बुधबार, ४ असार, २०८२

छोटो समयमा सेलिब्रेटी बनेँ, तर संघर्षका कथाहरु निकै लामा छन्

शताब्दी पुरुष (१०१ वर्षीय) डा. गौरिशंकर लाल दाससँग।

आफ्नो जिल्ला रोल्पाका तीर्थस्थल, खानी, रैथाने उपज, पर्यटकीयस्थल लगायत अन्य विविध विषयमा व्यापक रूपमा प्रचार प्रसार गर्दै आएको मले सम्मान भने अन्य जिल्लाहरूबाट पाउँदै आएको छु। अझ भन्नुपर्दा मैले रोल्पाको मात्र नभएर राप्ती भेगकै प्रचार प्रसार गर्दै आएको छु।

गत साउन १८ मा नेपालकै ठूलो अनलाइन सञ्चार माध्यम अनलाइनखबरले प्रकाशन गरेको मेरो ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शीर्षकको लेखलाई उक्त सञ्चार माध्यमले गत सोमबार महत्वका साथ आफ्नो वेबस्टोरिजमा व्यवस्थित गरेको छ। मैले लेखमा उल्लेख गरेका १९ सूत्रमध्ये १२ सूत्रलाई १२ स्टोरी बनाइएको छ। वर्षदिनमै सेलिब्रेटी बन्न सफल भएको छु।

साहित्य तथा लेखनमा हात हालेको २०५३ सालदेखि भए तापनि सरकारी सेवाको दौरानमा व्यस्तताका कारण मैले नियमित लेख-रचना पस्किन सकिनँ। तैपनि २०६१ सालमा मेरो पहिलो कृतिको रूपमा बालकवितासङ्ग्रह ‘इन्द्रेणी’ प्रकाशन भएको थियो।

२०२१ सालमा तत्कालीन प्यूठान र हालको रोल्पामा पर्ने खुंग्रीको धारापानीमा जन्मिएको म सात कक्षासम्म गाउँकै त्रिपुरेश्वरी निमाविमा अध्ययन गरेको थिएँ भने आठ कक्षादेखि दश कक्षासम्म पढ्नका लागि १० किलोमिटरको बाटो हिँडेर प्यूठानको भिंग्रीस्थित अमर माविमा जाने गर्थेँ। मलाई उक्त विद्यालयमा आउजाउ गर्नै दैनिक ५ घन्टा लाग्थ्यो।

राप्ती नदीको मुख्य शाखा माडी नदीको साउन, भदौको उर्लँदो बाढी जोखिमपूर्ण तरिकाले पार गरेको कहिल्यै नबिर्सने कुरा म बताउँछु। बर्खायामको माडी तर्दा मैले चप्पल र झोला एक हातले पानीबाट जोगाउने र दुई खुट्टा र एक हात चालेर वारीबाट पारी पुग्ने गरेको स्मरण गर्छु। २०३९ सालको एसएलसी परीक्षामा दोस्रो श्रेणीमा उत्तीर्ण हुने म खुंग्रीको पहिलो छात्र भएँ। गाउँकै इतिहास रचेको म कानून पढ्ने लक्ष लिएर २०४० सालमा काठमाडौँ छिरेको थिएँ।

भदौ ३ मा रोल्पाको खुंग्रीबाट पिताजी तेजप्रसादसँग घरबाट निस्केको म ५ गते मात्र काठमाडौँ प्रवेश गरेको थिएँ। ५ गते नै नेपाल ल क्याम्पसमा फाराम भर्ने म्याद सकिएकोले कानून पढ्नबाट बञ्चित भएँ र लगनखेलस्थित निजी क्याम्पस नमूना मच्छिन्द्र क्याम्पसमा वाणिज्यशास्त्रतर्फ आइ.कम. मा भर्ना भएँ।

बिहानको पढाइ सकेर दश बजेदेखि कार्यालय जानुपर्ने भएकोले शुरुशुरुमा बिहानको खानाको रूपमा चिनी छर्किएको र त्यसमाथि दूध खन्याइएको पाउरोटी खाएर पनि मलाई दिन गुजार्नुपरेको थियो। मासिक ३०० तलब थियो भने कोठा भाडा १२५ तिर्नुपर्थ्यो। बाँकी बचेको रकमले दैनिक गुजारा गर्न मलाई निकै कठिनाइ भोग्नुपरेको थियो। तलबले नपुगेपछि मैले विभिन्न कालमा विभिन्न ठाउँमा बालबच्चालाई ट्यूशन पढाउने काम पनि गरेँ।

२०५६ सालसम्म १६ वर्ष संस्थान सेवा गरेको मले २०५६ सालमै लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर निजामती सेवामा प्रवेश गरेँ। संस्थान सेवा छोड्दाका बखत तलब-भत्ता ४२०० थियो भने निजामतीतर्फ एक श्रेणीको पद भए तापनि २७०० खानुपर्ने अवस्था मलाई आयो।

मेरो जीवन शैली नै परिवर्तन गर्नुपर्ने अवस्था आयो। काठमाडौँको चरम महँगीका कारण एक मात्र सन्तानमा सीमित रहनुपरेको मेरो आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ मा उल्लेख छ। उक्त पुस्तकमा मैले भोगेका दुःखहरू तथा गरेका यावत् संघर्षका कहानीहरू पढ्न सकिन्छ।

पछिल्लो समय साहित्य तथा लेखन क्षेत्रमा निकै चर्चित व्यक्ति बन्न पुगेको छु म। नेपालको सबैभन्दा छोटो लघुकथाका रचनाकारको रूपमा पहिलो कीर्तिमान रचेको मले मोबाइलमै कोरिएको नेपालकै पहिलो पुस्तक ‘ओगिल्जा’ दोस्रो कीर्तिमानको रूपमा राखेँ।

छोटो अवधिको तयारीमा छापिएको उक्त पुस्तक छ महिनामै बजारबाट सकिएको कुरा पनि अर्को कीर्तिमान ठानिएको छ। कहिलेकाहीँ दिनमा ३-४ वटा लेख-रचनाहरू प्रकाशन हुनु मेरो चौथो कीर्तिमान हो। २०८० मंसिरदेखि २०८१ मंसिरसम्म एक वर्षको अवधिमा मेरा दुई सयभन्दा बढी लेख-रचनाहरू प्रकाशन भएको देखिएको छ।

इमेल गरेर पठाएको दश मिनेटभित्रै प्रकाशन हुनु मेरो पाँचौँ कीर्तिमान हो। बाटोमा हिँड्दाहिँड्दै मुक्तक रचना गर्ने, बसमा यात्रा गर्दागर्दै लेखहरू नै तयार गर्ने, बसको टिकट, एटिएम स्लिप, बिजुली र पानीको रसिदको पछाडिपट्टि समेत रचना गर्ने काम मेरो छैठौँ कीर्तिमानको रूपमा रहेको छ।

गुगलबाट मलाई इमेलको स्थान सीमित छ, अमेरिकी डलर ०.९० भुक्तानी गरेपछि क्षमता बढाइने छ भनेर सूचना गरिसकेको छ। नेपालमा सबैभन्दा बढी इमेल गर्ने लेखक तथा साहित्यकार पनि म नै हो कि जस्तो भान हुन्छ। दुई मिनेटमै एउटा मुक्तक, १५ मिनेटमै एउटा गीत वा कविता र आधा घन्टामा एउटा लघुकथा तथा दुई घन्टामै १२ सय शब्दको एक लेख तयार गर्ने क्षमता ममा छ।

बसस्टपमा गाडी कुर्दा होस् वा अस्पतालमा लाइनमा बस्दा मैले मोबाइलमा वा डायरीमा रचिरहेको हुन्छु। मलाई कतै पनि कहिल्यै पनि छट्पटिनुपर्दैन। लेखनतर्फ बहुविषयका लेखकहरू र साहित्यतर्फ बहुविधाका रचनाका पहिलो सर्जक पनि म नै होऊँ भन्दा पनि फरक पर्दैन।

आकर्षक ठानिने मालपोत कार्यालयको हाकिमको कुर्सी त्यागेर सामान्य निकायमा सरुवा मागेर जानु पनि मेरो एक प्रकारको कीर्तिमान नै ठान्नुपर्दछ। वरिष्ठ अधिकृतबाट अवकाश भएको म सबैभन्दा निम्नस्तरका अर्थात् श्रेणीविहीन कर्मचारीको भन्दा कम पेन्सन बुझ्छु। यसलाई पनि एउटा कीर्तिमानको रूपमा लिन सकिन्छ।

३१ वर्ष अघिदेखि नै मास्कको प्रयोग गर्ने व्यक्ति पनि बनेको छु म। म आफ्नो स्वास्थ्यप्रति निकै सचेत देखिन्छु। काठमाडौँको प्रदूषण पहिलेदेखि नै विकराल छ। मैले चामललाई भन्दा मकै, गहुँ, कोदो, फापर, जुनेलो, लट्टे, कागुनो, चिनो, उवा जस्ता रैथाने अनाजलाई बढी महत्व दिन्छु।

बजारका तयारी खाद्यवस्तु मैले हत्तपत्त उपभोग गर्दिनँ। स्वस्थ र दीर्घजीवी रहने २० सूत्रहरू मेरो पुस्तक ‘ओगिल्जा’ मा नै उल्लेख छन्। एक किसिमले भन्नुपर्दा म नितान्त प्रकृतिप्रेमी हूँ। पाल्पाबाट मैले पाएका तीन उपाधिमध्ये ‘प्रकृतिप्रेमी’ पनि एक हो। मैले हासिल गरेको पछिल्लो उपाधि हो- ‘सुपर राइटर’, जुन उपाधि केही हप्ताअघि बूढानीलकण्ठमा एक समारोहका बीच प्राज्ञ तथा प्रा.डा. गोपिन्द्र पौडेलबाट प्राप्त गरेको थिएँ।

निजामती सेवाबाट २०७९ असारमा अवकास हुँदावित्तिकै मैले साहित्य लेखनमा ज्यादै सक्रियता अपनाएँ। २०७९ को अन्तमा रोल्पाली सेरोफेरोको मेरो एक गीत रेकर्ड भएर बजारमा आयो भने २०८० मा पुस्तक ‘ओगिल्जा’ प्रकाशन भयो, लगत्तै ‘राप्तीका अलग शब्दहरू’ पनि प्रकाशन भयो।

मैले सङ्कलन गरेका राप्ती भेगका करिब दुई हजार शब्दहरू नेपाली वृहत् शब्दकोशको आगामी संस्करणमा समावेश गराउनका लागि केही दिनअघि प्रज्ञाप्रतिष्ठानमा बुझाइसकेको छु।

एक वर्षको अवधिमा आधा दर्जन उपाधि प्राप्त गरेको र आधा दर्जनभन्दा बढी कीर्तिमान कायम गरेको मेरा शुभचिन्तकहरू काठमाडौँ, प्यूठान र दाङमा धेरै रहेका छन् भने देश-विदेशका अन्य भागमा पनि छन्।

आफ्नो जिल्ला रोल्पाका तीर्थस्थल, खानी, रैथाने उपज, पर्यटकीयस्थल लगायत अन्य विविध विषयमा व्यापक रूपमा प्रचार प्रसार गर्दै आएको मले सम्मान भने अन्य जिल्लाहरूबाट पाउँदै आएको छु। अझ भन्नुपर्दा मैले रोल्पाको मात्र नभएर राप्ती भेगकै प्रचार प्रसार गर्दै आएको छु।

पछिल्लो समय म साहित्यिक संस्थाहरूमाझ लोकप्रिय बन्दै आएको छु। कतिपय संस्थाहरूले सदस्यता लिनका लागि अनुरोध पनि गर्दै आएका छन्। आर्थिक अभावका कारण धेरै संस्थाको सदस्य बन्ने मेरो क्षमता छैन।

४२ वर्ष काठमाडौँको बसाइ मेरा लागि निकै सकसपूर्ण हुँदै आएको छ। काठमाडौँ बसाइकै क्रममा रोल्पामा पिचबाटोले छोएको करोड हाराहारीको जग्गा नै गुमाउनुपरेको छ भने १२ वर्षसम्म ३५ लाख हाराहारीको ऋण बोक्नुपरेको थियो।

विभिन्न कार्यक्रमहरूमा मैले प्रमुख अतिथिको, विशेष अतिथिको र अतिथिको भूमिका निर्वाह पनि गरिसकेको छु। बिहान साढे तीन बजेदेखि नै मोबाइलमा अभिवादन तथा शुभ सन्देशहरूका मेसेजका आवाजहरू बज्न थाल्छन्। प्राप्त सबै सन्देशहरूका लागि जवाफ दिन मलाई बिहान एक घन्टाको समय छुट्याउनुपर्ने हुन्छ।

मेरा थोत्रो र नयाँ ल्यापटप तथा थोत्रो र नयाँ मोबाइल एकैसाथ सुचारु हुन्छन्। मेरो रचनाका स्वर्गद्वारी भजन रेकर्डिङको क्रममा छ भने जनचेतनामूलक गीत एक सरकारी निकायले रेकर्डिङ गर्ने क्रममा छ।

प्रा.डा. घनश्याम पुडासैनीकृत ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व‘ प्रकाशन भएर पनि हालै मात्र लोकार्पण भइसकेको छ। मेरा प्रभावकारी लेखहरूको सङ्गालो नामक पुस्तक कीर्तिमानी समीक्षक तथा साहित्यकार अरुण खत्री ‘नदी’ ले तयार गर्दै हुनुहुन्छ।

पत्रपत्रिकाका साहित्यिक विशेषाङ्कमा पनि मेरा जीवनी प्रकाशन हुने गरेका छन्। मेरो समेत प्रसङ्ग रहेको एक पुस्तक थाइल्याण्डबाट पनि प्रकाशन हुने बताइएको छ।

फेसबुकमा समेत सक्रिय म फेसबुकबाट पनि पटकपटक विभिन्न व्याजहरू प्राप्त गर्न सफल छु। मेरो दुबै फेसबुक एकाउन्ट मनिटाइज भइसकेका छन् भने युट्युब च्यानल पनि मनिटाइजको नजिकै रहेको छ।

मेरो सम्पत्ति भनेको मैले सिर्जना गरेका तमाम शब्दहरूका पुञ्जहरू हुन्। शुभचिन्तकहरूबाट प्राप्त स्नेह, उत्साह, प्रेरणा पनि मेरा अमूल्य सम्पत्ति हुन्। सरकारी जागिर खाने क्रममा निकै हण्डर खाएका कुराहरू पनि मेरो आत्मकथा ‘ओगिल्जा’ मै उल्लेख छन्।

कार्यालय नभएको ठाउँमा सरुवा भएका, मन्त्रीका स्वकीय सचिवले कुर्सी टेबुल नै हडपेका अर्थात् कब्जा गरेका तथा दुई निकायका लेखापालहरूले मैले पाउनुपर्ने भत्ता नै खाइदिएका कुरा पनि उक्त पुस्तकमा उल्लेख छन्।

मायाको चिनो, सम्मानपत्र, कदरपत्र, उपाधिहरू र कीर्तिमानहरू पनि मेरा अमूल्य सम्पदामा गनिन्छन्। प्राज्ञहरूसँगको सामीप्यता पनि महत्वपूर्ण सम्पत्तिको रूपमा ठान्ने गरेको छु। उपभोगको क्रममा नासिने भए तापनि देश-विदेशबाट पाउने गरेका कोसेलीहरू पनि मेरा सम्पत्ति नै हुन्।

मेरा लेखहरूबाट हुने राष्ट्रियस्तरका प्रभावहरू पनि मेरा सम्पत्ति नै हुन्। मेरो अध्ययन तथा लेखन कक्षमा रहेका डिक्सनरी तथा शब्दकोशहरू तथा सन्दर्भ सामग्रीका रूपमा उपयोग हुने पुस्तक तथा पत्रपत्रिकाहरूलाई पनि अर्को महत्वपूर्ण सम्पत्ति हुन्।

पन्ध्र वर्ष पुराना लुगाहरू पनि लगाउने, लुगाहरूमा आइरन गर्न पनि नभ्याउने र जस्तो छ त्यस्तै लुगा जिउमा छिराउने बानी छ ममा। आधा घन्टाको दूरीसम्म पैदल नै हिँड्ने, कर्मेन्द्रीयलाई प्राकृतिक रूपमै उपयोग गर्ने बताउँछु म।

मलाई सहर-बजारमा प्रदूषित वातावरणप्रति चिन्ता छ, विसंगति र विकृति अनि भ्रष्टाचारविरुद्ध धेरै लेखहरू लेख्न मन लाग्छ। बाह्र वर्ष सिंहदरबारमा बिताएका कारण नेपालको राजनीति ज्यादै फोहोरी छ भन्छु म। श्रमिकदेखि विशिष्ट व्यक्तित्वसम्मलाई समान व्यवहार गर्ने मेरो अर्को विशेषता हो।

विद्वान तथा प्राज्ञहरूबाट ‘अद्भुत स्रष्टा’, ‘तुफानी लेखक’, ‘आशु साहित्यकार’ लगायत अनेक संज्ञा प्राप्त हुँदा खुशी हुन्छु, तर अहङ्कारबाट टाढै रहँदै आएको छु।

कसैकसैले ‘मल्टिडाइमेन्सनल पर्सनालिटी’ त कसैले ‘मेमोरी किङ्ग’ पनि भनिदिनुहुन्छ। दुई वर्षदेखिका संस्मरण मेरो पुस्तक ‘ओगिल्जा’ मा उल्लेख छन्। कतिपयले मलाई ‘६१ वर्षको उमेरमा पनि युवा देखिनुको रहस्य के हो?’ भनेर सोध्ने गर्नुहुन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार