मंगलवार, ३ असार, २०८२

मान्छले बनाएको पैसाले मान्छे बनाउँदै

हरेक प्रतिस्पर्धाको पछाडि पैसा नै मुख्य कारण भएको छ। हरेक खुसी पैसासँग जोडिएको छ। हरेक दु:खको कारण पैसा बनेको छ।

जब प्राण, आत्मा, शरीर यी तिन तत्वकाे मिलन हुन्छ अनि मात्र मानिसको जीवन सुरुवात हुन्छ। संसारमा मानिस जतिसुकै बुदिमान, र सर्वश्रेष्ठ प्राणी काेहि छैन र पनि मानिस फेल छ। नाशवान छ, अमर छैन, मानिसको आयू मैदानका घाँस जतिकै छ, घाँस पलाउन्छ, डकमक्क फुल्दछ केहिबेर ओइलिहाल्छ, सुकिहाल्छ र त्यसले त्यसकाे ठाउँ पनि यादै गर्दैन। मानिसको आयू पनि घाँस जतिसुकै छ, मानिसको आयु ७० वर्षकाे मात्र हाे बलले भ्याए असी पुग्ला। ऊ याे संसारमा सदाकाे अलबिदा हुन्छ र पनि ऊ संसारमा बाँचुन्जेल उसका आकांक्षाहरु, इच्छाहरु, सपनाहरु अनगिन्ती हजारौं लाखौं हुन्छन्। र पनि ऊ जीवनभर सफलताको खाेजीमा हुन्छ।

जीवनमा सफल हुन नचाहने मान्छे पनि सायदै भेटिएलान्। सफल हुनुपर्छ भन्ने पनि सबैलाई थाहा छ। तर, जीवनमा कहाँनेर गएर यस्तो भइदिन्छ कि मान्छेले सोचेको कुरा त परै जाओस्। जीवनमा कल्पना पनि नगरेको ठाउँमा गएर जीवनले यसरी फालिदिन्छ कि जहाँबाट हामीलाई माथि उठ्न निकै मेहनत गर्नुपर्छ। कोही भनौं अथवा अधिकांश त त्यसबाट बाहिर आउनै सक्दैनन्। आखिर जीवनमा यस्तो किन हुन्छ? के हामीले आफूले चाहे जस्तो जीवन निर्माण गर्न सक्दैनौं?

जीवनमा सबैका सपना हुन्छन्। तर कमैकाे मात्रै त्यो पुरा हुन्छ। धेरैका सपना सपनै रहन्छ। आखिर केले छेक्छ, याेग्यता इत्यादि धेरैमा उत्तरमा भन्न सकिएला। तर यी सबैले घुमाइफिराई एउटै निचोडमा ल्याइदिन्छ, पैसा। पैसा दुनियाँकाे यस्तो भाषा हाे जाे जान्न पढिरहनु पर्दैन। बेच्न मिल्ने हरेक किन्ने सामर्थ्य त यसले राख्छ नै। इज्जत, प्रतिष्ठा, रवाफ, धाक, प्रसिद्धि इत्यादि। ‘नेम एन्ड फेम’ भित्र पर्ने सारा पनि पैसाको छाँयामा सजिलै उपलब्ध भइरहेको लाखौं दृष्टान्त दुनियाँमा छन्। त्यसैले त हेँगेल भन्ने गर्थे पैसाले संसारकाे इच्छा पुरा गर्छ र संसारमा मानिसलाई आर्थिक दासत्वबाट स्वतन्त्र पार्छ।

पैसाले समुद्रकाे गहिराइ नाप्नदेखि आकाशको उचाइ छुनेसम्म हिम्मत दिनेहुनाले पैसाले मान्छेलाई एकहदसम्मकाे स्वतन्त्र त पक्कै पार्छ। इतिहासमा दास बनाइएका आखिर पैसाहिन नै त थिए। दुनियाँमा सारा अपराध पैसाकै कारण हुन्छन्। केही पैसाको लागि चाैबिसै घण्टा श्रम गरेर जीवन सक्ने असंख्य छन्। यसलाई जाेगाउने हदसम्मकाे कन्जुस्याइँ गर्ने पनि कति छन् कति। बुढाे हुन्जेल सम्ममा सानाेतिनाे धनकाे पाेकाे पार्न सक्नेले पनि आफूलाई सफल नै ठान्छन्। याे जम्मा पार्न लाखौं, करोडौं हाेइन अरबाैँ मानिसको जवानी खेर गइरहेको थियोे छ।

संसारमा पैसाको आविष्कार हुनुपूर्व पनि विनिमय चलेको थियो। मानिसले आफूसँग भएको वस्तु दिएर अरूबाट आफूलाई चाहिएको वस्तु साटेर लिन्थे। यसरी हुने विनिमयमा वस्तुहरूको मूल्याङ्कन प्रणालीमा समानता नहुने, एकअर्कासँग भएका वस्तु दुबै पक्षलाई आवश्यक नपर्ने, वस्तुलाई स–साना इकाइमा विभाजन गर्न नसकिने लगायत समस्या देखिएपछि त्यसको विकल्पका रूपमा पैसाको आविष्कार भयो।

विश्वमा मुद्राको इतिहास धेरै पुरानो छ। बदलिँदो समाज र बढ्दो आवश्यकताबीच एउटा सहज विनिमयको माध्यम कसरी विकास गर्ने भन्ने चिन्तनले नै पैसाको विकास हुन पुगेको मानिन्छ। कुनै एउटा यस्तो वस्तु जसले आफ्नो उपभोग्य वस्तु सहज किन्न सकियोस् र त्यसलाई सहज बोकेर हिँड्न पनि सकियोस्। जसले त्यसको निश्चित मूल्य निर्धारण होस् भन्ने खोजमा मानिस लागे।

त्यही खोजमा जनावरको छाला, अंग आदि हुँदै धातुलाई मुद्राका लागि चलनमा ल्याएको मानिन्छ। फलाम, तामा, काँसजस्ता धातुलाई निश्चित तौलमा ढलौट गरी मुद्राका रूपमा प्रयोग गर्न थालियो। पैसाको सुरुवात यसैबाट भएको मानिन्छ। गाउँ छोडेर शहर जाँदै गरेको युवा होस् या परदेशिएका लाहुरेदेखि जागिरे र व्यापारीसम्म सबैको एउटै चासो र खोज हो–पैसा।

परिवारको पालनपोषणदेखि बालबच्चाको भविष्य सम्मका लागि पैसा नभइ हुन्न। पछिल्लो आधुनिक विश्वमा हरेक मानिसले पैसालाई जीवनसँग तुलना गरिरहेका छन्। पैसाबिना हरेक मानिसको दिनचर्या चल्न छाडेको छ। रातमा पैसा। दिनमा पैसा। सबै चिजमा पैसैपैसा। पैसा ड्रग्सएडिक भन्दा पनि ठूलो नसा हाे। पैसाकाे संसार भलभुलैया गहिराे सत्यनासकाे ताल हाे। संसारमा सबैभन्दा ठुलाे नसा हाे त त्यो नसा पैसा हाे। याे पैसाले अरबाैँ मानिसहरुकाे निदहराम गरिरहेकाे छ। बुढाे देखि तन्नेरी बालकसम्म कसैलाई चैनसँग बस्न र सास फेर्न दिएको छैन।

मायामा पैसा। ममता किन्न सक्ने पनि पैसा। भावना छिन्न सक्ने पैसा। पैसा नै सबथोक भयो आज। “हजारौं माइल माथि आकाशमा उड्ने र हजारौं माइल समुन्द्र मुनि पनडुब्बीमा पौडिने यात्रीहरुकाे पनि एउटै डेस्टिनेसन, केन्द्रबिन्दु भयो, पैसा।” बाबुले सन्तान बिर्सिए पैसाकै लागि। सन्तानले पैसा देखे आमाबाबुमाथि। पैसाको अगाडि भावनाको के काम? पैसाकै अगाडी नैतिकता भयो बेकाम।

नराम्रोलाई राम्रो देखाउने पैसा। अनर्थलाई अर्थ दिने पैसा। के हो पैसा? के रैछ पैसा? सम्मानित अदालत निष्पक्ष कानुनलाई पनि राजनीतिक भुमरीमा फसाइदियाे पैसाले। नेपाली समुदायमा पनि राजनीतिमा आफूलाई दिर्गकालीन रुपमा स्थापित गराउनकाे लागि आफ्नाे गुड र पार्टी अध्यक्षहरुलाई धुपबाल्नकाे लागि पनि पैसाले महत्त्वपूर्ण भूमिका खेलेकाे छ।

जीवनयापनलाई सजिलो बनाउन चलनचल्तीमा आएको भए पनि आज पैसाले जीवनयापन जटिल बन्दै गएको छ। मानिसले पैसा बनाएको भए पनि आज पैसाले मानिस बनाउन थालेको छ। मानिस पैसाको सामुन्ने निरिह हुन थालेको छ। पैसा हरेक मानिसको कमजोरी भएको छ। पैसा मानिसको सबैभन्दा ठूलो आविष्कार हो। संसारमा भएका ठूलाठूला परिवर्तन र आविष्कारहरु पैसाकै कारण सम्भव भएका हुन्। पैसा मानिसको पहिचानसँग जोडिएको छ।

यत्रतत्र सर्वत्र व्याप्त छ पैसा तर पनि यसलाई प्राप्त गर्न त्यति सजिलो भने छैन। यो चलायमान छ। एकै ठाउँमा सङ्गालेर राख्न पनि गाह्रो छ। पैसा सबैलाई प्यारो छ, तर कसैले यसलाई आफ्नो बनाउन सक्दैन। संसारको जुनसुकै कुनाको मानिस किन नहोस्, पैसा चाहिन्छ। बिनापैसा मानिस बाँच्न सक्दैन। पैसा नै सामाजिक वर्गीकरणको कारण बनेको छ। मानिसको सामर्थ्य पैसासँग जोडिएको छ। खल्तीमा टन्न पैसा भए आँट आउँछ।

हरेक प्रतिस्पर्धाको पछाडि पैसा नै मुख्य कारण भएको छ। हरेक खुसी पैसासँग जोडिएको छ। हरेक दु:खको कारण पैसा बनेको छ। पैसा भएपछि जे पनि गर्न सक्छु भन्ने घमण्ड मानिसमा बढेको छ। पैसाकै पछि दौडिँदा क्षणिक सुख मिल्छ, आत्मसन्तुष्टि मिल्दैन भन्ने कुरा नै भुलेको छ। मानिसले पैसा कमाउने धुनमा आफ्नो जीवन बाँच्न भुलेका छन्। भौतिक जीवन नै ठूलो हो भन्ने होडबाजी बढेको छ। मानिसले पैसालाई मरिहत्ते गरेको देख्दा लाग्छ, ऊ अमर छ। मेरो मेरो भन्दै लडिरहेको छ। कति आत्माहरूलाई रुवाइरहेको छ। सबैले भौतिक जीवन छाड्नुपर्छ भन्ने कटु सत्यलाई भुलेको छ।

आवश्यकताभन्दा बढी पैसा थुपार्दा थप तनाव र बोझ महसुस गर्नुपरेको कुरा भुल्दछ। जति धनी भयो उति लोभी बन्दैछ। लिनमात्र तम्सिएको छ मानिस, कसैलाई दिन जानेकै छैन। सामाजिक कार्य र पैसा एकअर्कोका परिपुरक हुन् भन्ने नै भुलेको छ। संसारमा हुने हरेक राम्रा नराम्रा कामहरूको पछाडि पैसा नै मुख्य कारण हुन्छ। सबैले पैसा कमाउन जान्दैनन्, जान्नेले अरुलाई सिकाउँदैन पनि। पैसाले कहिल्यै अपजस नपाएजस्तै जस पनि कहिल्यै पाउँदैन। त्यसैले यो फोहोर भए पनि, च्यातिए पनि, मैलिए पनि पवित्र छ, मानसिकता छ।

मानिसले आफूलाई पनि यस्तै पैसा जस्तै पवित्र बनाउने हो भने आफैलाई पैसासँग अलग्याएर आत्मसम्मान र स्वाभिमानलाई साक्षी राखी कर्म गर्न सक्नुपर्दछ। अनि बल्ल पैसाले पनि सम्मान गर्छ। हामी के चाहान्छौँ, हामीलाई नै थाहा छैन। अक्षर चिन्न थालेदेखि बाबुआमाले सपना देखाउँछन्, धेरै पढ्नु, ठूलो मानिस बन्नु, टन्न पैसा कमाउनु, सुखी हुनु। त्यही सुख पाउनलाई सारा जिन्दगी दु:ख गरेर पैसा कमायो। उमेर ढल्केपछि शरीरले नै साथ छाडिदिन्छ।

जसरी मृत्य सत्य हो, पैसा असत्य हो। मृत्य एकपल्ट आउँछ, तर पैसाले पटक पटक धोका दिन सक्दछ। पैसालाई पहिचानसँग अलल्याउन सकेमात्र खुसी मिलदछ। “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो।” लोभी मानिसहरू आफूले चाहेको कुरा हरहालतमा पाउन सही कुराहरूलाई बेवास्ता गर्छन्‌। “रातारात धनी बन्न खोज्ने मानिस निर्दोष रहिरहन सक्दैन” पैसाको प्रेमले खराब काम गर्न नलगाए तापनि त्यसले नकारात्मक नतिजाहरू भने निम्त्याउन सक्छ।

“जो हरहालतमा धनी बन्न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌ अनि अनेकौँ मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌।” पैसा हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा होइन, अनि यसले हाम्रो जीवन जोगाउन सक्दैन। पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो। पैसाले पारिवारिक एकता किन्न सक्दैन। पारिवारिक एकता भन्ने कुरा परिवारसित समय बिताएर अनि तिनीहरूलाई धेरै माया र चासो दिएर मात्र सम्भव हुन्छ।

पैसा आफैमा गलत होइन। तर पैसालाई प्रेम गर्ने र त्यसलाई सबैभन्दा महत्त्वपूर्ण ठान्ने मानिसहरूको जीवनमा समस्याहरू आउन सक्छन्‌। जस्तै: परिवार टुक्रिन सक्छ अनि काममै रातदिन घोटिँदा स्वास्थ्य बिग्रन सक्छ। हरहालतमा पैसा कमाउन दौडधूप गर्नुको सट्टा आफ्ना भौतिक आवश्यकताहरू पूरा हुँदा त्यसमै सन्तुष्ट हुनु बुद्धिमानी हो। पैसा थुपार्दैमा सुरक्षित होइन्छ भन्ने कुनै ग्यारेन्टी छैन। आखिर, पैसा चोरी हुन सक्छ अनि यसले रोग निको पार्न र मृत्युको मुखबाट जोगाउन पनि सक्दैन। साँचो सुरक्षा(God) अनि उहाँको उद्देश्यको ज्ञान लिंदा मात्र पाउन सकिन्छ।

मानिसहरू भन्ने गर्छन्‌, “जे गर्छ पैसाले गर्छ।” यो भनाइ केही हदसम्म सही पनि हो। आखिर पैसा छ भने मात्र हामी खानेकुरा र लुगाफाटा किन्न सक्छौं। घर भाडा तिर्न अथवा घर किन्न पनि पैसा नै चाहिन्छ। एक आर्थिक सम्पादकले यसो भने, “समाजमा पैसाले महत्त्वपूर्ण स्थान ओगटेको छ। पैसाको प्रयोग नै हटाइयो भने मानिसहरूबीच त्रास छाउन र युद्ध मच्चिन एक महिना पनि लाग्दैन।”

पैसा नै सब थोक होइन। नर्वेली कवि आर्न गाबोर्गअनुसार, “पैसाले खाना किन्न सकिन्छ तर भोक किन्न सकिँदैन। औषधी किन्न सकिन्छ तर स्वास्थ्य किन्न सकिँदैन। आरामदायी ओछ्यान किन्न सकिन्छ तर निद्रा किन्न सकिँदैन। ज्ञान किन्न सकिन्छ तर बुद्धि किन्न सकिँदैन। चमकदमक किन्न सकिन्छ तर सौन्दर्य किन्न सकिँदैन। आकर्षण किन्न सकिन्छ तर न्यानोपन किन्न सकिँदैन। रमाइलो किन्न सकिन्छ तर आनन्द किन्न सकिँदैन। मान्छे किन्न सकिन्छ तर घनिष्ठ साथी किन्न सकिँदैन। नोकर किन्न सकिन्छ तर वफादारी किन्न सकिँदैन।”

अन्त्यमा, जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पैसा अनि यसले किन्न सक्ने कुरा होइन। याद गर्नुहोस्, “मानिस जति नै सम्पन्न भए तापनि त्यसले उसलाई जीवन दिँदैन। साँच्चै, यस्ता महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पाउँदा जीवनमा साँचो सन्तुष्टि अनुभव गर्न सक्छौं।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार