शनिबार, २८ चैत्र, २०८२

ईनिसा, कर्णाली र छोरी बचाउनेहरु

कर्णालीका साना साना छोरीहरुले आफ्नी दिदी साथी र बहिनीको न्याय प्राप्तिको लडाइँमा निरन्तर आवाज उठाइरहे । यी दलित छोरिहरुका शक्तिशाली आवाजले जिल्ला अदालतका बोधा पर्खालहरुमा, निर्लज्ज सडकहरुमा व्याधा जस्ता सिकार ढुकिरहेका पुलिसहरुका निर्दयी बुटहरुलाई धिकारिरहे, हिर्काइरहे र गिज्याइरहे ।

समाज अनेकौ वर्गमा विभक्त छ । त्यसैले समाजका अवयवहरु पनि स्वतह विभिन्न वर्गमा विभाजित हुने नै भए । जस्तो कुनै एउटा ढुंगा गरिबका लागि धनीको महल बनाउन बोकेर पेट पाल्ने जुक्ति बन्न सक्छ, त्यहि ढुंगा कुनै पुजारीको लागि भेटि संकलनको माध्यम बन्छ भने कुनै धनि व्यक्तिको लागि महल खडा गर्ने शिला बनिदिन्छ । हाम्रो जस्तो ऐतिहासिक असमान सामाजिक, सांस्कृतिक सम्बन्धबाट ग्रसित समाजमा छोरी हुनु पनि फरक फरक वर्ग,जाति र धार्मीक समुदाय अनुसार फरक हुने नै भयो ।

धनि र कथित उच्च जातीय आईस्यो, गैस्योवाला मुईयाँहरु र लास भएर असस्पतालको मुर्दाघरमा सड्दा समेत राज्यको व्यवास्थासँगै राज्यका प्रशासनिक निकायहरु, सामाजिक तथा र राजनैतिक दाउपेचको सिकार भइरहेका दलित छोरीहरु बीच संविधानको व्याख्यामा मात्रै समानता देखिन्छ । सायद त्यसैको परणाम होला अनेकौं सामाजिक लान्छाना, घुँसपैठ र दाउपेचहरु सहदै ईनिसा विकले अस्पतालको मुर्दाघरमा महिनौ सम्म साधेको मौनता ।

लाग्छ उनी मरेकी थिइनन् । केवल क्रुर जात व्यवस्थाका कारण बलात्कार पछि हत्या गरिएका, देखिएका वा लुकाइएका हाम्रा सयौं छोरीहरुको न्याय प्राप्तिको लागि मौन धर्ना कसिरहेकी थिइन् । उनी स्वयम् एक शक्तिशालि प्रतिरोधको प्रतिक थिइन् । आज हामीमाझ ईनिसा छैनन् तर उनको हत्या प्रकरण माथिको एक अस्पष्ट अदालती आदेश छ । जसबाट पीडित परिवारमा शान्तिको साटो गम्भीर रनभुल्लता छाएको छ ।

घटनाको पोष्टमार्टम रिपोर्ट देखि अदालती आदेश माथि परिवारका अनेक आशंका र प्रश्नहरु छन् । तिनीहरुको उत्तर कसैले दिनुको साटो बरु घटनालाई तोडमोड पार्ने, घटनाको वास्तविकतालाई बंग्याउने, पीडितलाई लोभ, डर, धम्की र दवाव दिने काममा दिन प्रतिदिन उल्लाहसमय प्रगति भैइरहेका छन् ।

कथित छोरी बचाउने गगन चुम्बी नारा घन्काउनेहरुले नै त्यस्ता कु कृत्यको नेतृत्व गरिरहेको छर्लंगै देखिन्छ । नेपाली राजनीतिक इतिहासमा जेनजी आन्दोलनको ठूलो स्थान रहनेछ । त्यहि आन्दोलनबाट स्थापित अन्तरिम सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेको ठिक दुई दिन पछि अथवा फागुन २३ गते (अन्तराष्ट्रिय नारी दिवशको मात्र १ दिन पहिले) उषा बाल वाटिका विद्यालय सुर्खेतमा कक्षा ११ मा अध्ययनरत १६ वर्षिया ईनिसा विकको सामुहिक बलात्कार पछि हत्या भएको थियो । त्यसको केहि घन्टापछिको मत गणनाको परिणामले रास्वपाको दुई तिहाई नजिकको सरकार बन्यो । केहि घण्टा नकुरिकनै उनीहरुले सरकार पनि गठन गरिहाले ।

संयोगवस् दलितका लागि दलित अभियानका नेता खगेन्द्र सुनार बाँके जिल्लाबाट सांसद बने । ईनिसा मारिएको निर्वाचन क्षेत्रबाट कर्णाली प्रदेशकै एक मात्र रास्वपाका उम्मेद्धार विजयी भए । त्यतिमात्र होइन रास्वपाले सबै भन्दा पिछडिएको दलित जातीको नाममा सिता वादीलाई मन्त्री पनि बनायो । हालकि महिला बालबालिका तथा जेष्ठ नागकि मन्त्री सिता स्वयम पनि सुर्खेतकै हुँदा पनि दलितका लागि के काम ?

उनका गट फादर रवि लामिछानेले उनीहरुका मुखमा राईट टु रिकलको विधाने ताल्चा पहिले नै ठोकि सके । ईनिसाको लास दशौं दिनसम्म अस्पतालको मुर्दाघरमा सडिरहँदा काठमाडौंमा ईनिसा विकको न्यायको लागि भन्दै शान्तिपूर्ण नारा जुलुसहरु गरिए । सुर्खेतमा ईनिसा विक पढ्ने विद्यालयका उनका साथीहरुले विद्यालय पोशाकमै हत्याको विरोधमा शान्तिपूर्ण र्‍यालि निकाले । ईनिसाका नातेदार र केही अधिकार कर्मीहरुले पनि सानातिना बिरोधका कार्यक्रमहरु चलाइरहे पनि यहाँका मिडियाकर्मी, प्रहरी प्रशासन, विशेष गरि प्रदेशका जिम्मेवार राजनैतिक तथा प्रशासनिक व्यक्तिहरु भने हत्याका प्रमाणहरु नस्ट पार्ने कार्यमा अहोरात्र खटिरहे । छोरीको हत्याको शोक, हत्याराहरु र हत्याका मतियारहरुको दवावले पीडित परिवारमा एक प्रकारको नैरास्यता छाउनु स्वभाविकै थियो ।

केही दिन पछि परिस्थिति लगभग गुपचुप बनिकसेको थियो । घटनाको २१ दिन पछि दलित विद्यार्थी अभियन्ता रंजना कामी र अभियन्ता जय नारी ईनिसाको न्यायको लागि सुर्खेत आईपुगेपछि एकाएक न्यायको माग गर्दै सुर्खेतको सडक फेरि तात्न सुरु भयो । हत्याका मतियारहरुले तिनै अधिकारकर्मीहरुलाई पैसा खान र भाईरल हुन आएका भनेर दलित समुदायभित्रै अफवाह फैलाएर दलित आन्दोलनकारीहरुको एकता र मनोबल गिराउन हर प्रयत्न समेत गर्नुका साथै अभियन्ताद्धय कामी र जय नारीलाई आन्दोलन स्थलमै आई ज्यान मार्ने प्रयत्न समेत नगरेका होइनन् ।

त्यति हुँदा हुँदै पनि कर्णालीका साना साना छोरीहरुले आफ्नी दिदी साथी र बहिनीको न्याय प्राप्तिको लडाइँमा निरन्तर आवाज उठाइरहे । यी दलित छोरिहरुका शक्तिशाली आवाजले जिल्ला अदालतका बोधा पर्खालहरुमा, निर्लज्ज सडकहरुमा व्याधा जस्ता सिकार ढुकिरहेका पुलिसहरुका निर्दयी बुटहरुलाई धिकारिरहे, हिर्काइरहे र गिज्याइरहे । यो त भयो ईनिसा विकको बर्बर हत्या र न्याय प्राप्तिको प्रयासको कथा । अव आउनुस् ईनिसा विकको यहि बर्बर हत्याको कसिमा कर्णालीको लाज हेरौं ।

मिडिया : जातीवाद र नातावाद
पत्रकारिता(मिडिया) लाई राज्यको चौथो अंग भनिनुको मुख्य कारण यसले राज्यका तिन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको काम माथी निनरानि राख्ने गर्दछ । तर कर्णालीमा प्राय मिडिया राजनैतिक हिसाबले शक्तिशालि व्यक्तिहरु र आफ्ना नातेदारहरुलाई भ्रष्टाचार, बलात्कार, हत्या र आतंक जस्ता घटनाहरुबाट उम्काउन व्यापक प्रयोग भइरहेको छरपस्ट देखिन्छ ।

ईनिसा हत्या प्रकरणमा त यो प्रवृति झन् धेरै हावि भएर आयो । परम्परागत रुपमा नेताहरुका जिउ हजुरी वा नेताहरुलाई थर्काएर पेट पालिरहेका कतिपय मिडियाकर्मीहरुलाई मिडियाको धर्म आवाज बहिनीहरुको आवाज बन्नु हो भन्ने थाहा नै छैन । केहि कथित आफूलाई अरु भन्दा भिन्न सोच्ने मिडियाकर्मीहरुले सामुहिक बलात्कार पछि भएको बर्बर हत्यामा समेत एकाएक टाउको लुकाए, आँखा कान बन्द गरे र मुखमा पानि हाले । त्यसको एक मात्र कारण थियो ईनिसा दलितकी छोरी थिइन् । उनिहरुलाई दलित किशोरीहरुको यस्तो हत्याले छुँदैन । किनकि एक त प्राय हत्याराहरु उनिहरुकै जाति वा नाताका हुन्छन् ।

कदाचित नातेदार नै नभए पनि उनीहरुलाई यस्तो विषयमा बोल्नलाई मृतक वा पीडित कम्तीमा उनकै जातीकी महिला वा किशोरी हुनुपर्छ । यो प्रकरणमा केहि यस्ता प्रोएक्टिभ मिडिया कर्मीहरु पनि देखिए जो हत्याराहरुलाई बचाउन आफै प्रहरीलाई ठिक वकिल कार्यालयलाई बेठिक, अदालतको न्याय निरुपणको प्रकृयालाई नै प्रभाव पार्ने गरि ती बालकलाई थुन्ने प्रमाण पुुगेन आदि ईत्यादि जस्ता शिर्षक समेत बनाउन भ्याए ।

उनीहरुका समाचारमा समाचार कम बचाउन नसकेको असन्तुष्टि बढि देखिन्छ । त्यति मात्र होइन उनीहरु भाडाको भिडलाई न्यायप्रेमिहरुको शान्तिपूर्ण सभासंग तुलना गर्न खोज्छन् । उनीहरुको त्यस्तो प्रयासको चाहना रहन्छ पीडकहरुको भुस तिघ्रे भिड देखि न्यायका पक्षधरहरु डराएर मैदान छोडुन् । सबै भन्दा लाजको कुरा त के छ भने त्यस्ता मिडिया कर्मीहरु र भिड्याहरुहरु दुवै महिलाहरु नै हुन्छन् र तिनैले आफ्ना बलात्कारी छोराहरुलाई रिहाई गर भनेर घाँटि चुडिनेगरि नारा लगाउँछन् । पतृसत्ताका यस्ता पुलिन्दाहरुकै कारण दलित महिलाले पाउने न्याय दिन प्रतिदिन आकाशको फल आँखा तरि मर भैरहेको देखिन्छ ।

प्रहरी : नकाव बाहिर र भित्र
नेपाल प्रहरी शुसासन र सत्य निरुपणको शिलशिलामा कहिले पनि प्रष्ट भएको इतिहास देखिँदैन । या त्यो निर्मला पन्त घटनाको प्रमाण नष्ट पार्नमा होस् वा ईनिसाको घटनामा सीआई बी को रिपोर्ट लुकाएर आफूले तयार पारेको बदनियतपूर्ण प्रतिवेदनलाई सही ठहराउन सरकारी वकिल कार्यालयलाई दोषारोपण गर्दा होस् यसको नियत बुझ्न केहि पनि समय लाग्दैन ।

ईनिसा हत्या प्रकरणमा पनि उसले आफ्नो क्षेत्राधिकारलाई नाघेर न्यायलयलाई न्याय निरुपणको सिप सिकाएको देखियो । न्याय निरुपणको मुख्य हकदार सरकारी वकिल कार्यालय र स्वयम् अदालत भएकोले उसलाई न्याय निरुपणका सबै गतिविधीहरुमा सार्वभौम राख्नु पर्दछ भन्ने अन्तराष्ट्रिया मान्यता रहँदै आएको छ । यो प्रतिवेदन ठिक यो बेठिक, यो चलाउ यो नचलाउ भन्ने अधिकार नेपालको संविधानले प्रहरीलाई दिएको छैन ।

यदि प्रहरीले जानाजान वा अन्जानबस त्यस्तो कार्य गरेको पाइए, यसमा प्रहरीको कुनै इच्छा लुकेको प्रष्ट हुन आउँछ । त्यसैले ईनिसा हत्या प्रकरणमा पनि प्रहरिको भुमिकालाई कुनै पनि हालतमा शुद्ध मान्न सकिँदैन ।

शुसासन : नारा र व्यवहार
कर्णाली प्रदेशमा अधिकारमा आधारित गैरसरकारी संस्थाहरुको जातिगत नेतृत्वको तथ्यांक हेर्दा गैरसरकारी संस्थाहरुको नेतृत्वमा करिब ४० देखि ५० प्रतिशत खस आर्य हुँदा प्रदेशको झण्डै २९ प्रतिशत ओगटेको दलित समुदायको नेतृत्वमा जम्मा १५ देखि २० प्रतिशत मात्र गैससहरु संचालित छन् ।

यहाँका केहि गैरदलित नेतृत्वका गैससहरुमा केवल समावेशीताको चित्र देखाउनकै लागि र कोरम पुराउनकै लागि भए पनि कार्यसमितिको कुनै निष्क्रिय पदहरुमा कुनै दलित व्यक्तिलाई भर्ना त गर्छन् तर त्यो व्यक्तिको हैसियत सामन्ती युगको हलिको भन्दा मुनिको हुन्छ । उसले संस्थाको खातापाता, नीति निर्माण र कर्मचारी भर्नामा कुनै प्रभाव पार्न सक्दैन ।

न्याय, स्वतन्त्रता, समानता र सुशासनको प्रवर्दनका लागि भनेर खोलिएका तिनका गैससका सुशासनका डलरे ठेक्का र उनीहरुका प्रयत्नहरुले प्रत्येक दिन दलितहरुमाथि हुने विभेद, हत्या, हिसांलाई बढावा दिनमै भूमिका खेलिरहेका हुन्छन् । ईनिसा विक हत्या प्रकरणमा गैससहरुको समर्थनको दरलाई हेर्दा यो नक्सा झन् भयाभह देखिन्छ । किशोरी शिक्षा, किशोरी संरक्षण, दलित तथा गरिब महिलाहरुको जिविकोपार्जन सुधार, महिला तथा किशोरि अधिकार, लैंगिक, यौन तथा घरेलु हिंसाको न्युनिकरण आदि क्षेत्रमा काम गर्ने भनेर सुर्खेतका भयंकर महलहरुमा सुविधा सम्पन्न हिसाबले खोलिएका तिनका शाखा कार्यालयहरु प्रदेशका हरेक जिल्लामा छ्याप्छ्याप्ती पाइन्छन् ।

सुविधा सम्पन्न एसी रुम भित्र न्यायको बान्ता वाक्ने बानी परेका तिनीहरुका लागि सडकमा त्यो पनि दलित महिलाको लागि न्यायको भिख माग्ने विषय नै विषय नै ठानिदैनन् । बरु उनिहरुका लागि दलित महिलाहरु यो सुन्दर धर्तिमा खुसिसाथ बाँच्न अयोग्य र विदेशीलाई बेच्ने फोटो र विदेशीको चित्त बुझाउने रिपोर्टका डाटा बन्न मात्रै योग्य ठानिन्छन् ।

कर्णालीको विकासे बजारमा आजभोली शुसासन र पारदर्शिता नामको अपारदर्शि ठेक्का भाइरल भइरहेको छ । कसैले न्याय र लोकतन्त्र भन्छन्, कसैले छोरी, कसैले दलित यो वा त्यो भनेरै उनीहरुले भएभरको सरकारी वा गैर सरकारी लाभ आफ्नै जातिको पोल्टोमा खन्याइरहेछन् जसोतसो । न्याय, समावेशिता, समानता आदीका नाममा हुने यस्ता कोठे बैठकहरुमा जति धेरै वाक्क लाग्ने भाषण गरे पनि मानिसलाई हेर्ने उनीहरुको दृष्टिकोण भने ढुंगेकै रहेको छ । हिन्दु जात व्यवस्थामा जस्तै यस्ता ठेक्काहरुमा केवल तल झर्नलाई मात्र बाटो हुन्छ माथि उक्लीनलाई होइन ।

यस्ता ठेक्काहरुले दलित महिलाहरुलाई न त जीवन सुरक्षामा सघाउँछन् न जिविकोपार्जन मै । उनीहरुको नेतृत्वमा न्यायिक अभियानको सुरुवाती त परै जाओस् । प्राय त्यस्ता गैससका मालिकहरु कथित गैरदलित समुदायबाटै रहने र उनीहरुको नाता गोताबाटै प्राय दलित महिलाहरुमाथि उत्पीडन हुँदै आएको कयौं दृष्टान्त हाम्रा सामु हाजिर छन् । त्यसैले यस्ता घटनाहरुमा कि त उनीहरु मौन रहन्छन्, कि बहाना बनाउँछन् कि त उत्पीडनका मतियार बनिरहेको छताछुल्ल देखिन्छ ।

जेन जेड : न्याय खोई ?
आजको दक्षिण एसियाली समाजमा जेन जेड उमेर समूह परिवर्तनको मुख्य संवाहक बनेको देखिन्छ । अहिले जेन जेड उमेर समूह देखि विश्व शक्ति समेत थर्कमान भएको छ । त्यसकै विश्व प्रभाव स्वरुप कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि गएको भदौमा जेन जेडहरुको सक्रियतामा केहि घण्टा सडक संघर्ष भएको देखियो । विश्वमा भएका जेनजेड आन्दोलनहरुलाई अध्ययन गर्दा उनीहरुमा सामाजिक, सांस्कृतिक राजनैतिक र आर्थिक रुपान्तणको कोरा चाहना मात्र छैन परिवर्तनको वौद्धिकी पनि मिसिईएको देखियो ।

तर जब त्यहि जेनजेडको अवधारणा कर्णालीमा आयो त्यो पनि कता कता रुढिवादी, नातावादी र पश्चगामि देखियो । विश्वमा भएको जेनजेड आन्दोलन पछि त्यो उमेर समुहबाट रुढिवाद, नातावाद पश्चगामी धार्मिक अन्धता कता कता हराएको पनि देख्न सकिन्छ । तर कर्णालीका जेन जेडहरुले लगाएको आगोमा उनिहरुले आफ्नो जातिय अहंकार, रुडिवाद र अन्ध विस्वास, नातावाद जलाउन सकेनन् ।

त्यसैले उनिहरुमा सामाजिक न्यायको विश्व चेतनाको बिजारोपण पनि हुनै सकेन । यो पंतिकारलाई लागेको थियो भ्रष्टाचारका विरुद्ध क्रुर प्रहरी दमनका अघि प्राणको आहुति दिन तयार हाम्रो जेन जेडले कर्णालीमा भएका छुवाछुत, छाउपडि प्रथा, जातीय तथा लैंगिक हिंसा र हत्या र अनेक सांस्कृतिक कुशासनका विरुद्ध पनि जाई लाग्नेछ । तर अहं हालैको घटनामा दुखदबस् त्यस्तो कतै देख्न पाइएन । आज हाम्रो जेन जेड जातीय रसातलमा चुर्लुम्म डुबेको छ । उसलाई लागेको हुनु पर्छ मैले राम्रो जागरी पाइँ मैले राम्रो लगाउन तथा मिठो खान पाईन तर उसले यो पनि जान्नु पर्छ कि यहाँ कोहि अस्पतालको मुर्दा घरमा समेत शान्तिपूर्वक बस्न पाएको छैन ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार