सोमबार, २ असार, २०८२

डामाडोल बजार, जोखिममा बैंक, अर्थतन्त्रमा देखिँदैन सुधारको संकेत !

नयाँ मान्छेले घरजग्गा किन्छ, व्यक्ति र बैंकले गरेको लगानी उठ्छ भनेर नसोच्दा पनि हुन्छ। तर, राष्ट्र बैंकलाई कुनै चासो छैन। राष्ट्र बैंकले बैंकहरूले केमा लगानी गरेका छन् भनेर खोतल्ने हो भने चार क्षेत्र भेटिन्छन्–घरजग्गा, सेयर, गाडी र सुन। योबाहेक अन्य शीर्षकमा बैंकले लगानी गरेको पाइँदैन।

दिनमा दर्जनौँ राष्ट्रिय दैनिक पत्रिका बजारमा आउँछन्। सबै दैनिक पत्रिकामा दिनहुँ एकै खालको विज्ञापन देखिन्छ। त्यो हो–धितोको विवरण, ऋणीको फोटो र तीनपुस्ते। दिनहुँ असंख्य सङ्ख्यामा आइरहेको यस्तो विज्ञापनले पाठकको मनमा एउटै कुरा आउँछ–अब लाखौँ सर्वसाधारण सुकुम्बासी हुने भए।

त्योसँगै, बैंकले धितो लिलामी गर्न नसकेमा त्यसको सिधा असर बचतकर्तालाई पर्छ। पछिल्लो समय ऋणीहरूलाई ऋण तिर्न निकै कठिनाइ भएको छ। बैंकबाट लिएको ऋणले उनीहरूलाई तनाव दिएको छ। जसका कारण कतिपय गलत बाटोमा हिँडेका छन्। बैंकले दिएको तनावकै कारण कतिपयले मृत्युको बाटो रोजेका उदाहरणहरू पनि छन्।

अर्कोतिर, सहकारीका बचतकर्ताहरूलाई पनि निकै पीडा छ। सहकारीले पैसा लिएर भाग्दा उनीहरूको बचत डुबेको छ। सरकारले आज आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण ल्याउँदैछ। पेन्सन, सामाजिक सुरक्षा भत्ता, कर्मचारीलाई बढाउने तलबभत्ता दिने स्रोत सरकारसँग छैन।

आम्दानी नहुँदा सरकारले अहिले आन्तरिक ऋण उठाइरहेको छ। भोल勤ी यदि राजस्व नै उठ्न छोड्यो वा पेन्सन, भत्ता, तलब बाँड्न समस्या भयो भने राज्य आफैँले बैंकबाट ऋण लिन्छ। जनताबाट कर नउठेपछि राज्यले बैंकलाई ऋण तिर्न सक्दैन। अनि सरकारको हालत पनि सर्वसाधारणको जस्तै हुन्छ।

आफ्नो दैनिक खर्च धान्न सरकारले ऋण लिन्छ। त्यो फिर्ता गर्नका लागि आम्दानीको स्रोत पनि हुनुपर्छ। यस्तो अवस्थामा राज्यले साँवा र ब्याज तिर्न सक्दैन। बचतकर्ताहरू आफ्नो पैसा डुब्ने हो कि भनेर त्रसित छन्। नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल आएको महिना दिन हुन लागेको छ।

तर, उनी न अर्थशास्त्री हुन् न त अर्थ क्षेत्रका जानकार। नेपाली कांग्रेसप्रति आस्था राख्ने उनलाई कांग्रेसले गभर्नर बनाइदियो। उनी राजनीतिक रूपमा गभर्नरमा नियुक्त भएका हुन्। नयाँ गभर्नर आए पनि सेयरको मूल्य बढेन। बजार चलायमान हुने अवस्था छैन। घरजग्गा, सेयर, गाडीको मूल्य बढ्ने देखिँदैन।

व्यापार–व्यवसाय डामाडोल छ। व्यापारीहरू बोहनीसमेत नहुने गुनासो गर्छन्। व्यापार नहुँदा उनीहरू पसल छोड्ने मनस्थितिमा पुगिसकेका छन्। भाडा तिर्नसमेत कठिन भएको उनीहरूको दुखेसो छ। बजार कतैबाट सुध्रिने देखिँदैन। झन् डामाडोल बन्दै गएको छ। बैंक, फाइनान्स तथा वित्तीय संस्थाले गरेको लगानी जोखिममा छ।

त्यो उठ्छ भनेर कल्पना गर्नु मूर्खता मात्र हुन्छ। गाडी ठीकठाक र चालक अनुभवी भए पनि इन्धनबिना चल्दैन। अहिलेको बजारको अवस्था त्यस्तै छ। घरजग्गा छ, तर किन्ने मान्छे छैन। कससँग पैसा छ र घरजग्गा किन्नलाई? यतिबेला सर्वसाधारणलाई दुई छाक टार्न पनि कठिन भएको छ।

घरजग्गाको व्यापार पुनः लयमा फर्किन्छ भनेर नसोच्दा पनि हुन्छ। नयाँ मान्छेले घरजग्गा किन्छ, व्यक्ति र बैंकले गरेको लगानी उठ्छ भनेर नसोच्दा पनि हुन्छ। तर, राष्ट्र बैंकलाई कुनै चासो छैन। राष्ट्र बैंकले बैंकहरूले केमा लगानी गरेका छन् भनेर खोतल्ने हो भने चार क्षेत्र भेटिन्छन्–घरजग्गा, सेयर, गाडी र सुन। योबाहेक अन्य शीर्षकमा बैंकले लगानी गरेको पाइँदैन।

केही महिनाअघि सुन एक लाख सत्तानब्बे हजार तीन सय पुगेको थियो। अहिले सुन किन्ने कोही छैन, बेच्ने मात्र छन्। जसका कारण पसलेले पनि सुन खरिद गर्न छोडेका छन्। आफूसँग पैसा नभएको भन्दै सुन व्यवसायीले अर्को पसलमा पठाउँछन्।

मान्छे जन्मिएपछि एक दिन मर्नैपर्छ। सबै कुरा यति कृत्रिम छ। तर, कसैले त्यति सामान्य कुरा बुझेनन्। एक हजार आनाको जग्गा दलालीले साठी लाख रुपियाँसम्म पुर्‍याए। एक सय रुपियाँ प्रतिकित्ताको सेयर बत्तिस सय रुपियाँसम्म पुर्‍याइयो। भारतबाट एक लाखमा गाडी किनेर ल्याएर अटो व्यवसायीहरूले लाखौँमा बेचेका छन्।

२०२२ सालमा तोलाको ८० रुपियाँमा पाइने सुन झन्डै दुई लाख रुपियाँसम्म पुर्‍याइयो। बजारमा कृत्रिम मूल्य बढाउने दलालीहरू छन्। सयौँ जना फसेर एक जना उक्सिएका छन्। यता, पूँजीजति सबै त्यही चार क्षेत्रमा फसेको छ। जसको सबैभन्दा बढी मार राज्यलाई परेको छ।

सहकारी, लघुवित्त र फाइनान्स डुब्नुको कारण घरजग्गा, गाडी, सेयर र सुनमा लगानी भएको छर्लङ्ग भइसकेको छ। बैंकको लगानी पनि यी जोखिमपूर्ण क्षेत्रमा छ। यसले बैंक पनि सङ्कटमा नपर्ला भन्न सकिँदैन। बैंकले लिलाम गरेको धितो किन्ने मान्छे छैन। बैंकले ऋणीसँग लिनुपर्ने तीन करोड छ, तर धितो लिलाम गर्दा आउँछ एक करोड।

अझै पनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले देशमा विकास हुन्छ भन्नु जनतालाई भ्रममा पार्नुभन्दा अरू केही होइन। नेपालमा उद्योग, कलकारखाना केही छैन। केही बाँकी भएका पनि चलाउन नसकेपछि सरकारले निजीकरण गर्दैछ। उद्योगबाट आम्दानी छैन, खर्च छ।

तर, राज्यले कहिल्यै ती उद्योगलाई राम्ररी चलाउन चाहेन। अन्त्यमा, बाँकी रहेका उद्योग पनि निजीकरण गर्न खोजियो। जनताले जति पसल खोले, घरजग्गा किने, सुन खरिद गरे, त्यति नै राजस्व आउँछ। तर, अब त पसल खोलेकाहरू नै छोड्ने अवस्थामा पुगेका छन्। यो बेला लगानी गर्न डुब्छ भन्ने डर सर्वसाधारणमा छ।

उनीहरूले पैसा लगेर घरमा लुकाएका छन्। घरजग्गामा त कसैले लगानी नै गर्दैन। बैंक पनि डुब्ने डरले त्यहाँ भएको बचत बचतकर्ताले निकाल्न थालिसकेका छन्। जनता राज्यलाई कर तिर्न नसक्ने अवस्थामा पुगिसकेका छन्। यही मौका छोपेर राजावादीहरूले जनतालाई कर नतिर्न उक्साइरहेका छन्।

आजदेखि राजावादीले आन्दोलन शुरू गर्दैछन्। यो आन्दोलन कहिलेसम्म जान्छ, भन्न सकिँदैन। महिनौँदिन आन्दोलन चल्यो भने अवस्था के हुन्छ? व्यापार–व्यवसाय झन् खस्किन्छ। बजार तहसनहस हुन्छ। अहिले जसोतसो जीविकोपार्जन गरिरहेकाहरू पनि समस्यामा पर्छन्।

राज्यको ढुकुटीमा राजस्व आउन ठप्प हुन्छ। अवस्था झन् बिग्रिने देखिन्छ। निर्माण व्यवसायी, दूध किसान, कोरोना बीमा गरेका अस्पतालहरूले घरजग्गा धितो राखेर पैसा लिएर काम गरेको बताउँछन्। अहिले सरकारले पैसा भुक्तानी गर्न नसकेपछि उनीहरू समस्यामा परेका छन्।

सबै जनताले सरकारलाई दोष लगाउन थालिसकेका छन्। हुन पनि, सरकारकै कमजोरीका कारण आज यो अवस्था बनेको हो। पहिल्यै अङ्कुश लगाइदिएको भए न आज बैंकमा भएको बचतकर्ता जोखिममा पर्थे, न त अहिलेको अवस्था बन्ने थियो। अहिले सानो उद्योग खुल्यो भने १० जनाले रोजगारी पाउँछन्।

त्यहाँबाट कमाएको पैसा लगेर उनीहरूले आफ्नो परिवार पाल्छन्। तर, घरजग्गाबाट के आम्दानी हुन्छ? उल्टै घाटा भएको छ। उब्जनी हुने जमिनमा घर बनेको छ। जसका कारण सबै खाद्यान्न बाहिरबाट आउँछ। सरकारले उद्योगलाई प्रोत्साहन गर्नै चाहेन। सानो व्यवसाय गरे पनि राज्यलाई फाइदा हुन्छ।

पैसाले पैसा कमाउने हो। विडम्बना, त्यो कुरा राज्यले बुझेन। जसका कारण सबै पैसा घरजग्गा, सेयर र गाडीमा फ्रिज भएको छ। अब त्यो पैसा कसरी उठाउने? राजस्व कहाँबाट उठाउने? सरकारी खर्च कसरी धान्ने? गम्भीर समस्या निम्तिएको छ। चाँडो नाफा कमाउनका लागि बैंक तथा वित्तीय संस्थाले यी चार क्षेत्रमा लगानी गरे।

त्यसले ऋण खाने, बचत गर्ने र राज्यलाई पनि नोक्सानी भयो। एउटाको गलत कामले कति जनालाई असर पर्दो रहेछ? बैंक त्यसको उदाहरण बनेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार