सोमबार, ९ भाद्र, २०८२

सामुदायिक विद्यालयको शैक्षिक स्तर कमजोर हुनुका कारणहरु

पदीय हिसाबले प्रधानाध्यापकको जिम्मेवारी पाएको भएपनि प्रधानाध्यापक एक शिक्षक नै हुन्। एक्लो प्रधानाध्यापकले विद्यालय बनाउन सक्दैनन्। धेरै समय विद्यार्थीसँग भन्दा शिक्षकसँग रहनु पर्ने भएकोले हरेक शिक्षकलाई मित्रवत् व्यवहार गर्नु प्रधानाध्यापकको कर्तव्य हो।

हाम्रो शिक्षा प्रणाली रोजगारमुखी हुन सकेन। कामदारमुखी भयो। अधिकांश युवाहरु आफ्नो गाउँ ठाउँ परिवेशका लागि भन्दा वैदेशिक रोजगारीका लागि अध्ययनमा व्यस्त छन्। सक्नेहरुले ठूला देश ताक्ने गरेका छन् भने नसक्नेहरु दुबई, कतार र मलेसिया। देश बनाउन युवा शक्ति नै चाहिन्छ। काम गर्न सक्ने युवाहरु विदेश पलायन हुने क्रम बन्द नहुँदासम्म देशले फड्को मार्न नसक्ने कुरा प्रष्ट छ। शिक्षा नीति राम्रो नहुँदासम्म राजनीति राम्रो हुन सक्दैन। राजनेता राम्रा जन्मन सक्दैनन्। रोजगारमुखी शिक्षा प्रणाली लागु गर्नका लागि समेत राजनेता हुनु जरुरी हुन्छ। युवा शक्तिलाई स्वदेशमै क्रियाशील बनाउने नीतिमा अबको राजनीति केन्द्रित हुनु पर्ने देखिन्छ।

हामीकहाँ दुई प्रकारका शिक्षण संस्थाहरु छन् संस्थागत र सामुदायिक। सामन्य रुपले भन्ने हो भने धनीहरुले पढ्ने संस्थागत वा निजी विद्यालय र गरिबहरुले पढ्ने सामुदायिक वा सरकारी विद्यालय। देशको शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धीलाई हेर्ने हो भने सरकारले लगानी गरेका विद्यालयहरुको अवस्था कमजोर मात्रै होइन नाजुक नै देखिन्छ। हर प्रयास गर्दा पनि सिकाइ उपलब्धीमा उल्लेख्य वृद्धि नहुनु सामुदायिक विद्यालयको सबैभन्दा ठूलो चुनौति बनेको छ। शैक्षिक गुणस्तरको मापन सिकाइ उपलब्धिमा आएर अडिएको छ। सिकाइ उपलब्धि वृद्धि नहुनु भनेको प्रभावकारी शिक्षण हुन नसक्नु हो। यो हिसाबले हेर्ने हो भने सामुदायिक विद्यालयहरुमा राम्रो शिक्षण हुन सकेको छैन भन्न सकिन्छ।

सामुदायिक विद्यालयहरुमा राम्रो शिक्षण हुन नसक्नुका कारणहरु खोज्नु आजको आवश्यकता बनेको छ। अधिकांश सामुदायिक विद्यालयहरु भौतिक पूर्वाधार सम्पन्न छन्। तालिम प्राप्त शिक्षकहरु छन्। सरकारी लगानी पनि पर्याप्त छ तर पनि बालबालिकाको सिकाइ उपलब्धि बढेको देखिँदैन। यो सामुदायिक विद्यालयको ठूलो चुनौतिको रुपमा देखा परेको छ। जसले सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु, प्रशासकहरु रणनीति निर्माताहरु माथि नै औँला ठड्याएको छ। हाम्रो मुलुक ग्रामीण मुलुक हो। शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार लगायतका तमामकुराहरुसँग हाम्रा ग्रामिण क्षेत्रहरु अझै पनि सङ्घर्ष गरिरहेका छन्। ग्रामिण क्षेत्रले अझै पनि गरिवीलाई पन्छाउन सकेको छैन। धेरै विद्यार्थीहरु ग्रामीण क्षेत्रका नै छन्।

सामुदायिक विद्यालयप्रति सबै समुदायको हेर्ने नजर सकारात्मक हुन सकेको छैन। सामुदायिक विद्यालयका अधिकांश अभिभावकहरु कमजोर आर्थिक क्षमताका भेटिन्छन्। खानपानका लागि नै संघर्ष गरिरहने हुनाले उनीहरुले आफ्ना बालबालिकाको शिक्षामा ध्यान दिन सकेका हुँदैनन्। अभिभावकले चासो दिन नसक्ने र स्कुलको मात्र भर पर्नुपर्ने हुनाले उनीहरुको सिकाइ उपलब्धी कमजोर हुने गरेको पाइन्छ। केही समयसम्म निजी विद्यालयमा अध्ययन गरी आएका विद्यार्थीहरुको अवस्था पनि उस्तै देखिन्छ।

ती अभिभावकले बालबालिकालाई निजी विद्यालयमा पठाउँदा विद्यालयले तोकेको शुल्क तिर्ने, पोशाक समयानुकुल बनाउने, कापी कलमको व्यवस्था गर्ने र खाजाको समेत जोहो गरी विद्यालयको गेटसम्म पुर्‍याउन जानेसम्म गरेको पाइन्छ। जबसम्म संस्थागत विद्यालयमा बाबुआमाले फि तिर्न सक्छन् तबसम्म ती बालबालिका सामुदायिक विद्यालयमा देखिँदैनन्। बालबालिका बदमास भए, तह लगाउन सकिएन वा पैसाको जोहो गर्न सकिएन भने मात्र सामुदायिक विद्यालयमा पठाउने गरिन्छ।

सामुदायिक विद्यालयमा प्रवेश गरेसँगै उनीहरुको व्यागमा न त कापी कलम हुन्छ न त मौसम अनुसारका लत्ता कपडा। बाबु आमाको चासो पनि क्रमशः कम हुँदै गएको देखिन्छ। जसले गर्दा बालबालिकाको पढाइमा उपयुक्त ध्यान पुगेको पाइँदैन। सिकाई उपलब्धी बढाउन अभिभावक, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षा नीतिको महत्वपूर्ण भूमिका रहने गर्दछ। यी तत्वहरु मध्ये एक तत्वले विद्यार्थीहरुलाई बेवास्ता गरेमा राम्रो सिकाइ उपलब्धी हासिल हुन सक्दैन।

यी सबै तत्वहरु आ आफ्नो ठाउँमा जिम्मेवार हुनु जरुरी देखिन्छ। बालबालिकाको पहिलो पाठशाला घरपरिवार हो। घर परिवारको प्रभाव बालबालिकामा पछिसम्म रहिरहन्छ। बालबालिका जुन संस्कारमा हुर्किन्छन् त्यही संस्कारको प्रभाव बालबालिकामा परेको हुन्छ। अभिभावकले आफ्ना बालबालिकामा असल संस्कारको विकास गराउन सक्नुपर्छ। यसका लागि अभिभावकहरु शिक्षित र सचेत हुनु जरुरी हुन्छ। तर हाम्रा ग्रामिण क्षेत्रहरु अझैपनि पूर्ण साक्षर बन्न सकेका छैनन्।

बालबालिकालाई विद्यालय पठाउँदैमा आफ्नो कर्तव्य पूरा भएको सम्झने अभिभावकहरुको संख्या कम छैन। बालबालिकाको सिकाइ उपलब्धी राम्रो बनाउन अभिभावकलाई सचेत बनाउनु पर्ने हुन्छ जसका लागि अभिभावक शिक्षा अनिवार्य देखिन्छ। घर परिवारले बाल मस्तिष्कलाई बुझेर असल संस्कारको विकास गराउन सकेमा मात्र बालबालिकाले विद्यालयले दिन खोजेको व्यवहारिक ज्ञान लिन सक्छन्। आफ्ना बालबालिकाको स्तर पहिचान गर्न सक्ने अभिभवक नहुँदासम्म बालबालिकाको स्तरउन्नति हुन सक्दैन। बालबलिकाका आधारभूत आवश्यकताहरु पूरा गरिदिनु अभिभावकको कर्तव्यभित्र पर्दछ।

नियमित रुपले आफ्ना बालबालिकाको रेखदेख गर्ने र आफ्न बालबालिकाको विषयमा जानकारी लिन नियमित विद्यालयमा पुग्ने गरेका अभिभावकका बालबालिकाको सिकाइ उपलब्धी तुलनात्मक रुपमा राम्रा देखिने गरेको छ।

अभिभावकलाई जिम्मेवार बनाई विद्यालयमा नियमित आउने बनाउन सकिएमा सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धी बढ्ने देखिन्छ। त्यसैले सम्बन्धित निकायले अभिभावकहरुलाई सचेत बनाउने कार्यक्रम ल्याउनु पर्ने देखिन्छ। शिक्षक शिक्षणको केन्द्रविन्दु हो। विद्यार्थीलाई दिशानिर्देश गर्ने काम शिक्षकको नै हुने गर्दछ। शिक्षकले भनेका हरेक कुरालाई विद्यार्थीले सहर्ष स्वीकार्छन्। शिक्षकले देखाउने व्यवहारको आधारमा विद्यार्थी सिकाइप्रति केन्द्रित हुने गर्दछन्। एउटा असल शिक्षक हुन त्यति सजिलो छैन। शिक्षकले बालबालिकाको मनोविज्ञान बुझन सक्नु पर्दछ। शिक्षण क्रियाकलापमा विद्यार्थीलाई सक्रिय बनाउन सक्नुपर्छ। सामुदायिक विद्यालयका कक्षाकोठामा बस्ने अधिकांश विद्यार्थीले कक्षा सञ्चालनको क्रममा सक्रिय शिक्षणमा भाग लिएका हुँदैनन्। कहिलेकाहीँ कक्षाकोठामा अन्तरक्रिया गराउँदा उनीहरुको सिकाइ क्षमता बढे जस्तो पनि लाग्छ तर वास्तविक रुपमा उनीहरुको प्राप्तांक सोचे जसरी बढेको पाइँदैन।

अपेक्षा गरेको अंक प्राप्त हुन नसक्दा शिक्षकहरु पनि दुखी भएको पाइन्छ। सिकाइ उपलब्धी वृद्धि गर्नका लागि शिक्षकले कक्षाकोठामा प्रत्येक दुई बेन्चको एकमा अलि जान्ने विद्यार्थीलाई टोली नेता बनाई समूह कार्यका लागि उत्साहित बनाउनुपर्छ। शिक्षकले म नै जान्ने हुँ नभनेर कक्षाका जान्ने विद्यार्थीको सहयोग लिएर उनै मार्फत समूहका कमजोर साथीलाई सिकाउन लगाउने, सबै विषयको गृहकार्य लेखे नलेखेको बुझ्न लगाउने गर्नुपर्छ। शिक्षकले उनीहरुका व्यक्तिगत समस्याहरु पनि बुझ्ने कोशिस गर्ने र समाधानको कोशिस गर्ने हो भने सिकाइ प्रभावकारी हुन सक्छ। विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका आ–आफ्नै समस्याहरु हुने गर्दछन्। कलेजमा पढिएका सबै विषयवस्तुहरु विद्यालय शिक्षामा पूर्ण काम लाग्ने पनि हुँदैन। सबै शिक्षकमा विषयवस्तुको पूर्ण ज्ञान पनि हुँदैन। समय परिवेश अनुकुल आफुलाई परिवर्तन गर्न नसक्नु शिक्षकको ठूलो कमजोरी हो। म जान्ने छु भनेर मनमा घमण्ड पाल्ने शिक्षकमा नयाँ कुराको खोजी गर्ने बानीको विकास पनि हुँदैन। दम्भ पाल्ने शिक्षकले कुनै पनि हालतमा बालबालिकाको मन जित्न सक्दैन। मन नपर्ने शिक्षकले पढाएको पनि बालबालिकाले चासो दिएर पढ्दैनन्। त्यसैले समय सापेक्ष नयाँ–नयाँ प्रविधिसँग परिचित भई बालबालिकाको उत्साह र चासोको ख्याल गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधि प्रयोग गर्न सके कक्षाकोठा प्रभावकारी हुन्छ।

शिक्षकको नजर सधैं मतिरै छ भन्ने भान कक्षाकोठाका सबै विद्यार्थीलाई महसुस हुने गरी चारैतिर नजर दौडाइरहनु पर्छ। अनिमात्र उनीहरु तयारी अवस्थामा रहेर सक्रिय शिक्षणमा भाग लिन्छन्। बालबालिकाको कक्षाकार्य मात्र नभएर नियमित गृहकार्य परिक्षण हुनु जरुरी हुन्छ। धेरै विद्यार्थी भएको कक्षाकोठामा छड्के कापी परीक्षण गर्नुपर्छ। बीच–बीचका रोल नम्बर भएका बालबालिकाको कापी परीक्षण गर्ने हो भने सबै विद्यार्थी चनाखो भएर गृहकार्य गर्ने गर्दछन्। सधैं–सधैं लेखिएको गृहकार्य परीक्षण नगर्ने हो भने बालबालिकाले लेख्न पनि अल्छि गर्दछन्। सधै गृहकार्य हेर्ने शिक्षकले पढाएको विषयवस्तुको गृहकार्य बालबालिकाले नियमित गर्छन्। नहेर्ने विषयको गृहकार्य विद्यार्थीले गर्दैनन् जसले गर्दा उनीहरुको सृजनशील क्षमतामा ह्रास आउँछ। विषयवस्तुप्रतिको रुचि पनि कमजोर हुँदै जान्छ। त्यसैले समय–समयमा विद्यार्थीको गृहकार्य परीक्षण गर्नुपर्छ। अनिमात्र उनीहरु विषयवस्तुमा अद्यावधिक रहन्छन्। यो विज्ञान र प्रविधिको युग हो। आजका बालबालिकालाई विज्ञान र प्रविधिसँग जोडेर अध्यापन गराउनुपर्छ। प्रविधि नजान्ने शिक्षक विषयवस्तु जानेर पनि कमजोर मानिन्छ। उनीहरुका नजरमा शिक्षक एक सिपालु, विशिष्ट र बुद्धिमान व्यक्तित्व हो। त्यसैले शिक्षकले उनीहरुलाई अध्यापन गराउँदा दृश्यात्मक शैक्षिक प्रविधिको प्रयोग गरेर अध्यापन गराउनुपर्छ।

विद्यालयको नेतृत्वले पनि शिक्षकलाई अगाडि बढ्ने बाटो निर्देशन गरिरहेको हुन्छ। विद्यालयको प्रशासनले शिक्षकलाई म सधैं सुरक्षित छु भन्ने विश्वास दिलाउन सक्नुपर्छ। कक्षाकोठामा संचालन गरिने हरेक गतिविधि विद्यालय प्रशासनसँग जोडिएको हुन्छ। प्रशासक क्षमतावान भएमा हरेक कुराको योजना ल्याउनुका साथसाथै विभिन्न नीति, नियम बनाएर विद्यालयलाई अगाडि बढाउनका लागि तल्लिन रहन्छ। शिक्षकका समस्याहरु बुझ्ने र उनीहरुलाई साथीको व्यवहार गर्ने प्रशासक भयो भने शिक्षकले आफ्ना समस्याहरु सजिलै भन्न र सुल्झाउन सक्छन्। नजानेका विषयवस्तुको बारेमा साथी समूहमा छलफल गरी निष्कर्ष निकाल्न सक्छन्। विद्यालयको प्रशासन प्रधानाध्यापकको हातमा हुन्छ। पदीय हिसाबले प्रधानाध्यापकको जिम्मेवारी पाएको भएपनि प्रधानाध्यापक एक शिक्षक नै हुन्। एक्लो प्रधानाध्यापकले विद्यालय बनाउन सक्दैनन्। धेरै समय विद्यार्थीसँग भन्दा शिक्षकसँग रहनु पर्ने भएकोले हरेक शिक्षकलाई मित्रवत् व्यवहार गर्नु प्रधानाध्यापकको कर्तव्य हो। कतिपय सामुदायिक विद्यालयको सिकाइ उपलब्धी खस्कनुमा प्रधानाध्यापकको दोष रहने गर्दछ। आफूलाई मालिक र शिक्षकलाई कामदार सम्झने प्रधानाध्यापकले विद्यालयको शैक्षिक गुणस्तर उकास्न सक्दैनन्।

विद्यालयको संरचनामा आधारभूत तह र माध्यमिक तह भनेर तोकिएको भए पनि व्यवहारमा बालविकास, प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक तहमा छुट्याइने प्रचलन यथावतै छ। पछिल्लो समय प्राथमिक वा निम्न माध्यमिक तहमा समेत स्नातकोत्तर तह पूरा गरेका शिक्षकहरुको संख्या बढेको देखिन्छ। शैक्षिक योग्यतामा समान भएर पनि तहगत रुपमा तल्लो तहमा अध्यापन गराउने शिक्षकलाई कमजोर शिक्षकको रुपमा आंकलन गरी त्यसै अनुसारको व्यवहार गर्ने प्रधानाध्यापकको संख्या पनि धेरै रहेको सुनिँदै आएको छ। यस्ता प्रधानाध्यापक रहेका विद्यालयका शिक्षकहरु प्रधानाध्यापकप्रति सकारात्मक र उत्तरदायी हुन सक्दैनन्। प्रधानाध्यापकसँगको व्यवहारका कारण कक्षामा जुन किसिमले सिकाइ क्रियाकलाप संचालन गर्नुपर्ने हो सो हुन सक्दैन। विद्यालयमा रहेका सबै शिक्षकलाई पद र शक्तिको आधारमा नभई समान व्यवहार गर्न सकेमा मात्र उनीहरु प्रशन्न हुन्छन्। प्रशन्नताले सधै सकारात्मक उर्जा प्राप्त गराउँछ र शिक्षकहरु जिम्मेवार बन्न सफल हुन्छन् जसले गर्दा बालबालिकाको सिकाइउपलब्धि बढ्न सहयोग पुग्छ।

एउटा योग्य प्रधानाध्यापकले शिक्षकको तह र उसको राजनैतिक खेमा नहेरी उसको योग्यता र क्षमताअनुसार व्यवहार गर्न सकेमा शिक्षण प्रभावकारी हुन सक्दछ। सबैको कुरा सुन्ने र शिक्षकहरुको सल्लाह, सुझावका आधारमा अगाडि बढेका विद्यालयहरुले नै प्रगति गरेको देखिएको छ। विद्यालय सुधार्नका लागि विद्यालय व्यवस्थापन समितिको पनि ठूलो हात रहन्छ। विद्यालयको भौतिक व्यवस्थापनदेखि समग्र वातावरण मिलाउने जिम्मा समितिको हातमा हुन्छ। विद्यालय समुदायको हो। तिनै समुदायका बालबालिका नै विद्यालयका विद्यार्थी भएकोले पनि विद्यालय व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण रहन्छ। सरकार, स्थानीय तह र संघ संस्थासँग समन्वय गर्ने, शिक्षकलाई उपयुक्त वातावरण तयार गरिदिनेदेखि विद्यालयका महत्वपूर्ण निर्णय लिने समिति भएकोले विद्यालयलाई राजनीति गर्ने थलो नबनाएर समाजसेवाको भावनाको विकास गर्नु पर्ने हुन्छ।

कतिपय विद्यालयहरु निजीस्तरका शिक्षकहरुबाट सञ्चालित छन्। शिक्षक स्थायी होस् वा अस्थायी, राहत होस् वा सट्टा, जुनसुकै तह र वर्गको भएपनि शिक्षक नै हो। यो वा त्यो शिक्षकको नाममा विद्यालय व्यवस्थापन समितिले पक्षपातपूर्ण व्यवहार गर्नु हुँदैन। सौतेनी व्यवहार गर्नु हुँदैन। विद्यालय व्यवस्थापन समितिले विद्यालयमा प्रदान गरिने छात्रवृत्ति अति विपन्न, गरिबका लागि पनि छुट्याउनु पर्ने हुन्छ। खानपानका लागि जोहो गर्न नसक्ने बालबालिकाका लागि विद्यालयमा एउटा समिति बनाई कोष खडा गर्न सकिन्छ। यस कोषमा जम्मा गरिएको रकमबाट आपत्कालिन स्थितिमा गरिबीका कारण विद्यालय छोड्नु पर्ने बालबालिकालाई टिकाई राख्न सकिन्छ। अभिभावकमा विद्यालयप्रति सकारात्मक सन्देश दिन सकेमा विद्यालयले प्रगति गर्न सक्छ। लगानीको हिसावले सरकारले शिक्षामा प्रसस्त लगानी गरेको छ। लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसकेकोप्रति धेरैको चिन्ता र चासो बढेको छ।

नेपाली समाज, यहाँको भू–बनोट र नेपालीको चेतनास्तर नहेरी विदेशी शिक्षा नीतिको सिको गर्ने संस्कारले सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी जस्तै भएको छ। शिक्षा नीति समय सापेक्ष र वस्तुस्थिति अनुसार परिवर्तन हुन नसक्नु अर्को ठूलो समस्या हो। शिक्षामा स्पष्ट नीति हुनु जरुरी छ। विद्यालयलाई स्वतन्त्र निर्णय गर्ने अधिकार दिइएको छैन। कामको आधारमा पुरस्कार र दण्डलाई व्यवस्थित गर्न सकेको देखिँदैन। शिक्षकलाई निजामति कर्मचारीभन्दा तल्लो दर्जाको कर्मचारीको रुपमा हेरिनु दुखद् छ। सरुवा र बढुवामा स्पष्टता छैन यी र यस्तै कमि–कमजोरीले शिक्षाले फड्को मार्न सकेको छैन। विद्यार्थी र अभिभावकले शिक्षकलाई दोष दिइरहेका हुन्छन्। शिक्षकले विद्यार्थी, अभिभावक र मन्त्रालयलाई दोष दिइरहेको देखिन्छ। यता मन्त्रालयले मातहतका निकाय, कर्मचारी र शिक्षकहरु इमान्दार नभएको गुनासो गरिरहेको हुन्छ। एकले अर्काको राम्रो पक्ष भन्दा कमि–कमजोरी खोज्न र त्यसैको व्याख्या विश्लेषण गर्नमै समय वर्वाद गरिरहेको देखिन्छ।

अरुको दोष मात्रै खोज्ने हाम्रो संस्कार बन्दै गएको छ। अरुमाथि औंला उठाउनेले एक चोटी आफुलाई हेर्ने र कमजोरी लुकाउने भन्दा स्वीकार्ने बानीमा विकास गर्ने हो भने धेरैजसो समस्याहरु आफै समाधान हुन्छन्। दोषहरु अरुलाई नथुपारी आफ्नो कर्तव्यलाई ख्याल गर्ने संस्कारको विकास गरेमा सामुदायिक विद्यालयको प्रगति हुन सक्छ। अतः सामुदायिक विद्यालयको सिकाइ उपलब्धि बढाई शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षा नीति लगायत सम्पूर्ण सरोकारवाला सबै आ–आफ्नो ठाउँमा जिम्मेवार हुनु जरुरी छ।

(लेखक श्री गङ्गा माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार