यो कार्यक्रम कम र मध्यम आय भएका देशहरुमा नसर्ने रोग सम्बन्धि विषयमा कार्यरत स्वस्थाकर्मीहरुलाई हृदयरोग इपिडेमियोलोजी सम्बन्धि तालिम दिने र सोहि विषयमा अनुसन्धान गर्नको लागि यो फेलोसिपको रुपमा प्रदान गरिन्छ।
परिचय
लाउन स्कलोरको कुरा गर्दा बिसनै नहुने वैज्ञानिकको नाम हो, बर्नार्ड लाउन जसको जन्म जून ७, १९२१ मा लिथुआनियामा भएको र मृतु चाही १६ फेब्रअरी २०२१ मा अमेरिकामा भएको थियो। उनी एक हृदय रोग विशेषज्ञ र आविष्कारक पनि हुन्। उनले मुटुको धड्कन पुनरुत्थानको लागि दिफिब्रिलेटर नामक उपकरणको आविष्कार गरे। जसको प्रयोगबाट हृदयघात वा खतरनाक रूपमा हुने अनियमित मुटुको धड्कनबाट जीवन बचाउन सकिन्छ। उनले १९८५ मा नोबेल शान्तिको पुरस्कार प्राप्त गरे जुन उनले आणबिक युद्ध रोकथाम गर्नको लागि खेलेको भूमिकाको कारण यो पुरस्कार प्रधान गरियो।
उनले आफ्नो जीवन हृदय रोगको क्षेत्रमा ठूलो योगदान गर्नुको साथै मानव जातिको उन्नतिको लागि समर्पित गरे। उनले आफ्नो जीवनमा मुटु स्वास्थ्यलाई अघि बढाउन र विश्वव्यापी रूपमा स्वास्थ्य सेवामा समानता को वकालत गर्दै बिताए र विकसित देशहरूमा स्वास्थ्य सुधार गर्न दक्ष जनस्वास्थ्य विज्ञहरू र नसर्ने रोगहरूको रोकथाम गर्न कार्य गर्न सक्ने प्रशिक्षित व्यक्तिहरूको आवश्यकता पर्ने विश्वास गरेका थिए।
सन् २००८ मा उनले हार्वर्ड टि एच चान स्कुल अफ पब्लिक हेल्थलाई बर्नार्ड लाउन स्कलर्स इन कार्डियोभ्यास्कुलर हेल्थ कार्यक्रम सुरु गर्न महत्वपूर्ण अनुदान दिए। यो अनुदान उनको आफ्नै स्रोतहरूबाट आएको थियो। जसमा उनले चिकित्सा कार्यबाट प्राप्त गरेको रोयल्टी पनि समावेश थियो र यसले आउँदो भावी पुस्ताको लागि दक्ष जनस्वास्थ्य विज्ञ उत्पादन गर्ने उनको इच्छालाई प्रतिबिम्ब गर्छ।
लाउन स्कलोर कार्यक्रमको छनोटमा कम र मध्यम आय भएका देश
यो कार्यक्रम कम र मध्यम आय भएका देशहरुमा नसर्ने रोग सम्बन्धि विषयमा कार्यरत स्वस्थाकर्मीहरुलाई हृदयरोग इपिडेमियोलोजी सम्बन्धि तालिम दिने र सोहि विषयमा अनुसन्धान गर्नको लागि यो फेलोसिप प्रदान गरिन्छ। किनकि आज विश्वका ८० प्रतिशत भन्दा बढी मानिसहरु जो नसर्ने रोगहरूबाट प्रभावित छन्। तिनीहरुको बसाई यी आय भएका देशहरूमा नै छ। र सो रोग पनि तेहि देशहरुमा बढ्दै गएको देखिन्छ। यी आय भएका देशहरूमा तालिम प्राप्त गरेका दक्ष जनशक्तिहरुको भने कमी छ त्यसकारणले गर्दा ती देशहरूमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो प्रोग्राम निर्माण गरिएको हो ।
यो लाउन स्कलर कार्यक्रमले पुलको रूपमा निम्न कार्य गर्ने उद्देश्यले स्थापना गरिएको होः
१. अन्तर्राष्ट्रिय रूपमा विभिन्न क्षेत्रमा कार्यरत दक्ष क्लिनिसियन, वैज्ञानिक तथा अन्य स्वास्थ्य क्षेत्रमा कार्य गर्ने व्यक्तित्वहरू जस्तोकि इपिडेमियोलोजिस्ट, तथ्याङ्क शास्त्री तथा स्वास्थ्य सेवा वितरकको रूपमा कार्य गर्दै आएका व्यक्तिहरूको संजाल बनाउने।
२. हावर्ड विश्वविद्यालयमा कार्यरत संकायहरूको बीच सहकार्य गर्ने।
३. मुटु सम्बन्धी अध्ययन अनुसन्धान गर्न विशेष गरी कम र मध्यम विकसित देशमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई स्थानीय तहमा नसर्ने रोगहरूको अनुसन्धान गर्न मद्दत गर्ने।
यो स्कलर कार्यक्रमले हालसम्म ११२ जना स्वास्थ्य क्षेत्रमा कार्यरत २७ देशका मानिसहरूलाई मद्दत गरेको छ। यो कार्यक्रमले सामुदायिक स्वास्थ्यको तीनवटा क्षेत्रलाई प्राथमिकतामा राखेको छः
१. विश्वव्यापी रुपमा देखिएको प्राथमिक स्वास्थ्य सेवा तथा स्वास्थ्यको असमनता
२. सहरी गरिबहरूमा हुने गरेको मुटु रोग सम्बन्धि र मनोसामाजिक तनाव ।
३. लाउन स्कलर र हार्बर्ड संकाय सदस्यहरूको बीच उत्पादक र दीर्घकालीन सहकार्यलाई सहज बनाउने
नेपालबाट हालसम्म छनौट भएका लाउन स्कलरहरू:

डा. अभिनव वैद्य
उनी काठमाडौँ मेडिकल कलेजमा प्रोफेसरको रूपमा कार्यरत छन्। जसले एमबिबिएस, एमडी (सामुदायिक स्वास्थ्य) गरी मुटुसम्बन्धी रोगमा स्विडेनको गोथेनवर्ग युनिभर्सिटीबाट पीएचडी गरेका छन् र उनले विशेष गरि मुटु सम्बन्धी रोगहरुको नियन्त्रणमा अध्ययन, अनुसन्धान गर्नुको साथै नेपालको नसर्ने रोगको क्षेत्रमा नीति निर्माणको तहमा समेत ठूलो योगदान गरेका छन्।

डा. प्रनिल मानसिंह प्रधान
उनले एमबिबिएस, एमडी (सामुदायिक स्वास्थ्य) गरी हाल बेलायतको लेस्टर विश्वविद्यालयबाट पीएचडी गर्दै छन्। उनी इन्स्टिच्युट अफ मेडिसिन महाराजगंज क्याम्पसमा सह प्राध्यापक रूपमा कार्यरत छन्। उनले पनि नसर्ने रोग र सुर्तीजन्य पदार्थ सम्बन्धी अनुसन्धानमा ठूलो योगदान पुर्याएका छन्।

डा. प्रज्वल प्याकुरेल
उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबिएस, एमडी (सामुदायिक स्वास्थ्य) गरि हाल म्यासाचुसेट्स जनरल अस्पतालमा पोस्ट डक्टरल फेलोको रूपमा कार्यरत छन्। उनले खासगरी टाइप टु मधुमेह रोग सम्बन्धी अनुसन्धानमा योगदान पुऱ्याएका छन्। उनी हाल कम र मध्यम विकसित राष्ट्रहरूमा दीर्घकालीन रोगको रोकथामको लागि विशेषगरी टाइप टु मधुमेहको समुदायमा आधारित अध्ययनहरूको समाजशास्त्रमार्फत प्रभावकारिताको मूल्याङ्कन सम्बन्धित अनुसन्धानमा व्यस्त छन्।

डा. नारायण सुवेदी
उनी डेकिन विश्वविद्यालय, मेलबर्न, अष्ट्रेलियामा क्याजुअल रिसर्च फेलो रूपमा काम गर्दै छन्। उनी सन् २०१५ देखि २०१९ सम्म सहायक प्राध्यापकको रुपमा केन्द्रीय जनस्वास्थ विभागमा कार्यरत थिए। उनी हाल बच्चाहरूको शारीरिक गतिविधि सम्बन्धी प्रश्नावलीहरूको विषयमा अनुसन्धान गर्न व्यस्त छन्।

डा. नतालिया ओली
उनले रसियाबाट एमबिबिएस गरी केन्द्रीय जन स्वास्थ विभाग, आइओएमबाट स्नाकोत्तर गरी स्विडेनको गोथेनबर्ग युनिभर्सिटीबाट विद्यावारिधि गरेकी छन्। हाल काठमाडौँ मेडिकल कलेजमा सह प्राध्यापकको रुपमा कार्यरत छन्।
उनी हाल बजारमा पाइने खाद्य सामग्रीहरूमा लेखिने पोषण सम्बन्धी साक्षरता र त्यसलाई सामाजिक र आर्थिक स्थितिको दृष्टिकोणबाट परेको असर विषयमा अध्ययन अनुसन्धान गर्दै छन्। यो बाहेक उनले नेपालमा नसर्ने रोग विषयमा पनि धेरै अध्ययन अनुसन्धान गरेकी छन्।

डा. बुना भण्डारी
उनी हाल अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीमा पोस्ट डक्टरल फेलोको रूपमा कार्यरत छन्। यसअघि उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय जन स्वास्थ विभाग, आइओएममा सहायक प्राध्यापकको रूपमा कार्यरत थिइन्। उनले नेपालमा उक्त रक्तचाप भएका बिरामीहरूमा रक्तचाप नियन्त्रण गर्नको लागि मोबाइल फोन टेक्स्ट मेसेजको माध्यमबाट चेतना दिने सम्बन्धी अध्ययन अनुसन्धान गरिरहनुभएको छ।

डा. उमेशराज अर्याल
उनी हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तथ्यांकशास्त्र र रिसर्च विषयको प्राध्यापकको रूपमा कार्यरत छन्। उनले स्विडेनको गोथेनबर्ग युनिभर्सिटीबाट धुम्रपान सेवन नगरेका तर भविष्यमा सेवन गर्न सक्ने किशोरकिशोरीहरू सम्बन्धी विषयमा अनुसन्धान गरी विद्यावारिधि हासिल गरेका छन्।
उनले नेपालमा खासगरी सुर्तीजन्य पदार्थको सेवन सम्बन्धी अध्ययन अनुसन्धान गरि त्यस सम्बन्धी लेखहरू प्रकाशित गरिरहेका छन्। हालै उनले चन्दननाथ नगरपालिकामा सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिहरूको मानसिक तनाव सम्बन्धी अध्ययन सम्पन्न गरे। अहिले जुम्लाका विभिन्न पालिका जन-स्वास्थ्य महाविधालय द्वारा संचलान गरिएको सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम मार्फत आएका उक्त रक्तचाप सम्बन्धी अध्ययनमा व्यस्त छन्।
उनले जनस्वास्थ्य विभाग अन्तर्गत सञ्चालन हुने सामुदायिक स्वास्थ्य निवारण कार्यक्रमको तथ्याङ्क सङ्कलन गर्ने कागजमा आधारित कार्यलाई डिजिटलाइजेसन गराए जसले गर्दा तथ्याङ्कहरू लामो समयसम्म सुरक्षित हुने र द्वितीयक तथ्याङ्कहरुको प्रयोग गरेर अनुसन्धानहरू गर्न सकिने र स्थानीय तहमा नीति निर्माण गर्न पनि मद्दत पुग्न जानेछ।














