विवाहपछि घर चलाउन निकै कठिन भयो। आर्थिक सङ्कटले गर्दा रत्न र लक्ष्मी भारतको सिमला पुगे। त्यहाँ दुई वर्ष बिताएपछि रत्नको मनमा आफ्नै देशमा केही गर्ने हुटहुटी जाग्यो।
मानव जीवन संघर्षको कथा हो, जहाँ हरेक पाइलामा नयाँ चुनौती र अवसरहरू लुकेका हुन्छन्। कोही यी चुनौतीसँग हार मान्छन्, त कोही तिनै चुनौतीलाई अवसरमा बदल्दै सफलताको शिखर चुम्छन्।
यस्तै प्रेरणादायी कथाका पात्र हुन्, जुम्ला कनका सुन्दरीका रत्न भण्डारी र उनकी श्रीमती लक्ष्मी। उनीहरूको संघर्ष, मेहनत र आत्मविश्वासले जीवनमा सफलता सम्भव छ भन्ने सन्देश बोकेको छ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ मा जन्मिएका रत्न भण्डारीको दैनिकी आजकाल जुम्ला सदरमुकाम खलङ्गास्थित टुडिखेलको तल्लो गेट नजिकै बित्छ। वि.सं. २०७५ देखि निरन्तर चलिरहेको यो दैनिकी उनको मेहनत र लगनको परिणाम हो।
उनले खलङ्गा टुँडिखेलमा एउटा घर भाडामा लिएर नास्ता पसल सञ्चालन गरिरहेका छन्, जुन “भण्डारी गेडा चाउचाउ” को नामले चर्चित छ। यो पसल जुम्लावासीको रोजाइमा परेको छ, जहाँ जुम्ली सिमी, आलु र चाउचाउको स्वादिष्ट मिश्रणबाट बनेको “गेडा चाउचाउ” परिकारले सबैको मन जितेको छ।
यो परिकारले भोक मेटाउन मात्र होइन, स्थानीय स्वादको पहिचान पनि बनाएको छ।
रत्नको पारिवारिक पृष्ठभूमि पनि व्यापारसँग जोडिएको छ। उनका बुवाले कनकासुन्दरी–१, भुलभुलेमा होटेल सञ्चालन गर्थे। बुबाकै पेसालाई रत्नले निरन्तरता दिए।
सुरुमा भुलभुलेमै खाना र बस्ने सुविधासहितको होटेल चलाएका रत्नले वि.सं. २०६८ मा एसएलसी उत्तीर्ण गरे। तर, पढाइलाई निरन्तरता दिन भने उनले सकेनन्।
वि.सं. २०६३ मा ६/६ महिनाको अन्तरालमा बुवा र आमाको निधनले उनको काँधमा ठूलो जिम्मेवारी थपियो। यी कठिन परिस्थितिमा पनि उनले ५ वर्षसम्म पढाइलाई निरन्तरता दिए।
यही बीचमा, वि.सं. २०६६ मा १९ वर्षको उमेरमा उनको विवाह लक्ष्मी भण्डारीसँग भयो, जो त्यतिबेला १७/१८ वर्षकी थिइन्।
विवाहपछि घर चलाउन निकै कठिन भयो। आर्थिक सङ्कटले गर्दा रत्न र लक्ष्मी भारतको सिमला पुगे। त्यहाँ दुई वर्ष बिताएपछि रत्नको मनमा आफ्नै देशमा केही गर्ने हुटहुटी जाग्यो।
उनले सोचे, “अर्काको देशमा दुख गर्नुभन्दा आफ्नै ठाउँमा मेहनत गरौँ।” यो सोचले उनलाई जुम्ला फर्कायो। फर्किएपछि उनले बुवाकै पेसालाई पुन: अँगाले।
वि.सं. २०७२ मा २० हजारको सानो लगानीबाट भुलभुलेमा होटेल सुरु गरे। त्यतिबेला सडक सुविधा थिएन, खच्चरबाट सामान ढुवानी हुन्थ्यो। रत्नको होटेलले बटुवाहरूलाई राहत प्रदान गर्यो।
उनको मेहनत र लगनले होटेल राम्रै चल्यो, जसबाट उनले एउटा घर बनाए। सडक सुविधा विस्तार भएपछि उनले सडक नजिकै अर्को घर पनि बनाए।
बालबच्चाको शिक्षाका लागि सहज वातावरण खोज्दै रत्न र लक्ष्मी वि.सं. २०७५ फागुनमा खलङ्गा झरे। नयाँ ठाउँमा व्यवसाय सुरु गर्न डर र चिन्ता नभएको होइन। “पहिलेजस्तै व्यापार हुन्छ कि डुबिन्छ कि?” भन्ने त्रास थियो।
तर, रत्न र लक्ष्मीको मेहनत र ग्राहकसँगको आत्मीय व्यवहारले उनको पसल फस्टाउँदै गयो। उनीहरुको मुस्कान, मजाक गर्ने शैली र ग्राहकसँगको सौहार्दपूर्ण व्यवहारले पसलको लोकप्रियता बढायो।
ग्राहकहरूले नै उनको पसलको नाम “भण्डारी गेडा चाउचाउ” राखिदिए। रत्न हाँस्दै भन्छन्, “यो त अब ब्रान्ड बनिसक्यो!”
लक्ष्मीले पनि पसल बाहिर चटपटे व्यापार सुरु गरिन्, जुन झन्डै एक वर्षदेखि चलिरहेको छ। रत्नको गेडा चाउचाउबाट मासिक ८० देखि ९० हजार र लक्ष्मीको चटपटे व्यापारबाट १८ देखि २२ हजार आम्दानी हुन्छ।
दिनमा तीनदेखि चार पेटी चाउचाउ बिक्री हुने गरेको रत्न बताउँछन्। ग्राहकको सकारात्मक प्रतिक्रियाले उनीहरूको मनमा छुट्टै उत्साह र खुसी थपिन्छ। रत्न ढुक्कसँग भन्छन्, “लक्ष्मीको साथ र मेहनतले नै यो ठाउँमा पुगेको हुँ।”
रत्नको बुझाइमा जीवन सुख र दुखको सिक्का हो, जुन जतिबेला पनि पल्टिन सक्छ। तर, आफ्नो भविष्य आफैँले बनाउने हो।
उनको भनाइ छ, “देशमै बसेर आत्मनिर्भर हुन सकिन्छ। विदेशमा दुख गर्नुभन्दा स्वदेशमै मेहनत र लगनले काम गरे सोचेजस्तै कमाउन सकिन्छ।” उनको यो दृष्टिकोणले धेरै युवालाई प्रेरणा दिन्छ।
रत्न र लक्ष्मीको कथा केवल होटेल व्यवसायको कथा होइन, यो त मेहनत, लगन र आत्मविश्वासको कथा हो। देशमा अवसर नभएको गुनासो गर्ने युवाहरूका लागि उनीहरू प्रेरणाको स्रोत बनेका छन्।
उनीहरूको जीवनले सिकाउँछ—अवसरको खोजी आफैँले गर्नुपर्छ, मेहनत र इच्छाशक्ति भए असम्भव भन्ने केही हुँदैन। रत्न र लक्ष्मीको यो जोडी जुम्लाको सानो पसलबाट ठूलो सन्देश प्रवाह गरिरहेको छ—आफ्नो सपना आफैँले पूरा गर्नुपर्छ, र त्यसका लागि स्वदेशमै प्रशस्त सम्भावना छन्।
















