सोमबार, २८ पुष, २०८२

पुर्ख्यौली वृतान्त

राजा मलैबम्मले जुम्ला राज्य आफ्नी छोरी मालादेवीलाई अंश लगाई दिएका थिए । ती मालादेवीको विवाह बलिराज नामक व्यक्तिसँग भएको कारण बलिराजले जुम्लाको टीको फूर्को पाएका थिए । यसरी पाएको जुम्ला राज्यभित्र एघार पर्वत र एघार खोला हुनाले एक पर्वतका दुई पाखाका दरले बाइस पाखा हुने भए

बाइसे राज्यको स्थापनाः १३औं शताब्दीपछि खस मल्ल राज्यको पतन भएपछि कर्णाली–भेरी क्षेत्रका २२ वटा स–साना राज्यहरूमा विभाजित भयो, जसलाई बाइसी राज्य भनिन्छ । जुम्ला राज्य यिनैमध्येको एक शक्तिशाली राज्य थियो । नेपालको इतिहासमा कर्णाली प्रदेशको ठूलो शक्ति आर्जन गरेको खस–मल्ल साम्राज्यको पतन भएपछि त्यस क्षेत्रमा मध्यकालीन सभ्यताको थालनी भएको थियो । खस मल्ल राजाहरूको पतनपछि कर्णाली प्रदेशमा बाइसी राज्यहरूको स्थापना भएको थियो । विस्तृत रुपमा कर्णाली प्रदेशको परिभाषा खोज्दै जाँदा राप्ती नदीदेखि कुमाउँको चम्पावतिसम्मको क्षेत्रलाई जनाउँछ । किनभने बाइसी राज्य कुमाउँसम्म फैलिएको थियो । नेपालको एकीकरण पूर्व कर्णाली प्रदेश भन्नाले प्यूठान राप्ती नदीदेखि पश्चिम र महाकाली नदीदेखि पूर्वको भागलाई जनाउँथ्यो जसलाई मध्यकालमा बाइसी क्षेत्रका नामले चिनिन्थ्यो ।

बाइसी राज्यको नामाकरण
बाइसी राज्यको नामकरणका कारणहरू विवेचना गर्न खोज्दा विभिन्न विद्वानहरुका परिभाषालाई अध्ययन र विश्लेषण गर्नुपर्ने हुन्छ । त्यस्ता सामग्रीहरू अध्ययन गर्दा विद्वानहरू बीचमा मतान्तर रहेको पाइन्छ। कुनै निश्चित समय अवधिमा राप्ती नदी पश्चिम चम्पावति पूर्वतर्फको भू-भागमा ससाना गरी बाइस वटा स्वतन्त्र राज्यहरू थिए । ती राज्यहरू कुनकुन थिए भनी स्पष्ट खाका दिन कठिन पर्दछ तापनि तिनीहरूको सामुहिक चिनारी गर्ने नाम बाइसी नै रहन गयो । तर कुनै समयमा बाइसका संख्यामा रहेका कर्णाली प्रदेशका राज्यहरू कमशः टुक्रिदै गएर ३६ वटासम्म पुगेमा थिए । त्यसरी बढेका राज्य घट्दै गएर १८ वटा मात्र पनि बाँकी रहेका थिए । तर ती राज्यको सवरूप बढ्दै गएर संख्या धेरै होस् वा घट्दै गएर बाइसभन्दा काम होस् ताकि ती राज्यको सामूहिक चिनारी अटल रह्यो, कुनै परिवर्तन भएको पाइँदैन । विभिन्न राजनैतिक्ष इकाइ र केन्द्रका आधारमा बाइसी राज्यले निश्चित संख्याको निर्देशन र सङ्केत गर्दछ ।

राजा मलैबम्मले जुम्ला राज्य आफ्नी छोरी मालादेवीलाई अंश लगाई दिएका थिए । ती मालादेवीको विवाह बलिराज नामक व्यक्तिसँग भएको कारण बलिराजले जुम्लाको टीको फूर्को पाएका थिए । यसरी पाएको जुम्ला राज्यभित्र एघार पर्वत र एघार खोला हुनाले एक पर्वतका दुई पाखाका दरले बाइस पाखा हुने भए । यी बाइस पाखाबाट प्रभावित कर्णाली प्रदेशलाई बाइसी राज्य नाम दिइएको हुन सक्तछ भने तर्कपनि विद्वानहरूले दिएको पाइन्छ ।

त्यस्तै अर्काे आधार जुम्लाको कुल आवादी बाइस हजार वा जुम्लाभित्र बाइस हजार घर हुनाले त्यो शक्तिपूर्ण जुम्लालाई वरिपरिका कमजोर राज्यका राजाहरूले आफ्नो रक्षार्थ जुम्लालाई वर्षेनी सिर्तों या उपहारहरु चढाउने राज्यको समूहलाई जनाउने शब्दका रुपमा वाइसी बनेको तर्क पनि लगाएको देखिन्छ । त्यस विषयमा एउटा विचारणीय कुरा के छ भने कर्णाली प्रदेशका धेरै जसो मध्यकालका भुरे राज्यहरूले नेपालको एकीकरण–पूर्वकालसम्म कल्यालवंशीय जुम्लाका शाही राजाहरूलाई वर्षेनी आफ्ना राज्यमा उत्पादन हुने बस्तुहरू लगेर सिर्ताे स्वरूप उपहार, दिने चलन थियो । बाइसी नामकरणका विषयमा एक लेखकले खसमल्ल राजाहरूको पतनपछि सोही क्षेत्रमा बनेका बाइस थरी खसहरूका वरपर बसोबास गरेका कारणले त्यस्ता ठाउँलाई बाइस थर भनिएको र पछि बाइसथर भन्नुभन्दा बाइसी भन्न जिब्रोलाई सहज हुने भएकोले बाइसी नामले कर्णाली प्रदेशलाई नै चिनाउन सफल भएको र सो क्षेत्र खसान रहेको कुरा पनि प्रकाशमा ल्याएका छन् ।

बाइसी नाम रहनाको सांस्कृतिक कारण पनि हुन सक्तछ । उदाहरणको लागि कर्णाली प्रदेशमा मष्टो, भवानी र लाङ्गा देवताको ठूलो प्रभाव र महत्व रहेकोछ । मष्टो देवताका बाह्र भाइ जस्तै डंडारमष्ट, वान्निमष्ट, कुँइडालामष्ट, धार्पामष्ट, लाटोमष्ट, बुडुमष्ट, कवामष्ट, थार्पामष्ट, वाविरोमष्ट, वानोमष्ट, बाँस्कोटमष्ट, शैनामष्ट आदि । त्यसै गरी बाह्र भाइ मष्टका नौ बैनी भवानी भन्ने चलन छ, जस्तो कि मालिका, कनकसुन्दरी, त्रिपुरसुन्दरी, जालपादेवी, कालिका, शेषमालिका, ठिगालिनी, दुलेनी र विन्दुबासिनी आदि । लाङगा देवतालाई बाइसी क्षेत्रमा ग्रामदेवता पनि भनिन्छ, उनले गाउँलेहरूको रक्षा गर्छन् भन्ने विश्वास रहेको छ । त्यसरी बाइसी क्षेत्रका मानिसले मान्यता गर्ने देवीदेवता जम्मा बाइसवटा भएका अर्थले पनि कर्णाली प्रदेशलाई मध्यकालमा बाइसी राज्य वा बाइसवटा देवीदेवता पूजा गर्ने राज्यहरूको सङ्गठन (सांस्कृतिक सङ्गठन) का आधारबाट पनि बाइसी नामकरण भएको हुन सक्तछ । यसर्थ बाइसी नामकरण रहनाका पर्याप्त आधारहरू हाम्रा सामु उपस्थित भएका छन्, जसबाट हाम्रो विषयको पुष्टि हुन जान्छ ।

कर्णाली प्रदेशका खसमल्ल राजाहरूको शासन अन्त्य भएपछि वर्मा परिवारका व्यक्तिहरु, जो खस राजाका दरवारमा ठूला ओहदामा थिए, आफ्नो अनुकृत परिस्थिति विचार गरी कर्णाली प्रदेश सम्पूर्णलाई नै आफ्नो अधिकारमा पार्ने दाउ हेरिरहेका थिए । राजपरिवार र राजा कमजोर भएपछि दरवारिया भारदारहरूको छाया तथा चकचकी बढ्नु स्वाभाविकै हुनाले कर्णाली प्रदेशमा बरु मल्ल राजाहरूपछि बर्मा परिवारका व्यक्तिहरू नै शासक भएको कुरा स्पष्ट हुन्छ । वर्मा परिवारका मूलपुरुष यशोवर्मा राजा पृथ्वी मल्लका महामात्य थिए भने मलेबम्म वर्मा परिवारका पहिला र शक्तिशाली व्यक्ति भएका कारणबाट कर्णाली प्रदेशका शासक बन्न समर्थ रहे। उनै राजा मलै बम्मका समयमा कर्णाली प्रदेश ज्यादै शक्तिशाली राज्य भयो । अर्कोतिर मलै बम्मलाई खसमल्ल राजा पृथ्वी मल्लको धार्मिक प्रभाव परेकोले होला आफू विशाल राज्यको सर्जक भएर पनि युवावस्था व्यतित गरेपछि वृद्धावस्थामा आफ्ना सन्तान तथा छोरीलाई समेत आफूले चर्चेको राज्यको अंशवण्डा गरिदिए, हुन त मलै बम्मले आफ्नो राज्य धेरै टुक्रा पारेका थिएनन् तापनि त्यो पछिका दिनहरूको निम्ति परम्पराका रूपमा रहन गएकोले उनका सन्ततिहरूले वपौती ठानी राज्यमाथि अधिकार गरी अंशबण्डा गर्न थाले । त्यसको परिणाम बाइसी राज्यको सिर्जना भयो र कर्णाली प्रदेशमा अति मामुली तथा कमजोर र थोरै मात्र आर्थिक स्रोत रहेका राज्यहरूको स्थापना भई पतनोन्मुख बन्दै जान थाले । त्यो सङ्कख्या बढ्दै गएर बाइसभन्दा पनि बढता हुन गयो । पछि राप्ती देखि पश्चिम र महाकाली पूर्वको भूभागलाई बाइसी भन्न थालियो ।

माथिका परिभाषाहरू हेर्दा बाइसी राज्यको नाम रहनु र यस अर्थका विषयमा ३ वटा आधारहरू रहेको बुझिन्छ । पहिलो कुरा, जुम्लाका कल्याल वंशीय राजाहरूले कर्णाली प्रदेशका कमजोर स्वतन्त्र राज्यहरूबाट सितों उठाएर राज्य थमौती गरिदिने परम्पराको थालनी हुँदा त्यस्ता राज्यको संख्या बाइसवटा पुग्नु । दोस्रो कुरा, खसमल्ल राजाहरूको पतनपछि राप्ती नदीदेश्वि पश्चिम र महाकाली नदीदेखि पूर्व स्वतन्त्र अस्तित्व भएका बाइसवटा राज्य पुग्नु । तेस्रो हो, बाइसी राज्यमा बाइसवटा देवतादेवीको पूजा हुनु र मलंबम्मका सन्तानले ती देवतालाई आफ्ना कुलदेवताका रूपमा मान्यता गर्नु । बाइसी राज्यको नामकरण यसै आधारबाट भएको हो भनी निश्चय गर्न कुनै लेखक अगाडि छैनन् तापनि बाइसी नामकरणबारे केही जानकारी भएको छ । बाइसी राज्यको स्थापना इतिहाससिद्ध कुरा हो । नेपालको एकीकरणकालसम्म बाइसी राज्यहरूको जुम्लासँग प्रतिनिधि आदानप्रदान गर्दथे । मलै बम्मलाई बाइसी राज्यका प्रवर्तक भनिन्छ । उनका सन्तानहरूले राज्य बाँडी खाए । संख्या क्रमशः बढ्दै गयो, जसको कारण राजाका सबै छोराहरू राजा हुनुपर्ने भन्ने परम्परा नै रह्यो । तर जुम्लाका कल्याल राजाहरूले आफ्नो राज्यलाई टुक्रिन दिएनन् । परिणामस्वरूप बाइसीको नेतृत्व जुम्लाले लिन थालेको थियो । बाइसी क्षेत्रको इतिहासको धारले सिद्ध गरेको छ कि जुम्ला नै त्यसको नामकरणमा जिम्मेदार राज्य हो तापनि बाइसी नामको एक राज्य थिएन ।

कर्णाली प्रदेशमा खस राजाहरूले चर्चेको विशाल भूभाग टुक्रिई बाइसी र चौबीसी राज्य बनेका थिए । हालसम्म जेजति सामग्री प्राप्त भएका छन्, त्यसका आधारबाट बाइसी–चौबीसीको खोजी भइरहेको छ । प्रस्तुत प्रकरणमा बाइसीको कार्य प्रकाश गर्ने प्रयत्न रहेको छ। ‘बाइसी’ शब्दले कर्णाली प्रदेशको पर्यायको काम गर्न सफल भइसकेको छ । त्यही शब्दका प्रभावले कर्णाली प्रदेशको चिनारी भएको हो । बाइसी कुनै पनि परिवारसँग आधारित नाउँ भाव पनि होइन । मध्यकालीन कर्णाली प्रदेशकै स्वरूप दिने बाइसीले त्यो बेलाका बेग्लाबेग्लै स्वतन्त्र राज्यको अस्तित्व पनि बुझाउँछ । नामहरू छुट्टाछुट्टै भएर पनि समष्टिमा बाइसीका नामले चिनिने तो राज्यहरूमा एकताको त्यत्तिकै प्रभाव थियो । नाममा बाइसी भनिने ती सबै राज्यहरूलाई बाइसी भनिदिँदा कुनै अन्याय हुँदैन तर कुनै राज्यको एकलौटी नाम बाइसी होइन । त्यसो हुनाले बाइसीको अर्थ वाइसवटा राज्यको झुण्ड बुझ्नुपर्छ । कालक्रमले राज्यको संख्यामा हेरफेर हुँदै गयो तापनि कर्णाली प्रदेशका राज्यहरूलाई दिइएको बाइसी नाम अत्यन्तै उपयुक्त र सुहाउँदो नाम हो । बाइसी क्षेत्र नेपालमा ज्यादै महत्त्वपूर्ण क्षेत्र हो । नेपालको इतिहास, संस्कृति र भाषाका क्षेत्रमा बाइसीको योगदान अझ महत्त्वत्को छ ।

प्राचीन कालमा कर्णाली प्रदेशमा मल्ल राजाहरूले एक विशाल र सात राज्य स्थापना गरी बसेका थिए। उनी कहिल्यै बाहिरीय सामु झुकेर पराधिन भएका थिएनन् । स्वाधीन नेपालको इतिहास खस साम्राज्यको इतिहास हो । खसहरू हार्दै हारेनन्, हारेपछि सत्तामा रहेननन् । राजा नागराजदेखि स्थापित खस राज्यका राजा अभय मल्लको पालामा आएर पतन भयो । त्यसको सबै लाभ बम्मले उठाए । त्यो विशाल खस राज्यको अधिकार मलय बम्मको हातमा आउन र त्यो प्राप्तिलाई चकनाचूर पारेर छोड्ने उनको एक ऐतिहासिक भूल भन्नुपर्दछ । केन्द्रमा विभाजनको लहर चलेपछि विभिन्न क्षेत्रका प्रशासनिक अख्तियार लिएर बसेका अधिकारीहरू नियन्त्रणरहित भएका बेला आफ्नो स्वतन्त्र अस्तित्वको चाहना गर्नु एक मानव सुलभ लक्षण हो । त्यसैको फलस्वरूप धेरै राज्यहरू स्वतन्त्र भए । त्यसरी स्वतन्त्र बनेका शासकहरू विभिन्न वंशमा पैदा भएका थिए । त्यसरी विभाजन हुनुमा कर्णाली प्रदेशको विशाल भौगोलिक बनावट जिम्मेवारी रहेको देखिन्छ । भौगोलिक विकटता भएका ठाउँमा केन्द्रका शासकहरूको दुरदृष्टि पुग्न गाह्रो पर्दछ । त्यसरी दृष्टिरहित भएको क्षेत्रमा त्यहाँका अधिकारीहरूले समाजमा आफ्नो प्रभाव दह्रो पार्न सफल भए भने विभाजनको क्रम आरम्भ हुन्छ । विभाजनको क्रम बारम्भ भए पनि केन्द्रको शक्तिले त्यस्तो स्थानीय विद्रोहलाई दबाउन सफल भयो भने त्यहाँ विभाजन हुँदैन । तर जब केन्द्रीय शक्तिले क्षेत्रीय विभाजनलाई पूर्णतः वशमा पार्न सक्तैन तब एउटा ठूलो साम्राज्य पनि ससाना राज्यमा बाँडिएर भाँडिन्छ । त्यही क्रम खसमल्ल राजाहरूकै राज्यकालमा कर्णाली प्रदेशमा सुरवात भएको कुरा त्यहाँको घटनाक्रमले प्रस्तुत गरेको छ ।

बाइसी राज्यको सिर्जना
माथिका उदाहरणहरूबाट पनि के अनुमान गर्न सकिन्छ, भौगोलिका कारणबाट पनि राज्य सङ्गठनमा प्रतिकूल प्रभाव पर्न गएर बाइसी राज्यको सिर्जना भएको थियो । त्यसको साथै आफूले आर्जन गरेको विशाल राज्यलाई सजिलैसँग त्यसका शासकले आफ्ना छोरा र छोरीहरूलाई भाग लगाएर एकअर्काको राज्य सिमाना तोकी पृथक् गरिदिनु मुख्य कारण थियो । त्यसरी विभाजन भएको राज्यलाई पुनः विभाजन हुन नदिई थमौती गर्ने प्रक्रियाको सट्टा पाएको राज्य पनि आफ्ना सन्तानहरुलाई बाँड्दै राज्य चोइटचाउँदै जानु मलय बम्मका सन्तानहरूको पनि बुद्धिमत्तता देखिँदैन ।

बाइसी राज्यको सिर्जना न त पूर्वनियोजित घटना हो न कुनै दुर्घटनावस भएको वातावरण हो, यो त मध्यकालको अचुक ऐतिहासिमा लहर, ज्ञानविज्ञानको अन्धकार र बुद्धिविवेकको अन्त्येष्टिकाल हुनाले योग्य व्यक्तिको अभावमा हुन गएको परिस्थितिको फल हो । बाइसी राज्यको सिर्जना अज्ञानतावस भएको पनि होइन । सहज, स्वाभाविक, माया, मोह, ममता, समानताको दर्शनबाट अभिप्रेरित भएर बाइसी राज्यको सिर्जना भएको थियो । तसर्थ त्यो मासवाको सच्चा र उदारताको प्रतिफल थियो । त्यही चेतना जुम्लाका राजा कल्यालहरूमा थियो र त्यो एउटै राज्य रह्यो । मलै बम्मका सन्तानमा पनि त्यो चेतना अवश्य हुनुपर्दछ तर किन झन्झन् विभाजित भयो भन्ने प्रश्न आउनु स्वाभाविक कुरा हो । मूलतः बाइसी राज्यका अधिपति राजा मलै बम्मले गलत संस्कृतिको आरम्भ गरिदिए, त्यो हो राज्य धंश गरिदिने । त्यो परम्परा उनका उत्तरा धिकारीहरूले राम्रोसँग पालन गर्दा त्यस्तो भयो । त्यसो हुनाले मूली (प्रमुख) व्यक्तिले गलत निर्णय लिदा भताभुङ्ग हुन्छ। त्यसको प्रत्यक्ष उदाहरण मलैबम्मलाई लिन सकिन्छ ।

जुम्ला राज्य
जुम्ला शक्तिशाली राज्य भएकोले बाइसी राज्यको नेतृत्व गर्न सक्षम रहेको थियो । उसको नेतृत्व स्वीकार्ने र सितों बुझाउनेले आफ्ना दूतहरू जुम्ला पठाउँथे। जुम्जाका राजा बलिराजलाई “बाइस पख्याली जुम्ला कि महाराजी पाया” भन्ने पाइएकोले त्यही आधारबाट बाइसी नामकरण हुन गएको देखिन्छ । एवं रीतले राजा मलैबम्मका सन्तानहरूले चर्चेका र भोग गरेका तथा केही छिमेकी राज्यहरूको संख्या कुनै बेला कुनै समूहले गिन्ती गर्दा बाइसवटा पुच्चाएर बाइसे वा बाइसी नाम राखी कर्णाली प्रदेशको छुट्टै चिनारी गर्ने गरेका कारणबाट बाइसी भन्न गएको बुझिन्छ । यसरी कर्णाली प्रदेशको मध्यकालीन इतिहासलाई बाइसी राज्यको अन्धकार युगको अस्पष्ट इतिहासको युग खसमल्ल राजाहरूको पतनपछि निरयपाल, नागमल्ल तथा मलै बम्मले गरेका थिए । त्यसपछि मलैबम्मका सन्तानहरू कमजोर बन्दै गए । डोटी र जुम्ला जस्ताका तस्तै रहे । त्यस्तो विभाजित हुने संस्कारले त्यहाँको इतिहास क्रमबद्ध र निरन्तरता पाउन कठिन पनलि अन्वेषक र पाठकहरूलाई पनि अन्योलमा पार्न छाडेको छैन । त्यही अन्योलपूर्ण क्षणको खोजी गरी प्रकाशमा ल्याउनु शिक्षितवर्गको आजको दायित्व महसुस गरी यथाशक्य प्रयत्न गरिएको छ ।

बाइसीे राज्यहरू (बाइस राज्यहरू) नेपालको इतिहासको मध्यकालमा कर्णाली–भेरी नदीको वरिपरि, पश्चिम पहाडी क्षेत्रमा अवस्थित बाइस वटा स–साना स्वतन्त्र खस राज्यहरूको समूह थियो । यी राज्यहरूको उदय कर्णाली क्षेत्रमा रहेको विशाल खस–मल्ल अधिराज्य (जसको राजधानी जुम्लाको सिंजा उपत्यका थियो) को पतन पछि भएको थियो । खस–मल्ल साम्राज्य टुक्रिएपछि त्यस क्षेत्रमा अनेकौँ साना–साना राज्यहरू स्थापना भए, जसलाई सामूहिक रूपमा बाइसीे राज्य भनियो ।

केही प्रमुख बाइसी राज्यहरूः
विभिन्न स्रोतमा उल्लेख भएअनुसार, बाइसीे राज्यहरूमा निम्न राज्यहरू प्रमुख थिए, जुम्ला, डोटी, जाजरकोटर दैलेख, दुल्लु, सल्यान, रुकुम, अछाम, मालनेटा, छिल्ली, दार्मा, खुम्री, गजुल, सान्नी, थुनी, धुलीकोट, बोसाकोट, झ्याकोट, दार्मा, बोगटान, गोताम र थलहरा।

यिनै बाइसवटा राज्यहरूको समूहलाई संयुक्त रूपमा बाइसे राज्य भनिएको हो, जसले मध्यकालीन पश्चिम नेपालको इतिहास र राजनीतिलाई महत्त्वपूर्ण रूपमा प्रभाव पारेका थिए ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार