सोमबार, २ असार, २०८२

विश्वलाई चिनाउने संस्कार र संस्कृति नबुझ्नु राज्यको कमजोरी

पढे लेखेका, धनी, सम्पन्नहरू कम पढेका र गरीबहरूसँग सामान्य व्यवहार गर्न रूचाउँदैनन्। यिनीहरू आफूलाई माथिल्लो स्तरको ठान्छन्। संस्कृति, संस्कारलाई पनि कमैले मात्र जीवन्तता दिन्छन्।

नेपाल भौगोलिक क्षेत्रका हिसाबले त्यति ठूलो हैन तर संस्कार र संस्कृतिले विश्वलाई प्रतिनिधित्व गर्न सक्छ। यस अर्थमा आफूलाई नेपाली हुन पाएकोमा गर्व लाग्छ। नेपाल र नेपालीलाई चिनाउने शान्तिको देश, सगरमाथाको देश, प्रकृतिको धनी देश भगवान गौतम बुद्ध जन्मिएको देश, सीता, भृकुटी जन्मिएको देश हो।

नेपाल दुई ढुङ्गा बीचको तरुल जस्ता कयौं शब्द, नारा जस्ता शब्दले चिनियको देश नेपाल क्षेत्रफलका हिसाबले नेपाल त्यति ठूलो छैन। तर विश्वको हरेक क्षेत्रमा पाइने हावापानी हरेक दिनमा फेर्न सकिन्छ। विश्वका हरेक वनस्पति नेपाल भित्रै पाइन्छन्।

त्यसैगरी विश्वका बढी जनसंख्या भएका देश चीनको स्वशासित प्रदेश तिब्बत र भारतको संस्कृति समेत नेपालमा पाइन्छ। विश्वको सबभन्दा अग्लो चुचुरो, अग्लो ठाउँमा रहेको ताल, होचो ठाउँ,सबै विविधताले परिपूर्ण नेपालको कला, संस्कृति, वेशभूषा, भाषा र सभ्यता समेतले विश्वको मन जितेको छ, भन्नुमा अत्युक्ति लाग्दैन।

नेपाल भित्र भएका करीब १२० भन्दा बढी जाती जनजाती नेपालको साझा फुलवारी हो र यिनीहरू बीचको सहिष्णुता झनै सुन्दर पक्ष हो। हामीमा भएको विविधता हाम्रो व्यवहारमा देखिन्छ नै। हाम्रा आफ्नै संस्कृति र हाम्रा आफ्नै चलन छन्।

यिनै संस्कृति, चलन, भाषा, वेशभूषा, खानपान, बोली व्यवहारले हामी सबैलाई विश्वबाट पृथक रूपमा चिनाउँछ र यसैबाट हाम्रो परिचय समेत बनेको छ। भेटघाट हुँदा नाता गोता लगाएर बोल्ने, सन्चो विसन्चो सोध्ने, घरमा आए पछि केही नखुवाई नपठाउने, गाउँमा कसैको घरमा पाहुना हुन पुगियो भने सबैको घरमा कोशेली लगिदिने र सबै गाउँलेले पनि एक छाक खाना वा चिया नास्ता गराएर पठाउने, कसैको घरमा जाने मान्छेले त्यो घरमा जाँदा रित्तो हात नजाने केही कोसेली पात लिएर जाने, गाउँमा कसैको घरमा दु:ख आपद परेमा अन्य सबैले आर्थिक एवं भौतिक सहयोग गर्ने, कसैको निम्तोमा जाँदा केही कोशेली पात लिएर जाने जस्ता संस्कारहरू हाम्रा समुदायमा छ।

केही समुदायमा, मगर, क्षेत्री ठकुरी आदि अग्रतामा छन्। मगर समुदायमनकारी हुन्छ र दान धर्ममा विश्वास गर्छ। यो लोक मात्र हैन परलोक पनि बनाउनु पर्छ भन्ने मान्यता राख्छ। त्यसैले यो समुदाय अन्य समुदायसँग त्यति नजिक हुन चाहँदैन। किनभने यिनीहरूको सोच र व्यवहार अन्य समुदाय भन्दा केही फरक भएको पाइन्छ।

यिनीहरू आफ्नो समुदाय भित्रै रमाउन र भुल्न चाहन्छन्। यिनीहरूमा ईमान्दारिता पनि बढी नै हुन्छ। यो समुदायले आफ्ना रीति रिवाज, संस्कारहरू भित्र एकता राख्न चाहन्छ। एउटै जाती र एउटै गोत्रको व्यक्ति जुनसुकै भूगोलमा भेटिए पनि सहोदर दाजुभाई सरह मान्दछन्।

विहेवारी र लेनदेन आफूहरू भित्र वे-गोत्रीहरू (फरक गोत्र) मै गर्छन्। कतै अन्तरजातीय विवाह हुन पुग्यो भने यस्ता छोरी चेलीलाई मर्दा पर्दा सामेल गराउँदैनन्। केही जनजातीहरू आ-आफ्नो रीति, स्थिति, चाडपर्वमा गर्व गर्दै यसलाई लोप हुन नदिन नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छन्। आफ्नो भाषा र संस्कृतिलाई जीवन्त राख्न चाहन्छन्।

विश्वका जुनसुकै कुनामा रहे बसे पनि आफ्नो पहिचानलाई बिर्सेका छैनन्। वास्तवमा भन्नु पर्दा यिनीहरू आफ्नो कला र संस्कृतिमा जीवन्त संग्रहालय हुन्। कला, संस्कृतिको क्षेत्रमा यो समुदायले नेपाललाई विश्वमा चिनाउने ल्याकत राख्छ।

यी बाहेक अन्य समुदायहरू जस्तो बाहुन, क्षेत्री, दशनामीहरूको स्वभाव केही पृथक रहेको पाइन्छ। आथित्यतामा यिनीहरूले आफ्नो निकट र केही परकोलाई फरक गर्छन्। यिनीहरूमा औपचारिकता मात्रै बढी हुन्छ। यिनीहरूमा सामुहिकता त्यति पाइँदैन। छरिएर रहेको बस्तीमा बसोबास गर्ने र एउटा बस्तीमा विविध जातीहरूको बसोबास हुने भएकोले त्यति सामीप्यता पनि पाइँदैन। यिनीहरूमा एक आपसमा सरसापट चल्ने भएता पनि नि:शुल्क सहयोग गर्ने बानी हुदैन। बोलीमा मिठास त्यति हुँदैन।

पढे लेखेका, धनी, सम्पन्नहरू कम पढेका र गरीबहरूसँग सामान्य व्यवहार गर्न रूचाउँदैनन्। यिनीहरू आफूलाई माथिल्लो स्तरको ठान्छन्। संस्कृति, संस्कारलाई पनि कमैले मात्र जीवन्तता दिन्छन्। यिनीहरूबाट अतिथि देवो भव: भन्ने भनाइलाई त्यति चरीतार्थ गर्न रूची राखेको पाइँदैन। यिनीहरू आफूलाई टाठो बाठोमा दर्ज्याउन चाहन्छन्। राज्यका महत्वपूर्ण स्थानहरूमा यो समूहको पकड रहेको पाईन्छ।

त्यस्तै नेपालमा सदियौं देखि दबिएर रहेको जाती छ, जसलाई राज्यले नै दलित भनेर नाम दिएको छ। समाजमा विद्यमान जातीय व्यवस्थामा पानी सम्म नचल्ने गरी यी दलीतहरूलाई अलग्याएको अवस्था छ। समयसँगै यिनीहरू उपर गरिने व्यवहारमा क्रमश: सुधार हुँदैछ तर पनि आशातीत रूपमा समाजको सोचमा परिवर्तन भएको पाइँदैन।

यो समुदायको संस्कृति बाहुन, क्षेत्री समाजसँग मिल्छ तर उनीहरूको सांस्कृतिक कार्य र कर्म काण्डीय कार्यका लागि चाहिने जनशक्ति यो समाजसँग नहुने र कथित माथिल्लो जातीकाबाट छुवाछुतको कारण देखाई उनीहरूका त्यस्ता कर्म काण्डीय काम नगरिदिने हुँदा यिनीहरू समस्यामा परेका छन्। यही समस्याका कारण यो समुदाय क्रमश: हिन्दू सम्प्रदायबाट टाढिदै र क्रिश्चियन समुदायसँग नजिकिदै गएको पाइएको छ।

राज्यले यसरी हुने सामाजिक अपराधको उपचार कानूनी रूपबाट मात्र खोज्दैछ। तर यो उपचारको माध्यमले सकारात्मक नतिजा दिन सकेको पाइँदैन। सामाजिक अपराधलाई कम गराउन राज्यले यो वर्गको लागि आरक्षणको व्यवस्था पनि गरेको छ। तर यो व्यवस्थामा पनि त्यो वर्गका टाठाबाठाले मात्र यसको फाइदा लिई राखेको पाइन्छ।

कानूनी उपचारका लागि यो समूहको पहुँच न्यायालय सम्म पुग्न कति सहज होला? सहजै अनुमान गर्न सकिने विषय पर्‍यो। फेरि नेपालमा हाल न्यायालयको तमासा सबैले देखिरहेकै छन्। यो समुदाय र अन्य समुदाय बीचको अन्तर कम नभै रहेको अवस्थामा अब राज्यले थप कदम चाल्न जरूरी छ। यसको लागि त्यो समुदायका हरेक सदस्यलाई सबल र सक्षम बनाउन शिक्षा, स्वास्थ्य र रोजगारीको हालको व्यवस्थालाई पुनरावलोकन गरी थप सशक्त तुल्याउनु जरूरी छ।

एक पटक म बसबाट नेपालगन्ज देखि काकरभिट्टाको यात्रा तय गर्दै थिएँ, बार्हसिङ्गेमा गाडी खाना खान रोकियो, बस रोकिएको नजिकको होटलमा भिड भएकोले म अली पर भिड नभएको होटलमा पसेँ। खाना खाएर बील तिर्न गएको त अन्यत्र भन्दा आधा सस्तो बील आयो र सोधेँ किन थोरै पैसा लिनु भएको हो भन्दा जवाफ पाएँ कि यो मुस्लिमको होटल हो। यहाँ मुस्लिम मात्र खाना खान आउँछन्। खानाको बील अन्यत्र भन्दा सस्तो हुन्छ भन्ने जवाफ पाउँदा म अचम्म परेँ।

मुस्लिम समुदायमा पनि आफ्नो वर्गमा सहयोग गर्नु पर्छ भन्ने मान्यता रहेको पाइयो। यो त होटल र खानाको कुरा भयो तर यो समुदाय त झन् उदार र दानी हुन्छ आफ्नो समुदायमा। यिनीहरूको चालचलन र संस्कृति पनि अनुकरणीय छ। यसैले हाम्रो देश भूगोलका आधारमा सानो भए पनि यहाका बासिन्दाको दिल ठूलो छ। हरेक समुदायले समाज सेवालाई महत्व दिन्छ।

नेपालीहरूको सम्पर्क विश्वका करीब सबै समुदायसँग रहेको छ। उनीहरू प्रत्यक्ष वा परोक्ष रूपमा विभिन्न देशको संस्कृति, चालचलन संग परिचित छन्। विश्वलाई नै आतिथ्यता दिन सक्षम छन् नेपाली जनता । नेपालको समाज र संस्कृति विश्व बजारमा सहजै बजारमय हुन सक्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार