कर्णालीकी यी कान्छी सांसदले संसदमा उभिएर जुन आत्मविश्वास र दृढताका साथ आफ्नो कुरा राखिन्, त्यसले उनलाई एक सांसदको रूपमा मात्र नभई कर्णालीको आशाको प्रतीकको रूपमा स्थापित गरेको छ।
‘कर्णाली’ नाम लिनासाथ धेरैको मनमा विकट, अभावग्रस्त जीवन र अविकासको चित्र बन्छ। तर, यही कर्णालीकी एक युवा सांसदले संसदको मञ्चबाट यस्ता धारणालाई चुनौती दिँदैछिन्।
विनिता कठायत, साविकको कर्णालीबाट प्रतिनिधित्व गर्ने सबैभन्दा कान्छी सांसद हुन। जो आफ्नो उमेर र अनौपचारिक शैलीका कारण चर्चामा त छिन् नै, तर उनको संसदमा प्रस्तुत हुने दृढता र कर्णालीप्रतिको अटल प्रतिबद्धताले उनलाई फरक पहिचान दिलाएको छ।
मंगलबार संसदमा उनले राखेको विशेष मन्तव्यले कर्णालीको ऐतिहासिक गौरव, वर्तमानको पीडा र भविष्यको सम्भावनालाई जोडदार रूपमा उठाउँदै नयाँ पुस्ताको नेतृत्वको झल्को दियो।
विनिताको संसदीय यात्रा कर्णालीको इतिहास र संस्कृतिको गर्विलो कथासँग जोडिएको छ। कर्णाली कुनै बेला विशाल खस साम्राज्यको केन्द्र थियो। तर आज विकासको दौडमा पछाडि परेको छ।
विनिताले यो कुरालाई बारम्बार संसदमा उठाउँदै कर्णालीको ऐतिहासिक विरासतलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिरहेकी छिन्। उनको बोलीमा कर्णालीको गौरवमय इतिहास र वर्तमानको उपेक्षित अवस्थाबीचको अन्तर स्पष्ट देखिन्छ।
उनले भनिन्, “कर्णालीमा नेता नभएका होइनन्, तर बजेट कब्जा गर्ने र राज्यस्रोतमाथि रजाइँ गर्ने बेइमान राजनीतिक व्यक्ति नभएको जानकारी गराउन चाहन्छु।” यो भनाइले उनको स्पष्टवादिता र कर्णालीप्रतिको गहिरो चिन्तालाई उजागर गर्छ।
संसदमा विनिताको प्रस्तुति उनको उमेर र अनौपचारिक शैलीका कारण कतिपयले हल्का रूपमा लिने गरे पनि उनको बोलीमा कर्णालीको पीडा र आक्रोश गहिरोसँग व्यक्त हुन्छ। उनको लवाइखवाइ, उठबस र बोल्ने शैलीले धेरैलाई उनलाई ‘केटाकेटीपन’ भएको सांसदको रूपमा चित्रण गर्छन्।
तर, जब उनी संसदमा बोल्छिन्, उनको तर्क र प्रस्तुतिमा परिपक्वता र गहिराइ झल्किन्छ। उनले कर्णालीलाई हेर्ने पुरानो दृष्टिकोणलाई चुनौती दिँदै नेताहरूलाई इतिहास पढ्न र कर्णालीको योगदानलाई सम्मान गर्न आग्रह गरिन्।
“बाइसे–चौबिसे राज्य र खस साम्राज्यकालीन इतिहास अध्ययन गर्न आग्रह गर्छु,” उनको यो भनाइले कर्णालीको ऐतिहासिक महत्त्वलाई पुनर्जागृत गर्ने उनको प्रयासलाई प्रष्ट पार्छ।
विनिताको बोलीमा कर्णालीमाथि भएको संरचनात्मक उपेक्षालाई लिएर तीव्र आक्रोश व्यक्त भएको पाइन्छ। उनले कर्णालीलाई बजेट र विकासबाट बञ्चित राख्ने नीतिहरूलाई लिएर सरकार र पुराना राजनीतिक दलका नेताहरूलाई प्रश्न गरिन्।
“राष्ट्रिय गौरवका आयोजनाका नाममा २६ खर्ब निल्ने काम कर्णालीका नेताले गरेका छैनन्,” उनको यो भनाइले कर्णालीमाथि भएको अन्यायको विरुद्ध एक हुन आवह्वान गर्छ।
उनले संसदको टेबुल ठटाउँदै कर्णालीमा सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा कम्तीमा १५ प्रतिशत पुँजीगत बजेट विनियोजन गर्न माग गरिन्। यो माग केवल बजेटको हिस्सेदारीका लागि मात्र होइन, कर्णालीको आत्मसम्मान र समृद्धिका लागि पनि हो।
कर्णालीको विकासमा ढिलाइ र उपेक्षाको इतिहास लामो छ। पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा कर्णालीले कहिल्यै पनि राज्यको प्राथमिकतामा स्थान पाएन। विनिताले यो कुरालाई जोडदार रूपमा उठाउँदै कर्णालीलाई क्षतिपूर्तिसहितको बजेट र नीति निर्माणमा विशेष ध्यान दिनुपर्ने बताइन्।
उनले कर्णालीमैत्री नीति र कानुनको अभाव, राज्यका निकायमा कर्णालीका मानिसको न्यून सहभागिता र कर्णालीमा सरकारी संरचनाको कमीले कर्णालीलाई पछाडि धकेलिएको तर्क गरिन्।
“कर्णालीलाई व्यवहारमा वञ्चित राख्ने, भाषणमा मनोवैज्ञानिक प्रभाव पार्ने प्रवृत्तिको घोर भर्त्सना गर्छु,” उनको यो भनाइले कर्णालीमाथि भएको संरचनात्मक अन्यायलाई उजागर गर्छ।
विनिताको भनाईमा कर्णालीका जनताको भावनालाई कडा जवाफ दिने चेतावनी पनि समावेश छ। उनले सरकार र सम्बन्धित पक्षलाई चेतावनी दिदै भनिन्, “यो सरकार कर्णालीलाई सम्मान गर्दैन भने कर्णालीका जनताले पनि यो सरकारलाई सम्मान गर्ने छैनन्। कर्णालीको भावनामा खेल्ने तत्त्वविरुद्ध अब कर्णालीका जनताले कडा जवाफ दिनेछन्।”
उनको बोली संसदको रेकर्डमा मात्रै सीमित नभएर कर्णालीका जनताको मनमा गहिरो प्रभाव छोड्न सफल हुनेछ। संसदमा उनले आफ्नो प्रस्तुतिलाई कर्णालीको सवालमा मात्र सीमित नराखी समग्र देशको राजनीतिक संस्कृतिमाथि पनि प्रश्न उठाउने साहस गरेकी छन्।
उनले नेताहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा सीमित नभएर संविधानको मर्मअनुसार समान विकासको सिद्धान्तलाई कार्यान्वयन गर्न आग्रह गरिन्। “प्रधानमन्त्री तपाईंकै, भौतिक सत्ताको स्वाद चाख्ने तपाईं, दोष भने कर्णालीका नेतालाई?”
विनिताले आफ्नो समग्र ध्यान कर्णालीको इतिहास, वर्तमान र भविष्यको सङ्गमको रुपमा चित्रण गरिन। उनले कर्णालीको ऐतिहासिक गौरवलाई पुनर्जनन गराउँदै वर्तमानको उपेक्षालाई उजागर गरिन् र भविष्यको समृद्धिको खाका कोरिन्।
उनको बोलीमा कर्णालीका जनताको आक्रोश, आशा र आत्मसम्मान झल्किन्छ। जसले कर्णालीको नयाँ पुस्तालाई आफ्नो इतिहासप्रति गर्व गर्न र आफ्नो हकअधिकारका लागि लड्न प्रेरित गरेको छ।
कर्णालीकी यी कान्छी सांसदले संसदमा उभिएर जुन आत्मविश्वास र दृढताका साथ आफ्नो कुरा राखिन्, त्यसले उनलाई एक सांसदको रूपमा मात्र नभई कर्णालीको आशाको प्रतीकको रूपमा स्थापित गरेको छ।
उनले कर्णालीको कित्तामा उभिएर बोलेको शक्तिशाली आवाजले कर्णाली नामको भूगोल उपेक्षा गर्नेहरूलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ। विनिताको यो यात्रा कर्णालीको समृद्धिको यात्रासँगै अघि बढिरहेको छ, र उनको उक्त मन्तव्य त्यसको एक महत्त्वपूर्ण कोसेढुङ्गा हो।
















