एकथरी भन्छन्, “यो योजना मैले ल्याएको हो।” अर्काथरी भन्छन्, “हैन, मेरो पहलमा आएको हो!” त्यसपछि दुई पक्षबीच फेसबुकमै दोहोरी चल्छ।
समाजमा विकासको बहस चल्नु राम्रो कुरा हो। विकास हुनुपर्छ, सबैलाई समृद्धिको बाटो खुल्नु पर्छ। तर, हाम्रो देशमा विकास कस्तो भइरहेको छ? त्यो हेर्न फेसबुक खोल्नुपर्छ।
फेसबुकमा विकास हुन्छ। हो, तपाईंलाई विश्वास नलाग्न सक्छ, तर नेपालमा विकास योजनाहरू कार्यालयमा होइन, संसदमा होइन, अध्ययन प्रतिवेदनमा होइन, फेसबुकको स्टाटसमा बन्दछन्। नेताहरू योजनाका प्रस्ताव बोकेर मन्त्रालय धाउँदैनन्, बरु फेसबुकमा फोटो हाल्छन्।
हनुमाने कार्यकर्ताहरू “धन्यवाद! बधाई छ!” भन्दै कमेन्टको फुलबुट्टा भर्छन्। भर्खरै जुम्लाको विमानस्थलका लागि सामाजिक सञ्जालमा ठूलै विकास भइसकेको थियो। हिमा–३ मा तिला नदीमा बेलिब्रिज बनाउन फेसबुकमा कति छलफल भए! विकासको योजना कहिले बन्यो, कसरी बन्यो, कहाँ पुग्यो? यसको ठेगान छैन। तर, फेसबुकमा हेर्दा त काम भइसकेको जस्तो लाग्छ।
फेसबुकमा योजना आउँछ। योजना अनुमोदन हुन्छ। ठेक्का प्रक्रिया पनि फेसबुकमै टुंगिन्छ। तस्बिरहरू हेर्दा त पुल बनेर गाउँ–गाउँ जोडिएको छ, बाटाहरू कालोपत्रे भएर चम्किएका छन्, अस्पतालहरूमा विशेषज्ञ डाक्टरहरू आएर सेवा दिइरहेका छन्।
मन्त्रीजी मुस्कानसहित कागज समातेर बसेका तस्बिर, योजनाको विस्तृत विवरण नभएका पत्रहरू, “आज फलानो ठाउँमा महत्त्वपूर्ण छलफल भयो” भन्ने स्टाटस। अनि कमेन्टमा कार्यकर्ताहरूको तर्कना, “यो योजना हाम्रो माननीयकै पहलमा आएको हो!”
त्यसपछि सुरु हुन्छ विकासको श्रेय लिने होडबाजी। एकथरी भन्छन्, “यो योजना मैले ल्याएको हो।” अर्काथरी भन्छन्, “हैन, मेरो पहलमा आएको हो!” त्यसपछि दुई पक्षबीच फेसबुकमै दोहोरी चल्छ। भरखरै जुम्लाको एयरपोर्ट निर्माणमा पनि यस्तै भयो। नेताहरू मुसो र बिरालोझैं फेसबुकमा एक–अर्कालाई घोचपेच गर्न थाले। तर, एयरपोर्ट भने जस्ताको तस्तै छ।
अब यस्ता विकास विज्ञहरूलाई एक प्रश्न छ, फेसबुकमा फोटो हालेर विकास हुन्छ? भाषण गरेर विकास हुन्छ? नाराजुलुस गरेर विकास हुन्छ? यदि यति गर्नाले विकास हुन्थ्यो भने त नेपाल संसारकै विकसित राष्ट्र भइसक्थ्यो!
विकास शब्दको असली अर्थ बुझ्न सकिएको छैन। विकासको लागि योजना चाहिन्छ। स्रोतसाधन चाहिन्छ। समन्वय चाहिन्छ। जनतासँग सहकार्य चाहिन्छ। तर, यहाँ फेसबुकमा फोटो राख्नेबित्तिकै विकास भइसक्यो भन्ने भ्रम छ।
फेसबुकमा विकासको फोटो हाल्नेहरूलाई आग्रह छ, कृपया, फोटो हाल्नु अघि एक पटक आफ्नो गाउँतिर फर्केर हेर्नुहोस्।
के तपाईंको गाउँमा बिजुली छ?
के तपाईंको गाउँमा स्वास्थ्य सेवा छ?
के तपाईंको गाउँमा राम्रो शिक्षा दिने विद्यालय छ?
के तपाईंको घरमा शुद्ध खानेपानी छ?
यदि छैन भने, फेसबुकमा फोटो हालेर के गर्नुहुन्छ?
फेसबुक विकासको माध्यम हुन सक्छ, तर विकासको पर्यायवाची होइन। विकासको लागि समय लाग्छ, मिहिनेत चाहिन्छ, निरन्तरता चाहिन्छ। फेसबुकमा फोटो हालेर विकासको सपना देख्नु वा देखाउनु भन्दा काम गर्नुस्, जनताले मूल्यांकन गर्नेछन्।
अन्त्यमा, विकासको खोजी गर्नेहरूलाई सुझाव छ, फेसबुकमा फोटो हाल्ने हैसियत नभएर काम गर्नुहोस्। विकास आफैँ बोल्नेछ। अनि एक दिन जनताले नै फेसबुकमा लेख्नेछन्, “यो नेता साँचै विकासप्रेमी रहेछ!”
त्यस दिन फेसबुककै स्टाटसमा मात्रै होइन, विकाको प्रत्यक्ष अनुभव हुनेछ। हामी त्यसैका लागि कुरिरहुका छौं।