पुस्तक समिक्षा
पुष्पलाल श्रेष्ठले तिलक परियारलाई भने, ‘तपाईं त जन्मजातै कम्युनिस्ट हो। तपाईंहरुलाई त कम्युनिस्ट पार्टी चाहिन्छ। दलित माथि जातपात छुवाछूत, भेदभाव तथा शोषण उत्पीडन लादिएको अवस्था छ। यो समुदायका युवाहरु सबै कम्युनिस्ट बन्न जरुरी छ। तपाईं दलितहरु नै लिडर बन्नुपर्छ।’
तिलक परियारद्वारा लिखित “मेरो जीवन र संघर्ष” पढिभ्याउँदा मलाई सोचमग्न बनाएको छ। पाना पल्टाउँदै जाँदा आठ दशक लामो जीवनयात्राका क्रममा पञ्चायतकालदेखि जनयुद्धसम्म जेलनेल र हिरासत गरि पाँच वर्ष एक महिना विताएको बन्दी जीवन, वर्ग दुश्मनसँग चौघेरामा हुने यातना, विभेद र संघर्ष तथा त्यसलाई छिचोल्दाका आत्मविश्वास र दृढता पुस्तकमा सानदार ढङ्गले प्रस्तुत गरिएको छ।
परियारले समाजको क्रान्तिकारी रुपान्तरण वर्गप्रतिको निष्ठा, जिम्मेवारीप्रतिको समपर्णभाव, इमानदारिता, सरल भावना र जीवनगाथाले भरिपूर्ण छ। जसले मानव समाज , राजनीति, सामाजिक आन्दोलन र जीवनका अनगिन्ती विचार र व्यवहारहरुको प्रतिनिधित्व गर्दछ।
पुस्तकका लेखक परियारले रोल्पामा जन्म‚ बाल्यकालको हुर्काई, प्रारम्भिक शिक्षा, उच्च शिक्षा जागिर, भारतमा पढाइ, भारतमै कम्युनिष्ट पार्टीको सदस्यता, पञ्चायतदेखि द्वन्द्वकालसम्म जेल नेल, देखि जीवन सङ्गिनी चन्द्रा परियारको साथ र राजनीतिक सेरोफेरोमा उनले भोगेका, अनुभूत गरेका र बेहोरेका हण्डर ठक्कर, सफलताका किस्सालाई समग्रमा “मेरो जीवन र संघर्ष” संस्मरण मार्फत पाठक समक्ष प्रस्तुत गरेका छन्।
परियारको जन्म रोल्पाको लिबाङमा २००० साल कात्तिक १५ गते भएको थियो। दलित परिवारमा जन्मिएका उनले दमाई समुदायले गर्ने परम्परागत पेशा पनि गरेका थिए। उनी जन्मिएको रोल्पाको लिवाङमा पुर्खौली सम्पत्ति सरकारले सरकारी कार्यालय राख्नको लागि ३० रोपनी पाखो र ४० रोपनी खेत जिम्मुवाल बाजेलाई सस्तो मूल्यमा बेचेपछि त्यसपछि बसाइँसराइ गरि बाँके जिल्लाको तत्कालीन बिनौना गा.वि.स हाल राप्तीसोनारी गाउँपालिकामा बसोबास गर्दै आएका छन्।
उनले प्रारम्भिक शिक्षा लिबाङकै बालकल्याण प्राथमिक विद्यालयमा कखरा सिके। गाउँका साहिला मुखिया झुपलाल आचार्यको घरबाट सुरु भएको थियो। बालकल्याण प्रावि स्कुलमा पढ्दा स्कुलका कथित उच्चजातिका विद्यार्थीहरुसँगै बेञ्चमा बस्न पाइँदैनथ्यो अन्ततः गाउँले भएकाले हेडमास्टर हरिहर उपाध्यायले पनि अछुत व्यवहार गर्दथे। रोजगारीका लागि भारत गएका दाजुले पठाएको चिठी पढ्थे। चिठी पढ्ने क्रममा दाजुजस्तै भारतमै जागिर खान जाने सपना देखेको चर्चा गरेका छन्।
अछुत व्यवहार बढी भएपछि उनी कक्षा पाँचमा पढ्दापढ्दै वि.स २०१३ सालमा उनका माहिला दाजु गगन बहादुर परियारसँग भागेर (कालापहाड) गए। दाइले उनलाई भारतको शिमला जिल्ला तहसील नन्दपुरबाशा प्रावि स्कुलमा पुनः पाँच कक्षामा भर्ना गरिदिएका थिए। फेरि लिवाङ फर्केएपछि आठ कक्षामा भर्ना गरिदिए। आठ कक्षाको परिक्षामा स्कुल प्रथम भएपछि एक क्लास जम्प गराएर दश कक्षामा राखियो। गरिबीका कारण पुनः भारततिर लागे लामो समयसम्म काम गरेर पन्जाव युनिभर्सिटी अन्तर्गत बोर्डबाट मेट्रिक पास गरेका थिए।
धर्मप्रतिको वितृष्णा
परियार मार्क्सवादी बन्नु भन्दा पहिला धर्मप्रति आस्था राख्थे। धार्मिक आस्थामा रहेपछि उनले माछा मासु लसुन, कालो दाल र अरुले पकाएको नखाने विशुद्ध शाकाहारी भए। साधु महात्माहरु सङ्गको भेटघाट र उठबसका क्रममा आफूभन्दा तल्लो जातकालाई गर्ने क्रूर व्यवहार शोषण दमन गरेपछि मनमा एउटा मुखमा अर्कै व्यवहार गरेपछि त्यहाँ वर्गीय उत्पीडनको अनुभुती भयो।
त्यसपछि इसाई धर्मग्रन्थ बाइबल अध्ययन गर्न लागे। बाइबलको पास्टर पादरीहरुसँग संगत गरे। उनीहरूले धार्मिक प्रशिक्षणद्वारा ईश्वरले नै सबै कुराको फैसला गर्छ भन्ने कुरामा विश्वास दिलाउन थाले। कसैले अन्याय अत्याचार गर्छ भने तपाईंहरु त्यसको प्रतिरोध नगर्नुस् त्यसको न्याय परमेश्वरले गर्नुहुन्छ। सहनुपर्छ। कसैले तपाईंलाई गालामा थप्पड लगाउँछ भने अर्को गाला थाप्नुस् भन्न थाले। तर दलित समुदायले त अन्यायपूर्ण विभेद भोगिरहेका थिए। यस्तो बेला सहनुपर्छ भन्ने परमेश्वर कस्ता हुन? अहिलेसम्म दलितलाई न्याय नदिने? दलित समुदायमा मुक्ति खोजिरहेको मस्तिष्कमा अत्याचार गर्नेलाई माया गर्नुपर्छ, अन्याय सहनुपर्छ भन्ने दर्शन मन परेन। आफूले समाजमा भोग्दै आएको जातीय विभेदसँग तुलना गर्दा धर्मप्रति वितृष्णा जागेर आयो। धार्मिक ग्रन्थहरु अध्ययन गर्दै जाँदा जातीय भेदभाव र छुवाछूत उन्मुलन सम्बन्धी वैज्ञानिक उपाय कहिँकतै नभेटेपछि जातीय विभेदसँग तुलना गर्दा धर्मप्रतिको वितृष्णा जागेर आयो।
कम्युनिस्ट खोज्न बनारस
नियमित रुपमा मार्क्सवादी पुस्तकहरु किनेर अध्ययन गर्न थालेपछि जातीय उत्पीडन र वर्गीय शोषणविरुद्धको विषयलाई चासो राखेको देखेपछि कमरेड रणदिवेप्रति विश्वास बढेर गयो। कम्युनिस्ट आन्दोलन र अध्ययनप्रति आकर्षण र झुकाव देखेर क. रणदिवेले भारतीय कम्युनिस्ट पार्टीको सदस्य दिलाएपछि थप नेपालका कम्युनिस्ट नेता क. पुष्पलाल श्रेष्ठलाई भेटाइदिने बचन पनि दिए। २०२० साल चैत्र महिनामा क. रणदिवेले पुष्पलालसँग भेट गराइदिए। क. पुष्पलाल श्रेष्ठसँग परिचय भएपछि ‘तपाईं त जन्मजातै कम्युनिस्ट हो, तपाईंहरुलाई त कम्युनिस्ट पार्टी चाहिन्छ। दलित माथि जातपात छुवाछूत, भेदभाव तथा शोषण उत्पीडन लादिएको अवस्था छ। यो समुदायका युवाहरु सबै कम्युनिस्ट बन्न जरुरत छ। तपाईं दलितहरु नै लिडर बन्नुपर्छ’ भनेपछि परियार खुशीले गदगद भए।
रायन र पारिजातद्वारा सांस्कृतिक कार्यक्रम
रायन र पारिजातको नेतृत्वमा वेदना सांस्कृतिक परिवारको ३२ जना कलाकारको टोली फेरिवादको शिमला प्रेसकलौनी स्थित परियारकै डेरामा बसेका थिए। भारतमा घुम्ने नेताहरुलाई पकेट खर्च दिनुपर्ने, कार्यकर्ताहरुको ठूलो संख्यालाई खाना र बासस्थानको व्यवस्था मिलाउन पर्ने तर आर्थिक जोहो कतैबाट हुँदैन थियो। आर्थिक संकट निकै झेल्नु पर्थ्यो। तत्कालीन अनेरास्ववियु छैटौंका अध्यक्ष लिलामणी पोखरेल, उपाध्यक्ष बलराम बास्कोटा, कोषाध्यक्ष पम्फा भुसाल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो। लगातार १० दिनसम्म त्यति ठूलो टिमलाई क्यान्टिन र सवारी यातायातको भाडाले दुई लाखसम्म ऋणमा डुबेर तिर्न हम्मेहम्मे परेपछि श्रीमती चन्द्राका नाक र कानका गहना बेचेर ॠण चुक्ता गरिएको थियो।
पार्टी सदस्यता लिएलगत्तै उनी नेपाल फर्किएपछि
भारतमा उच्च शिक्षा लिने क्रममा परियारले २०२१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। पार्टी सदस्यता लिएलगत्तै उनी २०२२ सालमा नेपाल फर्किए। नेपाल फर्किएपछि उनले केही समय आफूले पढेकै विद्यालयमा पढाउको अवसर पाए। त्यसपछि फेरि भारत फर्किए। त्यसपछि भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिए। त्यसबेला नेपालका कम्युनिष्ट पार्टीमा विभाजन तिब्र थियो। उनी मोहनविक्रम सिंहको नेकपा सामेल भए। त्यसपछि चौंथो महाधिवेशनमा लागे। कम्युनिष्टको फुटसँगै उनी पनि विभिन्न गुटमा सामेल हुँदै गए।
अहिले प्रचण्डको अध्यक्षतामा रहेको माओवादी केन्द्रमा आवद्ध छन्। यो अवधिमा उनी मन्त्री र प्रदेश प्रमुख भइसकेका छन्।
२०३७ सालमा जनमतसंग्रहको निर्वाचन भयो। रोल्पाको थवाङ्ग गाउँका जनताले बहुदलको पक्षमा एकलौटी मतदान गरेका थिए। २०३८ सालको सुधारिएको पञ्चायतको चुनाव बहिस्कार गरेका थिए। जसले गर्दा पञ्चे सरकारले सैनिक अप्रेसन गरेको थियो। त्यतिबेला त्यहाँका युवाहरु सबै भुमिगत हुन बाध्य भए। सन्तोष बुढाको नेतृत्वमा ७ जना युवाहरुलाई पार्टीले दिल्ली फरिवाद जिल्ला कमिटीको जिम्मामा पठाइएको थियो।
जनमत संग्रहपछि नेकपा चौथो महाधिवेशनले प्रवास पार्टीलाई महत्व दिइएको थियो। प्रवास पार्टी सङ्गठनले तत्कालीन ७५ जिल्लामा पार्टी संगठन निर्माणका लागि सम्पर्क र आधार तयार गरिदिएको थियो। परियारकै नेतृत्वमा अभानेविसंघका विद्यार्थी नेताहरु डा. बाबुराम भट्टराई, वाई. बी थापा, अनन्त गुरुङ, विष्णु गुरुङ, मोना लाप्चा, हिसिला यमी लगायतका विद्यार्थी नेताहरुलाई पार्टी सदस्यता दिलाउन र नेतृत्व विकासका लागि सिफारिस गर्न तिलक परियारको महत्त्वपूर्ण भुमिका रहेको थियो।
राजनीतिक उपलब्धि
उनी अहिले प्रचण्डको अध्यक्षतामा रहेको माओवादी केन्द्रमा आवद्ध छन्। यो अवधिमा उनी मन्त्री र प्रदेश प्रमुख भइसकेका छन्। उनी बाँके १ बाट तत्कालीन नेकपा माओवादीतर्फका प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य हुन्। तत्कालीन विद्रोही नेकपा (माओवादी) शान्ति प्रक्रियामार्फत सरकारमा आउँदा उनी मन्त्री भएका थिए। यस्तै‚ २०७६ कत्तिक १८ मा प्रदेश २ को प्रमुखमा नियुक्त भएका थिए। तर‚ नेकपा विभाजनपछि ओली सरकारले उनलाई २०७७ फागुन ७ मा पदमुक्त गरेको थियो। २३ कात्तिक २०७८ प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीलाई पदमुक्त गरेसँगै नयाँ प्रदेश प्रमुखमा तिलक परियारलाई नियुक्त गरिएको थियो।