मंगलवार, २६ चैत्र, २०८१

होटेल पौवाको ‘स्वादउत्सव’ जुम्लामा भव्य सुरुवात, स्थानीय स्वाद र संस्कृतिको जादू फैलिँदै

पहिलो दिनमै ६०० भन्दा बढी पाहुनाको उत्साहजनक उपस्थितिले कार्यक्रमको सफलताको संकेत दिएको छ, जसलाई शाखा प्रबन्धक थानेश्वर भण्डारीले “निकै सुखद सुरुवात” को रूपमा वर्णन गरे।

होटेल पौवाले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘स्वादउत्सव’ आजदेखि जुम्ला शाखामा भव्य रूपमा सुरु भएको छ। चैत २५ देखि २९ गतेसम्म चल्ने यो उत्सवले नेपाली सत्कार, हस्पिटालिटी र जुम्लाको मौलिक स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ।

पहिलो दिनमै ६०० भन्दा बढी पाहुनाको उत्साहजनक उपस्थितिले कार्यक्रमको सफलताको संकेत दिएको छ, जसलाई शाखा प्रबन्धक थानेश्वर भण्डारीले “निकै सुखद सुरुवात” को रूपमा वर्णन गरे।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ स्थापना भएको होटेल पौवाले जुम्ला शाखामार्फत स्थानीय खानाका परिकार र संस्कृतिको जादू प्रस्तुत गरेको छ। स्वादउत्सवको पहिलो दिन जुम्लाका परम्परागत खानाका परिकारहरू, जस्तै सिस्नोको अचार, टमाटरको चटनी र स्थानीय अर्गानिक उत्पादनबाट बनेका स्वादिष्ट परिकारहरूले पाहुनाहरूलाई मन्त्रमुग्ध बनाए।

कार्यक्रममा २५ सयदेखि ३ हजारसम्म निमन्त्रणा गरिएकोमा पहिलो दिनको उत्साहजनक सहभागिताले जुम्लाबासी र बाह्य पर्यटकहरूबीचको चासो र उत्साह देखाएको छ।

शाखा प्रबन्धक भण्डारीले भने, “यो उत्सवले जुम्लाको प्राकृतिक सम्पदा, सांस्कृतिक पहिचान र मौलिक स्वादलाई विश्वसामु चिनाउने मौका प्रदान गर्नेछ। साथै, स्थानीय किसानहरूको उत्पादनलाई प्रोत्साहन गरी क्षेत्रको अर्थतन्त्रलाई समेत सकारात्मक प्रभाव पार्नेछ।”

“पहिलो दिनमै यति धेरै पाहुनाको उपस्थितिले हाम्रो प्रयासको सफलताको संकेत दिएको छ,” उनले थपे।

होटेल पौवाले नाै वर्षअघि लुम्बिनीबाट सुरु गरेको आफ्नो यात्रालाई अहिले १८ वटा शाखासम्म विस्तार गरिसकेको छ, र जुम्ला शाखा यसको महत्वपूर्ण हिस्सा हो। यो शाखाले सात सयभन्दा बढी स्थानीयलाई प्रत्यक्ष रोजगारी दिँदै जुम्लाको पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याइरहेको छ।

स्वादउत्सवमार्फत जुम्लाको सुन्दरता, सांस्कृतिक सम्पदा र स्वादिष्ट खानालाई प्रचार गर्ने होटेल पौवाको यो पहलले क्षेत्रको पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रममा सहभागी पाहुनाहरूले जुम्लाको मौलिक स्वाद र आतिथ्यको अनुभव गर्न पाएकोमा खुशी व्यक्त गरे। स्थानीय र बाह्य पाहुनाहरूबीचको यो भेटघाटले जुम्लाको पर्यटन प्रवद्र्धनमा थप ऊर्जा थपेको छ।

स्वादउत्सवका बाँकी दिनहरूमा पनि यस्तै उत्साह र सहभागिताको अपेक्षा गरिएको छ, जसले नेपाली हस्पिटालिटीको ब्रान्डिङलाई अझ सशक्त बनाउने सांसद ज्ञानेन्द्र शाहीका स्वकीय सचिव गोकर्ण कठायतले बताए।

“होटेल पौवाको यो पहलले जुम्लावासीको गौरव र बाह्य पर्यटकको आकर्षण दुवैलाई एकसाथ समेटेको छ,” उनले भने, “चैत २९ गतेसम्म चल्ने यो उत्सव जुम्लाको सांस्कृतिक र खानकीय सम्पदालाई उजागर गर्न सफल हुनेमा हामीहरू आशावादी छौं।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार