बुधबार, ३० पुष, २०८२

करदाता शिक्षा र अनुगमनबाट राजस्व बढ्छ

चालु आर्थिक वर्ष २०८२/०८३ को मध्यावधिसम्म आइपुग्दा आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्यअनुसार राजस्व संकलन गर्न प्रयास तीव्र बनाएको छ। भौगोलिक कठिनाइ, बक्यौता असुलीको चुनौती र कर सचेतनाको आवश्यकता बीच पनि आयकर र भ्याटबाट उल्लेख्य योगदान जुटाउन कार्यालय सफल देखिन्छ।

हालसम्मको राजस्व अवस्था, प्रमुख कर स्रोत, संकलनका चुनौती, करदाता विस्तारका कार्यक्रम तथा बाँकी अवधिमा लक्ष्य हासिल गर्ने रणनीतिबारे आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख प्रभात घिमिरेसँग कुटीरोका लागि विवेन्द्र नेपालीले गरेको यो अन्तर्वार्ता प्रस्तुत छ।

चालु आर्थिक वर्ष २०८२/०८३ सुरु भएदेखि हालसम्म कर कार्यालय जुम्लाले कति राजस्व संकलन गरेको छ ? अघिल्लो वर्षको यही अवधिसँग तुलना गर्दा अवस्था कस्तो छ ?
आर्थिक वर्ष २०८२/०८३ का लागि कूल आर्थिक वर्षभरि ६४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेको छ। पुस महिनासम्मको लक्ष्य २० करोड रुपैयाँ हो। उक्त २० करोडमध्ये आजको दिनसम्म १२ करोड ३३ लाख ९१ हजार रुपैयाँ संकलन भइसकेको छ।

हालसम्म उठेको राजस्वमध्ये कुन–कुन कर शीर्षकबाट बढी योगदान आएको छ ? जुम्लाको सन्दर्भमा मुख्य राजस्व स्रोतलाई कसरी हेर्नुहुन्छ ?
जुम्लामा प्रमुख राजस्व शीर्षकमध्ये आयकर रहेको छ। हालसम्म ८ करोड ९८ लाख रुपैयाँ आयकरबाट, २ करोड ७४ लाख रुपैयाँ मूल्य अभिवृद्धिकर (भ्याट) बाट तथा अन्य करबाट समेत गरी जम्मा १२ करोड ३३ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

यो संकलन कुल लक्ष्यको ६१ प्रतिशत हो। जुम्लाको सन्दर्भमा मुख्य राजस्व स्रोत आयकर नै रहेको छ र त्यसपछि मूल्य अभिवृद्धिकर तथा अन्तःशुल्क यहाँका प्रमुख करका स्रोत हुन्।

जुम्लामा राजस्व संकलन गर्दा राजस्व कार्यालयले भोगिरहेका प्रमुख चुनौतीहरू के–के छन् ?
जुम्लामा राजस्व संकलन गर्दा बक्यौता असुलीमा चुनौती छ। भौगोलिक रूपमा अप्ठ्यारो भएकाले घरदैलोमा पुगेर राजस्व संकलन गर्ने प्रयास गरे पनि सबै ठाउँमा पुग्न असहज छ। केही प्राविधिक समस्या पनि रहेका छन्।

करदाताको संख्या बढाउन, कर सचेतना फैलाउन तथा कर छल नियन्त्रण गर्न चालु आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालयले के–कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ?
करदाताको संख्या बढाउन नियमित रूपमा करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएका छौं। प्रत्येक स्थानीय तह र उद्योग वाणिज्य संघसँगको सहकार्यमा करदाता शिक्षा कार्यक्रम गरिरहेका हुन्छौं। त्यसैगरी बजार अनुगमन पनि महत्त्वपूर्ण कार्य हो।

बजार अनुगमनका क्रममा दर्ता नभएका करदाताहरूलाई दर्ता प्रक्रियामा संलग्न गराउने प्रयास गरिरहेका छौं। यस वर्ष जुम्ला सदरमुकाममा पाँच छ पटक बजार अनुगमन गरिसकेका छौं।

त्यस्तै, अन्य जिल्लाअन्तर्गत कालिकोटको सदरमुकाम मान्म बजार, रास्कोट बजार तथा मुगु सदरमुकाम गमगढी बजारमा समेत अनुगमन गरिसकेका छौं।

कर नतिरी व्यवसाय गर्न पाइँदैन। यदि त्यस्तो गरिएको भेटिएमा तुरुन्तै कारबाहीको दायरामा ल्याइन्छ। अनुगमनका क्रममा त्यस्तो पाइएमा व्यवसायीहरूलाई सचेत गराउने र कानुनी प्रक्रिया सिकाउने कार्यसमेत गर्दै आएका छौं।

आर्थिक वर्षको बाँकी अवधिमा राजस्व लक्ष्य हासिल गर्ने आन्तरिक राजस्व कार्यालयको तयारी के छ ? यस सन्दर्भमा जुम्लाका करदातालाई के सन्देश दिन चाहनुहुन्छ ?
राजस्व लक्ष्य हासिल गर्न उद्योग वाणिज्य संघसँग सहकार्य गरिरहेका छौं। सम्भावित रूपमा कर तिर्न बाँकी रहेका करदाताहरूसँग टेलिफोनमार्फत सम्पर्क गर्छौं।

साथै, सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर करदातालाई सचेत गराउने र कर प्रणालीमा आबद्ध गराउने कार्य गरिरहेका छौं।

कर तिर्नु नागरिकको दायित्व हो। राज्यले बनाएका ऐन–कानुनको परिधिभित्र रहेर व्यापार व्यवसाय गर्नुपर्छ। त्यसका लागि आन्तरिक राजस्व कार्यालय करदातालाई कुनै समस्या परेमा सहयोग गर्न सधैं तयार छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार