बुधबार, ४ असार, २०८२

बालबालिकाले ‘स्वास्थ्य लाभ’ गरून्, मन्त्रीज्यूले ‘आरामदायी यात्रा’ गरून्

मन्त्रीज्यूको व्याख्या रोचक छ, ‘‘म आफ्नो गृह जिल्लामा जान पनि नपाउने हो? गाडीमा जाऊँ कि हेलिकप्टरमा, त्यो मेरो व्यक्तिगत रोजाइ होइन र?’’

धुलो उडाएर मात्रै आए पनि मन्त्रीज्यू प्रमुख अतिथिको हैसियतमा गर्वले ठिंग उभिए। बालबालिकाले ‘स्वास्थ्य लाभ’ गरून्, मन्त्रीज्यूले हेलिकप्टरको ‘आरामदायी यात्रा’ गरून्!

जाजरकोटको नीलो आकाशमा जब नेपाली सेनाको हेलिकप्टर देखा पर्यो, विद्यालय चौरमा भेला भएका बालबालिका, अभिभावक र खेलाडीहरू एकाएक रोमाञ्चित भए। लाग्थ्यो, कुनै असाधारण क्षण आउन लागेको छ।

तर, त्यो क्षण रोमाञ्चकभन्दा बढी धुलाम्मे बन्न पुग्यो। हेलिकप्टर चौरनजिकै आउँदै गर्दा अचानक धुलोको आँधी उठ्यो, जसले गर्दा सबैलाई बाँच्नकै लागि भागाभाग गर्न बाध्य बनायो।

यो दृश्य कुनै युद्धभूमिको होइन, जाजरकोटको छेडागाड नगरपालिका-३ स्थित जनप्रिय माध्यमिक विद्यालयको हो, जहाँ पाँचौं मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु हुँदै थियो।

यो अद्भुत प्राकृतिक प्रकोपको उत्पत्तिका केन्द्रविन्दु थिए, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, जो विद्यालयको चौरमा हेलिकप्टर अवतरण गर्ने ध्येयले आकाशबाट झर्दै थिए।

तर, समस्या के भयो भने मन्त्रीज्यूको आगमन कुनै ‘साहसिक अवतरण’ मात्र रहेन, त्यो बालबालिकाका लागि ‘धुलीयूद्ध’ साबित भयो।

हावाको गतिलाई चुनौती दिँदै धुलोको मुस्लो यति तीव्र गतिमा बालबालिकाको दिशामा धसेको थियो कि ती निस्सासिएर भाग्न विवश भए। कतिले त मन्त्री आएर होइन, कुनै तुफान आएर उनीहरूलाई उडाउन खोजेको सम्झे।

विद्यालयका प्रधानाध्यापक जय बहादुर थापा भन्छन्, ‘‘हेलिकप्टर अवतरण गर्न खोज्दा चौरभरि यति धुलो उड्यो कि हामीले झट्ट निर्णय गर्‍यौं, मन्त्रीज्यूलाई हामी धुलोमय बनाउने कि सुरक्षित अवतरण गराउने? अन्ततः, वडा कार्यालयको आडैमा झार्ने उपाय अपनायौं।’’

छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाका अनुसार मन्त्री शाहलाई कार्यक्रमका लागि निम्त्याइयो, तर हेलिकप्टरको खर्च भने उनकै ‘निजी उदारता’ थियो।

‘‘हाम्रो पालिकाले खर्च गरेका होइनौं, मन्त्रीज्यू आफैं निजी खर्चमा हेलिकप्टर चढेर आउनु भएको रहेछ। एकैछिन धुलो उड्यो, अनि सबै ठिकठाक भयो,’’ उनले घटनालाई सामान्य पार्न खोजे।

मन्त्रीज्यूको व्याख्या झन् रोचक छ, ‘‘म आफ्नो गृह जिल्लामा जान पनि नपाउने हो? गाडीमा जाऊँ कि हेलिकप्टरमा, त्यो मेरो व्यक्तिगत रोजाइ होइन र?’’

उनले प्रश्न गरे, ‘‘समाजमा केही तत्वहरू छन्, जसलाई म हेलिकप्टर चढ्नुभन्दा धुलोमा हिँडेको मन पर्छ। तर, मैले सुर्खेतमा अर्को कार्यक्रममा पनि पुग्नुपर्ने भएकाले समय बचत गर्न हेलिकप्टर रोजें।’’

अब बालबालिका र अभिभावकलाई कसले सम्झाउने? मन्त्रीज्यूको ‘समय बचत गर्ने महान योजना’ले उनीहरूको स्वास्थ्य बचत गर्‍यो कि बिगार्‍यो?

धुलो उडाएर मात्रै आए पनि मन्त्रीज्यू प्रमुख अतिथिको हैसियतमा गर्वले ठिंग उभिए। बालबालिकाले ‘स्वास्थ्य लाभ’ गरून्, मन्त्रीज्यूले हेलिकप्टरको ‘आरामदायी यात्रा’ गरून्!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार