बुधबार, २१ माघ, २०८२

मन्त्रीसँगका चार घण्टा

सधैजसो तराईका विजय गच्छदार, उपेन्द्र यादव, प्रकाशमान सिंहजस्ता शक्तिशाली नेताहरूको रोजाइमा पर्ने भौतिक पूर्वाधार मन्त्रालय सम्भवतः साविकको कर्णाली अञ्चलबाट कसैले कहिल्यै पाएको थिएन।

महेश नेपाली, उहाँ मेरो मिल्ने साथी हुनुहुन्छ। जुम्लामा बसेर कुटीरो डटकम मार्फत कलम चलाउनु हुन्छ। मैले धेरैपछि उहाँ काठमाडौं आएको खबर पाएँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटर महेशजी सिनेट बैठकमा आउनु भएको रहेछ।

हामीले फोनमा कुरा गरेर माघ १० गते भेट्ने निधो गरेका थियौँ। म नेपाल डेन्टल एसोसिएसन(एनडीए)मा आबद्ध भएदेखि महेशजीहरूले सञ्चालन गरेको अनलाइनमा हाम्रो एनडीएका समाचारहरू निरन्तर आइरहेका हुन्छन्। शनिबारको दिन एनडीएको कार्यक्रम थियो, हामीले महेशजीलाई पनि उक्त कार्यक्रममा बोलाएका थियौँ।

त्यो दिन बेलुकातिर महेशजीले माननीय भौतिक पूर्वाधार तथा यातायात एवम् वन तथा वातावरण मन्त्री माननीय माधव चौलागाईंज्यूलाई भेट्ने योजना बनाउनु भएको रहेछ। उहाँले मलाई पनि समय मिल्ने भए ‘जाउँ न त’ भन्नु भयो। कार्यक्रमपश्चात् दुबैजना मन्त्रीज्यू भेट्न निस्कियौँ।

मन्त्रीज्यूसँग मेरो केही समयअघि सिंहदरबारमै भेट भएको थियो। तर त्यो दिन मन्त्रालयमा भीडभाड थियो, खुलेर बस्ने र मनको कुरा गर्ने फुर्सद मिलेन। मन्त्रीज्यूलाई भेटेको बेलुका मैले एउटा ट्विट गरेको थिएँ, ‘आज जीवनमा पहिलो पटक सिंहदरबार प्रवेश गर्ने मौका मिल्यो, मलाई यो मौका जुराउन जुम्लाको मान्छे मन्त्री हुनुपर्‍यो।’

भैँसेपाटीको मन्त्रीहरूका लागि बनाइएको आवास जेनजी आन्दोलनमा जलिसकेकाले मन्त्रीज्यू जाउलाखेल चिडियाखानाको क्वार्टरमा बसिरहनु भएको छ भन्ने थाहा थियो। धेरै वर्षअघि प्लसटु पढ्ने बेलामा म जनावर हेर्न भनेर चिडियाखाना गएको थिएँ। यसपालि चिडियाखाना भित्र मन्त्रीज्यू भेट्न जाँदै थिएँ। वन मन्त्री चिडियाखानाभित्र बस्नु आफैंमा एउटा प्रतिकजस्तो लाग्छ, ‘चिडियाखानामा अब जनावर मात्र होइन, मन्त्रीज्यू पनि उनीहरूसँगै बस्नुहुन्छ।’

महेशजी र म जाँदै थियौँ। मैले कालिकोटका मेरा अर्का साथी कृष्ण शाहीलाई फोन गरेर बोलाएँ। उहाँ पनि तुरुन्तै आइहाल्नु भयो। माधवसरका पुराना साथी सन्देश सर पनि मन्त्रीज्यूलाई भेट्न कुरिरहनु भएको रहेछ।

शनिबारको दिन मन्त्रीज्यू एउटा कार्यक्रममा जानु भएको रहेछ। हामी केही बेरसम्म उहाँलाई कुरेर बसेका थियौँ। केही बेरपछि उहाँ आइपुग्नु भयो। मन्त्रीज्यूले आफ्ना सचिवालयका साथीहरूसँग चिनजान गराउनु भयो। केही बेर बाहिरै चिया गफ गर्‍यौँ। सचिवालयका सबै साथीहरू घरतिर लागे।

बाहिर जाडो हुँदै थियो। मन्त्रीज्यूले भित्रै जाऔँ, तपाईंहरूको मन्त्री कस्तो ठाउँमा बस्दैछ हेर्नुपर्‍यो भनेर ठट्ट्यौली पारामा भन्नु भयो। झण्डै चार पाँच घण्टासम्म चिडियाखानाका जनावरहरूलाई नै डिस्टर्ब हुने गरी गफियौँ। गफिँदै गर्दा कसैलाई न समयको हतार थियो, न त औपचारिकताको बोझ। कुराहरू आफै सललल कर्णाली नदीझैँ बगिरहेका थिए।

मेरो यसपटक मन्त्रीज्यूसँग भेट्नुको अर्को उद्देश्य पनि थियो, उहाँलाई प्रत्यक्ष भेटेरै धन्यवाद दिन चाहेको थिएँ। चुनावी म्यान्डेट बोकेर नागरिक सरकारमा सहभागी भएका केही मन्त्रीहरू आफ्नो स्वार्थ पूरा गरेर चुनाव नगराईकनै आफैं चुनावमा होमिएको अवस्थामा, कर्णालीको माटोबाट बनेका हाम्रा अर्गानिक मन्त्री भने ‘चुनाव गराएरै छाड्छु’ भनेर कतै पनि भाग्नु भएको थिएन।

मनमा डर थियो, कतै उहाँ पनि चुनावमा होमिनु हुन्छ कि भनेर, तर उहाँ आफ्नो कर्तव्यमा तल्लीन भएर लागिरहनु भयो, जुन आफैंमा सम्मानयोग्य थियो।

हिजोआजको माहोल पूरै चुनावी छ। तर मलाई चुनावी अंक गणितभन्दा पनि मन्त्रीज्यूका अनुभव, देशको समग्र अवस्था र कर्णालीको दुर्दशाबारे बुझ्न र सुन्न बढी मन थियो।

सधैजसो तराईका विजय गच्छदार, उपेन्द्र यादव, प्रकाशमान सिंहजस्ता शक्तिशाली नेताहरूको रोजाइमा पर्ने भौतिक पूर्वाधार मन्त्रालय सम्भवतः साविकको कर्णाली अञ्चलबाट कसैले कहिल्यै पाएको थिएन। भाग्यवश कुलमान घिसिङ बाटो बनाउने ठेकेदार भागेझैँ कुलेलाम ठोकेपछि सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीज्यूले माधव चौलागाईलाई दिनु भएको थियो।

मन्त्रीज्यूको अनुभव र हामीले भोगेका समस्याहरू नियाल्दा मलाई कर्णाली पछाडि पर्नुको कारण गतिलो नेतृत्व नपाउनु नै रहेछ जस्तो लाग्यो। इतिहासदेखि अहिलेसम्म कर्णालीले न त बलियो मन्त्रालय पाएको छ, न त प्रभावशाली मन्त्रीहरू नै।

हिजोआज कर्णाली, विशेष गरी जुम्ला, चुनावी चटारोमा छ। तर विडम्बना, केन्द्रीय पहुँच राख्ने नेतृत्व हामीसँग छैन। जबसम्म कर्णालीले प्रभावशाली मन्त्रालय पाउँदैन, तबसम्म विकास फलामको चिउरा चपाउनु सरह हुनेछ।

भदौ २३ र २४ गते देशमा ठूलो जेनजी आन्दोलन भयो। अन्धाधुन्ध गोली चलाइयो। धेरै नौजवानहरू सहिद भए। त्यसपछि संसद भंग भई नागरिक सरकार बन्यो।

यसै नागरिक सरकारमा जुम्लाले पनि मन्त्री पायो। करिब ४३ वर्षपछि जुम्लाले संघीय सरकारमा मन्त्रालय पाएको थियो। संयोगले ४३ वर्षअघि पनि अदानसिंह कठायत मन्त्री हुनु भएको थियो।

राज्यलाई कर्णालीले धेरै दियो, तर बदलामा गरिबी, रोग र अशिक्षा पायो। यसपाली माधव चौलागाईंज्यू शक्तिशाली मन्त्रालयमा पुगेपछि केही आश पलाएको छ। ‘सधैं अरूलाई हेरियो, यो पटक कर्णाली है’ भन्ने भावना उहाँले सिर्जना गर्नु भएको छ।

खुसीको कुरा, उहाँले कालिकोटको नाग्मदेखि गमगडीसम्म सडक पिच गर्न बजेट सुनिश्चित गरिसक्नु भएको छ।

कर्णालीका राजमार्गहरुमा अहिलेसम्म ०.९९ प्रतिशत मात्र बजेट छुट्टिने रहेछ। उहाँको पहलमा त्यसलाई १० प्रतिशत पुर्‍याउने प्रयास भइरहेको छ। यसलाई उहाँले सकारात्मक विभेद भनी परिभाषित गरिरहनु भएको छ।

नेपालका राजमार्गहरू ए, बी र सी वर्गमा वर्गीकृत छन्। कर्णालीका सबै राजमार्गहरू सी मा परेका छन्। त्यसैले बजेट कम पर्थ्यो। अब माथिल्लो श्रेणीमा लैजाने प्रयास भइरहेको उहाले जानकारी दिनुभयो। हाम्रो चेहरामा हर्ष थियोे।

विश्व बैंक र एसियाली विकास बैंकलाई समेत कर्णाली भ्रमण गर्न उहाँले निर्देशन दिनु भएको कुरा सुनाउनु भयो। हामीलाई यतिबेला आफ्नो भूगोलको मान्छे मन्त्री हुनुका अनगिन्ती सार्वजनिक लाभ सम्झना भइरहेको थियोे। हाम्रो छाती हर्सले चौडा हुँदै थियोे।

मन्त्रीज्यू छोटो समयमा कुनै लोभ लालचमा नपरी कर्णालीको विकासमा जुटिरहनु भएको छ। महेशजीले भन्नु भयो, ‘४३ वर्षअघि अदानसिंह कठायतले जुम्लाको एयरपोर्ट बनाए, आज पनि सम्झिन्छन्। यसपटक पनि इतिहासले सम्झने काम हुनु पर्छ।’

मैले यिनै अनुभव समेटेर सपादलक्ष कर्णाली भाग–२ लेख्ने हौसला व्यक्त गरेँ। मन्त्रीज्यू मुसुक्क हाँसेर स्वीकार गरेझैँ गर्नु भयो। हामीले रसिला गफको बीट मार्‍यौं। आ-आफ्नो बास्थानतिर लम्कियौं।

(पेशाले दन्त चिकित्सक काफ्ले समसामयिक विषयमा कलम चलाउनु हुन्छ भने पैदल यात्रा मार्फत देशका विभिन्न भूगोलको भ्रमणमा समेत रुचि राख्नुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार