विद्यालय स्वास्थ्य कार्यक्रमको उदेश्य आधारभूत स्वास्थ्य शिक्षा दिने र विद्यार्थीले सिकेको स्वास्थ्य सम्बन्धि ज्ञान समुदायमा समेत पुगाएर समुदायमा समेत स्वास्थ्य जागरण फैलाउने रहको छ।
बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयका सहायक डिन प्रा.डा. सेशानन्द संजेल, उपप्राध्यापक ओम प्रकाश काफ्ले र लेक्चर भरत काफ्लेको टीम बीपीएच तेस्रो वर्षका विद्यार्थी लिएर चन्दननाथ नगरपालिका -१० बोहरागाउँ स्थित रत्नचूडेश्वर माविमा पुग्यो। उनीहरुको प्रत्येक्ष निगरानीमा विद्यार्थीहरुले ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ संचालन गरे।
विद्यालय स्वास्थ्य कार्यक्रमको सम्पूर्ण तयारी पूरा गरि विद्यालयमा पुगेका बीपीएच तेस्रो वर्षका विद्यार्थीहरुले एक देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई सुरुमा सँगै र पछि अलग अलग समूहमा राखेर कक्षा संचालन गरे। पहिलो सत्रमा विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाइ, दाँत माझ्ने तरिका, विद्यार्थीलाई महिनावारी स्वच्छता, पानीको शुद्धता, सरसफाइ र सन्तुलित आहारको बारेमा जानकारी दिइएको थियोे।
त्यस्तै सुर्तीजन्य पदार्थ र यसका असरहरु, मानसिक रोग, नसर्ने रोग र जनचेतनामूलक कार्यक्रमका साथै तत् तत् विषयको डेमो प्रदर्शनी समेत गरिएको थियो भने प्रतिष्ठानबाट विद्यालयमा पुगेका डाक्टरले स्वास्थ्य जाँच समेत गरेका थिए।
विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत आधारभूत स्वास्थ्य शिक्षा दिने र विद्यार्थी मार्फत स्वास्थ्य शिक्षा समुदायमा समेत पुगाएर समुदायमा समेत स्वास्थ्य जागरण फैलाउने उदेश्य रहने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ, जनस्वास्थ्य महाविद्यालयका सहायक डिन प्रा. डा. सेशानन्द संजेलले बताए।
‘विद्यार्थी म्यासेन्जर हुन। आज हाम्रा विद्यार्थीहरुले यो विद्यालयका साना साना भाइबहिनीहरुलाई स्वास्थ्य शिक्षा दिए। स्वास्थ्य शिक्षा सिकेका विद्यार्थीहरु यो तरिका घरमा गएर आफ्नो परिवारमा पनि लागू गर्न खोज्छन्,’ उनले भने, ‘हामी यही सन्देश विद्यार्थी मार्फत समुदायमा फैलाउन चाहन्छौं। विद्यालय स्वास्थ्य कार्यक्रमको मुख्य उदेश्य यही हो।’
भनिन्छ रोग लागिसकेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै जाती हुन्छ। जनस्वास्थ्य सेवाको मुख्य उदेश्य यही हो। संसारभर यही तरि अपनाइन्छ। तर नेपाल जस्ता कम विकसित देशहरुमा रोग लाग्न नदिने सावधानी अपनाउनुको साटो रोग लागेपछि उपचार गर्ने विषयमा मात्रै ध्यान दिने गरिएको प्राध्यापक संजेलको भनाई छ।
पछिल्लो समय नसर्ने खालका रोगहरु जस्तै मुटुरोग, दम, क्यान्सर, सुगर, प्रेसर लगायतका रोगले नेपालमा ६६ प्रतिशत मान्छे मर्ने गरेको तथ्यांक छ। यो विषयमा विद्यार्थीलाई शिक्षा दिन सकिएको खण्डमा समाजमा राम्रा प्रभावहरु पर्ने उपप्राध्यापक ओम प्रकाश काफ्लेले बताए।
उनका अनुसार विद्यार्थीको उचाई र तौल मापन गरेर पोषणको अवस्था बुझ्ने र यदि कुपोषणको अवस्था फेला परेको खण्डमा उचित हेरचाहका लागि पोषण पुनःस्थापना केन्द्रमा रेफर गर्ने काम पनि विद्यालय स्वास्थ्य कार्यक्रमसँगै गर्ने गरिएको छ।
‘पछिल्लो समय विश्वभर मानसिक रोगको असर बढ्दो छ। प्रत्येक आठ जनामा एकजनालाई मानसिक रोग देखा पर्न गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ,’ उनले भने, ‘त्यसैले पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नियमित रुपमा विद्यालयहरुमा यस्ता काम गर्न थालेको हो।’
रत्नचूडेश्वर मावि बोहरागाउँका करिव तीन सय विद्यार्थीहरुको बीचमा विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरियोे। विद्यालय स्वास्थ्य कार्यक्रमले सबै विद्यार्थीहरुको वार्षिक स्वास्थ्य जाँच गर्ने, जसमा पोषण, नाक, कान, घाँटी, आँखा र दातसम्बन्धि चेकजाँच हुनुै पर्ने भन्छ। तर पनि नियमित रुपमा यस्तो गतिविधि हुन नसकेको रत्नचूडेश्वर माविका प्रधानाध्यापक कृष्ण बहादुर रोकायको गुनासो छ।
‘स्वास्थ्य धन हो। पहिला हामी हुनुपर्छ त्यसपछि सोच्नुपर्छ। हामीले स्वास्थ्य शिक्षाको सैद्धान्तिक ज्ञान पाए पनि व्यवहारिक ज्ञान नपाउँदा अलमलिने गरेका थियौं,’ उनले भने, ‘आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीले प्रयोग गरेर देखाए। यो कार्यक्रम मार्फत दिन खोजेको सन्देश निकै महत्त्वपूर्ण छ। हाम्रा विद्यार्थीलाई यस्तो कुरा सिकाउन आउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रति आभारी छौं।’
विद्यालय स्वास्थ्य कार्यक्रमले वर्षमा दुई पटक सबै विद्यार्थीलाई जुकाको ओैषधी खुवाउनुपर्ने भन्छ भने प्राथमिक उपचारको व्यवस्था हुनेैपर्ने उदेश्य राखेको छ। रत्नचूडेश्वर माविमा यो काम विद्यालय नर्समार्फत गरिँदै आएको छ।
आफू विद्यालयमा पुगेदेखि विद्यार्थीलाई जुकाको ओैषधि खुवाउने र फोलिक एसिट दिने गरिरहेको विद्यालय नर्स फुलमाया रोकायाले बताइन्। ‘६ देखि १० कक्षाका विद्यार्थीलाई फोलिक एसिड दिने गरेका छौं,’ उनले भनिन्।
विद्यालय स्वास्थ्य कार्यक्रमले दिवा खाजाको उचित प्रबन्ध हुनुपर्ने, खाजामा सम्बन्धित स्थानीय उत्पादन खान अनिवार्य हुनुपर्ने र दिवा खाजा घरमा खाने खानको एक तिहाइ हुनुपर्ने मान्यता राखेको उप्राध्यापक काफ्लेले बताए।
काफ्लेले भने अनुसार विद्यालयमा यो मापदण्ड पूरा गर्न नसकिएको दिवा खाजा फोकल शिक्षक सम्झना भण्डारीले बताइन्। उनका अनुसार विद्यालयमा दिवा खाजा प्रभावकारी भए पनि मापदण्ड पूरा गर्न सकिएको छैन भने सरकार विद्यालय तहमा लागनी गर्न चुकिरहेको छ।
यहि कुरा सिकाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली विद्यालयमा पुग्नु सकारात्मक काम भएको उनको भनाइ छ। उनले भनिन्, ‘मलाई आजसम्म हात धुने तरिका थाहा रहेनछ। कतिबेला घर पुगौं र यो तरिका म मेरा परिवारमा लागू गरौं लागिरहेको छ। यस्तो महत्त्वपूर्ण काम गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्यहाँका विद्यार्थीलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’
विद्यालयमा ४० जना बराबर एउटा धारा र ३० जना विद्यार्थीको लागि एक शौचालय र शैचालयमा सावुन पानीको व्यवस्था हुनुपर्ने भए पनि प्रतिष्ठानले अध्ययन गरिरहेको विद्यालयमा यस्ता मापदण्ड भेटाउन मुस्किल परिरहेको हुनाले यसले स्वास्थ्यमा समेत असर पर्ने उपप्राध्यापक काफ्लेको तर्क छ।
‘हामीसँग तीन तहका सरकारहरु छन्। तीनै तहका सरकारलाई कुनै न कुनै माध्यमबाट शिक्षा हेर्ने दायित्व छ,’ उनले भने, ‘तर सरकारले विद्यालयमा लगानी गरेको देखिँदैन। यसले पोषण र स्वास्थ्य तथा सरसफाइको मापदण्ड भेटाउन सक्दैन।’
उनका अनुसार बच्चाहरुको, ज्ञान, सीप र व्यवहारमा परिवर्तन ल्याउने विद्यालय स्वास्थ्य कार्यक्रमको उदेश्य रहेको छ। निरन्तर गतिविधि गर्दै जाँदा विद्यालय स्वास्थ्य कार्यक्रमको प्रभावकारिता बढ्दै जान्छ।
स्वास्थ्य क्षेत्रका तमाम समस्याहरुबारे धेरैलाई थाहा नहुने हुँदा चिकित्सक, प्राध्यापक, स्वास्थ्यकर्मी र चिकित्सा क्षेत्रका विद्यार्थीले विद्यालयमा कार्यक्रम गर्दा प्रभावकारिता बढ्ने बीपीएच तेस्रो वर्षकी विद्यार्थी कोमल थापाले बताइन्। ‘विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षा दिने, व्यक्तिगत सरसफाइ सिकाउने, सर्ने र नसर्ने रोगहरुबारे सिकाउने काम पाउँदा खुसी छौं,’ उनले भनिन्, ‘यो कत्तिको प्रभावकारी रहयो, विद्यार्थीले घर र समुदायमा कत्तिको चेतना फैलाउन सके त्यो विस्तारै थाहा हुन्छ।’
कार्यक्रम साह्रै प्रभावकारी रहेको उक्त विद्यालयको कक्षा १२ कक्षामा अध्ययनरत छात्र पदम बुढाले बताए। व्यक्तिगत सरसफाइ र स्वास्थ्य चेतनाका बारेमा निकै कम जानकारी भएका विद्यार्थीले यो कार्यक्रममाबाट धेरै कुरा सिक्न पाएको १२ कक्षाकी छात्रा आशा न्यौपानेले बताइन्। स्वास्थ्य शिक्षालाई व्यवहारमा उतार्ने र समुदायमा पुगाउने उनीहरु दुबै जनाको मत छ।
विद्यालय स्वास्थ्य कार्यक्रम जनस्वास्थ्य सेवाको महत्त्वपूर्ण अंग भएको हुनाले यसको प्रभावकारिता वृद्धि गर्न सबै तहका सरकारदेखि सबै प्रकारका स्वास्थ्य संस्थाले उत्तिकै चासो दिन आवश्यक रहेको उपप्राध्याक काफ्लेको तर्क छ।
उनले थपे, ‘सरकारले आफ्नो लक्ष्ममा हरेक विद्यालउमा नर्स अनिवार्य गरेको छ। रत्नचूडेश्वर माविमा नर्स केही स्वास्थ्य समस्याको तत्काल समाधान भइरहेका रहेछन्। यो खुसीको कुरा हो। तर अब सरकारले सबै स्कुलमा अनिवार्य रुपमा नर्स राख्न जरुरी छ।’