जुम्लामा राष्ट्रिय आर्थिक गणना–२०८२ सञ्चालनका लागि जिल्ला स्तरमा कार्यालय स्थापना गरिएको छ।
मंगलबार निमित्त प्रमुख जिल्ला अधिकारी मिन बहादुर रावलको उपस्थितिमा उक्त कार्यालय स्थापना गरिएको हो।
जिल्ला आर्थिक गणना कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र सिंह धामीका अनुसार आठै पालिकाका ६० वडामा करिब ३० जना गणक परिचालन गरी तथ्यांक संकलन गरिनेछ।
वास्तविक र विश्वसनीय तथ्यांक संकलनका लागि सर्वेक्षण प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्य लिइएको उनले बताए।
गणना कार्य आगामी बैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुनेछ। यस क्रममा जुम्लामा रहेका सबै आर्थिक प्रतिष्ठानको दर्ता, नविकरण, व्यवसाय सञ्चालनको अवस्था तथा राजश्व सम्बन्धी विवरण संकलन गरिनेछ।
तथ्यांक संकलन प्रश्नावली र अनलाइन दुवै माध्यमबाट गरिने योजना रहेको छ।
हरेक पाँच वर्षमा हुने आर्थिक गणना अन्तर्गत दोस्रो पटक हुन लागेको यो कार्यक्रम सफल बनाउन सबै सरोकारवालासँग सहयोगको अपिल गरिएको छ।















