सोमबार, ८ पुष, २०८१

नाम्खामा संचालित जनस्वास्थ्य शिविर: विकटमा स्वास्थ्य सुधारको सेतु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र गाउँपालिकाको सहकार्यले नाम्खाका जनताको स्वास्थ्य स्थितिमा सुधार ल्याउन र स्वास्थ्य सेवा सुधारका लागि दीर्घकालीन सहकार्य जरुरी रहेको उपकुलपति रावलको विश्लेषण छ।

नेपालको कर्णाली प्रदेशको विकट क्षेत्र हुम्लाको नाम्खा गाउँपालिमा स्वास्थ्य सेवा दुर्लभ मानिन्छ। त्यहाँका बासिन्दाहरूले स्वास्थ्य सेवाको अभावमा दशकौं बाँच्नुपरेको अनुभव सुनाइरहेका छन्।

नाम्खा गाउँपालिकाका स्थानीयहरूले हालसम्म पनि बिरामी परे उपचारको लागि घण्टौं हिँडेर सिमकोट जिल्ला अस्पताल वा हवाइजहाज चढेर अन्य शहरहरूमा जानुपर्ने बाध्यता झेलिरहेको नाम्खा -३ खङाल गाउँका रेप्टिन लामा (६८)ले बताए।

यस्तो विकट र कठिन भौगोलिक अवस्था भएको क्षेत्रमा नाम्खा गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा दुई दिने एकीकृत जनस्वास्थ्य शिविर संचालन हुनु उदाहरणीय घटना भएको नाम्खा -४ याङ्गारका पे छिरिङ लामा(५८)ले बताए।

करिब १२ सय जनाले स्वास्थ्य सेवा लिएको एकीकृत जनस्वास्थ्य शिविरले नाम्खाका जनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान मात्र गरेन, दुर्गम क्षेत्रमा स्वास्थ्य सुधार र जनचेतनाका लागि दीर्घकालीन महत्त्वको विषयलाई समेत उजागर गरिदियो।

नाम्खाका स्वास्थ्य चुनौती र शिविरको आवश्यकता
हुम्ला, नेपालको सबैभन्दा विकट भेगमध्ये पर्छ। त्यसमाथि नाम्खा नेपालकै ठूलो भूगोल भएको अनि छरिएका बस्ती रहेको पालिका भित्र पर्छ।

कठिन भूगोल, आवागमनको असुविधा र स्वास्थ्य संस्थाहरूको अभावका कारण नाम्खाका जनताको स्वास्थ्य जोखिममा छ।

नाम्खा गाउँपालिकाबासीहरू सामान्य स्वास्थ्य समस्याको उपचार गर्नसमेत जिल्ला बाहिर जानुपर्ने अवस्थामा छ। बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरूको स्वास्थ्य स्थितिमा जतिबेला पनि जटिलता आउन सक्ने जोखिम त छँदैछ।

स्थानीय जनप्रतिनिधि र गाउँपालिकाका अधिकारीहरूले लामो समयदेखि दुर्गम क्षेत्रमा स्वास्थ्य सुविधा पुर्‍याउने प्रयास गरिरहेका छन्।

यस अघि दुई पटक स्वास्थ्य शिविर संचालन गरिसकेको नाम्खासँग यो पाली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जोडियो। जसको परिणाम दुई दिने शिविर सफलतापूर्वक सम्पन्न भयो।

शिविरको उद्घाटन गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले भने, “हामीलाई थाहा छ, हाम्रो गाउँपालिकाका बासिन्दाहरूले स्वास्थ्य सेवाको निकै अभाव झेलिरहेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस शिविरको आयोजना गरेर हाम्रो आर्थिक र स्वास्थ्यमा भइरहेको ठूलो हानी जोगाएको छ।”

शिविर संचालन र स्वास्थ्य सेवाको पहुँच
दुई दिने जनस्वास्थ्य शिविरमा विभिन्न विषयका १४ जना विशेषज्ञ चिकित्सकहरू र स्वास्थ्यकर्मीहरूको सहभागिता थियोे। प्रतिष्ठान र नाम्खाका स्वास्थ्यकर्मीहरूले गाउँपालिकामा आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गरे।

शिविरमा आएका बिरामीहरूले विभिन्न स्वास्थ्य समस्याहरूका लागि जाँच गराएका थिए। अधिकांश बिरामीहरूलाई सामान्य स्वास्थ्य परीक्षण, रगत परीक्षण र जरुरी परामर्श दिइयो भने गम्भीर स्वास्थ्य समस्या भएका बिरामीहरूलाई थप उपचारका लागि राम्रो अनुकुल हुने ठाउँमा रिफर गरियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार शिविर दुई दिनको सेवा मात्र नभएर गाउँपालिकाका बासिन्दाहरूलाई स्वास्थ्यको दृष्टिकोणले लामो समयसम्म लाभ पुर्‍याउने सेतु बनेको छ।

“कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीका १३ जिल्लाका लागि सबैभन्दा ठूलो संस्था हो,” उपकुलपति डा. रावलले भने, “यसै कारण हामी विकटका बस्तीबस्तीमा पुगेर स्वास्थ्य सेवा पुर्‍याउने कार्यलाई निरन्तरता दिन चाहन्छौं।”

शिविरमा सेवा लिएका अधिकांश बिरामीहरूले यो सेवा पाउँदा जीवनकै पहिलो पटक सहज उपचार पाएर खुशी भएको प्रतिक्रिया दिए। यस्तै प्रतिक्रिया दिनेमध्येका एक हुन नाम्खा -२ केर्मीका गम्घ्याल तामाङ(५०)।

उनले भने, “हामीलाई घर आगनमा स्वास्थ्य सेवा उपलब्ध हुँदा ठूलो राहत मिलेको छ। यसले हाम्रो जीवनमा ठूलो प्रभाव पारिरहेको छ।”

शिविरका उदेश्यहरू
नाम्खामा सञ्चालन गरिएको जनस्वास्थ्य शिविरको एक प्रमुख उदेश्य एकीकृत सेवा प्रवाह गर्नु रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।

उनका अनुसार विशेषज्ञ चिकित्सकहरूले बालरोग, स्त्रीरोग, जनरल सर्जरी, जनरल फिजिसियन, हाडजोर्नी, भिडियो एक्सरे, आँखा, दाँत तथा मुख, छाला तथा यौन रोग, ल्याब सुविधा प्रदान गरे।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ग्याच्छो लामाका अनुसार, शिविरमा कुल ११६६ जनाले स्वास्थ्य सेवा लिए। अधिकांश बिरामीहरूमा संक्रामक रोग, सामान्य शारीरिक समस्या समस्याहरू देखिएका थिए।

यसरी शिविरले स्वास्थ्य सेवा प्रदान गर्ने मात्र नभएर जनतामा स्वास्थ्य चेतनाको अभिवृद्धि गर्ने काम पनि गरेको रजिस्ट्रार महतको दाबी छ।

शिविरको दौरान बिरामीहरूको संख्यालाई व्यवस्थापन गर्न र सबैलाई सेवा दिने उद्देश्यले समय तालिका बनाएर सेवाहरू दिइएको प्रतिष्ठानको अप्रेसन विभागका राज बहादुर खत्रीले बताए।

उनका अनुसार शिविरमा आउने सबै बिरामीलाई आवश्यक पर्ने औषधिहरू निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। जसले गर्दा बिरामीहरुलाई आर्थिक राहत समेत भएको थियो।

नाम्खाको दीर्घकालीन स्वास्थ्य योजना
नाम्खा गाउँपालिकाका जनप्रतिनिधिहरू र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीचको सहकार्यलाई दिगो र प्रभावकारी बनाउन गाउँपालिकाले आगामी वर्षहरूको लागि पनि योजनाहरू तय गरेको नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले बताए।

“जनताको स्वास्थ्य सुधारका लागि हामी सधैं तत्पर छौं,” उनले भने, “हामी प्रतिष्ठानसँग निरन्तर सहकार्य गरेर हाम्रा जनताको स्वास्थ्य अवस्था सुधार गर्नेछौं।”

शिविरपछि गाउँपालिकाले भविष्यमा यस्तै अन्य शिविरहरू सञ्चालन गर्दै स्वास्थ्य सेवा जनताको घरदैलोमा पुर्‍याउने योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कृष्ण पाध्याले बताए।

उनले भने, “विकटमा स्वास्थ्य सेवा पुर्‍याउनु भनेको यहाँका जनताको जीवनमा परिवर्तन ल्याउनु हो। हामी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन निरन्तर काम गर्नेछौं।”

दुर्गममा सेवा पुगाउनु प्रतिष्ठानको दीर्घकालीन योजना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नाम्खा गाउँपालिकामा स्वास्थ्य सुधारका लागि दीर्घकालीन योजना तय गरेको छ।

प्रतिष्ठानका उपकुलपति डा. रावलले भने, “हामी यहाँ हाइ अल्टिच्यूड स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने तयारीमा छौं। यसबाट दुर्गम र हिमाली क्षेत्रका बासिन्दाहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच हुने विश्वास गरिएको छ।”

शिविरमा भौतिक उपस्थिति जनाएका प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले जनस्वास्थ्य सेवामा सुधारका लागि निरन्तर काम गर्न प्रतिबद्धता व्यक्त गरे। “हाम्रो उद्देश्य भनेकै दुर्गम क्षेत्रमा पुगेर जनतालाई उत्कृष्ट स्वास्थ्य सेवा दिनु हो,” उनले भने।

प्रतिष्ठानले यस्ता जनस्वास्थ्य शिविरहरूलाई निरन्तरता दिन र स्थानीय तहसँग सहकार्य गरेर दीर्घकालीन स्वास्थ्य सेवा प्रणाली बनाउने योजना बनाएको छ।

घरआगनमा स्वास्थ्य सेवा पाउँदा दंग स्थानीय
शिविरमा सेवा लिएका स्थानीयले घरआगनमा राम्रो स्वास्थ्य सेवा पाएकोमा खुशी व्यक्त गरे। अधिकांशले शिविरमार्फत पाएको स्वास्थ्य सेवाले आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताए।

विशेष गरी वृद्धवृद्धा, बालबालिका, र गर्भवती महिलाहरूका लागि यो शिविर जीवनमा ठूलो राहतको स्रोत भएको देखिन्छ।

“पहिला बिरामी हुँदा उपचारका लागि सधैं शहर जानुपर्ने बाध्यता थियोे। जसले हाम्रो खर्च मात्र होइन, समय र शक्ति पनि धेरै लग्थ्यो,” नाम्खा -२ केर्मीका सोनाम लामा(७०)ले भने।

स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पाउँदा आर्थिक दृष्टिले पनि राहत दिएको नाम्खा -१ याक्पाबाट एकदिन हिँडेर आएका छरिङ गिमा लामा (७५)को अनुभुती छ।

स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक सुधारहरू
दुई दिनसम्म सञ्चालित स्वास्थ्य शिविरले नाम्खा गाउँपालिकाका जनताको स्वास्थ्य आवश्यकता केलाउने अवसर पनि प्रदान गरेको स्त्रीरोग विशेषज्ञ डा. सोनम गुरुङले बताइन्।

विशेषज्ञहरूले स्थानीय जनताको स्वास्थ्य समस्याहरू बुझेर आगामी वर्षहरूको लागि योजना बनाउने आधार तयार भएको उनको भनाई छ।

यो शिविरले जनताको स्वास्थ्य स्थिति सुधारका लागि गाउँपालिकाका जनप्रतिनिधिहरूलाई थप जिम्मेवारी र योजना बनाउने दिशातर्फ उन्मुख गराएको गाउँपालिकाका अध्यक्ष लामाको बुझाई छ।

उनले भने, “हामीले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नेछौं।”

उनका अनुसार शिविरमा सेवाको प्रभाव देखेर गाउँपालिकाले स्वास्थ्य सेवा विस्तार र दिगो स्वास्थ्य सुधारका लागि प्रतिष्ठानसँगको सहकार्यलाई दिगो बनाउने नीति अख्तियार गर्नेछ।

स्वास्थ्य सेवा विस्तारका लागि शिविर एक प्रेरणा
दुई दिने जनस्वास्थ्य शिविरले स्वास्थ्य सेवा पाउनु दुर्गम क्षेत्रमा कत्तिको महत्वपूर्ण छ भन्ने प्रष्ट्याएको बालरोग विशेषज्ञ डा. उत्तरा गौतमले बताइन्।

उनका अनुसार शिविरले नाम्खा गाउँपालिकाबासीलाई स्वास्थ्य सेवा दिएको मात्रै होइन, स्वास्थ्य सेवाको पहुँचमा आएका कठिनाइहरूलाई समेत उजागर गरेको छ।

शिविरले स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिन सक्ने हुनाले यसलाई निरन्तरता दिने विषयमा पालिकाले मात्रै होइन सरकारले समेत सोच्नुपर्ने एमडीजीपीका विशेषज्ञ प्रा.डा. धर्मदत्त सुवेदीको भनाइ छ।

उनले भने, “शिविरले केवल स्वास्थ्य सेवा पाउन सजिलो मात्रै बनाएन बरु नाम्खाका स्थानीयलाई स्वास्थ्यको महत्त्वबारे सचेत समेत गरायो।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र गाउँपालिकाको सहकार्यले नाम्खाका जनताको स्वास्थ्य स्थितिमा सुधार ल्याउन र स्वास्थ्य सेवा सुधारका लागि दीर्घकालीन सहकार्य जरुरी रहेको उपकुलपति रावलको विश्लेषण छ।

उनले थपे, “यो शिविरले हामीलाई यही आवश्यकताको बोध गरायो।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार