सोमबार, २८ पुष, २०८२

यात्रा सकियो, अनुभूति अझै यात्रा गर्दैछ

बडीमालिका यात्रा भाग ५

हाम्रो बस्ने ठाउँ खोज्दै जाँदा मन्दिरअगाडि जुम्लाबाट आएको टोलीलाई बस्नका लागि ठाउँ नै तोकिएको हुने रहेछ, जस्तै त्रीवेणीधाममा थियो त्यस्तै। जो कोही हामीलाई दिइएको ठाउँमा बस्न नमिल्ने। कस्तो मजा! हामिले पाल हाल्यौँ, पालभित्र केही समय थकाई मार्‍यौं।

त्रीवेणिधामको सुन्दरता र हाम्रो नित्यकर्म पछि सबै तीर्थालुहरूको लाम बडिमालिका तिर जाने क्रम सुरु भएको थियो। यतिकै सुन्दर त्रीवेणी पाटन, अझ माथि कति सुन्दर होला ? भन्ने कुरा मनमा खेल्न थाल्यो। झोला बोकियो, आज यो झोला विशेष हल्का लागेको थियो किनकि हामी बडिमालिकाको समीपमा पुग्न लागेका थियौँ। केही माथि पुगेपछि पारीपट्टीको चुचुरोमा बडिमालिकाको मन्दिर देखियो।

हेर्दा नजिक भए पनि हिँड्दा टाढै रहेछ। आज अन्तिम यात्रा हो, बिस्तारै हिँडे पनि हामी सजिलै पुग्ने थियौँ। बाईसे पाटनमा जम्मै मानिसहरूको लाम मात्र थियो। आ-आफ्नै ताल र ढंगमा हिँड्दै, रमाइलाे गर्दै, जयजयकार गर्दै त्यो मानिसको लाम अघि बढ्दै थियो। नागबेली आकारको बाटो कहिलेकाहीँ सम्थर त कहिले हल्का उकालो, तर स्वासप्रस्वास रोगीका लागि निकै अप्ठेरो।

हामी थकान मार्दै हिँड्दै गरेका थियौँ। माथि मन्दिरमा कुनै पनि दाउरा नपाइने भएकाले मैले र धिरेन्द्रले त्रीपालका लागि भाटा बोकेरै लगेका थियौँ। यसै गरी त्यहाँ जाने प्रायः तीर्थालुले दाउरा, आगोको लागि भाटा, पालका लागि सँगै अन्य सामानको जोहो गरेर गएका थिए।

बाटोमा कसैलाई डोकोमा राखेर फर्काइँदै थिए, सायद हिँड्न नसकेर होला। कोही आराम गर्दै थिए, कोही बिस्तारै हिँड्नू न भन्दै थिए। बालकदेखि वृद्धसम्म हिँड्दै थिए। पाटनमा भएका भेडाका बथान पनि नाचिरहेका थिए। खुल्ला न बन्दी छन्, न कसैले हिर्काउँछ, स्वतन्त्र रूपमा चरिरहेका छन्। यो भन्दा रमाइलो उनीहरूका लागि अरु के होला र? भरखरै स्नान गरेर आएका जस्तै ती भेडा कति सेता र सफा हुन्, हेर्दा रहर लाग्ने, समातूँ समातूँ लाग्ने।

एकछिन त्यो बथानसँग रमाइलो गरियो, दौडिए पाटनमा भेडासँगै म पनि। धेरै मान्छेलाई छिचोल्दै छिचोल्दै अघि बढिरह्यौँ। आराम गर्दै, आफूसँग भएको थोरै खानेकुरा भोलिको लागि पनि छुट्याउँदै, खाँदै गयौँ। नजिकै देखिने बडिमालिका मन्दिर अझै टाढा थियो, दृश्यमा मात्र नजिक, तर बाटो यति मजाको थियो। सुन्दर पवित्र ठाउँ पुग्न सच्यै त्यो भन्दा अघि अझ सुन्दर–सुन्दर स्थलहरूले स्वागत गरिरहेको थियो।

बाटोमै पर्ने लौरी विनायक मन्दिर दर्शन गर्दाको भिड पनि कम थिएन, तैपनि लाइनमा बसेर दर्शन गरियो। मसँगै गएको बिनोदले लाइनलाई नियमबद्ध गर्छु भन्दै रिसाउँदै लाइन मिलायो, आफूले भने सजिलै मन्दिरको दर्शन गर्‍यो वाह! बिनोदको दिमाग! म हाँसे।

पाटनको यात्रा अब थोरै ठाडो उकालो थियो, सानो बाटो, लामबद्ध रूपमा मात्र हिँड्नु पर्ने। बाटो छिचोल्न नसकिने एउटै गतिमा हिँड्दै हिँड्दै त्यो लाइन बिस्तारै सर्दै थियो। सामाजिक सञ्जालमा भाइरल बनेको मानिसको लाइन यहीँबाट भिडियो गरिएको थियो।

बाटोमा पर्ने बासुधाराको दर्शन गर्न अहिले सच्यिकै गाह्रो थियो। ढुङ्गाको पहाडबाट आउने पानीका सानासाना थोपा पालले सङ्कलन गरी सानो धारो बनाइएको थियो, जुन पानीलाई बडिमालिकाको जल भनिन्छ। आज त्यो जल पाउनु निकै कठिन थियो। बेलुकी आउँछु भनेर मन्दिरतर्फ लागियो।

सिधा उकालो अब थोरै मात्र थियो। मानिसहरूको भिडमा म आफूलाई सहज बनाउन निकै कोसिस गरिरहेको थिएँ। थकान त पटक्कै थिएन आज। आकाश छुन सकिने उचाइमा थियौँ, हामी। घरीघरी कुइरो आउँथ्यो, घरीघरीहराउँथ्यो, हामीसँगै लुकामारी खेल्थ्यो। घाम लागेको बेला बादल माथि हुन्थ्यौँ, हामीसँगै स्पर्श गरी बादल जान्थ्यो। कति मजाको सुन्दर दृश्य देखिन्थ्यो। म मोहित, हामी मोहित, सबै मोहित।

जाने बाटो केवल यात्रा हुँदैन, त्यो आफैँमा एउटा विशाल चित्रकला जस्तो लाग्यो जहाँ प्रकृतिले आफ्नै रंग छर्केर बनाएको अद्भुत संसार पाइन्छ। उकाली ओराली काट्दै जाँदा भेटिने विशाल पाटनहरू यति शान्त, यति खुला र यति विशालतामा डुबेका हुन्छन् कि ती क्षणमा मानिस आफैँ सानोसानो भएर प्रकृतिको काखमा हराउन थाल्छ। उच्च भेगका ती पाटनहरूमा हावाले बुट्यानहरू सजिलै हल्लाउँछ, घामले हरियालीमा सुनौलो चमक छर्छ र मायालु बादलहरू माथिबाट छायाँ खेलाइरहन्छन्। जति माथि बढ्दै जान्छ, त्यति पृथ्वीदेखि आकाश नजिकिएको अनुभूति हुन्छ।

धुइँधुले छोपिएका पहाडका भटाभटा, तल खोला नालाहरूको चमक र माथिबाट हेर्दा देखिने अनन्त पहाड पहाडका थाम सबैले मनलाई कुनै शब्दभन्दा गहिरो शान्ति दिन्छन्। कहिलेकाहीँ यात्रुहरू रोकिएर केवल हेरीरहन्छन्। किनकि त्यस्ता दृश्यहरू मनमा कैद हुन्छन्, मोबाइलमा होइन।

बडिमालिका जाँदै गर्दा देखिने प्राकृतिक सुन्दरता यात्रा मात्र होइन मनलाई हलुका बनाउने उपचार, आत्मालाई सत्कोमा भिजाउने अनुभव र जीवनलाई कृतज्ञतामा बाँध्ने क्षण हो।

करीब ३ ४ बजेतिर हाम्रो टोली बडिमालिका मन्दिर पुग्यौँ। थोरै थोरै भिरालो परेको डाँडामा जम्मै त्रीपालहरूले पुरै डाँडा रङ्गिचङ्गी भइसकेको थियो। सबै यात्रीहरू मन्दिर दर्शनका लागि लामबद्ध थिए।

हाम्रो बस्ने ठाउँ खोज्दै जाँदा मन्दिरअगाडि जुम्लाबाट आएको टोलीलाई बस्नका लागि ठाउँ नै तोकिएको हुने रहेछ, जस्तै त्रीवेणीधाममा थियो त्यस्तै। जो कोही हामीलाई दिइएको ठाउँमा बस्न नमिल्ने। कस्तो मजा! हामिले पाल हाल्यौँ, पालभित्र केही समय थकाई मार्‍यौं।

आफूसँग लगेको खानेकुरा सकिएर होला, अब बेलुकी पनि भइसकेकोले बाहिर निस्केर खाजा खाने होटलको खोजीमा लाग्यौँ। खानाको लागि समस्या थिएन, अलि महँगो भने थियो। नहोस् पनि किन? यत्रो ठाउँमा पनि यत्तिको महँगो स्वाभाविक थियो। रोटि ५०, तातोपानी ३० प्रतिवोतल, गेँडाको साग प्रती कचौरा सानो १५० रुपैयाँमा खाइयो। आजको खाना पनि यहीँ भयो।

बेलुकीपख आरती गायनसँगै कोही मन्दिर दर्शनका लागि लाइनमा गए भने मैले “राती जाउँला” भनेर अहिलेलाई सुते। राति १ बजे निद्रा खुलेसँगै मन्दिर दर्शनका लागि लाइन लाग्न म पनि गएँ। हजारौँको लाइनमा म पनि मिसिएँ। सिमसिम पानी परिरहेकोले होला, निकै चिसो थियो। कोही कोही बिचबिचमा घुसेर छिट्टै मन्दिर दर्शन पनि गर्थे, तर मैले सोचें यत्रो दिन लगाएर आएको छु, कम्तिमा लाइनमै बसेर दर्शन गरौँ, केही न केही फल पक्कै प्राप्त होला।

लगियो लाइन। बिहान १० बजे सम्म, करीब १० घण्टा पछि मन्दिर दर्शन गर्ने पालो आयो। जसरी त्यहाँ पुग्नलाई कठिन थियो, त्यो भन्दा धेरै मन्दिर दर्शन गर्न कठिन थियो। जब दर्शन गरियो, लाग्यो, ठूलै युद्ध जितियो।

त्यति बेला सम्म धेरै तीर्थयात्री गईसकेका थिए। हाम्रो टोलीका केही यात्री पनि हिडिसकेका थिए। हामी भने सरकारी पूजा सम्पन्न भएपछि मात्र जाने निधो गर्‍यौं।

घुम्यौँ मन्दिर वरिपरि अजङ्गका पहाड, माथि मन्दिर। मन्दिर आउने बाटो त्यहीँ पहाडमाथि, तल हेर्दा आङ नै झस्स हुने। अझ भनौँ, नाटेश्वरी जाने बाटो त झनै डरलाग्दो हो, यहीँबाट हो एक जना खसेर मरेको।

सरकारी पूजा सम्पन्न भयो। हाम्रो लिङ्गा बोकेर मन्दिर वरिपरि ३ फेरा हानियो, लिङ्गा बोकियो। मन्दिरलाई नजिकबाट नियाल्न पाइयो। नयाँ मन्दिर नेपाल आर्मीले भरखरै निर्माण गरेको साँच्चै आलौकिक थियो। ४२०० मिटर उचाइमा बनेको यो मन्दिर बनाउने निक्कै मेहनत लाग्यो होला।

गुरु, म, धिरेन्द्र, हाकिमसाब, अरु दुई जना मात्र थियौँ। करीब ५ बजिसकेको थियो। फर्किने समय भएकोले होला, हतार हतार झोला प्याक गरेर फर्किने तयारी गर्‍यौं।

फर्किँदा लामो बाटो हिँड्नु थियो। बडिमालिकाबाट फर्किँदा मनमा एउटा अनौठो शून्यता र शान्ति दुवै मिसिएको थियो। लाग्छ माथि कतै केही छोडेर आएको जस्तो र त्यहाँबाट केही नयाँ लिएर फर्किएको जस्तो। शरीर त तल झर्दै छ, तर मनको केही भाग अझै पनि ती पाटन, ती हावा, ती बादलसँगै उडिरहे जस्तो महसुस हुन्छ।

यात्रामा पुगेका दृश्यहरू, पाटनको विशालता, आकाशसँग नजिकिएको अनुभूति सबैले मनलाई न्यानो सम्झनाले बाँधेजस्तो। फर्कँदै गर्दा मन भन्छ, ‘अहिले म भित्री रूपमा अलि फरक भइसकेँ।’

थकान हुन्छ, तर त्यो थकान पनि मिठो। मौन हुन्छ, तर त्यो मौन पनि मिठै। मन हलुका लाग्छ, किनकि पहाडको शान्तिमा आफ्ना धेरै बोझहरू त्यहीँ छोडेर आएको जस्तो। फर्कने बाटोमा मनभित्र एउटा गहिरो कृतज्ञता बस्छ प्रकृतिले देखाएको विशालता, यात्राले सिकाएको धैर्य, र आफूले पाएको आत्म शान्तिका लागि।

अन्त्यमा लाग्छ, ‘बडिमालिका त गएँ, फर्किएँ… तर बडिमालिका अझै पनि मनमै घुमिरहेको छ।’ यो कुरा मनभित्र हरेक समय चलिरहने छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार