मंगलवार, ३ असार, २०८२

काठमाडौंमा एकैदिन पानीका ठूला तीन प्रसङ्ग

बाहिर बसेका जनताले काठमाडौं धेरै सुविधा सम्पन्न छ भन्ठान्नु गलत सावित भएको छ। महङ्गी र प्रदूषण बुझेकाहरु काठमाडौं प्रवेश गर्न रुचाउँदैनन्। काठमाडौंलाई राजनीतिक ठग, सामाजिक ठग, प्रशासनिक ठग र धार्मिक ठग लगायत तमाम ठगहरुको बाहुल्यता रहेको सहर हो भन्दा पनि फरक पर्दैन।

काठमाडौं उपत्यका खानेपानीको हिसावले असुविधा ठाउँमा गनिदैआएको छ। भूमिगत पानीको सतह घट्दैजाँदा इनार सुक्ने, बोरिङ सुक्ने समस्या झन पछि झन् बढ्दै गएको छ।

बस्ति वृद्धिका कारण नै यसो हुनगएको हो। सबैलाई काठमाडौँ नै चाहिएको जस्तो आभास पाइन्छ। वास्तवमा काठमाडौंमा धेरै असुविधाहरुमध्ये पानीको असुविधा प्रमुख हो। आज एकैदिन भएका पानीसँग सम्बन्धित तीन घटनाहरु यहाँ उल्लेख गर्ने जमर्को गरेको छु।

पहिलो प्रसङ्गः
संघीय राजधानी काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ। मंगलबार बिहानै मेलम्चीको पाइप फुट्दा थापाथली चोकदेखि पूर्वतिरको सडक केहीबेर जलमग्न बन्नपुग्यो।

पाइप फुटेर जलमग्न भएपछि सडक अबरुद्ध समेत भएको थियो। केही हप्ताअघि त्यहीँ नजिकै थापाथली–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा पनि मेलम्चीको मुख्य पाइप नै फुटेर जलमग्न हुनपुगेको थियो।

त्यहाँ नेपाल विद्युत प्राधिकरणका प्राविधिकले तार भूमिगत गर्नका लागि प्वाल खन्ने क्रममा पाइपमा क्षति पुर्‍याएका कारण त्यसो भएको थियो। जसका कारण घरघरमा र सरकारी कार्यालयहरुमा पानी पसेको थियो।

दोस्रो प्रसङ्गः
महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा विगतमा खनिएका दुईवटै बोरिङ बिग्रिएपछि पानीको अभाव भएको अस्पतालले जनाएको छ। दुबै बोरिङमध्येमा एउटा एक साता पहिला नै बिग्रेको र अर्को सोमवारदेखि बिग्रेको थियो।

पानीको अभावका कारण शौचालय छिरेका मान्छेहरु तनावमा थिए। अस्पतालमा पानीको हाहाकार भएपछि त्यहाँ सञ्चार माध्यमहरु समेत रिपोर्टिङका लागि आएका र यो लेखकले पनि देशमा व्याप्त विकृति विसंगतिका बारेमा केही सत्यत्थ्य कुरा बताएको थियो। किनकि मलाई देशमा विद्यमान बेथितिका यावत कुराहरु जानकारी छ।

मङ्गलबारै अस्पताल प्रशासनको अनुरोध बमोजिम काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दसवटा ट्याङ्करबाट पानी आपूर्ति गरि काम चलाइएको थियो।

अस्पतालमा सैयाको संख्या बढेसँगै पानीको आवश्यकता पनि बढेको बताइएको छ। अस्पतालमा दैनिक १० लाख लिटर पानी खपत हुन्छ। बोरिङको गहिराइ शुरुमा ५० फीट थियो भने पछि पानीको सतह घट्दै गएका कारण पटकपटक गहिरो बनाउँदै अहिले २६५ फिट गहिरो पारिएको छ। अझै पनि पानी आउन सकेको छैन। पर्याप्त पानी व्यवस्थापनका लागि अस्पताल क्षमतावाहिर रहेकोले सरकारको मुख ताकिएको छ।

तेस्रो प्रङ्गः
संघीय राजधानी काठमाडौँकै ललितपुरको टीकाथलीमा खानेपानीका लागि बोरिङ खन्दा आगोको ज्वाला निस्किएको छ। मंगलबार बिहान ललितपुरको टीकाथली र चांगाथली बीचको गोदावरी खोला नजिकै खानेपानी आयोजनाका लागि डिप बोरिङ खन्ने क्रममा आगो निस्किएको कुरा सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

बिहान ९:३० बजे निस्किएको आगो झन्डै साढे दुई घन्टापछि नियन्त्रणमा आएको रहेछ। २५ दिन अघिदेखि त्यहाँ डिप बोरिङ खन्ने काम भइरहेको थियो। करिब ३०० मिटर खनेपछि आगोको ज्वाला निस्केको थियो।

आगो निभाउन निकै कठिन भएको थियो। धेरैबेर पानी हाल्दा पनि आगो ननिभेपछि ग्यास निभाउने यन्त्र ल्याएर नियन्त्रणमा लिइएको थियो। त्यहाँ ६०–७० लाख रुपियाँको लागतमा खानेपानी आयोजना चलिरहेको छ। महालक्ष्मी नगरपालिका वडा नम्बर ५ शान्ति टोल आसपाससमेत गरी करिब दुई हजार घरधुरीका लागि पानी अपुग भएपछि बोरिङ गरिएको हो।

एकमहिनाअघि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा बिल बमोजिम तीनसय रुपियाँ महसुल बुझाएकोमा अहिले एकहजार रुपियाँको बिल आएको छ। पानी भने हप्तामा मुस्किलले एक दिन र त्यसमा पनि दुईघन्टाभन्दा बढी पानी दिइदैन।

ग्राहकलाई सास्ती दिने केयुकेएलको जालझेल बुझिनसक्नु छ। त्यहाँका कर्मचारीको कमजोरी हो वा व्यवस्थापनको कमजोरी हो? कहिलेकाहीँ चारहजार रुपियाँसम्मको बिल आउनेगरेको पनि छ।

सुविधा सम्पन्न ठानिने राजधानीको हालत यस्तो छ। काठमाडौं उपत्यकाका यी तीनवटै प्रसङ्गहरु एकैदिनका हुन्। अन्य दिनहरुमा के हालत होला सहजै अनुमान गर्न सकिन्छ।

बाहिर बसेका जनताले काठमाडौँ धेरै सुविधा सम्पन्न छ भन्ठान्नु गलत सावित भएको छ। महङ्गी र प्रदूषण बुझेकाहरु काठमाडौँ प्रवेश गर्न रुचाउँदैनन्। काठमाडौँ एक किसिमले भन्नुपर्दा समस्यै समस्याको गुजुल्टो हो भन्दा पनि फरक पर्दैन।

काठमाडौँ कालो धन छाप्ने जाली फटाहाहरुका लागि मात्र ठिक छ। इमानदारहरुले यहाँ धेरै हण्डर खानुपर्ने अवस्था छ। त्यसैले काठमाडौँमा बसाइ सर्नु गलत कुरा सावित हो भन्ने कुरा यो लेखकले बुझिसकेको छ।

भारतको कोलकाताको तुलनामा काठमाडौँ सहर धेरै नै अव्यवस्थित र अस्तव्यस्त छ। कोलकाताबाट मात्रै भए पनि केही कुरा सिकेमा काठमाडौँ धेरै सभ्य बन्ने निश्चित छ।

यहाँको यातायात पद्धतिका लागि नियम कानून भए तापनि यातायात व्यवसायीहरुले पद्धतिलाई पूर्ण रुपमा अंगाल्ने गरेको पाइँदैन। धुवाँको मुस्लो फ्याँक्ने गाडीहरुलाई नियन्त्रमा लिन सरकार असफल सावित भैसकेको छ।

काठमाडौँका तमाम समस्याहरु यहाँ उल्लेख गरेर साध्य छैन। काठमाडौँलाई राजनीतिक ठग, सामाजिक ठग, प्रशासनिक ठग र धार्मिक ठग लगायत तमाम ठगहरुको बाहुल्यता रहेको सहर हो भन्दा पनि फरक पर्दैन।

समग्र नेपालको प्रशासन पनि चुस्त दुरुस्त छैन। इमानदार कर्मचारीलाई दुःख दिने र भ्रष्ट अनि फटाहा कर्मचारीलाई पुरस्कृत गरिने कुराको यो लेखक भुक्तभोगी भएको कुरा मेरा कैयन लेखहरुमा उल्लेख गरिसकिएकै छ।

यसो भन्दैमा सबै कर्मचारी भ्रष्ट र फटाहा भन्न खोजेको भने होइन। नेताहरु कुर्सी र सत्तामा मात्र केन्द्रित हुँदा जनतामा निराशा छाएको पाइन्छ। मुलुक परनिर्भर अर्थात् आयातमुखी बनेको छ भने युवाहरु विदेश पलायन हुने क्रम जारी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार