“डङ्किनी,” “बोक्सी,” “थाङ्ग्ने” जस्ता अपमानजनक शब्दले उनीहरूलाई बारम्बार लाञ्छित गरिन्छ। तिनै “थाङ्ग्ने” भनिएकाहरूले जीवनको आधार बनाएका छन्, तर समाजले उनीहरूलाई निरन्तर तिरस्कार गर्छ।
महिला यो शब्द आफैंमा जीवनको गतिशीलता र सृष्टिको आधार हो। महिला स्नेहको मुहान हुन्, सहनशीलताको प्रतीक हुन्, आधा आकाश र आधा धर्तीका हकदार हुन्।
उनीहरू जननी हुन्, आमा हुन्—जसको कोखबाट हामी सबैको जन्म भएको हो। यदि आमाको कोख नभइदिएको भए, यो विशाल मानव समाजको अस्तित्व पृथ्वीमा सम्भव नै थिएन।
हामीले महिलाको गर्भमा नौ महिना बितायौं, उनको स्तनपानबाट जीवनको पहिलो पोषण प्राप्त गर्यौं र उनैको काखमा हुर्कियौं। सत्य कुरा त यो हो कि मानव जीवनको सुरुवात नै महिलाको कोख र आमाको ममतामयी काखबाट भएको हो।
महिलाको महिमा अपार छ। उनीहरूले जीवनलाई मात्र जन्म दिँदैनन्, आफ्नो रगत र पसिनाले संसारलाई सिँचेर सुन्दर बनाउँछन्। तर विडम्बना! यिनै महिलाहरू, जसले हामीलाई जीवन दिए, आज समाजको कठोर बन्धनमा बाँधिएका छन्।
जसको नियति बच्चा जन्माउनु र दुधे बालकलाई काखमा च्यापेर माया गर्नु हो। उनैको जीवनमा अपमान, हिंसा र उत्पीडनको कालो बादल मडारिएको छ।
बच्चाको जुङ्गा पलाउनासाथ उनैबाट फेरि लुटिनुपर्ने, अपमानित हुनुपर्ने नियति जस्तै बनेको छ। महिला, जो जीवनको प्रतीक हुन। कहिलेकाहीँ समाजको नजरमा डस्बिनमा फालिएको कागजजस्तै ठानिन्छन्।
आज महिलाहरू बलात्कारको सिकार बन्न बाध्य छन्। उनीहरूको मुखमा ताला लगाइन्छ, समाज र संस्कारको कारागारमा थुनिन्छ। आफ्ना सपना, इच्छा र चाहनाहरूलाई मनमै कैद गर्नुपर्ने बाध्यता छ। गालीगलौज, घृणा र अपमानको भारी बोकेर उनीहरू दिनहुँ गुज्रिन्छन्।
“डङ्किनी,” “बोक्सी,” “थाङ्ग्ने” जस्ता अपमानजनक शब्दले उनीहरूलाई बारम्बार लाञ्छित गरिन्छ। तिनै “थाङ्ग्ने” भनिएकाहरूले जीवनको आधार बनाएका छन्, तर समाजले उनीहरूलाई निरन्तर तिरस्कार गर्छ।
एउटी महिलाले खुलेर हाँस्न पनि प्रतिबन्ध छ। उनीहरूले पुरुषको लात्ती र मुक्का सहनुपर्छ। भोलिपल्ट बिहान आफ्नो पीडालाई मनभित्र लुकाएर, संकोचबिना मुस्कुराउन बाध्य हुन्छन्।
यो कस्तो विडम्बना हो, जसले जीवनको ज्योति बालेर संसार उज्यालो बनाउँछिन्, उनै अन्धकारमा बाँच्न बाध्य छन्। उनीहरूको स्वतन्त्रता खोसिएको छ, उनीहरूको आवाज दबाइएको छ, र उनीहरूको पहिचानलाई संस्कारको नाममा कुण्ठित गरिएको छ।
तर अब यो अवस्थालाई स्वीकार गर्न सकिँदैन। महिलाको मुक्ति सपना मात्रै होइन, यो आवश्यकता हो। उनीहरूलाई उत्पीडनको सिकञ्जाबाट मुक्त गर्नु आजको समाजको सबैभन्दा ठूलो जिम्मेवारी हो।
महिला केवल पीडित होइनन्, उनीहरू शक्ति हुन्, साहस हुन्, र परिवर्तनको संवाहक हुन्। उनीहरूलाई आफ्नो अधिकार, सम्मान र स्वतन्त्रता दिनु भनेको सम्पूर्ण मानव समाजलाई बलियो बनाउनु हो।
महिलाको मुक्तिको बाटो सहज छैन। यसका लागि समाजको सोच बदल्नुपर्छ, संस्कारका नाममा थोपरिएका बन्धनहरू तोड्नुपर्छ, र उनीहरूलाई समान अवसर प्रदान गर्नुपर्छ।
जब एउटी महिला खुलेर हाँस्न सक्छिन्, आफ्नो विचार निर्धक्क व्यक्त गर्न सक्छिन्, र आफ्नो सपनालाई पखेटा दिन सक्छिन्, तब मात्र यो संसार साँचो अर्थमा सुन्दर बन्नेछ।
महिला उत्पीड़नको यो कालो अध्यायलाई समाप्त गर्न जरुरी छ। उनीहरूको मुक्ति भनेको केवल उनीहरूको मात्र होइन, सम्पूर्ण मानवताको मुक्ति हो। आउनुस्, हामी सबै मिलेर महिलालाई सम्मान, स्वतन्त्रता र समानताको पहिचान दिऔं, किनकि उनीहरूबिना यो संसार अधुरो छ।