सोमबार, २ असार, २०८२

अधुरो(अधकल्चाे) नारी दिवस

नारी दिवस विशेष

यसरी हरेक वर्ष नारी दिवस मनाएर मात्र परिवर्तन सम्भव छैन। जबसम्म नीति निर्माणदेखि कार्यान्वयनसम्म महिला स्वयंको प्रभावकारी सहभागिता हुँदैन।

नारी दिवस केवल एक दिन मनाउने परम्परा मात्र होइन। यो महिलाका हक, अधिकार, समानता र सशक्तीकरणलाई उजागर गर्ने अवसर हो। यो दिवसले समाजमा महिलाहरूले भोग्ने समस्याहरू, उनीहरूका उपलब्धिहरू र उनीहरूको योगदानबारे चर्चा गर्ने अवसर प्रदान गर्छ।

महिलाहरूको हक र अधिकारलाई उजागर नगरी केवल एक दिनको औपचारिकता पूरा गर्नुको खास अर्थ हुँदैन। मुख्य कुरा भनेको नारी दिवसको भावना वर्षभरि व्यवहारमा लागू गर्नु हो—महिलाहरूलाई समान अवसर, शिक्षा, रोजगारी, तथा निर्णय प्रक्रियामा सहभागी गराएर।

नारी दिवस वास्तविक अर्थमा सफल तब हुनेछ जब समाजमा महिलाहरू सुरक्षित, आत्मनिर्भर र समान अधिकारयुक्त महसुस गर्नेछन्। तपाईं हामीले सुनेकाे र रमाइलो गरेकाे दिन धेरै हदसम्म सही छ जस्तो लाग्छ।

नारी दिवस वर्षेनी भाषण, गोष्ठी र माइनुटमा सीमित हुने हो भने त्यसको सार्थकता रहँदैन। सरकारी, संस्थागत र विभिन्न संघसंस्थाले ‘यति महिलालाई सहयोग गरियो, उति बजेट छुट्याइयो’ भनेर मात्र तथ्यांक देखाउने हो भने, तर वास्तविक रूपमा महिलाहरूले त्यो अधिकार उपयोग गर्न नपाउने हो भने, त्यो केवल संख्याको खेल मात्र हुन्छ।

नारी दिवसको वास्तविक उद्देश्य महिलाहरूको जीवनमा परिवर्तन ल्याउनु हो। व्यवहारमा समानता दिलाउनु हो, अवसरको पहुँच बढाउनु हो र कानूनी रूपमा पाएको हकलाई व्यावहारिक रूपमा लागू गराउनु हो। तर अहिले पनि धेरै नीतिगत निर्णयहरू कागजमै सीमित छन्। कार्यान्वयनमा ढिलाइ वा बेवास्ता हुन्छ।

यसरी हरेक वर्ष नारी दिवस मनाएर मात्र परिवर्तन सम्भव छैन। जबसम्म नीति निर्माणदेखि कार्यान्वयनसम्म महिला स्वयंको प्रभावकारी सहभागिता हुँदैन। गहिरो परिवर्तनका लागि सोच, संस्कार र संरचना बदल्नुपर्छ।

जसले महिलाहरूलाई साँचो अर्थमा समानता, स्वतन्त्रता र अवसर दिलाओस्। अन्यथा, नारी दिवस एक दिनको औपचारिकता मात्र बन्नेछ, जसले धेरैलाई खिन्न बनाउनेछ।

नारी दिवसलाई पर्व भनेर मात्रै मनाउनु हुँदैन, यसको उद्देश्य विस्तार हुँदै जानु आवश्यक छ। नारी दिवसको वास्तविक सार्थकता तब मात्र हुन्छ जब महिलाहरूले भोग्ने हिंसा, विभेद, असमानता, शोषण र मानसिक तथा शारीरिक यातनाबाट मुक्ति पाउँछन्।

यदि हरेक वर्ष नारी दिवस मनाउँदा पनि महिलाहरूको अवस्था उस्तै रहन्छ भने, त्यो दिवसको अर्थ के रह्यो? त्यसैले दिवस मनाउनु मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ। नारी दिवसले एकदिनको चर्चा होइन, निरन्तर सुधारको अभियान बन्नुपर्छ।

महिलाहरूलाई सुरक्षित वातावरण, समान अवसर, आर्थिक आत्मनिर्भरता, तथा कानूनी न्याय सुनिश्चित गरिए मात्र नारी दिवसको वास्तविक सफलता मानिनेछ। जबसम्म महिलाहरू स्वतन्त्र, सक्षम, र सम्मानित जीवन बाँच्न पाउँदैनन्, तबसम्म नारी दिवसको सार्थकता अधुरो नै रहनेछ।

नारी दिवस केवल नाराजुलुस, देउडा गीत, गहना र नयाँ कपडामा सीमित हुनु हुँदैन। नेताहरूको ठूला भाषणले मात्रै नारी अधिकार प्राप्त भएको महसुस गर्नु भनेको आँखामा छारो हाल्नु हो।

यदि महिलाहरूको वास्तविक अवस्था नबदलिई, उनीहरूका समस्या जस्ताका तस्तै रहिरहने हो भने, यो दिवस केवल देखावटी र औपचारिकतामा सीमित हुन्छ। महिलाहरूले हरेक दिन समान अवसर, सम्मान, सुरक्षा र न्यायको अनुभूति गर्नुपर्छ।

साँचो नारी सशक्तीकरण भनेको महिलाहरूलाई शिक्षा, स्वास्थ्य, रोजगार, कानुनी सहायता, निर्णय प्रक्रियामा समान सहभागिता तथा हिंसा र विभेदबाट मुक्त गर्ने व्यवस्था गर्नु हो। जबसम्म व्यवहारिक परिवर्तन आउँदैन, तबसम्म दिवस मनाउनु केवल औपचारिकता मात्र हुनेछ।

तसर्थ, वास्तविक नेतृत्व भनेको भाषणमा मात्र होइन, नीति निर्माण र कार्यान्वयनमा देखिनुपर्छ। महिलाहरूको समस्या हल गर्ने जिम्मेवारी समाज, सरकार र हरेक नागरिकको हो, जसले नारी दिवसलाई सार्थक बनाउँछ।

नारीका समस्या जस्ताका त्यस्तै

नारीका समस्या जस्ताका त्यस्तै,
बदलिएका नियम, तर त्यस्ताका त्यस्तै।

स्वतन्त्रता मात्रै शब्दमै सिमित,
जीवनका घाउहरू तस्ताका त्यस्तै।

हक र अधिकारको कुरा धेरै हुन्छ,
तर बाधा, बन्धन जस्ताका त्यस्तै।

समय बदलियो, समाज बदलियो,
तर सोचका पर्खाल त्यस्ताका त्यस्तै।

सपनाहरू देख्न त देख्न सक्छे,
तर तिनका पखेटा जस्ताका त्यस्तै।

आवाज उठाउँदा दोष उसैलाई,
बिघ्न त गुनासा त्यस्ताका त्यस्तै।

(कनका सुन्दरी गाउँपालिका -५ लुड्कु सिंजाका लेखक श्री हिमशिखर माध्यामिक विद्यालय तातोपानी -२ जुम्लामा कार्यरत हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार