यो उनको सफलताको कथा हो। आत्मनिर्भर कर्णालीको उत्प्रेरणा हो। एमबीएमा उनले पढेका व्यवस्थापनका सिद्धान्तको व्यवहारिक प्रयोगको कथा हो। जसले जागिर खाँदैन, बरु जागिर दिन्छ।
काठमाडौं बालुवाटार स्थित बाजेको सेकुवा पसलमा भेट भएको थियोे, उनीसँग। उनी अर्थात् पुष्कर काफ्ले (३२)। सिए पढेको अनि एमबीए सकाएको एक कलिलो युवा।
यस्तो योग्यता भएका थुप्रै युवाहरु छन्, यो देशमा। जागिर र पैसाको कुनै अभाव नभएका। विदेशमा समेत तमाम अवसर भएका कयौं युवाहरु छन्।
तर उनी नै किन? किन उनी कुटीरो डट कमको नजरमा परे? कारण एउटै छ। जुम्ला सिंजा कनका सुन्दरीको एक युवा काठमाडौंमा उत्पादनको कर्णाली कर्नर चलाएर बसिरहेका छन्।
उत्पादनको कर्णाली कर्नर शब्द अलि नबुझिने हुन सक्छ। त्यसैले सोझै भनौं कर्णालीमा उत्पादन भएका हरेक उत्पादन उनले काठमाडौंमा उपलब्ध गाइरहेका छन्।

अर्थात् कर्णालीका अर्गानिक उत्पादनलाई काठमाडौंका भान्सामा पुगाइरहेका छन्। त्यसैले उनी हाम्रो नजरमा परे।
जागिर र ठूला अवसर छोडेर कर्णालीका उत्पादन र तिनको स्वाद राजधानीमा चखाउँदै हिँड्नु सानो कुरा होइन। विकटको कठिन भूगोल र अप्ठ्यारो बाटो कटाउँदै काठमाडौं ढुवानी गरिएका बस्तुमा भविष्य खोजेकै कारण उनी हाम्रो नजरमा परेका हुन।
त्यसैले यो लेख उनको सफलताको कथा हो। आत्मनिर्भर कर्णालीको उत्प्रेरणा हो। एमबीएमा उनले पढेका व्यवस्थापनका सिद्धान्तको व्यवहारिक प्रयोगको कथा हो। जसले जागिर खाँदैन, बरु जागिर दिन्छ।
उसो त उनी अध्ययन गरिरहेको बेला कमाइ रहेका पनि थिए। मेनपावर कम्पनी, ट्राभल एक्स्पर्ट, हेन्डिक्राफ्ट लगायतका धेरै ठाउँको ज्ञान छ। म्यानेजर भएर समेत काम गरेको अनुभव छ।
गुजारा धान्ने जागिरका लागि उनीसँग अनुभवको कमी छैन। तर उनले आफूलाई जागिरे जीवनचक्रबाट उकासी सकेका छन्।

त्यसैले उनी अहिले काठमाडौं यार्सागुम्बा, सिलाजित, स्याउ, ओखर, सिमी, चामल, चिनो, कागुनो, कोदो, फापर, मकै, भटमास, जिम्बुफ टिमुर लगायत कर्णालीमा उत्पालन हुने सबै उत्पादन काठमाडौं उपलब्ध गराउँछन्।
उनी व्यापारिक चिन्तनका थिए। चितवनमा काम गर्न जाँदा माछा पालन व्यासायमा लगानी गरे। उनले पाँच लाखको शेयर हाले। तर लगानिकर्ता साथीहरुले ईमान्दारीता देखाएनन्। त्यो सबै खेर गयो।
त्यसपछि उनले एउटा कोरियन कम्पनीमा लगानी गरेका थिए। जागिर छोडेर व्यवसायमा लागेको बेला विश्वभर कोरोना महामारी आयो। व्यवसाय फापेन। निराश भने थिएनन्।
एमबीए पढिरहेका थिए। पढाउने प्रनध्यापकले जुम्लाका अर्गानिक सामानको चर्चा गर्न थाले। तिनको फाइदा बताइदिन थाले। मगाइदिउ भनेर अनुरोध गर्न थाले।
उनले मगाइदिए। ठूलो लगानी नगरिकनै थोरै नाफा भयो। त्यसपछि कर्णालीका सामान पाइन्छ भनेर फेसबुक लगायत सामाजिक संजालमा लेख्न थाले। गाउँबाट सामान मगाउने र काठमाडौं बेच्ने गर्दा नाफा बढ्दै गयो। यसले व्यापारमा लगाब बढायो।

‘सुरुसुरुमा उदारोमा सामान मगाएँ। लगानी उस्तो परेन। काठमाडौंमा प्रि अर्डर थियो। सामानहप्ता दिनमा कट्यो,’ उनले भने, ‘द्यारपाटाका दुई जना काफ्ले दाईले सामान पठाउनु हुन्थ्यो। त्यही सामान बेचेर मैले नाफा खाएँ।’
नाफा राम्रो आउन थालेको थियोे। यति हुँदा पनि उनको आफ्नै पसल वा व्यापारिक केन्द्र थिएन। घरमै सामान राखेर अर्डर गर्नेलाई डेलिभरी गरिदिन्थे। पछि बसुन्धारामा अफिस सुरु गरे। बि एण्ड पी ग्रुप।
यो थियोे २०७७ साल ११ महिना २३ गतेको दिन। उनले बि एण्ड पी ग्रुप भित्रको एक आधिकारिक अर्गानिक हब्स कर्णालीका उत्पादनको विक्री वितरणलाई बनाए। जब ब्रान्डिङ सुरु भयो तब उनले ‘ओखल अर्गानिक मार्ट’ संचालनमा ल्याए। ओखल भनेको धान, चिनो, कागुनो कुटेर भात खाने चामल बनाउने र गहुँ, जौ फल्ने, निफन्ने ठाउँ हो।
त्यो थियोे, उनले सामान बेच्न थालेको दोस्रो वर्ष। दोस्रो वर्षबाट उनी व्यवस्थित रुपमा कर्णालीका उत्पादन बेच्न लागे। कथा धेरै लामो छ। किताब बन्ने बराबरका अनुभूति छन्।
यो त उनको कथाको सार मात्रै हो। सार पनि निकै चाख लाग्दो छ। रुचिकर छ। उत्प्रेरणा जगाउने खालको छ।

उनले उत्पादन बेच्दाबेच्दै काठमाडौंकै जोरपाटीमा गाई र तरकारी फर्म खोले। तर गाई फर्म बन्द भयो। ‘कृषिमा अनुदान अर्कैले खाने रहेछ, हामी दूध मात्रै बुच्न लाग्यौं। मीन भाम र शिरिर खनाल पनि लगानीकर्ता थिए। तर सबैलाई घाटा लाग्यो,’ उनले सुनाए।
पुस्करलाई ओखल अर्गानिक मार्टले भने राम्रो साथ दियो। त्यो बिस्तार हुँदै अहिले महिनामा ८ देखि १० लाख बढीको कारोबार गरिरहेका छन्। त्यसको दायरा अझ बढ्दैछ।
व्यवसाय विस्तार गर्ने सोचको कारण कर्णाली लगायत देशभरका विभिन्न ठाउँमा हुने रैथाने उत्पादनमा उनको आँख गयो। ती सबै उत्पादन उनले बेच्न थाले।
लमजुङ, नुवाकोट, तेह्रथुम, जाजरकोट, कैलालीबाट फरक फरक उत्पादन आउँछ। तराईबाट मास मसुरो, मध्ये पहाडबाट बेसार घ्यू लगायत उत्पादन आउँछ। अब त उत्पादनको नेपाल काठमाडौंमा देख्न पाइन्छ। त्यसको सेतु हुन, पुस्कर।
उनले अघिल्लो वर्ष जुम्लाबाट ल्याएर लाखौंको स्याउ बचे। यो वर्ष उत्पादन कम हुनाले माग पुरा गर्न धौ धौ भयो। स्याउ, यार्सा र सिलाजित बेच्न थालेको पढ्दा पढ्दै हो।

पढाइमा सधै अब्बल उनी व्यापारमा समेत अब्बल ठहरिएका छन्। यसले उनलाई नेपालमा बस्न प्रेरित गर्यो। विदेश त्यागे। साथीहरुले सुनाउने विदेशको सुख त्यागे।
‘म जागरि गर्ने नभई जागरि दिने मान्छे बनेको छु,’ उनले भने, ‘लाग्छ यही मेरो सफलता हो। त्यसैले पनि मन लगाएर काम गरिरहन्छु।’
उनले हाल २० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। अप्रत्यक्ष रुपमा धेरैले लाभ लिएका छन्। हाल उनको सामान विदेशमा पनि निर्यात भइरहेको छ। विस्तारै लगानीको दायारा पनि बढिरहेको छ।
उनी राजनीतिक विषयमा पनि थोरै रुचि राख्छन्। चुनाव नजिकिँदैछ। कर्णाली क्षेत्रका उम्मेदवार विषयमा थोरै चासो राख्छन्। कहिलेकाहीँ रोचक भिडियो बनाएर धेरैको ध्यान खिच्छन्। चर्चा हुन्छ। यी त क्षणिक कुरा मात्रै हुन।
त्यसैले दीर्घकालीन सोच सहित काममै लागेका छन्। दुई वर्षदेखि बाजेको सेकुवा पसलको फेन्चाइज चलाइरहेका छन्। त्यहाँ पनि मार्सी चामल र जुम्लाको सिमीको दालको स्वाद चाख्न पाइन्छ।
हामी कुराकानी गर्दा गर्दै उनलाई विभिन्न ठाउँबाट फोन आउँथ्यो। उनी अर्डर लिन्थे। व्यस्त समयको वाबजुत हामीले कुराकानी गर्ने फुर्सद मिलाएका थियौं। उनी सामान पुगाउने तयारी गरिरहे थिए, हामी छुट्टियौं।
















