने यिनीहरू नै होइनन् ? सबै मिलेर देश लुटेका हुन् कि होइनन् ? अनि सबै देख्दादेख्दै पनि जनता यिनीहरूको पछि लाग्नुलाई के भन्ने ? जनतामा अहिले पनि चेतनाको विकास भइसकेको छैन भन्ने त पुष्टि भइसकेको छ । अहिले देशको साक्षरता दर बढेको छ ।

जनता शिक्षित भएका छन् । उनीहरू अभिव्यक्ति व्यक्त गर्न सक्छन्, आँखा देख्छन्, कान सुन्छन् । जनावरलाई त्यो नगर भन्दा त मान्छ, तर जनता मान्दैनन् । जे ‘नगर’ भनेको हुन्छ, जनताले त्यही गर्छन् । यस्ता जनताले के नाम दिने ? सही र गलतको भिन्नता छुट्याउन नसक्ने जनताले पढेको के काम लाग्यो ?

पढेर मात्र भएन क्या, के गर्दा ठीक हुन्छ वा बेठीक हुन्छ, छुट्याउन सक्नुपर्छ । जनताहरू पढेर पनि ‘अनपढ’ बनिदिँदा आज देशको यो अवस्था बनेको होइन ? जनता नेताहरूको झोले बनिदिए । कोही राजातिर लागे, कोही नेतातिर । आफ्ना नेतृत्वले जे गरे पनि ठीक । देशै लुटेर खाइसक्दा पनि उनीहरूले खबरदारी गरेनन् ।

जसको असर जनताले मात्र नभई देशले नै भोग्नुपर्ने अवस्था आएको छ । नेपाल नै नरहने हो कि सम्मको चर्चा चल्न थालिसकेको छ । एउटा उखान छ, ‘हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा बीउ जोगाउनु ।’ भोलि आन्दोलनका क्रममा तलमाथि भइहाल्यो भने कसलाई क्षति हुन्छ ?

नेताहरूलाई कुनै फरक पर्दैन । उनीहरूलाई जनता ‘बलिको बकरा’ जस्तै भएको छ । तर, त्यसले उनीहरूको परिवारलाई ठूलो क्षति हुन्छ । द्वन्द्वकालका पीडितहरूको अवस्था त अहिले पनि हामीले देखेका छौँ । आफ्नो उद्देश्य पूरा भएपछि उनीहरूले फर्किएर पनि हेर्दैनन् । त्यसैले यस्ता स्वार्थीहरूका लागि जनताले आफ्नो ज्यान खेर नफालौँ ।

परिवार र साथीभाइसँग नजुधौँ । जुन व्यवस्था आए पनि जनताले पाउने भ्रष्टाचार, बेरोजगारी मात्र हो । त्योबाहेक केही हात लाग्ने छैन । आठ कक्षा पढेको व्यक्ति अहिले देशको प्रधानमन्त्री छन् । उनीभन्दा धेरै पढेका र क्षमतावान् जनता यहाँ छन् । तर, जनताका छोराछोरी धमाधम बाहिर गइदिँदा यिनीहरूलाई मोजमस्ती गर्न सहज भयो ।

फेरि यो नियति जनताले नै बनाएका हुन् । उनीहरू झोले नबनेको भए आज आफ्ना सन्तानसँग बस्न पाइन्थ्यो कि । २३८ वर्ष राजतन्त्र देशमा रह्यो, देशमा के विकास भयो ? लोकतन्त्र गणतन्त्र आएको १८ वर्ष भयो । तर, उपलब्धि केही छैन । जनताले त उपलब्धि खोज्ने हो, न कि उनीहरूको पछि लाग्ने ?

उनीहरू लुट्दै गए, जनता मुखमा बुझो लगाएर बसे । अहिले देश सकियो कि सकिएन ? लोकतन्त्र गणतन्त्रका नेता भन्छन्, हामीले गाउँगाउँमा बाटो पुर्‍यायौँ । जग्गाको भाउ उचाइ पुर्‍याइयो । यत्रा घर बनाएर विकास गरियो । घर बनाउनु विकास हो ? बाटो नजाँदा जनताहरू आफ्नो गाउँघरमा रमाएका थिए ।

खेतीकिसानी गरेर जीविकोपार्जन गरिरहेका थिए । अहिले गाउँ रित्तो बन्यो । सबै विदेशतिर लागे । घरहरूमा ताल्चा लाग्यो । खेतबारीहरू बाँझो बन्यो । यो विकास कि विनाश ? जनतालाई कतिसम्म भ्रमित बनाउन सकेका ? नेपालका खेतबारी जम्मै बाँझो हुँदा खाद्यान्न बाहिरबाट आयात गर्नुपरेको छ ।

व्यापार घाटा ह्वात्तै बढेको छ । अझै पनि विकासको नारा दिन लाज लाग्दैन ? सरकारले जनतालाई आत्मनिर्भर बन्न सिकाएन । आफ्नो पूँजी उद्योग, कलकारखानामा लगाउन सिकाएको भए, आज देश कुन मोडमा हुन्थ्यो ? हुन त आफ्नो खल्ती भर्नका लागि भएका उद्योग, कलकारखाना त बेचेर खाए ।

यस्ताले के देशको भलो र उन्नति चाहन्थे ? अब त सत्ता सञ्चालक, विपक्षी, राजावादी सबै सडकमा आउने घोषणा गरेका छन् । जब-जब अर्काले खान खोज्छन्, तब-तब देशमा यस्ता शक्ति प्रदर्शन गरिन्छ । तर, यसमा जनतालाई के फाइदा ? त्यसैले जनता आँखामा पट्टी बाँधेर यिनीहरूको पछाडि नदौडौँ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार