जुम्ला जिल्लामा पनि देखिएको छ, जहाँ खोलाहरूमा जथाभावी फोहोर फालिँदा वातावरणीय प्रदूषण बढ्दै गएको छ। विश्व स्तरमा पनि फोहोर व्यवस्थापन गम्भीर चुनौतीका रूपमा रहेको छ।
नेपालमा फोहोर व्यवस्थापन अझै पनि चुनौतीपूर्ण अवस्थामा रहेको देखिन्छ, विशेषगरी शहरी तथा दुर्गम क्षेत्रहरूमा। फोहोर भन्नाले मानिसले प्रयोग गरिसकेपछि काम नलाग्ने वा फालिने वस्तुहरूलाई जनाइन्छ, जसले वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
फोहोर मुख्यतः जैविक र अजैविक गरी दुई प्रकारका हुन्छन्। जैविक फोहोरमा खाना, पातपतिङ्गर र गोबर जस्ता सजिलै सड्ने वस्तु पर्छन् भने अजैविक फोहोरमा प्लास्टिक, सिसा र धातु जस्ता ननसड्ने वस्तुहरू समावेश हुन्छन्।
साथै, स्रोतका आधारमा घरायसी, औद्योगिक, अस्पताल तथा कृषि फोहोर र जोखिमका आधारमा खतरनाक तथा सामान्य फोहोरमा वर्गीकरण गरिन्छ। विशेषगरी काठमाडौँ उपत्यका जस्ता घना बस्ती भएका क्षेत्रमा दैनिक ठूलो परिमाणमा फोहोर उत्पादन हुने गरेको छ।
तर स्रोतमै फोहोर छुट्याउने बानीको कमी, पर्याप्त ल्याण्डफिल साइटको अभाव र खोलानाला तथा नदीमा फोहोर फाल्ने प्रवृत्तिका कारण समस्या झन् जटिल बन्दै गएको छ। बागमती नदीमा फोहोर फालिने क्रम अझै रोकिएको छैन, जसले पानी प्रदूषणलाई बढावा दिएको छ।
यस्तै समस्या कर्णाली प्रदेशको जुम्ला जिल्लामा पनि देखिएको छ, जहाँ खोलाहरूमा जथाभावी फोहोर फालिँदा वातावरणीय प्रदूषण बढ्दै गएको छ। विश्व स्तरमा पनि फोहोर व्यवस्थापन गम्भीर चुनौतीका रूपमा रहेको छ।
विशेषगरी प्लास्टिकजन्य फोहोरका कारण समुद्री जीवन र पारिस्थितिकी प्रणालीमा नकारात्मक असर परेको छ। समुद्रमा जम्मा भएको विशाल प्लास्टिकको थुप्रो ‘ग्रेट प्यासिफिक गार्बेज प्याच’ यसको ज्वलन्त उदाहरण मानिन्छ।
यसले प्लास्टिक प्रदूषणको भयावह अवस्था उजागर गर्दछ। फोहोर व्यवस्थापन र जलवायु परिवर्तनबीच पनि गहिरो सम्बन्ध रहेको छ। जैविक फोहोर सड्दा मिथेन ग्यास उत्पादन हुन्छ, जसले हरितगृह प्रभावलाई तीव्र बनाउँछ।
त्यसैगरी प्लास्टिक र अन्य अजैविक फोहोर जलाउँदा कार्बन डाइअक्साइड लगायतका हानिकारक ग्यास उत्सर्जन हुन्छन्, जसले जलवायु परिवर्तनलाई थप बढावा दिन्छ। यसैले फोहोरको उचित व्यवस्थापन नगर्दा वातावरणीय संकट झन् गम्भीर बन्दै जाने देखिन्छ।
जुम्लामा विशेषगरी खोलामा फोहोर फाल्ने समस्या समाधान गर्न समुदाय, स्थानीय सरकार र व्यक्तिगत स्तरमा संयुक्त प्रयास आवश्यक देखिएको छ। घरमै फोहोर छुट्याउने, जैविक फोहोरबाट कम्पोस्ट मल बनाउने, खोलाको किनारमा डस्टबिन राख्ने र “खोलामा फोहोर फाल्न निषेध” भन्ने सन्देश प्रवाह गर्ने जस्ता उपाय प्रभावकारी हुन सक्छन्।
साथै, टोल–टोलमा फोहोर संकलन केन्द्र स्थापना गरी नियमित संकलन प्रणाली विकास गर्नुपर्ने आवश्यकता देखिन्छ। यसैगरी प्लास्टिक, कागज र बोतल जस्ता वस्तुहरू पुनः प्रयोग तथा पुनः प्रशोधन (रिसाइकल) गर्न प्रोत्साहन गर्नुपर्नेछ।
विद्यालय, आमा समूह र स्थानीय समुदायमार्फत जनचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै महिनामा एक दिन सामूहिक सरसफाइ अभियान सञ्चालन गर्न सकिन्छ। स्थानीय तहले सानो स्तरका ल्याण्डफिल साइट तथा कम्पोस्ट केन्द्र स्थापना गर्नुपर्ने र कानुनी रूपमा कडाइका साथ नियम लागू गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
हाल जुम्लामा समुदायबाट निस्कने फोहोर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट निस्कने अस्पतालजन्य फोहोर पनि प्रदूषणको प्रमुख स्रोत बनेको छ। यसको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारकै रहेको छ।
संविधानले प्रत्येक नागरिकलाई स्वच्छ पानी, सफा हावा र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। त्यसैले “घरमै फोहोर छुट्याउने, समुदायले संकलन गर्ने र खोलामा फाल्न रोक्ने” अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके दिगो समाधान सम्भव हुने देखिन्छ।















