ऋणको ब्याज स्वाट्टै घटेपनि ऋणीले तिर्न सकिरहेका छैनन्। लाखभन्दा माथि बैंकको कालोसूचीमा परिसकेका छन्, ऋण तिर्न नसकेर। सस्तो ब्याजमा ऋण दिँदा पनि बैंकमा ऋण लिन जाने मान्छे छैनन्। सहकारी र लघुवित्त त भागिहाले। कतिपय बन्द भए। आफ्नो बचत नपाउँदा बचतकर्ताको बिचल्ली भएको छ।
२०७९ माघसम्म बैंकहरूले १३ देखि १६ प्रतिशत ब्याजमा ऋण लगानी गर्थे। सहकारी, लघुवित्तहरूको ऋणको ब्याज १६ देखि २२ प्रतिशतसम्म थियो। त्यो त देखाउने ब्याज हो। ऋणीले ४८ देखि ८० प्रतिशतसम्म ब्याज तिर्नुपर्थ्यो। यता, सेवाशुल्क तीन प्रतिशत बुझाउनुपर्थ्यो।
जबकि, लिन पाउन एक प्रतिशत मात्र हो। दुई करोडको धितो राखेर एक करोड ऋण लिँदा १० प्रतिशत त घुसै खुवाउनुपर्थ्यो। ऋण लिन पनि पावर लगाउनुपर्थ्यो। अहिले २०८२ सालको भदौ महिना चलिरहेको छ। ३१ महिनाको अवधिको ऋणको ब्याज ह्वात्तै घटेको छ। १६ प्रतिशतसम्म ब्याज लिँदै आएकोमा घटेर ६ देखि ८ प्रतिशत कायम भएको छ।
ऋणको ब्याज स्वाट्टै घटेपनि ऋणीले तिर्न सकिरहेका छैनन्। लाखभन्दा माथि बैंकको कालोसूचीमा परिसकेका छन्, ऋण तिर्न नसकेर। सस्तो ब्याजमा ऋण दिँदा पनि बैंकमा ऋण लिन जाने मान्छे छैनन्। सहकारी र लघुवित्त त भागिहाले। कतिपय बन्द भए। आफ्नो बचत नपाउँदा बचतकर्ताको बिचल्ली भएको छ।
पहिलेपहिले भन्सुन गर्नुपर्नेमा बैंकले सहज रुपमा ऋण दिँदापनि कोही जाँदैनन्। यसो हुनुको दुईटा कारण देखिन्छ। कि सर्वसाधारणसँग धितो छैन कि लगानी गर्ने ठाउँ छैन। अधिकांशको घरजग्गा, सेयर, गाडी बैंकको नाममा छ। उनीहरूले धितो राखेर ऋण लिएका छन्। अर्को ऋण लिनका लागि उनीहरूसँग धितो छैन।
अर्कोतिर, धितो ल्याएर पनि केमा चाहिँ लगानी गर्ने? बजार डामाडोल छ। सबैतिर मन्दी छ। घरजग्गाको कारोबार सुस्ताएको लामो समय भइसकेको छ। सेयरको भाउ निरन्तर ओरालो लाग्दो छ। पसल थाप्नलाई व्यापार छैन। गाडी किन्नलाई किस्ता तिर्न सक्ने अवस्था छैन। अनि ऋण लिएर मात्र के गर्ने?
विगतमा दलालीहरूले कृत्रिम मूल्य बढाएका थिए। सर्वसाधारणहरू दलालीको जालमा पर्दा नराम्ररी फसेका छन्। एक हजार आना नपर्ने जग्गा ६०–७० लाख पुर्याइयो। एक सय रुपैयाँ प्रति कित्ता निकासा भएको सेयर ३२ सयसम्म पुग्यो। छिमेकी मुलुकमा दुई लाख पर्ने गाडी ल्याएर अटोशोरुमहरूले मनलाग्दी भाउमा बेचे।
८० रुपैयाँ तोलाको सुन दुई लाख रुपैयाँ पुर्याइयो। आँखा चिम्लेर यी क्षेत्रमा लगानी गर्नेहरूले ‘पानीसमेत भन्न’ पाएनन्। पछिल्लो समय बैंकमा लगेर पैसा राख्ने अनि त्यसबाट आएको ब्याजले बसिबसी खाने। यो प्रवृत्ति पछिल्लो समय व्यापक मौलाएको छ। आफ्नो घरजग्गा बेचेर बैंक तथा वित्तीय संस्थामा लगेर पैसा राखेकाहरूले त्यसबाट आएको ब्याजले घरखर्च चलाउँथे।
ब्याजले नै खान पुग्ने भएपछि कसले काम गर्ने? ब्याजको लोभमा सहकारीमा लगेर पैसा राख्दा धेरै चुलुम्मै डुबे। राम्रो ब्याज पाइन्छ, त्यसले नै खानलाउन र छोराछोरी पढाउन पुग्छ भनेर पैसा राखेकाहरू अहिले रुनु न हाँस्नु भएर हिँडेका छन्। तर, विकसित मुलुकमा ठ्याक्कै उल्टो अवस्था छ।
त्यहाँ बैंकमा पैसा राखेबापत बचतकर्ताले ब्याज तिर्नुपर्छ। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट पैसा उठाउन बढी बढी ब्याज दिए। जसको परिणाम सहकारीले भोगिसकेको छ। अब पालो बैंकको देखिन्छ। सरकार र बैंक तथा वित्तीय संस्थाले बजार सधैं एकै लयमा चल्छ भनेर सोचें।
आज उकालो लागेको छ भने भोलि ओरालो लाग्न सक्छ भन्ने उनीहरूले सोचेनन्। जोखिमपूर्ण क्षेत्रमा लगानी गर्दा अहिले बैंकलाई ऋण उठाउन हम्मेहम्मे परेको छ। लिलामीको सूचना निकालेको निकाल्यै छ, बैंक। तर, कसले किन्ने? धितो लिलामी भएन भने बैंकले कसरी ऋण उठाउँछ?
बचतकर्ताको पैसा कसरी फिर्ता दिन्छ? घरजग्गाको कारोबार तत्काल बढ्ने देखिँदैन। गाडीको हकमा पनि त्यही हो। हालै नाडा र नाइमाले अटो शो गर्यो। तर, ती अटो शोको बिजोग नै भएको थियो। ठूलाबडा ल्याउँदा पनि खासै फरक परेन। दलालीहरू अहिले पनि सेयरको मूल्य बढ्छ भनेर सर्वसाधारणमा भ्रम छरिरहेका छन्।
यद्यपि, कुनै हालतमा सेयरको मूल्य बढ्ने छैन। त्यसैले अब जनता सचेत हुन आवश्यक छ। दलालीहरूको काम नै अरुलाई फसाएर आफू उम्किने हो। प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्र बैंकका गर्भनर विश्व पौडेललाई अर्थतन्त्र किन सुस्तायो? बजारमा किन मन्दी आयो? थाहा छैन।
बजारको अवस्था नबुझिकन प्रधानमन्त्री र अर्थमन्त्री अर्थतन्त्र सुध्रिन्छ भन्दै हिँडेका छन्। कसरी सुध्रिन्छ? सरकारले सबैभन्दा बढी राजस्व उठाउने घरजग्गा कारोबारबाट हो। घरजग्गा कारोबारलाई बाउडिन पनि गाह्रो छ। यता, पसलहरूमा सुख्खाराम लागेको छ। व्यापार नै नभएको गुनासो पोख्छन्, व्यापारीहरू।
चाडपर्व नजिकिँदै छ तर पहिलेको जस्तो व्यापार अहिले छैन। सेयरबाट पनि राज्यले राम्रै राजस्व उठाउँदै आएको थियो। मन्दीको प्रभावमा सेयर बजार पनि परेको छ। त्यसैले राज्यको ढुकुटीमा राजस्व आउने स्रोत नै छैन। राजस्व नउठ्दा सरकारले धमाधम विदेशी ऋण लिइरहेको छ।
२९ खर्ब ४२ अर्ब रुपैयाँ विदेशी ऋण पुगिसकेको छ। उखु किसानहरू अनुदान कटौती हुँदा सडकमा आएका छन्। निर्माण व्यवसायीको ४५ अर्ब, दूध किसानको सात अर्ब र कोरोना बीमा गरेबापत अस्पतालहरूले २४ अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन्। उनीहरू मागेको माग्यै छन्, तर सरकारको ढुकुटीमा पैसा छैन।
सरकार आफ्ना खर्च धान्न अहिले ऋणको भर परिरहेको छ। अबको दुई वर्षमा ऋण ठ्याक्कै दोब्बर हुन्छ। सर्वसाधारणसँग यतिबेला पैसाको अभाव छ। बिहानबेलुका छाक टार्न धौधौ परेको अवस्थामा कसले घरजग्गा, सेयर, गाडी र सुन किन्ने? यी क्षेत्रको मूल्य झन् घट्ने निश्चित छ।
ऋण लिने मान्छे नहुँदा राष्ट्र बैंकले बजारबाट पैसा तानेको तान्यै छ। बैंकहरूले तीनदेखि चार प्रतिशतबाट बचतकर्ताको पैसा उठाइरहेका छन्। तर, राष्ट्र बैंकले त बैंकहरूलाई दुई प्रतिशत मात्र ब्याज दिन्छ। बैंकहरूले थप ब्याज कहाँबाट दिन्छ? राज्यलाई कर कसरी तिर्छ?
कर्मचारीलाई तलब कहाँबाट बाँड्छ? दैनिक खर्च र घरभाडा कसरी धान्छ? भोलि विदेशीले ऋण दिएन र राजस्व उठेन भने बैंकको पैसा सरकारले नै चलाउँछ। सरकारी खर्च जनताको पैसाले धानिन्छ। सहकारीका बचतकर्ताहरू आफ्नो भौचर र पासबुक देखाउँदै हिँडेका छन्। तर, त्यो पैसा फिर्ता आउने कुनै छाँटकाँट देखिँदैन।
सञ्चालकहरू कति जेलमा छन्, कति भागिसकेका छन्। पासबुक र भौचर देखाएर के गर्नु, पैसा आउने ठाउँ नै छैन। ठूल्ठूला उद्योगीले करोड पर्ने धितो राखेर अर्बौं रुपैयाँ ऋण लिएकोमा फिर्ता तिर्न सकेका छैनन्। जसका कारण केही बैंक डुब्ने भएको भनी समाचारहरूमा आइरहेको देखिन्छ।
तर, अहिले बैंकले धितो बेच्न सकेको छैन। अर्कोतिर, धितो बेच्दा आउँछ करोड, बैंकले ऋणीसँग लिनु छ अर्ब। बैंकले के गरेको रहेछ? विस्तारै बाहिर आउँदै छ।
















